उनी थिए नारायणगोपालका प्रिय सर्जक
विवश वस्ति
२०७७ पुस २५ गते नेपाली संगीताकाशमा सदैव गुन्जिरहने एक शब्द–हस्ती अस्ताए– भैरवनाथ रिमाल ‘कदम’ । दीर्घ समयदेखि ओछ्यान परेका थिए, उनी । अन्ततः मृत्युलाई स्विकारे । उनको भौतिक अस्तित्व सकिए पनि उनले नेपाली गीत–संगीत जगत्मा आफ्ना अमूल्य सिर्जनाहरू छाडेर गएका छन् । अब आफ्ना सिर्जनाहरूले नै उनलाई बचाउनेछन् ।
२०३५ सालतिर स्वर–सम्राट नारायणगोपाल राष्ट्रिय नाचघरका महाप्रबन्धक थिए । त्यो समय प्रशासनिक जिम्मेवारीमा रहेका उनले नेपाली गायन क्षेत्रमा आफ्नै शिखर बनाइसकेका थिए । कदमकृत थुप्रै गीत पनि गाइसकेका थिए । चम्किँदै थिए, ती गीतहरू । तर, नारायणगोपालमा आफू मात्रै चम्किने, माथि उठ्ने स्वभाव बिल्कुलै थिएन । अरू प्रतिभाहरूलाई माथि उठाउन र त्यसका निम्ति हरेक प्रयत्न गर्न चाहन्थे । त्यसको दृष्टान्त हो– कदमको कविता–संग्रहको प्रकाशन । २०३५ सालमा कदमको १९औं कृतिका रूपमा निस्किएको थियो– ‘हरेक प्रहर, अनेक लहर’ । त्यो कवितासंग्रह प्रकाशनको अभिभारा नारायणगोपाल स्वयंले उठाएका थिए र उनले गर्वका साथ लेखेका थिए, ‘मुलुकको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय भावनाको विकास हुनु आवश्यक छ । दोस्रो विश्वयुद्धपछि संसारका कैयन् मुलुकहरूको अनुहार नै बदलिएको प्रमाण हाम्रो सामु विद्यमान छ । यसरी कुनै पनि मुलुकको विकास हुनुमा कवि एवं कलाकारहरूको पनि प्रमुख भूमिका रहन्छ भन्नुमा सायद अत्युक्ति नहोला ।’
त्यो कविताकृतिको प्रकाशकीय लेख्ने क्रममा नारायणगोपालले उल्लेख गरेका थिए, ‘कदम सच्चा राष्ट्रवादी कवि हुनुहुन्छ । उहाँका अघि प्रकाशित १८ वटा कृतिहरूले यो सिद्ध भइसकेको छ । १९औं कृति प्रकाशन गर्ने मौका मैले पाएँ । छोटो अवधिमै दोस्रोपटक यस कविता संग्रहलाई प्रकाशित गर्न पाउँदा मलाई खुसी लाग्नु स्वाभाविकै हो । यसमा परेका राष्ट्रिय भावनाले ओतप्रोत अनि उत्कृष्ट कविताहरूले पाठक वर्गलाई राष्ट्रियताप्रति सचेत गराउने नै छन् । साथै, आजको आधुनिक युगको परिप्रेक्ष्यमा विकासका लागि केही अंश मात्र भए पनि यस कविता संग्रहले योगदान पु¥याउनेछ भन्नेमा म विश्वस्त छु ।’
स्वरसम्राट नारायणगोपालमा सहृदयी भावना व्याप्त रहेको यो एउटा दृष्टान्त मात्र थियो । नारायणगोपालले उनै कदमका केही यस्ता शब्दहरूमा आफ्नो स्वर अर्पण गरे, जुन अहिले पनि नेपाली संगीत जगत्लाई समृद्ध तुल्याउने गीति–सिर्जनाहरूको लहरमा उभिन्छन् । संगीत जगत्मा कालजयी सिर्जनाका रूपमा उपस्थित हुन्छन् । शब्द चयनमा विशेष ध्यान दिने नारायणगोपालले कदमका केही उत्कृष्ट गीति–सिर्जनाहरूलाई स्विकारे । जसमा एउटा थियो, ‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ… ।’ आखिर, यो त्यही गीत थियो, जसले नारायणगोपालको गायन–यात्रालाई छलाङ मार्न शतप्रतिशत नै सघायो भने नेपाली श्रोताहरूले पनि कदमको शब्द–सामथ्र्यको परिचय पाए ।
गीति लेखनको ऊर्जाशील अवधिमा कदमका शब्दमा स्वर अर्पण नगर्ने कलाकारहरू कमै थिए, उनको शब्दमा लय नहाल्ने संगीतकर्मीहरू कमै थिए । मूलतः तीस र चालीसको दशकका अधिकांश संगीत–सर्जकहरूले कदमका शब्दलाई रुचाएका पाइन्छन् । स्वरसम्राट नारायणगोपालले उनका गीत गाएका मात्र थिएनन्, उनका कतिपय शब्दलाई संगीतबद्धसमेत गरेका थिए । उनले संगीतबद्ध गरेका गीतहरूमा अरुणा लामा, फत्तेमानजस्ता नेपाली संगीत जगत्का महान् सर्जकहरूले स्वर दिएका थिए । अरुण थापा, डेजी बराइली, मधु क्षेत्रीजस्ता प्रख्यात गायकहरूले पनि कदमका शब्दलाई न्याय गरेका छन् ।
कदमका अधिकांश गीति–सिर्जनामा प्रेम–भावना छचल्किन्छन्, निराशाका कथाहरू बुनिन्छन् । कतिपयले उनलाई ‘निराशाका गीतकार’ पनि भन्लान् । हुन पनि, नेपाली गीत–संगीतमा तीसको दशक गहिरो प्रेमभाव र निराशाको घना बादलले पोतिएका सिर्जनाहरूको बाहुल्यबीच चम्किएको थियो । मूलतः रेडियो नेपालबाट प्रसारण हुने अधिकांश गीत त्यस्तै भावभूमिमा उभिएका हुन्थे । समाजमा परिवर्तनको बीजारोपण गर्ने र जनजागरण ल्याउने खालका गीतहरू कहाँ बज्थे र, त्यो समय ? सिर्जनकर्मीहरूले पनि आफूलाई ‘सेल्फ सेन्सरसिप’ तुल्याएर सिर्जना गर्थे, ताकि आफूले लेखेका सिर्जनाहरू तत्कालीन सत्ताको अधीनमा रहेको सञ्चार माध्यमहरूबाट सहज रूपमा प्रसारण होस् । सम्भवतः कदममा पनि त्यस्तै भावना थियो ।
जेहोस्, कदमका सिर्जनालाई तत्कालीन समयका सर्जकहरूले सहर्ष आत्मसात् गर्नु सुखद पक्ष थियो । आफूलाई शक्तिको पहुँचभित्र छिराउन राजा वा रानीद्वारा लेखिएका गीतहरू प्राप्तिका लागि दरबारमा बिन्तीपत्र हाल्ने जमानामा कदमजस्ता प्रतिभालाई अधिकांश गायक वा संगीत–सर्जकले सहयोग गर्नु र उनका सिर्जनालाई स्विकार्नु सुखद पक्ष हो ।
दिवंगत कदमप्रति हार्दिक श्रद्धा–अर्चन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply