चीनको सद्भाव ः नेकपाको एकता
काठमाडौं । दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी नेकपाको विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीले गहिरो चासो राखेको छ । छिमेकी राष्ट्रका हिसाबले मात्र होइन, नेकपासँगको भाइचारा सम्बन्ध र पछिल्ला दिनमा पार्टीस्तरकै समझदारी र अनुभव आदानप्रदान बढिरहेकै बेला नेकपाको विभाजनमा चिनियाँ कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ ।
नेकपा विभाजनलगत्तै अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा चार सदस्यीय टोली पठाएर चिनियाँ राष्ट्रपति तथा त्यहाँका कम्युनिस्ट पार्टीका शक्तिशाली महासचिव सी जिङ पिङले नेपालको स्थिरता र विकासका लागि एकता गर्न सन्देश पठाएका छन् । त्यही सन्देशसहित आइतबार काठमाडौं ओर्लिएको गुओ नेतृत्वको टोलीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली नेकपाका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायतलाई भेटेर पार्टी एकता गरेर अघि बढ्न सुझाव दिएको छ । यद्यपि, विभाजन र एकता आन्तरिक मामिला भएकाले कसरी मिल्दा उपयुक्त हुन्छ भन्ने कुनै स्पष्ट रोडम्याप भने चीनले प्रस्तुत गरेको छैन । राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरूसँगको भेटमा उनीहरूले विभाजनको कारण र एकताको सम्भावनाबारे भने गहिरो जिज्ञासाका साथ खुलेर कुराकानी गरेका छन् ।
पार्टी विभाजनलगत्तै त्यसरी चासोका साथ चीन प्रस्तुत भएका कारण कूटनीतिक वृत्तमा भने धेरै महŒवका साथ हेरिएको छ । नेकपा विभाजनले नेपालको अस्थिरतामा पश्चिमा शक्ति राष्ट्र र अर्को छिमेकी भारतको चलखेल बढ्न सक्ने र त्यसले चिनियाँ अन्तर्राष्ट्रिय नीतिमा पनि गहिरो प्रभाव पर्ने सम्भावनालाई चीनले समयमै आँकलन गरेको बताइन्छ । त्यसैले उसको पहिलो जोड स्थिरताका लागि नेकपाको एकता रहेको तथ्य प्रस्टाप्रस्टी भएको छ ।
‘चिनियाँ प्रतिनिधिमण्डलले नेकपा विभाजन कसरी भयो, किन भयो भनेर सम्पूर्ण पृष्ठभूमि बुझ्न खोजेको थियो । विभाजित नेकपाको पुनः एकीकरणको सम्भावनाबारे पनि चासो राखेको थियो । त्यस्तै, विभाजित पार्टीमा कुन समूहमा कति शक्ति छ र संसद् पुनःस्थापनाको सम्भावना कति हो ? जस्ता प्रश्नमा चासो राखेको छ,’ भेटवार्तामा सहभागी नेकपाका एक नेताले भने । त्यसो त नीति, विधि र अनुशासनमा बाँधिने चिनियाँ कम्युनिस्ट पार्टीले बहुमत पक्ष अर्थात् माधवकुमार नेपाल–पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपालाई नै भविष्यमा मूलधारको कम्युनिस्ट पार्टीको माध्यता दिने सम्भावना छ । किनभने, नेकपा दुई अध्यक्षात्मक प्रणालीमा छ भने बहुमत केन्द्रीय सदस्यसहितको ठूलो पंक्ति मूल धारमै छ । चिनियाँ टोलीले नेपाल र प्रचण्डसँगको भेटमा पनि प्रस्टसँग त्यस्तो संकेत गरिसकेको जानकारहरूको भनाइ छ ।
सोमबार उनीहरूले अध्यक्ष नेपालसँग होटल एभरेस्ट र प्रचण्डसँग खुमलटारस्थित उनको निजी निवास तथा वरिष्ठ नेता खनालसँग डल्लुस्थित निजी निवासमा भेटवार्ता गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डलले पार्टी एकता हुन नसके भविष्यमा सहकार्य गर्नै नसक्ने गरी विभाजित समूहबीच थप तिक्तता नबढोस् भन्नेमा पनि चासो राखेको छ । त्यसअघि उनीहरूले आइतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो ।
चिनियाँ टोलीले प्रधानमन्त्री ओली, अध्यक्ष नेपाल र प्रचण्डसँग नेकपामा एकताको सम्भावना कत्तिको छ भन्दै जिज्ञासा राखेको बताइएको छ । नेपाल र प्रचण्डले भने उस्तै प्रकृतिको जवाफ दिएका थिए । ‘संविधानलाई नै सिध्याउन खोज्ने र नेपाली जनताले ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्रमाथि प्रहार भएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम गल्ती भयो भनेर आत्मालोचना गर्ने र पुनःस्थापनाका लागि आफैं पहल गर्नुभयो भने एकताको सम्भावना जीवित छ तर उहाँ त्यसका लागि इमानदार देखिने सम्भावना छैन ।’ अध्यक्ष नेपालले पार्टी विभाजनको कारणबारे केही तथ्यसमेत राखेर सबिस्तार चर्चासमेत गरेको बताइएको छ ।
चिनियाँ नेताहरूले भने नेकपा विभाजनबाट चिनियाँ कम्युनिस्ट पार्टी दुःखी रहेको जानकारी दिँदै उनीहरूले यथाशक्य एकता गरेर अघि बढ्न प्रस्ट सुझाव दिएका थिए । ‘उनीहरूले नेपालमा कम्युनिस्ट पार्टी मिलेरै अघि बढ्दा खुसी थियौं र नेपालमा राजनीतिक स्थिरता पनि पैदा गरेको थियो । तर, विभाजनको खबरले हामीलाई दुःख लागेको छ । हाम्रो चाहना त तपाईंहरू मिलेरै अघि बढ्दा राम्रो हुन्छ भन्ने हो तर त्यो आन्तरिक मामिलाको विषय हो भन्ने धारणा राखेका थिए,’ भेटमा सहभागी नेताहरूको भनाइ छ ।
वरिष्ठ नेता खनाललाई लामो व्याख्यासहित नेपालमा पार्टीहरू एकताबद्ध भएर गएकै राम्रो हुने भनेका थिए । ‘उनीहरू धमिलो पानीमा माछा मारेर एउटा पक्षलाई उचाल्ने र अर्को पक्षलाई पछार्ने पक्षमा देखिएनन् र छैनन् पनि,’ खनालसँगको भेटवार्तामा सहभागी एक नेताको भनाइ छ ‘नेपालमा पार्टीहरू एकताबद्ध भएर गएकै राम्रो हुन्छ भन्ने कुरा उनीहरूले व्याख्यापूर्वक बताए, अब ती कुराचाहिँ नेताहरूले नै बुझ्ने कुरा हो ।’ चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको थियो ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply