बाँदरलाई मकैको गोठालो बनाउँदा यस्तै हुन्छ
खगेन्द्र संग्रौला
वास्तवमा मलाई उमेरको गणितको हिसाबले र शरीरको हिसाबले पनि यस्तो सभामा आउन अनुमति थिएन । मलाई उति ठूलो जाँगर पनि थिएन । विभिन्न प्रकृतिका निरंकुश शासनविरुद्ध लड्दालड्दै आधा जिन्दगी सडकमै बित्यो । सडकलाई दिन मसँग जीवन बाँकी थिएन । जब बयलगाडाको कुरा आयो, म उत्साहित भएँ । तपाईं पश्चगमनको कुरा गरिरहनुभएको छ । सत्तामा भष्मासुर उदायो भन्नुहुन्छ । सत्तामा गोर्खे प्रवृत्तिको हिटलर आयो भन्नुहुन्छ । ट्रम्प आयो भन्नुहुन्छ, तर, आयो त्यो कहाँबाट ? बनायो त्यसलाई कसले ? खड्गप्रसाद ओलीलाई मैले धेरै पहिलेदेखि चिनेको हुँ । ओलीसँग मलाई आशा र अपेक्षा कहिल्यै पनि थिएन । त्यसकारण, ओलीसँग मेरो कुनै गुनासो छैन ।
तपाईंले बाँदरलाई मकैको गोठालो बनाउनुभयो के हुन्छ । यस्तै हुन्छ । खड्गप्रसाद नामको बाँदरलाई तपाईंले मकै बारीको गोठालो बनाउनुभयो । अनि तपाईं खड्गप्रसादले मेरो बारीको मकै जोगाइदिएन भनेर किन रुनुहुन्छ ? मलाई खाली ओली प्रवृत्तिप्रति विरोध छ । २०६२ र २०६३ को आन्दोलनमा म सधैं सडकमा थिएँ । बयलगाडाको जन्म त्यहीबेला भएको थियो । बयलगाडाको चोट, त्यसको मर्म, त्यसको प्रहार मलाई थाहा छ । बयलगाडा त्यो चीज हो, जसले खड्गप्रसाद ओलीको रचनागर्भ बताउँछ । कविहरू रचनागर्भका कुरा गर्छन् नि । ओलीको रचनागर्भ के हो ? बयलागाडा हो । मैले बीचमा एउटा वाक्य प्रयोग गरिनँ, धेरै पटक दोहो¥याइनँ । तपाईंले बाँदरलाई मकैको गोठालो बनाउनुभयो के हुन्छ ? यस्तै हुन्छ । खड्गप्रसाद नामको बाँदरलाई तपाईंले मकैबारीको गोठालो बनाउनुभयो । अनि तपाईं खड्गप्रसादले मेरो बारीको मकै जोगाइदिएन भनेर किन रूनुहुन्छ ?
ओलीसँग मेरो धेरै गुनासो छैन । ओलीले नेपाली समाजलाई पुलिसराजमा प्रवेश गराएका छन् । वास्तवमा यो कुनै ठट्टा होइन । नेकपा डबलकै अर्को पक्षबाट यसलाई सजिलोसँग लिइरहेको छ । निर्वाचन आयोगले पार्टी दर्ता गर्देला, निर्वाचन चिह्न पनि देला, सर्वोच्चले यो विघटनलाई निरस्त गर्देला, फेरि त्यहाँ जान पाइएला । सांसद हुन पाइएला र साथीहरूलाई तर मार्न पाइएला भन्ने पनि छ । यो विषय त्यति सजिलो छैन । खड्गप्रसाद ओलीले धेरै समयदेखि विचार गरेर, धेरै कुराको परिपञ्च मिलाएर मात्र यो कदम चालेका छन् । उनले यहाँदेखि लिएर ब्रह्मनालसम्म आफ्ना योजना निर्माण गरेका छन् । आफूलाई प्रतिपक्ष भन्नेहरू, हिजोसम्म खड्गप्रसाद ओलीको वरिपरि घुमिरहेकाहरू, परिक्रमा गरिरहेकाहरू, पाउ चाटिरहेकाहरू, अहिले के भनिरहेका छन् ? बदमासचाहिँ खड्प्रसाद ओली हो, हामी सबै सद्दे हौं । तपाईंहरू एउटै भतेरमा हुनुहुन्थ्यो । एउटै गाग्रीको पानी खाइरहनुभएको थियो । तपाईं त्यही प्रवृत्ति र सत्तामा हुनुहुन्थ्यो । त्यही आनन्दमा घुमिरहनुभएको थियो । त्यसैले खड्गप्रसाद ओली टुप्पीदेखि पैतालासम्म बिटुलो, तपाईंं सर्वाङ्ग सद्दे कसरी हुनुहुन्छ ? मेरो सबैभन्दा ठूलो प्रश्न यही हो ।
खड्गप्रसाद ओलीलाई खड्गप्रसाद ओली कसले बनायो ? मैले पहिल्यै उल्लेख गरें । खड्गप्रसाद ओली बन्न भ्रूण त उसमा थियो । त्यो भ्रुणमा मलजल कसले ग¥यो ? त्यसलाई लाडप्यार कसले दियो ? त्यसलाई काँधमा कसले बोक्यो ? त्यसको सारा अराजकता र अहंकारलाई सधैं क्षमादान कसले दिइरह्यो ? मेरो प्रश्न तिनीहरूसँग छ, मेरो सोझो प्रश्न के हो भने तपाईं केको लागि लडिरहनुभएको छ ? एउटा ओलीको सट्टा अर्को ओलीका लागि, मचाहिँ लडेको होइन । मलाई एउटा ओली प्रवृत्तिको विरुद्धमा अर्को ओली चाहिएको छैन । मेरो प्रश्न के हो भने खड्गप्रसादलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने को थियो ? समर्थन गर्ने को थियो ? काँधमा बोक्ने को थियो ? महिमामण्डन गर्ने को थियो ? मेरो प्रश्न तिनीहरूसँग हो ।
तपाईंले पनि यो प्रश्न सोध्नुपर्छ । नेपाली जनता कुनै निरंकुश तŒवको दास होइन । नेपाली जनता सधैं एकपछि अर्को लास बोकेर हिँड्न अभिशप्त पनि छैन । त्यसैले, यो सामान्य कुरा होइन । लामो समयको योजनाको यो कार्यान्वयन हो र यसको दूरगामी प्रभाव हुनेछ । हाम्रा मित्रहरूले भनेजस्तै सडकको विरोधको आवाजले, मिडियाको विरोधको आवाजले, भद्रभलाद्मीको विरोधको आवाजले अन्यथा भएछ भने बेग्लै कुरा, नत्र निर्वाचन आयोगले, सर्वोच्च अदालतले सजिलोसँग न्याय देलाजस्तो मलाई त लाग्दैन । धेरै कुराको सेटिङ नमिलाइकन श्रीमान् खड्गप्रसाद ओलीले यो कदम चालेकै छैन ।
तपाईंले ओलीलाई ठट्टा सम्झनुभएको छ ? उनको पश्चगमनको यात्रा उनले धेरै परसम्म हेरेका छन् । नाकानाकामा सेटिङ मिलाइएको छ । राज्यसंयन्त्रका सबै संरचना र निकायहरू उनको कब्जामा छन् । संवैधानिक अंगहरू, प्रशासनिक अंगहरू र स्रोतसाधन सबै उनकै कब्जामा छन् । तर सडकमा आउने तपाईंसँग के छ ? याचना गर्ने हात मात्र छ तपाईंसँग । त्यसैले ओलीतन्त्रविरुद्ध लड्न म सजिलो देख्दिनँ । माओको पाठशालामा हुर्केको मान्छे म, त्यसैले अध्यक्ष माओले भनेको एउटा कुरा सम्झन्छु । माओेले बराबर भनिरहे– नौजवानहरू हो, यो संसार हाम्रो पनि हो, तिम्रो पनि हो । तर, अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो । तपाईं युवाहरू यहाँ जम्मा हुनुभएको छ र तपाईंहरूको कुरा सुन्न म आएको छु । फेरि पनि मेरो प्रश्न के हो भने मलाई ओली दक्षिणपन्थी, पश्चगामी, नश्लवादी ओलीको विकल्प त्यस्तै ओली हुन सक्दैन ।
अहिले सडकमा उभिएर जो चर्को कुरा गरिरहेका छन्, हिजोसम्म त्यही ओलीको महिमामण्डन गरिरहेका थिए । लौन हजुर, आधा मलाई दिनुहोस् । एक चौथाइ भए पनि मलाई दिनुहोस् । एक्लै के खानुहुन्छ ? हाम्रा केही सन्धि र सम्झौताहरू थिए । बाचाहरू थिए । लौ न वाचा पूरा गरौं । हिजोसम्म मन्त्री भएकाहरू, मन्त्रीको पद बचाउनका निम्ति खड्गप्रसादको चरण चाटिरहेकाहरू अहिले सडकमा ठूला कुरा गरिरहेका छन् । अहिले उनीहरू भनिरहेका छन्– पश्चगामी हो यो । फासिस्ट हो यो । यो ट्रम्पको गोर्खे औतार हो । हिजोसम्म तिनले के–के ग¥याथे ? त्यही पश्चगामीको वरिपरि घुमिरहेका थिए । हिटलरकै प्रदक्षिणा गरिरहेका थिए । तसर्थ, यो सामान्य कुरा हो भन्ने मलाई लाग्दैन ।
समाजमा विभेद रहुन्जेल, असमानता र अन्याय रहुन्जेल द्वन्द्व भइरहन्छ । द्वन्द्व समाजमा व्यक्त हुन्छ । राज्य संयन्त्रमा व्यक्त हुन्छ । तसर्थ, द्वन्द्व हुनु कुनै अचम्मको कुरा होइन । तर, हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य के हो भने रातो टोपी लगाउने, रातो कोट लगाउने, समाजवादका कुरा गर्ने, माक्र्स, एंगेल्स र लेनिनका कुरा गर्नेहरूले नै हामीलाई यहाँसम्म पु¥याएका छन् । तपाईं जे गरिरहनुभएको छ, ठीक गरिरहनुभएको छ । तर पनि हामीले तिनलाई सोध्नुपर्छ, खड्गप्रसाद ओली नेपाली समाजमा एउटा विराट अपराधीका रूपमा प्रस्तुत भएको छ । जसले नेपाली राजलाई पुलिसराज बनाउन खोजिरहेको छ । नेपाली समाजलाई जसले सुरुङमा हुल्न खोजिरहेको छ, त्यसलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने तिमी को हौ ? तपाईं सोध्नुहोस्, इतिहासमा गणतन्त्रको पक्षमा खड्गप्रसाद ओली कहिले थिए ? इतिहासमा उनी संघीयताको पक्षमा कहिले थिए ? धर्मनिरिपेक्षताको पक्षमा कहिले थिए ?
उसलाई प्रस्ताव गरेका बेला खड्गप्रसादको गोरुगाडाको सिद्धान्त तिमीलाई थाहा थिएन ? जो सधैं टुप्पीदेखि पैतालासम्म समाजको अग्रगामी एजेन्डाहरूको विरोधमा थियो, त्यसलाई लगेर ती संस्थागत जिम्मा कसले लगायो ? जिम्मा लगाउनेलाई यहाँ डाक्नुहोस्, म पनि सुन्न आउनेछु । त्यसैले हामीले सोचेजस्तो सजिलो छैन यो मामिला । यो धेरै लामो लडाइँ हो । अत्यन्त विवेकपूर्वक तपाईं लड्नुभएन भने, नागरिक अधिकारका पक्षधरहरू, लोकतन्त्रका पक्षधरहरू, समाजवादका पक्षधरहरूलाई तपाईंले बृहत् आधारमा एकताबद्ध गर्नुभएन भने, संयमपूर्वक र दूरगामी ढंगले तपाईं लड्नुभएन भने यो पश्चगमनको यात्रा धेरै लामो हुनेछ ।
हाम्रा अगाडि धेरै दुःखहरू छन् । ती दुःखका निर्माताहरू हाम्रै कमरेडहरू हुन् । कमरेडहरूले धेरै दुःख निर्माण गरेर हाम्रै टाउकामा थोपरिरहेका छन् । जसप्रति हाम्रो गम्भीर असहमति छ । खड्गप्रसाद ओलीलाई विभिन्न संज्ञा दिइयो, भष्मासुर हो भनियो । यो हिटलर हो भनियो, सर्वनाशी हो भनियो । तर, खड्गप्रसाद ओलीचाहिँ वास्तवमा ट्रम्पसँग मिल्दाजुल्दा छन् । विशाल अमेरिकाको ठूलो ट्रम्प अमेरिकामा छ । सानो गोर्खाराजको ट्रम्प बालुवाटारमा छ । ओलीको प्रवृत्ति वास्तवमा ट्रम्प प्रवृत्ति हो । ट्रम्पले के ग¥यो, सधैं षड्यन्त्र सिद्धान्त बेचिरह्यो । नश्लवाद बेचिरह्यो । जातीय घृणा बेचिरह्यो । झुट बेचिरह्यो । आखिरमा चुनाव हारेपछि उसले के भन्यो– चुनाव जितेको त मैले नै हो तर चोरहरूले चुनाव जिते ।
आखिरमा अमेरिकाजस्तो लोकतन्त्रको मार्गदर्शक भनिने देशको राष्ट्रपतिले लोकतन्त्रको किल्लामा आक्रमण गरायो । आफ्ना गुन्डाहरूलाई उत्तेजित गराएर, उठाएर आक्रमण गरायो । खड्गप्रसाद ओलीले पनि गर्ने त्यही हो । ओलीले सजिलोसँग सत्ता छोड्लान् भन्ने मलाई कहिल्यै पनि लाग्दैन । अस्ति मात्रै उनले भनिरहेका थिए– बरु मर्छु यिनको आकांक्षा पूरा गर्न म दिन्नँ । खड्गप्रसादको चित्तको सबैभन्दा भित्रको कुरा त्यही हो । बरु मर्छु तर यिनको आकांक्षा पूरा गर्न म दिन्नँ । त्यसैले खड्गप्रसादले यो सत्तालाई घिसारेर आर्यघाटसम्म लैजानेवाला छन् । ब्रह्मनालसम्म लैजाने उनको योजना छ । यसर्थ, पश्चगमनको योजना व्यापक र दूरगामी भएका हुनाले अग्रगामीहरूको प्रतिरोधी योजना पनि व्यापक र दूरगामी हुनुपर्छ । यदि त्यसो भएन भने झर्ला र खाउँला जस्तो हुन्छ ।
झर्ला र खाउँलाको इतिहास त स्याललाई पनि बोझिलो भइसकेको छ । यसर्थ, हाम्रा कमरेडहरू सडकमा सजिलोसँग जो ठूला कुरा गरिरहनुभएको छ । म तिनलाई के निवेदन गर्छु भने केही पनि झर्नेवाला छैन । नीतिकथामा त्यत्रो लामो समय स्याल पछि लागिरहेको समयामा कहिल्यै केही झरेन । यिनका लागि पनि केही झर्दैन ।
आखिरमा युवाहरू, म तपाईंलाई धन्यवाद दिन्छु । देश बचाउने युवाहरूले हो । लोकतन्त्र बचाउने युवाहरूले हो । लोकतन्त्र तपाईंका लागि हो । हामी त बूढा भइसक्यौं । मलाई त के लागेको थियो भने तपाईंहरू त सडकमा आउनु ठीकै हो तर मेरो त सडकमा आउने योग्यतै अब समाप्त भयो कि ? सबैभन्दा डर कोरोना भाइरसको छ । कोरोना भाइरसले घरमा थुनेर हैरान गरेको थियो । अब ओलीय भाइरस आयो । कोरोना भाइरसमा ओलीय भाइरस थपिएपछि के हुन्छ ? बूढाखाडालाई गाह्रो हुन्छ । तपाईंहरूसँग म ऐक्यबद्धता जनाउन आएको छु । यो कठिन लडाइँ हो । तर यो असल लडाइँ हो । असल प्रयोजनका लागि, असल उद्देश्यका निम्ति । कठिन लडाइँका लागि तयार हुनुपर्छ । मर्न र मार्न पनि तयार हुनुपर्छ । तपाईं सही प्रयोजनका निम्ति मर्न र मार्न तयार हुनुहुन्न भने फेरि पनि हात पसार्ने हो, मागेर खाने हो । त्यसका लागि त ओलीका पक्षमा लागे भैगो नि !
माग्ने ठाउँ त्यही छ । दिने ठाउँमा उनै छन् । खटाउने उनै हो । बोकेर त्यहाँ पु¥याएको हामीले नै हो । यसर्थ, इतिहासको अति कठिन र दुरुह अवस्थामा हामी छौं । तर, संसारका कुनै पनि देशहरू इतिहासका कठिन परीक्षा पास गरेर मात्र बाँचेका छन् । धेरै संकट झेलेर मात्र ती बाँचेका छन् । लोकतन्त्र र समाजवाद पनि धेरै ठूला आँधीबेहरीसँग जुधेर र त्यसलाई परास्त गरेर मात्र बाँचेका छन् । म के आशा गर्छु भने नेपाली जनता अग्रगामी छन् । यो समाजको चेतना अग्रगामी छ । नेपाली समाज आफ्नो अधिकारको पक्षमा लड्नेछ । भोलि लड्दै गएर ती सम्भवतः अहिलेको संरचनाका बारेमा पनि कुरा हुनेछ । खड्गप्रसाद ओलीजस्ता जन्मनु अहिलेका राज्यसंरचनाभित्रका अन्तरविरोध र कमीहरूका कारण त होइन ? यो भोलिको विषय हो । आजको विषय ओली प्रवृत्तिको विरुद्धमा समस्त अधिकारप्रेमी नागरिकहरू, स्वभिमानी नागरिकहरू, उज्यालो भविष्यका पक्षधर नागरिकहरू हामी एक हौं । तपाईंहरू सबैलाई मेरो साथ छ ।
(जनसांस्कृतिक महांसंघले सोमबार काठमाडौंको बानेश्वरमा गरेको ‘प्रतिगमनविरुद्ध सांस्कृतिक प्रतिरोध कार्यक्रम’मा दिइएको मन्तव्य)
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply