पुस्तकको पहुँच बाहिर
विवस वस्ती
पछिल्ला दशकमा निजी प्रकाशन गृहहरूको व्यापकतासँगै पुस्तक प्रकाशनको क्रम पनि बढ्न पुगेको छ । हरेक वर्ष संख्यात्मक रूपमा पुस्तक प्रकाशन बढिरहेको छ । असहज परिस्थितिबाहेक सहज र सरल अवस्थामा प्रकाशन गृहहरूले पुस्तक प्रकाशन र त्यसको बजारीकरणमा अग्रसरता देखाउँदै आएका छन् । पुस्तक प्रकाशन, एक नाफामूलक व्यवसायका रूपमा स्थापित हुँदै गएको हुँदा पनि निजी प्रकाशन गृहहरूले साहित्य÷गैरसाहित्य दुवै कोटीका पुस्तकहरू प्रकाशन गर्न रुचि देखाउँदै आएका छन् । फैलिँदो छ, पुस्तकको बजार ।
पुस्तकको बढ्दो बजारसँगै पाठकहरू पनि लाभान्वित बन्न पुगेकामा सन्देह देखिँदैन । किनभने, पाठकहरूले पनि आफ्ना रुचिका पुस्तकहरू बजारबाट खरिद गर्न पाएका छन् र ज्ञान, चेतना र सूचनाका अथाह भण्डार भिœयाउन पाएका छन् । राजनीति, इतिहास, अर्थशास्त्रदेखि साहित्यका अनेक विधाका पुस्तकहरू प्रकाशन गर्न प्रकाशन गृहहरूले तत्परता देखाइरहेका हुँदा पनि स्वाभाविक रूपमा आम पाठकले लाभ उठाउन पाइरहेका छन् । यसलाई नेपाली पुस्तक संसारमा देखिएको सकारात्मक पक्ष मान्नुपर्छ ।
पुस्तक प्रकाशनको क्रम बढे पनि निजी प्रकाशन गृहहरूले पुस्तकको मूल्यमा देखाएको अनुदारताका कारण भने आम पाठक पिल्सिँदै आएको यथार्थलाई भने भुल्न मिल्दैन । हुन त पछिल्लो समयमा जुन वस्तुको पनि मूल्य बढेको छ । प्रकाशकहरूले तर्क दिन सक्छन्, ‘पुस्तकको मूल्य बढ्नु स्वाभाविकै हो, कागजको मूल्य बढेको छ, मसीको मूल्य बढेको छ ।’ मुद्रण खर्च वा कागजको खर्च पक्कै पनि बढेका छन् । तर, पुस्तक प्रकाशन खर्च बढे पनि प्रकाशकहरूले त्यसको तुलनामा उचित मूल्य राख्नुभन्दा पनि अधिक मुनाफा कमाउने हेतुले पुस्तकको मूल्य निर्धारण गर्ने गरेको तथ्यप्रति भने आँखा चिम्लिन सकिँदैन ।
हामीकहाँ अधिकांश प्रकाशनगृहहरूले मध्यम वर्गलाई लक्षित गरेर पुस्तक प्रकाशनमा जोड दिँदै आएका छन् । मध्यम वर्गको रुचिलाई पहिल्याउन सक्ने साहित्यिक÷गैरसाहित्यिक प्रकाशनहरूमा ध्यान दिँदै आइरहेका छन् । विदितै छ, अभिजात वर्ग र न्यून आयस्तर भएका दुवै वर्गका रुचिभन्दा मध्यम वर्गको रुचि पठन क्षेत्रमा अधिक देखिँदै आएको छ । न्यून आयस्तर भएका वर्गको पठन क्षेत्रमा रुचि नहुनुमा त्यो वर्गले पुस्तक खरिद गरेर अध्ययन गर्न सक्ने अवस्था सिर्जना नहुनु नै प्रमुख कारण मान्न सकिन्छ ।
तर, निजी प्रकाशन गृहहरूले प्रकाशन गर्ने पुस्तकहरूको बढ्दो मूल्यसँगै मध्यम वर्ग पनि प्रभावित बन्न थालेका छन् । हामीकहाँ अधिकांश मध्यम वर्ग सहरी वा सहरोन्मुख क्षेत्रमा बस्छन् । त्यो वर्गको आवश्यकताका क्षेत्रहरू विविध छन् । त्यही कारण, आवश्यकताका विविध क्षेत्रहरूमा आफ्नो सीमित आम्दानी खर्च गर्नुपर्ने भएको हुँदा पुस्तक खरिद प्राथमिकताको तल्लो तहमा पर्नु स्वाभाविक देखिन्छ । अझ, पुस्तकहरूको बढ्दो मूल्य देख्दा त त्यो वर्गले पुस्तक सुम्सुम्याएर मात्र छाड्नुपर्ने बाध्यता पनि उत्तिकै छ ।
त्यसो त, हामीकहाँ आम पाठकको पहुँचभन्दा बाहिरै रह्यो– पुस्तकहरू । त्यसको मूलभूत कारण नै आयस्रोत अनुरुप खरिद गर्न नसक्नु नै हो । तथापि, पूर्ववर्ती समयमा भने परिस्थिति केही फरक थियो । सोभियत संघको विघटन हुनुपूर्व रुसी साहित्य, दर्शन, राजनीतिलगायतका पुस्तकहरू नेपाली बजारमा सहज रुपमा उपलब्ध मात्र हुँदैनथे, लगभग निःशुल्कजस्तै मूल्यमा पाइने भएको हूँदा न्यून आयस्रोत भएकाहरूले पनि पहुँचमा पर्थे, ती पुस्तकहरू । चिनियाँ साहित्य, राजनीति र दर्शनका पुस्तकहरू पनि सस्तै मूल्यमा पाइन्थे । मूलतः पूर्वसमाजवादी मुलुक सोभियत संघले कम्युनिज्म विचारको प्रवाहलाई तेस्रो विश्वका मुलुकहरूमा पु¥याउन सस्तो मूल्यमा पुस्तक बिक्री, वितरण गर्थे । एउटा सोद्देश्यपरक रुपले रुसले आफ्ना साहित्यिक÷गैरसाहित्यिक पुस्तकहरू बिक्री, वितरण गर्ने भएको कारण पनि आम पाठकको पहुँचभित्र पर्दथे । सन् नब्बेको दशकमा सोभियत संघको विघटन भएपछि त्यस्ता पुस्तकहरूको प्रकाशन लगभग बन्द नै हुन पुग्यो । र, अब त्यस्ता पुस्तकहरूको पुनः प्रकाशन नहुने भएपछि तत्कालीन समयमा नेपालका कतिपय पुस्तक बिक्रेताहरूले चौब्बर रुपमा मूल्य बढाएर बेचेको कैयांै दृष्टान्त छन् ।
पुस्तकहरू आम पाठकको पहुँच बाहिर रहेको अवस्थामा अहिले पनि भारतका केही प्रकाशनगृहहरूले भने सस्तो संस्करण निकालेर कम मूल्यमा पुस्तक बेच्दै आएका छन् । अझ, भारतकै केही प्रगतिशील प्रकाशन संस्थाहरूले त न्यूनतम नाफा राखेर मात्रै पुस्तक प्रकाशन गर्दै आएका छन् । तर, हामीकहाँ भने बढीभन्दा बढी मुनाफा कमाउने होडबाजी चलिरहेको छ र यही होडबाजीका कारण आम पाठकले सुलभ मूल्यमा प्स्तक पढ्न पाउनु दुरुहजस्तै बन्दै गइरहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनबाट प्रकाशित पुस्तकहरू निजी प्रकाशनगृहका तुलनामा कम मूल्यका छन् । तर, विडम्बना, आर्थिक संकटबीच गुज्रिरहेको साझाले पछिल्लो समय पुस्तक प्रकाशन गर्न छाडेको छ भने प्रज्ञा–प्रतिष्ठानबाट गहन र अनुसन्धानमूलक पुस्तकहरू प्रकाशित भए पनि बिक्री, वितरण र त्यसको प्रचारमा देखिएको शिथिलताका कारण आम पाठकबीच पुग्न सकिरहेको छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply