काठमाडौं केन्द्रित सशक्त आन्दोलन, ९ माघमा बृहत् प्रदर्शन
बुधबार डेस्क
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिगमनविरुद्धको आन्दोलनलाई राजधानी काठमाडौं केन्द्रित गर्दै सशक्त बनाउने भएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाले आन्दोलन उपत्यका केन्द्रित हुनेगरी सशक्त बनाउँदै लैजाने तयारी अगाडि बढाएको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडकबाट जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउँदै लानुपर्ने निष्कर्ष निकाल्दै नेकपाले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र आमसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनलाई सशक्त बनाउने विषयमा पेरिसडाँडामा बसेको पछिल्लो स्थायी समिति बैठकमा नेकपाले देशव्यापी समीक्षासहित आन्दोलनबारे नेताहरूले रिपोर्टिङ र विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
पछिल्ला दिनमा ओली गुटले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ भइसकेकाले आफ्नै पार्टी आधिकारिक हुने भ्रमपूर्ण प्रचार गर्ने र राज्यशक्तिको चरम दुरुपयोग गर्दै मूलधारमा लागेका पार्टीका नेता–कार्यकर्ता तान्ने षड्यन्त्र गरिरहेको छ । त्यस्तो षड्यन्त्रलाई चिर्दै निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष ढंगले पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे निर्णय लिन जनप्रदर्शनबाट सहजीकरण गर्ने तथा सर्वोच्च अदालतलाई समेत जनदबाबबाट स्वतन्त्र र निष्पक्ष रूपमा न्यायिक निरूपणका लागि उत्प्रेरित गर्ने उद्देश्यले पनि नेकपाले विशेषतः जनप्रदर्शनमा जोड दिएको हो । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ४ माघबाट लगातार सुनुवाइ अगाडि बढेको र त्यसमा छिट्टै फैसला हुने सम्भावना देखिएकाले संवैधानिक अंगहरूमा राज्यसत्ताको दुरुपयोग नहोस् भन्ने आमचासो रहेको छ । विघटनको कदममा प्रधानमन्त्री स्वयंले संवैधानिक र कानुनी रूपमा ‘फेस’ गर्न नसकेर प्रतिरक्षात्मक बनिरहेको परिप्रेक्ष्यमा अदालतले विघटनलाई असंवैधानिक रूपमा व्याख्या गर्दै संविधानलाई लिकमा ल्याउनेगरी प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय गर्ने आमबुझाइ छ । तर पनि प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूले सार्वजनिक रूपमै निर्वाचन आयोग र अदालत दुवैले आफ्नो पक्षमा फैसला सुनाउने निरन्तर प्रचारबाजी गर्नुले भने एक प्रकारको भ्रम सिर्जना गर्नुका साथै जनस्तरमा आशंका भने जन्माएको छ ।
केन्द्रीय संघर्ष समितिको अगुवाइमा पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पछिल्लो बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि ९ माघमा राजधानी काठमाडौंमा बृहत् सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताएका छन् । उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित अपराह्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गरिने पनि उनले जानकारी दिए । यसअघि १४ पुसमा नेकपाले काठमाडौंमै बृहत् जनप्रदर्शन र विरोधसभा आयोजना गरेको थियो । पहिलोपटकको त्यस विरोधसभामा ५० हजारभन्दा बढीको जनसहभागिता थियो । यसपटकको प्रदर्शनमा भने त्यसभन्दा माथिल्लोस्तरको र व्यवस्थित हुने बताइएको छ ।
विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ÷संगठन तथा सम्पूर्ण दिदीबहिनी दाजुभाइमा संघर्ष समितिका तर्फबाट अपिल गरिएको छ । ऐक्यबद्धताका लागि आन्दोलनको दोस्रो चरणअन्तर्गत नेकपाले नागरिक समाजका अगुवाहरू, कानुन व्यवसायीलगायतसँग बेग्लाबेग्लै अन्तक्र्रिया र छलफल गरेको छ । उनीहरूले प्रतिनिधिसभा पुनःस्थापनाका निम्ति हुने आन्दोलनमा ऐक्यबद्धता मात्रै जनाएका छैनन्, आन्दोलनको माहोल सिर्जना गर्न अपिल जारी गर्नेदेखि विभिन्न किसिमका रचनात्मक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।
त्यस्तै विरोधसभामा व्यापक जनसहभागिता जुटाउन नेकपाले व्यवस्थित ढंगले तयारीका कार्यक्रम अगाडि बढाएको छ । राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि ४, ५ र ६ माघमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई नेकपाले निर्देशित गरेको छ । त्यस सिलसिलामा ६, ७ र ८ माघमा पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचारसभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी र जनसंगठनहरूलाई निर्देशन गरिएको सहसंयोजक भट्टराईले जानकारी दिए । विरोध प्रदर्शनको तयारीकै सिलसिलामा ७ माघमा भृकुटीमण्डपबाट उपत्यकाव्यापी विशाल मोटरसाइकल ¥याली आयोजना गरिने पनि नेता भट्टराईले जानकारी दिए ।
आन्दोलनलाई स्थानीय तहसम्म देशव्यापी बनाउन नेकपाको आयोजनामा दिनहुँ देशैभर भेला, अन्तक्र्रिया र प्रशिक्षणहरू चलिरहेको छ । त्यस्तै, काठमाडौंसहित सातवटै प्रदेशमा जनसंगठनहरूको भेलाका साथै पार्टी कमिटीहरूले केन्द्रीय संघर्ष समितिको घोषित कार्यक्रमबाहेक थुप्रै रचनात्मक तरिकाका कार्यक्रमहरू पनि चलाइरहेका छन् । कार्यक्रमको सिलसिलामा अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू ती कार्यक्रमहरूमा देशव्यापी रूपमा सहभागी हुँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply