जबज छाड्ने केपी ओली नै हुन्
पुष्पकमल दाहाल ‘प्रचण्ड’
सबैकोे केन्द्रीकृत अभिव्यक्ति हो संविधान । तर, त्यो अहिले धरापमा छ । हामीले त्यति ठूलो बलिदानीमा पाएको संविधान र गणतन्त्र यसरी आमक्रमणमा परेको छ । र, त्यसको रक्षा गर्ने काम हाम्रो जिम्मेवारी हो । हामी यहाँ प्रहसन गर्न, उखानटुक्का जोड्न र कमेडी गर्न आएका पनि छैनौं । हामी जनतालाई उद्वेलित र भ्रमित पार्न पनि जुटेका होइनौं । राष्ट्र र जनतामा देखापरेको संकटलाई पार गर्न यहाँ आएका हौं । आन्दोलनमा सहभागी भएका हामी बलिदान पक्षधरहरू यतिखेर अत्यन्त गम्भीर भएका छौं ।
हाम्रै आँखाअघि यति ठूलो उपलब्धिमाथि प्रहार भएको हामीले देखेका छौं । बडो पीडाका साथ यहाँ उपस्थित छौं । हाम्रै पार्टीले चुनेका प्रम र अध्यक्षले संविधान र गणतन्त्रमाथि निर्मम प्रहार गरेका छन् र त्यसको सामना गर्न हामी यहाँ छौ ं। यो ऐतिहासिक जिम्मेवारीलार्ई गम्भीर ढंगले मनन गर्न म सबैलाई आग्रह गर्छु । उत्पीडित वर्ग, जाति, क्षेत्र र समावेशीका विषयमा हामीले स्थापित गरेका उपलब्धिहरू अहिले ‘एम्बुस’मा परेका छन् । त्यसलाई बचाउन हामी यतिखेर छलफलमा जुटेका छौं । किन यस्तो भयो र यसको हलको उपाय केके हुन सक्छन् भनेर हामी यहाँ जुटेका छौं ।
सोभियत संघको विघटन भएपछि, पूर्वी युरोपका कम्युनिस्ट शासनहरू गल्र्यामगुर्लुम ढलेपछि कम्युनिस्ट आन्दोलन विश्वभर रक्षात्मक भयो । तर, दुई देशका बीचमा रहेको यो देशको भौगोलिक अखण्डताको रक्षा गर्दै र श्रमजीविहरूको हकहितका लागि लड्दै गर्दा नेपालमा भने कम्युनिस्ट पार्टी लोकप्रिय भयो । २१औं शताब्दीमा आएका अनेकौं क्रान्ति र परिवर्तनहरूलाई समेत ख्याल गर्दै, नेपाली विशेषतासहित जाँदा कम्युनिस्ट आन्दोलनलाई कसरी लोकप्रिय बनाउन सकिन्छ, नयाँ तरिकाले समाजवादको बाटो कसरी कोर्न सकिन्छ भनेर हामीले सोच्यौं । र, त्यसकै जगमा नेपालमा कम्युनिस्ट पार्टी स्थापित भई लोकप्रिय भएको हो ।
पछिल्लो कुरा गर्दा केपी ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर गएको म नै हुँ । त्यसलाई मैले यहाँ स्मरण गर्न चाहेको हुँ । चुनावमा वाम गठबन्धन गरेर जाने र निर्वाचनपछि एकता गर्नेबारे मैले उहाँसँग आधा घन्टा कुरा गरें । उहाँले सकारात्मक रूपमा लिनुभयो त्यसलाई । अब कानुनी राज्य, शान्तिपूर्ण संघर्षका विषयहरूमा हामी एक छौं भने मिलेरै जाँदा राम्रो हुन्छ, एउटै र विशाल पार्टी बनाऔं, मिलेर समाजवादको आधार तयार गरौं भनेर मैले उहाँसँग कुरा गरेकै हुँ । सोहीअनुसार आश्विन १७ गते हामीले वाम गठबन्धनको घोषणा ग¥यौं ।
कम्युनिस्ट कार्यकर्ता र विश्वभर छरिएर रहेका नेपाली र हाम्रा शुभेच्छुकहरूबीच त्यसले नयाँ ऊर्जा दियो । अब कम्युनिस्टहरूको नेतृत्वमा नेपालमा केही हुन्छ, स्थायित्व हुन्छ, आर्थिक विकास र समृद्धिका विषय अघि बढ्छन् भन्ने धेरैलाई लाग्यो । गरिब र निमुखाहरूले दलाल र शोषकहरूबाट न्याय पाउँछन् भन्ने विश्वास सर्वत्र छायो । हामीले ठीक गरेका थियौं र त्यसलाई जनताले अनुमोदन पनि गरेका थिए । हिजो बोलचाल नगर्ने कमरेडहरूबीच पनि एकै हप्तामा सुमधुर सम्बन्ध बन्यो र हामीले चुनावी सफलता पनि हासिल ग¥यौं । भन्नलाई कतिपय साथीहरू उतिखेर पर्याप्त तयारी नभएका कारण अहिले यस्तो संकट आएको पनि कुरा गर्छन् । विचार र पद्धतिमा व्यापक छलफल नगरी पार्टी एकीकृत गरेको भएर यस्तो अवस्था आएको तर्क गर्छन् । तर, त्यतिखेर ठोस समयको ठोस विश्लेषण गरेर हामी पार्टी एकीकरणमा गएका थियौं । यसर्थ, हामीले उतिखेर विचारमा पर्याप्त संवेदनशीलता र गम्भीरता नदेखाएको भन्न मिल्दैन । विचारमा हामी प्रस्ट थियौं, छौं ।
माक्र्सवाद लेनिनवाद हाम्रो निर्देशनात्मक सिद्धान्त थियो । तत्कालको राजनीतिक कार्यदिशा समाजवादउन्मुख जनताको समाजवाद भनेर दुवै पक्षबाट हस्ताक्षर गरिएको छ । जबजको उच्च मूल्यांकन गरिएको छ । त्यसलाई स्विकारिएको छ । कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउनमा जबजले भूमिका खेलेको छ भनेर स्विकारियो । माओवादी आन्दोलनको पनि त्यसमा मूल्यांकन गरिएको छ । मुख्य भूमिका खेलेका हामी दुई ओली र मैले हस्ताक्षर गरेका छौं । त्यसलाई पार्टीबाट अनुमोदन समेत ग¥यौं । हामीले विचारमा स्पष्ट भएर र राजनीतिक कार्यदिशामा प्रस्ट भएर नै एकता गरेका हौं । हामीले आफ्नो राजनीतिक प्रतिवेदन सर्वसम्मतिमा पारित गरेका हौं । संयुक्त बैठकमार्फत पार्टीको विधान पारित गरेर त्यही विधान बोकेर हामी निर्वाचन आयोगमा गएका हौं । यसर्थ, हामीले विचारलाई वेवास्ता गरेर पार्टी एकता गरेका थिएनौं ।
तर त्यो एकता र त्यो विधान व्यक्ति सर्वेसर्वा बनाउन भएको थिएन । अल्पमत बहुमतको मातहत हुने, बहुमतको निर्णय मान्न प्रत्येक पार्टीका कार्यकर्ता मान्न बाध्य हुने भन्ने नै थियो । तर, के कारणले पार्टीभित्र समस्या आयो त ? केन्द्रीय समितिको बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा राजनीतिक प्रतिवेदन पारित भएको छ । त्यसले एकताको प्रतिबद्धता दोहो¥याएको छ । र, अहिले हामी बहुमत केन्द्रीय सदस्यसहित छौं । त्यसमा प्रश्न गर्ने ठाउँ छ ? यो आधिकारिक छ भन्ने कुरामा शंका छ ? तर, ठाउँठाउँमा नौटंकी र प्रहसन भएका छन् । तर, त्यो विक्षिप्त मानसिकताको उपज हो । बोली र तर्क सुन्दा जोक्करमा परिणत भएजस्तो लाग्छ ओलीजी । ४ सय ४१ को जनाको केन्द्रीय समितिमा १ सय मात्रै उता भएपछि ११ सय बनाएको घोषणा गरेपछि त्यसलाई विक्षिप्त भएको किन नमान्ने ? हामी निर्वाचन आयोगमा गयौं । हामीले राज्यको ऐन र विधान पल्टायौं । दुई तिहाई बहुमतले मात्रै, केन्द्रीय कमिटीको दुई तिहाइले मात्र पार्टीको विधान संशोधन गर्न सक्छ । २ सय १८ अथवा २ सय १९ नभई गणपूरक संख्या पुग्दैन । तर, उहाँहरूसँग त सयजना पनि केन्द्रीय सदस्य छैनन् । तर उहाँले विधान संशोधन गर्नुभयो । ३ सयजना चाहिन्छ विधान संशोधन गर्न । यो के नाटक हो यो ? केन्द्रीय कमिटीको बैठक बसेर दुई तिहाइबाट केपी ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।
हामीले निर्वाचन आयोगलाई सोध्यौं, ‘तपाईंहरूलाई त्यो अधिकार छ । दुई तिहाइबिनै के गरेको ?’ भनेर सोध्यौ ं। आयोगले तथ्यअनुसार फैसला हुन्छ भनेको छ । दलसम्बन्धी ऐनअनुसार ५० प्रतिशतभन्दा कम हुनेहरूले अर्को दल दर्ता गर्नुपर्छ । पुरानो दल दाबी गर्न पाउँदैनन् । आयोगका प्रतिनिधिहरूले हामीलाई विश्वास दिलाउनुभएको छ कि आयोगले संविधान, विधान र ऐनभन्दा बाहिर गएर निर्णय गर्नेछैन । यसर्थ, अब सूर्य चिह्न हाम्रै हुनेछ । यदि सूर्य चिह्न भएन भने कयामत आउनेछ । त्यसो भएन भने आँधीहुरी आउनेछ । ओलीले संघीय लोकतन्त्रमाथि छुरी गरेजस्तै अन्यत्र पनि षड्यन्त्र गरे भने नेपाली जनता हेरेर बस्नेछैनन् । आयोग र अदालतप्रति हाम्रो भरोसा छ । ओलीजस्तो जोक्करको पछाडि कोही लाग्नेछैनन् ।
ओलीले हामीलाई भगौडा भन्नुभएछ । कान पनि के थुन्नु ? आँखाले देखिन्छ, के छोप्नु ? कानले सुनिन्छ, कसरी कान थुन्नु ? लाजैमर्दो । आफूसँग ३० प्रतिशत पनि सदस्यहरू नभएकाचाहिँ आधिकारिक रे, रैथाने रे ! केपी ओलीको दिमागमा बाहेक अन्त कहीँ यस्तो हुन्छ ? बैठकबाट निर्णय गनुप¥यो भनेर भाग्नेचाहिँ भगौडा नहुने । आउँछु भनेर लास्टमा नआउनेचाहिँ भगौडा नहुने, बैठक छाडेर, विधान मिचेर, तानाशाही रूपमा पार्टीलाई लात हान्नेचाहिँ सद्दे, हामीचाहिँ भगौडा ? मान्छेमा लाज र घिन भन्ने हुनुपर्छ । नैतिकता भन्ने हुनुपर्छ । उहाँ त घिन पनि नभएको निर्घिणी हो । लाजैमर्दो ।
नभएको कुरालाई पनि हाकाहाकी हो भन्ने क्षमता छ उहाँमा । त्यसो गर्न धेरै सिपालु हुनुहुन्छ । एक दिन वामदेवसँगको भेटमा उहाँले भन्नुभएछ, ‘तपाईं नै अध्यक्ष, प्रम नि तपाईं ।’ सोहि दिनको १ बजे माधव कमरेडलाई बोलाएर अब तपाईं नै प्रम र अध्यक्ष हो भनिदिनुभएछ । पछि ४ बजे मलाई बोलाएर ‘एमालेभित्र नेता नपाएर तपाईंलाई ल्याएको’ भन्नुभयो । होइन, यतिसम्म गर्न कसरी सकेको ? अनि आखिरमा केही नलागेपछि ‘पार्टीेले घेराबन्दी ग¥यो । केबाट उहाँलाई पार्टीले कुन कुरामा घेराबन्दी ग¥यो ? त्यसबारे एउटा मात्रै प्रमाण दिनुस् । यसो गर्न दिएन भनेर एउटा मात्रै प्रमाण पेस गर्न चुनौती दिन्छु म ओलीलाई । ओलीले नै उल्टाउल्टी गरेको हुनाले कुरा बिग्रेको हो ।
मैले कोरोना नियन्त्रणका लागि केन्द्रदेखि तलैसम्म, सबैलाई समेटेर साझा संयन्त्र बनाऔं, एउटा राष्ट्रिय अभियान बनाऔं भनेर कुरा राखें । तर, ओलीले त्यसलाई व्यंग्य गर्नुभयो । आफू अघि आउन यसले के गर्न आँट्यो भनेर शंका गर्नुभयो । पछि उल्टो, स्वास्थ्य सामान खरिदमा भ्रष्टाचार भयो भनेर छताछुल्ल तथ्य बाहिर आयो । अनि अझै काम गर्न दिएन भन्ने ? दिउँसै रात पार्ने, आँखामा छारो हाल्ने जोक्करको कुरा हो । हामीबीच पार्टी एकीकरण हुँदा एक नम्बरको अध्यक्ष र दुई नम्बरको भन्ने थिएन । अहिले हेर्नुहोस्, मिल्नेको कुरा अर्को हुन्छ ।
ओलीले बरु ‘मैले किन सबैको विश्वास लिन नसकेको होला भनेर आफ्नो अनुहार हेर्नुपर्दैन ?’ मैले नै ओलीलाई प्रस्ताव गरेको होइन प्रममा ? तर, अहिले त्यो प्रचण्डलाई यति सारो खेद्नुपर्ने कारण के प¥यो ? पार्टी भनेकै विवाद हुने संस्था हो। यसमा मतान्तर र बहस हुन्छन् । त्यसकै नाम पार्टी हो । माक्र्सवादले यो कुरररालाई स्विकार्छ, जतिखेर विवादको अन्त्य हुन्छ, त्यसपछि त पार्टीकै अन्त्य हुन्छ ।
पार्टीलाई विश्वासमा लिन नसकेपछि राजीनामा दिनुपर्ने होइन ? लोकतन्त्रको सामान्य सिद्धान्त होइन यो ? बहुमतलाई मान्ने नै हो लोकतन्त्रमा । निहुँ खोजेर संसद् नै भंग गर्ने पनि नेता हुन्छ ? नेताले संवेदनशील हुनुपर्दैन ? माधवजीले त संसद् संविधान भंग गर्नुभएन । झलनाथ प्रम हुँदा केपी ओलीले उहाँलाई लखेटेको होइन ? त्यस्तरी लखेटेको होइन ? तर, पार्टीभित्रको विधिसम्मत छलफलमै किन आत्तिएको ? अहिले त नांगै देखिएको छ । विदेशी शक्तिकेन्द्रको मन्त्रणमा यो सबै भएको छ । र, हेर्नुभयो होला तपाईंहरूले, जिन्युजको इन्टरभ्यु नाटकै हो । कति कुरा त पटाक्षेप भइसक्यो । हुँदाहुँदा अब सगरमाथाको पनि नाम फेर्ने रे । यो के नाटक हो ?
मलाई भारतले हटाउन खोजेको छ भन्नुभएको थियो । भारतले भन्दैमा हामीले कसैलाई हटाउने हो ? त्यसो भन्दै हामीले उहाँलाई हटाएनौ । तर, ओलीले बालुवाटारभित्र कस्तो पात्रलाई डाक्नुभयो ? तीनतीन घन्टा एक्लै के कुरा गर्नुभयो ? जनताले त सबै हेरेकै छन् । र, अहिले उहाँले संविधान नै भाँचकुच गरिदिनुभयो । के गरी सहने यो ? राष्ट्र नै वर्वाद पार्ने ठाउँसम्म जाने ? तर उहाँलाई त रमिता छ । सामान्य र स्वाभाविक मान्छेलाई यस्तो हुन्न । लाज पो लाग्नुपर्छ । खुसी भएर पो हिँड्या छ । भाङ खाएर नाच्याजस्तो पो छ । यस्तो पनि हुन्छ ?
‘सर्वोच्चले मान्छ, मान्नुपर्छ । मैले भनेपछि मान्नुपर्छ । यी कोही होइनन् । पार्टी पनि केही होइन । म नै सबै थोक हुँ ।’ उनको भनाइ यस्तो छ । तानाशाहको भूत सवार भएपछि आत्मालोचना नगर्ने, अरुलाई नदेख्ने र दोषजति अरूलाई देखाउने समस्या आउँछ व्यक्तिमा । आफू ध्वस्त नहुँदासम्म उसले थाहा पाउँदैन । कमिलाको प्वाँख उम्रेपछि यस्तै हुन्छ, अब धेरै महिना जानेवाला छैन । हामी छाड्नेवाला पनि छैनौं ।
उनी गणतन्त्रवादी थिएनन्, सबैलाई थाहा थियो तर सच्चिए होलान् किन भनेको, केको हुने ? मैले उहाँलाई धेरै तेल लगाएँ, राम्रो हुन्छ भने किन नलगाउने भनेर । हामीले पार्टी विघटनबाट तीनचोटि जोगायौं । पहिलोचोटि उनले पार्टी फुटाउनेबारेको अध्यादेश ल्याएताका दोस्रोपटक, उनले नेकपा एमाले नामको पार्टी दर्ता गराएको बेला । अहिले त घरमै आगो लगाउनुभयो । तर ओलीले यो लडाइँ हार्नुभयो । संसद्मा प्रहार गरेर, विदेशीको इसारामा देशको अस्मितामाथि प्रहार गरेर उहाँले कलंकको टीका लगाउनुभयो । अब त्यो कलंक मेटिँदैन । यदि चाहना गर्ने हो भने, मैले ठूलो गल्ती गरें भनेर पश्चात्ताप गरेर वक्तव्य दिए त्यो कलंकको टीका मेटिन सक्छ । तर, तानाशाहहरू आफू ध्वस्त नहुन्जेल जान्छन् । हिटलरको के हालत भयो ? भ्यागुताको भुँडी नफुटुन्जेलसम्म तन्केजस्तै उहाँ तन्किरहनुहुनेछ । म त ट्रम्प, मोदी, सि जिन पिङभन्दा मै ठूलो भन्ने उहाँलाई लाग्दो हो । त्यसैले उहाँले कसैलाई टेर्ने कुरै आएन । त्यसैले पेट फुलाउँदैछन् । तर उनको फुट्नेछ भुँडी ।
मैले उहाँलाई दुईचोटि प्रम बनाउन सघाएको हुँ । उहाँप्रति मेरो व्यक्तिगत रिस होइन, अरू कुरा सहायक हुन् । मूल कुरा राजनीति नै हो । विधिपद्धति हो । स्पष्ट पारौं, जबज छाड्ने पहिलो व्यक्ति ओली हुन् । जबज छाडेर ‘समाजवाद उन्मुख जनताको समाजवाद’मा हस्ताक्षर गर्ने को हो ? जबज छाड्ने को हो ? यो विचारको लडाइँ हो । उहाँलाई कम्युनिस्ट भन्ने नै मन पर्दैन । लालसलाम भन्ने सुन्नै चाहनुहुन्न । क्रान्तिकारी लालसलाम र समाजवाद उहाँलाई मन पर्दैन । उहाँलाई पुँजीवाद मन पर्छ । पार्टीभित्रको विवादको मूल कारण पनि यही हो ।
ओलीजीहरू अहिले भन्दैछन्, ‘प्रचण्डले अनेक षड्यन्त्र गर्छ र ऊ एमालेलाई फुटाउन आएको हो । प्रचण्डले कुनै पनि बेला पार्टी फेरि कचक्क पारिदिन्छ’ भनेको सुनेको छु । तर, तथ्य यो होइन । माधवकुमार नेपाल र म केपीका विरुद्ध मात्र संगठित भएका होइनौं । पञ्चायतविरोधी आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हामी दुईजनाले विगतमा सयौंपटक भेट गरेका छौं । जनयुद्धताका पनि हामी लगातार शान्ति र गणतन्त्रमा कसरी जाने भनेर असाध्यै धेरै लामा छलफल र बहस गरेका हौं । यो भरोसा एकछिनमा बनेको होइन । हामी चार दशकदेखि सँगै छौं । यसै यो एकता सम्भव भएको होइन । होहल्लाका पछाडि नलाग्नुहोला । मेरो स्वभाव नै कस्तो छ भने म भिन्न मत राख्नेसँग पनि मिल्न सक्छु । त्यही भएर हिजो ओलीलाई प्रम र अध्यक्ष बनाएर अघि बढेको हो ।
पार्टी एकीकरणपश्चात् माधवलाई सकाउन लागेका रहेछन् केपी पक्ष भनेर राम्ररी थाहा पाएँ । चारपाँच जिल्लामा माधवजीलाई सीमित पार्ने र त्यसपछि मलाई सक्याउने योजना उनको रहेछ । माण्धवजीप्रति अन्याय भएको देखेपछि मैले त्यसो हुन दिइनँ । मैले बराबरीमा ल्याउन पहल गरें । कमरेडहरू, केपी ओलीहरूका भ्रममा नपर्नुहोला । त्यसपछि ओली रन्थनिए, सबै सिध्याउँला भनेको, प्रचण्डले दिएन भन्ठाने ।
पोहरको केन्द्रीय कमिटीको बैठक भयो । ओलीलाई सो बैठकको सफलता मन परेन । उनले पशुपति प्लाजामा गोप्य भेला गराए र प्रहार अब प्रचण्डमाथि केन्द्रित गरे । माधव वरपरकालाई लागि फकाउने गर्न थाले । तर, ओलीको अन्यायविरुद्ध नेपाल सतीसालझैं उभिनुभयो । मलाई त उहाँलाई एक नम्बरको अध्यक्ष मान्दा गजब लागेको छ । हामीभित्रै पनि भएका कमिकमजोरी पखाल्नका लागि केपीको तानाशाहीले सहयोग गर्ला । हामीभित्रैका तानाशाही र कचरा पनि यसबाट साफ हुन्छ भन्ने हो । अवसरवादका विरुद्ध संघर्षको सुरुवात आफैंबाट गर्नुपर्छ । हामीले आफैंभित्रको अवसरवादविरुद्ध लड्नुपर्छ । त्यसो भएमात्र कम्युनिस्ट पार्टी बन्छ । २१औं शताव्दीको कम्युनिस्ट पार्टी बनाउने लडाइँ हो यो । विधि, समाजवादको आदर्शको पक्षमा र विभेद, अत्याचारविरुद्ध स्वभिमान र समर्पण भावका साथ लड्ने लडाइँ पनि हो यो । यो जीवनमरणको लडाइँ हो यो । यो असामान्य हो । एकजनाले हजारौं सहीदहरूको अपमान गरेको छ । अब हामी लडाइँ लड्ने हो तर शान्तिपूर्ण लडाइँ लड्ने हो ।
संसद् मरेको छ । केपी ओलीको सरकारले त्यसलाई मारेको हो । तर संविधानले त्यसलाई मर्न दिएको छैन । हामीले अब अल्छि गर्न हुन्न । माघदेखि फाल्गुणसम्म अनेक रूपमा प्रदर्शन गर्नुपर्छ । लाखौं जनतालाई सडकमा उतारेर मात्र संविधानको बलात्कार गर्ने अपराधीलाई इतिहासको कठघरामा उभ्याउनुपर्छ । नत्र, हाम्रो भविष्य सुरुङतर्फ धकेलिनेछ । हामी निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति भर गर्छौं । तर, त्यसका लागि दबाब पनि हुनुपर्छ । बाहिर हल्लाहरू सुनिन्छन्, सेटिङ भाछ रे भन्ने । म त्यस्ता कुरा पत्याउनै चाहन्नँ । हामीले अदालत र आयोगप्रति भरोसा त गरेका छौं । तर, त्यसमा हामीले सहजीकरण गर्नुपर्छ । रिल्याक्स मानेर नबसौं । हामी आन्दोलनमा खडा भयौं भने सबै हाम्रै हुन्छ । सडकमा गएर हामी न्यायका लागि जनतासँगै बसेका छौं । यसो गर्दा जनतासँग जोडिएको लागेको छ । यसर्थ, हामी अपिल गर्छौं हाम्रा नेता, कार्यकर्ता र जनतालाई, रातदिन नभनौं । संविधान र लोकतन्त्रमाथिको आक्रमण गर्नेविरुद्ध उत्रौं ।
(सम्बोधनमा आधारित)
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply