ओली किन बन्दैछन् यति अमर्यादित र अशिष्ट ?
बुधबार डेस्क
काठमाडौं । आफ्नै पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसकेर संसद् विघटन गरी असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेपश्चात् सर्वत्र आलोचित बनिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरूमा पदीय मर्यादा र गरिमालाई समेत बिर्सन थालेका छन् । प्रधानमन्त्रीको पदीय मर्यादालाई भुलेर ओलीले अशिष्ट, तुच्छ र अमर्यादित भाषाको सहायता लिई आफ्ना विरोधीहरूमाथि खनिन थालेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले बोलेका भाषाहरू हेर्ने हो भने कुनै अल्लारे कार्यकर्ताले बोलेभन्दा केही फरक देखिँदैन ।
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत सो समूहका माथिल्लो तहका नेताहरूप्रति अशिष्ट भाषा प्रयोग गर्दै कटाक्ष गर्दै आएका छन् । गएको पुस ५ गते संसद् विघटन गरेर प्रतिगमनको दिशातिर कदम चालेपछि प्रधानमन्त्री ओलीले आफ्नो कदमको विरोध गर्ने राजनीतिक दल वा समूहका नेताहरूप्रति आलोचना गर्ने क्रममा अमर्यादित भाषा प्रयोग गर्न थालेका हुन् ।
केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका प्रखर युवा–नेता योगेश भट्टराईप्रति लक्षित गर्दै अमर्यादित शब्द प्रयोग गरेका थिए । उनले भट्टराईलाई ‘केटो’ भन्दै ‘मैले चुनाव जितेर आएपछि मन्त्री बनाउँछु भनें, बनाएँ पनि । तर अहिले भने मलाई लात्ताले हानेर हिँड्यो’ भन्दै असन्तुष्टि जनाएका थिए । तत्कालीन समयमा प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका भट्टराईलगायत पाँचजना मन्त्रीले ओलीको असंवैधानिक कदमप्रति असहमति जनाउँदै पुसको पहिलो हप्ता नै राजीनामा दिएर बाहिर निस्किएका थिए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याउन नेकपाले आफ्नो आन्दोलन जारी राखेको छ । दोस्रो चरणको आन्दोलनलाई हाँक्न नेकपाले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन कमिटीसमेत गठन गरिसकेको छ । तर, प्रधानमन्त्री ओलीले भने श्रेष्ठको नेतृत्वमा गठित आन्दोलन परिचालन कमिटीप्रति कटाक्ष गर्दै ‘नारायणकाजीको नेतृत्वमा आन्दोलन गर्ने रे ?’ भनेर केही दिनअघि खिस्याएका थिए । प्रधानमन्त्री ओलीले नेता श्रेष्ठलाई ‘यताको गोटी उता चालेर नेता भएको मान्छे’ भनी कटाक्षसमेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री भइसकेका प्रचण्ड, नेपाल र झलनाथ खनालप्रति पनि पदीय मर्यादा भुलेर अमर्यादित भाषा प्रयोग गर्न छाडेका छैनन् । आफ्ना विचार वा कदमप्रति असहमति राख्ने राजनीतिक दलका नेताहरूलाई जवाफ फर्काउँदा राजनीतिक भाषा प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले भने सामान्य शिष्टाचारको पनि बेवास्ता गरी ओठे जवाफ दिने र अमर्यादित भाषा बोल्ने गर्दै आएका छन् । पूर्वप्रधानमन्त्री नेपालप्रति कटाक्ष गर्दै ओलीले भनेका थिए, ‘दुईदुई ठाउँबाट चुनाव हारेपछि प्रधानमन्त्री, अरूले छाडिदियो भने अध्यक्ष, मौका छोपेर, भल छोपेर हुने मान्छे ।’
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष प्रचण्डप्रति पनि अमर्यादित टिप्पणी गरेका थिए । धनगढीको एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘जसलाई छोरीहरूको मतलब छ, बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरूको पार्टी हो ?’ यसअघि नै ओलीले प्रचण्डलाई अमर्यादित भाषा प्रयोग गर्दै ‘मैले उनलाई काम लाग्छ कि भनी पार्टीमा ल्याएँ तर डल्लाका डल्ला साबुन सकिँदा ड्रमका ड्रम पानी सकिँदा पनि काम लागेन’ भनी बोलेका थिए । प्रधानमन्त्री ओलीले धनगढीकै सभामा नेता भीम रावलप्रति पनि त्यस्तै अमर्यादित भाषा प्रयोग गर्दै भनेका थिए, ‘म जेलमा थिएँ, प्रहरीले एउटा अछामको केटो सडकबाट टिपेर जेलमा ल्यायो, मैले उनलाई राजनीति सिकाएँ ।’ नेता रावलप्रति टिप्पणी गर्ने क्रममा प्रधानमन्त्री ओली हदैसम्म तल्लो स्तरमा ओर्लिएका थिए र रावललाई ‘काठ तस्कर’ को संज्ञासमेत दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो कदमप्रति असहमति जनाउने जोकोहीलाई अमर्यादित भाषा प्रयोग गरेर धम्क्याउन बाँकी राख्दैनन् भन्ने दृष्टान्त चारजना पूर्वप्रधानन्यायाधीशलाई धम्कीपूर्ण भाषा प्रयोग गरेबाटै ज्ञात हुन्छ । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ‘प्रतिनिधिसभा विघटन असंवैधानिक’ भनी ठहर गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले ती पूर्वप्रधानन्यायाधीशहरूलाई कटाक्ष गर्दै भनेका थिए, ‘एकपटक अदालतमा जागिर खाएका केही मान्छेले पोहोरपरार अहिले पनि जागिरमै छु जसरी यस्तो हुन्छ र उस्तो हुन्छ भनेर बोल्छन् ।’
प्रधानमन्त्री ओलीले आफूसँग असहमत पूर्वप्रधानन्यायाधीशहरूप्रति अमर्यादित टिप्पणी गरेपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले त्यसको तीव्र विरोधसमेत जनाएका थिए । उनीहरूले पूर्वप्रधानन्यायाधीशहरूलाई धम्क्याउने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै धम्क्याउने काम छाड्न चेतावनीसमेत दिएका थिए ।
आफूसँग छुट्टिएका प्रचण्ड–नेपाल समूहका साथै पूर्वप्रधानन्यायाधीशहरूलाई समेत अमर्यादित भाषा प्रयोग गर्न उद्यत प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति पनि अशिष्ट शब्द प्रयोग गरेका थिए । संसद् पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका नेता पौडेललाई लक्षित गर्दै ओलीले अमर्यादित भाषा प्रयोग गरेका थिए । तर, पौडेलले भने प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै आफ्नो निर्वाचनमा क्षेत्रमा आएर आफूसँग चुनाव लड्न चुनौतीसमेत दिएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply