अझै उपेक्षित मंगलमान
विवश वस्ति

‘सधैं दाल, भात र डुकुका लागि
भागिरह्यो, दौडिरह्यो मंगलमान
पर्खालका पनि कान हुन्छन् भनेर
डराईडराई बाँचिरह्यो मंगलमान
उसले हाँस्ने फुर्सदै पाएन
जिन्दगीलाई अर्को कोणबाट हेर्नै भ्याएन
अहिले म सम्झन्छु
मंगलमानको भावशून्य अनुहार
कुनै मोनालिसाभन्दा कम थिएन
सिंगै मंगलमान
कुनै महाकाव्यभन्दा कम थिएन ।’
(कालीप्रसाद रिजाल ः मंगलमान ः एक शब्दचित्र)
मंगलमान अर्थात् एक पात्र, एक प्रवृत्ति । नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक इतिहासमा यी पात्रको गर्विलो नाम छ । तर, इतिहासको गर्तमा अरू थुप्रै स्वनामधन्य पात्रहरू पुरिएझैं मंगलमान पनि पुरिए । बेलाबेलामा मंगलमानको उत्खनन त हुन्छ । तर अपुरो, अधुरो । को हुन् यी पात्र ? नेपालको राजनीतिक इतिहासमा कस्ता छाप छाडेर अलप भए ? यस्ता अनगिन्ती प्रश्नहरू अनुत्तरित नै रहन्छन् । कुनै पात्र–प्रवृत्तिलाई उजागर गर्नुप¥यो भने यति मात्रै भन्छन्, अहिले पनि, ‘ब्याक टु मंगलमान ।’
राणाकालका आखिरी दिनहरूमा विद्रोहका भाषा बोल्नेहरूमध्ये अग्रपंक्तिमै उभिएका थिए, मंगलमान । तत्कालीन समयमा उनी विद्रोहका पर्याय थिए, विद्रोहका शक्तिशाली स्वर थिए । विदितै छ, तत्कालीन समयमा विद्रोहको भाषा बोल्नेहरूको के हविगत हुन्थ्यो ? त्यही हविगत बेहोर्न बाध्य भएका थिए, मंगलमान । तर, राणाकालविरुद्ध उन्नत आवाज ओकल्ने उनको स्वर २००७ सालको जनक्रान्तिपछि पनि थामिएनन् । प्रजातन्त्र आएपछि पनि राजनीति, समाज–व्यवस्था र सांस्कृतिक वायुमण्डलमा थुप्रिएर रहेका प्रदूषणहरूलाई हटाउनतिर उनका प्रयत्न जारी रह्यो ।
काठमाडौंको उच्च नेवार परिवार (प्रधान) मा जन्मिएका मंगलमानले समाजमा व्याप्त जातीय विभेद र छुवाछूतको अन्त्यका लागि गरेका प्रयत्न निकै व्यावहारिक र क्रान्तिकारी थियो । काठमाडौंको भित्री सहरका दलित नेवार समुदायलाई चेतनशील र संगठित तुल्याउन क्रियाशील उनको एउटी च्यामे थरकी युवतीसँग प्रेम रह्यो । उनी तिनै दलित युवतीसँग वैवाहिक सम्बन्धमा बाँधिन चाहन्थे, सामाजिक प्रतिबन्धहरूलाई तोडेर । तर, उनको त्यो चाहना अपुरो रह्यो । किनभने, ती दलित युवतीले भनिन् कि, ‘म तपाईंसँग बिहे त गरुँला तर के तपाईं मलाई आफ्नो घरमा लैजान सक्नुहुन्छ ? यदि आफ्नो घरमा लैजान सक्नुभएन भने के तपाईँ मेरो टोलबस्तीमा आएर बस्न सक्नुहुन्छ ?’
२०१७ साल पुस १ गते राजा महेन्द्रको प्रतिगामी कदमका विरुद्ध आवाज ओकलेपछि जेलजीवन भोग्नुपरेका मंगलमानको २०१८ सालमा निधन भयो । कठोर जेल जीवनले गालेपछि उनले सहादत प्राप्त गरे । तर, उनको विद्रोही चेत र क्रान्तिकारी क्रियाकलापलाई जीवन्त राख्ने कृति धेरै वर्षको अन्तरालपछि युगकवि सिद्धिचरण श्रेष्ठले लेखे, ‘मंगलमान’ खण्डकाव्यमार्फत् । ती विद्रोही पात्रलाई स्मरण गर्दै, राणाकालीन समयमा प्रजातन्त्रका निम्ति अनवरत रूपमा लडेका र जेल–जीवन भोगेका सिद्धिचरणले लेखे,
‘कस्ता कस्ता सज्जनको नलेखेर गाथा
लेख्न थाल्यो त्यस्तो नाथे मंगलमानको गाथा
भन्नेलाई मेरो सानो उत्तर यो भाइ
कामले नै तौलने हो सानो–ठूलोलाई ।’
सिद्धिचरणले ‘मंगलमान’ मा मंगलमानले बाँचुन्जेल गरेका संघर्ष–गाथाहरूका एकएक अंशलाई टिप्ने प्रयत्न गरेका छन् । के भनिन्छ भने सिद्धिचरणले यो खण्डकाव्य २०१८ सालमा मंगलमानको निधन भएपश्चात् नै लेख्न चाहेका थिए, घोषणा गरेका थिए । तर, राजा महेन्द्रको प्रतिगामी कदमविरुद्ध जेल परेर थलिएपछि निधन भएका मंगलमानको गाथा लेख्न सिद्धिचरणले उत्सुकता देखाएनन् । किनभने, तत्कालीन समयमा सिद्धिचरणले राजाको कदमलाई स्वीकार गरेका थिए र पछि त राजसभा स्थायी समितिमा पनि मनोनीत भए । राज्यले दिँदै आएको सुविधा, मान, सम्मान कतै मंगलमानको गाथा कहँदा खोसिने हो कि भन्ने त्रासले पञ्चायत व्यवस्था रहुन्जेल लेखिएन । तर, पछिल्लो समयमा भने सिद्धिचरणले ‘मंगलमान’ लेखे र एउटा योद्धाको महान् योगदानलाई सतहमा ल्याउन चाहे । यो कुरा मंगलमानका कान्छा भाइ चन्द्रमान प्रधानको आत्मकथन ‘चन्द्रकमल ः एक थुँगा’ मा स्पष्टतः उल्लेख छ ।
समाजको अभिजातीय वर्गप्रति तिखो घृणा र दमित समुदायप्रति अपार स्नेह– मंगलमानको संक्षिप्त जीवन यात्राको विशिष्ट पक्ष थिए । साथै, उनमा तीव्र राष्ट्रभाव पनि थियो । नेपालमा भारतको बढ्दो दबदबालाई स्विकार्न नसकेर उनले पाकिस्तानसँग मैत्री सम्बन्ध कायम राख्न नेपालका शासकहरूलाई बाध्यसमेत तुल्याएनन्, नेपाल–पाकिस्तान मैत्री संघको अध्यक्षसमेत भएर काम गरे । पत्रकारितामा पनि उनको योगदान रह्यो । भूगोलपार्क, ममता र नेपाली दैनिकको सम्पादक भएर पनि काम गरे । २००७ सालमा प्रजातन्त्र आएपछि काठमाडौं उपत्यकामा उनको प्रभाव यति व्यापक रह्यो कि त्यो अवधिमा काठमाडौँ उपत्यकाभित्र हुने साना–ठूला राजनीतिक घटनाहरूमा उनको प्रत्यक्ष संलग्नता रहन्थ्यो र उनी गिरफ्तार हुनेहरूमा पहिलो लहरमा नै पर्थे । २००५ देखि ०१७ सालसम्मको अवधिमा उनले १८ पटक जेलयात्रा गरे ।
सिद्धिचरणकृत ‘मंगलमान’ मा उनको जीवनयात्रा र संघर्षका मुख्यमुख्य गाथाहरू समेटिएका छन् । तर, यी विद्रोही पात्रप्रति केही स्रष्टाहरूले सिर्जनाको धरालतमा उभ्याए पनि राज्यले भने अहिलेसम्म कुनै श्रद्धा र कदर अर्पण गरेको देखिँदैन । यस्ता विद्रोही पात्रको योगदानलाई बाहिर ल्याउन र त्यसलाई दस्तावेज गर्न नसकेको प्रस्ट बोध हुन्छ । र त कालीप्रसाद रिजाल लेख्छन्,
‘तर मंगलमान
भगवतीको मूर्ति चोरिँदा रोयो
राजर्षि महाराज
अमलेख हुँदा पनि रोयो
राजाको स्वर्गबास हुँदा रोयो
गंगालाललाई गोली हान्दा पनि रोयो
तर मंगलमान मर्दा कोही रोएनन्
उसको निधनलाई असामयिक कसैले भनेनन्…।’
Leave a Reply