पार्टी एकिकरण कि राजनीतिक समीकरण
प्रेमराज सिलवाल
२०७५ जेठ ३ गते औपचारिक रूपमा जोडिएका दुई ठूला कम्युनिस्ट पार्टीहरू एकीकरणको प्रक्रिया नसकिँदै राजनीतिक, व्यावहारिक र नैतिक रूपमा फुट्न पुगे । कानुनी र औपचारिक हिसाबमा फुट्न अझै केही समय लाग्नेछ । तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपालाई पुनः एकीकरण गर्ने भन्दै अभियान थाल्ने भन्नुभएको छ । के फेरि नेकपाको एकीकरण सम्भव होला त ? फेरि एकता भन्नुअघि किन ती दुई पार्टी खासमा एकीकरण हुन सकेनन् ? अब फेरि केका लागि एकता गर्ने ? पहिलेको एकता किन भाँडियो ? यस्ता प्रकारका विभिन्न प्रश्नहरूको हल नगरी फेरि एकताको कुरा गर्नुको औचित्य छैन ।
जसरी एकता भयो र एकता टुट्यो । त्यसको शृंखला हेरी विवेचना गर्ने हो भने अब पार्टी युनिफिकेसन (एकता) होइन अलग–अलग पार्टीका बीचमा मुद्दा र आवश्यकताअनुसार पोलिटिकल एलायन्स (राजनीतिक समीकरण) गर्न सकिन्छ । राजनीतिक समीकरण मुलुक, पार्टी र समाजको आवश्यकता पनि हो । विगतमा एकता–एकता भन्ने नारामा तर काममा र सारमा कहिल्यै एकताको काम नै अघि बढेन । केवल ओठे नारामै सीमित बन्न पुग्यो । प्रधानमन्त्री केपी ओलीबाट अचानक भएको वाम एकता छिनाझम्टी र आरोप–प्रत्यारोपमै टुट्यो । राजनीतिक हिसाबमा फुटिसकेको नेकपा फेरि एकीकरण हुन सक्छ ? चीनको कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलसँगको सुझावका क्रममा जेजस्ता चर्चा र वार्ता गरिएको भए पनि अब नेकपाको एकीकरण सम्भवै छैन । बिनाअर्थ, उद्देश्य र कार्यक्रमको एकता गर्नुको के औचित्य हुन्छ ?
राजनीतिक पार्टीमा हुने एकता राजनीतिक, सांगठनिक, वैचारिक, नीतिगत, उद्देश्यगत र प्राविधिक आदि सबै हिसाबले गरिनुपर्ने हुन्छ । विगतमा नेकपामा भएको र गरिएको एकता केवल राजनीतिक उद्देश्य पूर्तिका लागि प्राविधिक हिसाबले गरिएको थियो भन्ने कुरा इतिहासले प्रमाणित गरिदियो । त्यो विधि एकताको दर्शन र मान्यतासँग नै मेल नखाने थियो । एकताको राजनीतिक, दार्शनिक, सांगठनिक, नीतिगत, व्यावहारिक, प्राविधिक कुनै पनि हिसाबले तयारी र योजना थिएन । तापनि, त्यो समयमा निर्वाचन केन्द्रित एकता गरियो । जुन घातक बन्न पुग्यो । तत्कालीन अवस्थामा गरिएको सो एकताको नियतमै गम्भीर खोट र कपट रहेछ भन्ने अहिले आएर देखियो । नेपाली वामपन्थीप्रेमी जनता र जनमतमाथि खेल्ने र निर्वाचन मार्फत आफू र आफ्नो समूह शक्ति र सत्तामा आउने उद्देश्यबाहेक त्यसबेलाको एकताको उद्देश्य केही रहेनछ ।
नेपाल कम्युनिस्ट पार्टीको सात दशकको इतिहास विभाजन, टुटफुट, आरोप–प्रत्यारोप, गठन–विघटन र राजनीतिक–वैचारिक एवं सांगठनिक एकीकरणको तानाबानामै अल्झियो । यसैले जनता सार्थक एकता र एकीकरण हुने भयो भन्नेबित्तिकै हौसिए । जुन स्वाभाविक पनि थियो । नेकपाको एकीकरण र निर्वाचनपूर्वको अवस्था हेर्दा राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार आदिको चरम अवस्था थियो । त्यस्तो अवस्था र समय भएकाले तत्कालिन माओवादी र एमालेको एकताको कुरामा सबैले समर्थन जनाएका थिए । किनकि, त्यसले स्थिरता, सुशासन, विकास र समृद्धि हुन्छ । यसकारण, कसैले सार्थक एकताका लागि बृहत् छलफल र पूर्ण तयारीको कुरा र चर्चा गरेनन् । त्यसो गरिए एकताविरोधी भनिने र सोचिने समय थियो । यसर्थ वाम एकता आवश्यक पूर्वतयारी र राजनीतिक–सांगठनिक तयारी नगरी गरिएछ भन्ने अहिले हेर्दा देखिन्छ ।
खासमा त्यो एकता रूप र नाममा मात्र भएको थियो भन्ने इतिहासबाट देखिन आयो । पार्टीमा जसरी नीतिगत, सैद्धान्तिक, सांगठनिक र आवश्यक प्राविधिक विभिन्न चरणमा बहस, छलफल, तयारी, सहमति सबै गरी एकता गर्नुपर्नेमा त्यो सबै गरिएन । पछि गर्दै जाउँला अहिले एकता गरौं र निर्वाचमा जाऔं भन्दा त्यो काँचो बन्नपुग्यो । जसले गर्दा पनि त्यो कुरा नेकपाको विघटनको खास कारण बन्यो । अपरिपक्व, काँचो र कलिलो विधि, तरिका र मूल्यलाई आधार बनाएर गरिएको एकता लामो समय टिक्ने अवस्थै थिएन । अर्काे कुरा एकताको प्रस्तावक र मूल नेतृत्व प्रधानमन्त्रीमा त्यो गम्भीरता पनि देखिएन । त्यसैले एकता टुट्यो र टुटाइयो ।
फेरि एकता सम्भव छ ?
तत्कालीन नेकपा उपाध्यक्ष वामदेव गौतमले भनेको जस्तो फेरि नेकपाको एकता सम्भव छ त ? भन्ने सवालको विश्लेषण र विवेचना गर्दा अब फेरि एकता सम्भवै छैन । विगतमा गरिए जस्तो खाले एकता फेरि भुलेर पनि गर्नुहुन्न । एकता–एकता भन्ने सार्थक र उद्देश्यमूलक एकता कहिल्यै नहुने भएपछि फेरि किन र के का लागि एकता गर्ने ? पुरानै तरिका, प्रक्रिया, विधि, मूल्य, मान्यता र व्यवहारबाट नेकपामा एकता गर्नुको औचित्य समाप्त भइसक्यो । त्यस्तो खाले एकताले मुलुक, पार्टी र समाजलाई के दियो ? मुलुक र पार्टीलाई गतिहीनतामा त्यही एकताले लग्यो । अब फेरि त्यो खाले एकताको चर्चा र बहसै आवश्यक छैन ।
राजनीतिक समीकरण आवश्यक
अबको राजनीतिक मार्गचित्र भनेको राजनीतिक, वैचारिक, लोकतान्त्रिक मूल्यगत र कानुनको सीमामा रहेर आ–आफ्नो राजनीतिक–वैचारिक, सांगठनिक गतिविधि र क्रिया गर्दै अलल्गै पार्टी सञ्चालन गर्ने हो । पार्टी अलग हुँदैमा व्यक्तिग शत्रुता गर्नुपर्दछ भन्ने संकीर्ण सोचबाट मुक्त हुन सक्नुपर्छ । आधारहीन र तथ्यहीन आरोप–प्रत्यारोपले राजनीतिक र सामाजिक नोक्सानी मात्र गर्छ । त्यस प्रकारको संस्कार र संस्कृतिले पार्टी, समाज र व्यक्तिलाई केही दिन सक्दैन । अब पार्टी अलग भयो त्यो ठीक भयो । अब अलग–अलग पार्टीको फेरि एकीकरण (युनिफिकिसन) को कुनै औचित्य छैन । बरु, अब हुन सक्ने भनेको आ–आफ्नो राजनीतिक पार्टीलाई मुलुकको आवश्यकताका आधारमा र राजनीतिक मुद्दाका लागि राजनीतिक समीकरण (पोलिटिकल एलायन्स) भने गर्नुपर्ने अवस्था र खाँचो छ ।
पार्टी अलग भएपनि राजनीतिक समीकरण गर्नुपर्ने हुन सक्छ । साझा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दाहरूमा आधारभूत तहको समझदारी नगरी मुलुकमा राजनीतिक स्थिरता र विकास हुन्न । संसदीय र विभिन्न निर्वाचनको क्रममा समेत दुवै नेकपाले फेरि पनि राजनीतिक समीकरण गर्न सक्छन्, गर्नुपर्छ । त्यसप्रकारको समीकरण भारतमा पनि विगतमा भएका छन् । भारतीय कांग्रेस आई र भारतीय जनता पार्टीका अलग–अलग समीकरण हुने गर्थे । मुलुकको राजनीतिक आवश्यकता र उद्देश्यका आधारमा दुई ठूला वामपन्थी पार्टीहरूमा गरिने राजनीतिक समीकरणले नेपाली राजनीतिमा नयाँ अभ्यासको थालनी पनि हुन सक्छ । त्यसले नेपाली राजनीति र प्रणालीमा नवीन संस्कृतिको थालनी पनि हुन सक्छ । राजनीतिक र कानुनी हिसाबले फुटेका दुई पार्टीका बीचमा मुलुकको आवश्यकताका आधारमा फेरि राजनीतिक समीकरण भइदियो भने त्यो अन्य पार्टीहरूका लागि पनि नयाँ सिक्न लायक संस्कृति बन्ने हुन्छ । नेपालको जनसंख्या, भूगोल र आवश्यकतालाई हेर्दा मुलुकमा सयभन्दा बढी संख्यामा राजनीतिक पार्टीको आवश्यकता किन ? आवश्यक छैन । विश्वको शक्तिशाली अमेरिकामा दुई दल छन् । भारतमा मूल रूपमा राष्ट्रिय पकडको दृष्टिकोणले दुई दल छन् । बेलायत, जापान आदि मुलुुकमा पनि मूल रूपमा दुई दल नै क्रियाशील रहेका छन् । उल्लिखित मुलुकहरूमा पनि राजनीतिक समीकरणका आधारमा दलहरू क्रियाशील हुन्छन् । नेपालमा त्यस्तो समीकरणको संस्कृति निर्माण गर्न सकियो भने त्यो लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र राजनीतिक संस्कारको निर्माणमा सहयोगी बन्न सक्छ । यस दृष्टिका आधारमा आगामी दिनमा नेकपाको एकीकरणको चर्चा र बहस आवश्यक नै छैन । जे होस नेकपाको एकताको सम्पूर्ण राजनीतिक, दार्शानिक, सांगठनिक, नैतिक, व्यावहारिक र प्राविधिक सबै मूल्यका प्रत्येक आधारहरू ढलिसकेकाले अब पनि एकताको कुरा गर्नु बेकारको चर्चा हो । अब फेरि किन र केका लागि एकता ? त्यो कुनै पनि मूल्य, विचार र मान्यताले सान्दर्भिक हुन सक्दैन ।
निश्कर्ष
विगतमा तीन बर्ष सम्म नेकपाको पार्टी एकताको नाममा दल मात्र अस्तव्यस्त भएन एकीकरण र एकताकै झगडाले देशै बन्दीजस्तो अवस्थामा पुग्यो, पु¥याइयो । जसले गर्दा लोकतान्त्रिक प्रणाली र दलीय प्रजातन्त्र माथि नै औंला ठड्याउने कामसमेत भए । त्यो विधि र तरिकाको वाम एकता फेरि नेपाली कम्युनिस्ट आन्दोलनमा कहिल्यै नहोस् । आजको आवश्यकता र विकल्प भनेको लोकतान्त्रिक मूल्य तथा विधिअनुसार आफ्नो–आफ्नो पार्टीलाई विचारधारात्मक, संगठानात्मक र उद्देश्यमूलक ढंगले अघि बढाउने हो । सोही आधारमा प्रजातान्त्रिक दलीय प्रतिस्प्रर्धामा उत्रने हो । मुलुक र पार्टीको औचित्य तथा मुद्दाका आधारमा राजनीतिक समीकरण तथा समझदारी भने अब पनि आवश्यक हुने कुरा हो । त्यस खालको राजनीतिक समीकरण मुलुक र लोकतन्त्रका लागि फेरि पनि आवश्यक हुन्छ । अब फेरि पनि पुरानै तरिका, विधि, मूल्य र संगठानिक प्रक्रियाबाट नेकपाको पार्टी एकीकरण गर्नुको कुनै तुक छैन् । मुलुक, पार्टी र समाजको आवश्यकताका आधारमा मुद्दा र विषय–विषयमा राजनीतिक समीकरण (पोलिटिकल एलायन्स) अबको आवश्यकता हो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply