२९ पुष २०७७, बुधबार ०४:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तानाशाहको चिन्ता
राममणि सिटौला
आज तानाशाह निकै चिन्तित देखिन्छ
उसले कुल्चिएका घाँसहरू
ठाडो हुँदै आइरहेछ
पलाउन थालेका छन्
उसले छाँटेका तरुका लतिकाहरू
पिँजडाभित्र थुनेका चराहरू
चुच्चो रक्ताम्य पार्दै
मच्चाइरहेछन् खैलाबैला
आज तानाशाह निकै तड्पिइरहेछ
उसले पालेका बिरालोले मारेको छैन
कुनै परेवा
गौंथलीले बनाउन थालेका छन्
उसले भत्काएको गुँड
बोल्न थालेका छन्
उसले लाटो बनाएका मानिसहरू
जुर्मुराउन थालेका छ्न्
रछ्यानमा मिल्काइएकाहरू
आज तानाशाह निकै छटपटाइरहेछ
आज बिहान शौच गर्दा
उसका मूत्रबाट आएका छैनन्
कर्पोरेट कम्पनीको ह्विस्कीका गन्ध
साँच्चै यतिखेर चिन्तित छ तानाशाह
आजभोलि कवितामा सुनिन छाडेको छ
रोमियो जुलियटको अन्तहीन विलाप
हराउन थालेको छ
भक्ति वैराग्य रस
मजदुरहरू लामबद्व भएर
पढ्न थालेका छन्
नयाँ युगको कविता
कविताका गर्भबाट पैदा भइरहेछ्न्
प्रोमिथियस र स्पार्टाकसहरू !!
Leave a Reply