चिहान उधिन्नेको हैसियत
विष्णु रिजाल
नेकपा विभाजनको प्रसव पीडाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री केपी ओलीले दिनदिनै मानिसहरूलाई हँसाइरहनुभएको छ । विद्या भण्डारीलाई राष्ट्रपति र आफूलाई प्रधानमन्त्री बनाउने नेताहरूलाई अनेक उखान–टुक्का, उपमा र आरोप लगाएर उहाँले जति खिल्ली उडाउन खोजिरहनुभएको छ, वस्तुतः उहाँ स्वयंको खिल्ली उडिरहेको छ । पार्टीभित्र समस्या आएपछि तिनलाई निराकरण गर्नुको साटो पार्टी नै फुटाइदिनेगरी प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, प्रतिगामी र गणतन्त्रलाई कमजोर बनाउने कदमको संवैधानिक परीक्षण अदालतमा भइरहेको बेला सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली कति कमजोर धरातलमा उभिनुभएको छ भन्ने देखाउँछ । विकास, समृद्धि र स्थायित्वको नारा बोकेर निर्वाचनमा गएको र त्यही नारा अनुमोदन भएर प्रधानमन्त्री भएको व्यक्ति यतिबेला यी सबै कुरा छाडेर आफ्नै सहकर्मीहरूका विरुद्धमा मैदानमा उत्रिएको विडम्बनापूर्ण अवस्था छ ।
पानी र बानी माथिबाट तलतिर बग्छ भनिन्छ । आदर्श मानिएका नेताहरूले जुन शैली अपनाउँछन्, त्यसैलाई कार्यकर्ताले अनुशरण गर्नु अन्यथा हुन्न । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदको मर्यादा, आफ्ना सहकर्मीहरूसँगको दशकौं लामो सहकार्य र सामान्य राजनीतिक सम्बन्धलाई पनि ख्याल नगरेर दिनदिनै दिने उटपट्याङ र उत्ताउला अभिव्यक्तिहरूले बाहिर बसेर सुन्नेहरूलाई त आनन्द दिलाउला, स्वयं उहाँलाई अध्यक्ष र प्रधानमन्त्री बनाउने तमाम कार्यकर्तालाई आफ्ना नेताको स्तर देखेर कस्तो लाग्छ होला ? यसबारे उहाँले सामान्य पनि ख्याल नगरेको मात्र होइन, एकपछि अर्को उस्तै अभिव्यक्ति दोहो¥याइरहनुभएको छ । भन्नलाई अरू नेताहरू पनि के कम छन् र ? उनीहरूले पनि जथाभावी बोलि त रहेका छन् भन्न सकिएला । तर, यहाँनेर फरक के छ भने उहाँ मुलुकको कार्यकारी प्रमुख हुनुहुन्छ र उहाँको हस्ताक्षरबाट प्रतिनिधिसभा विघटनको सिफारिस भएका कारण स्वाभाविक रूपमा उहाँप्रति आक्रोश हुन्छ । तर, प्रधानमन्त्री ओलीचाहिँ नामै किटेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका विरुद्धमा मात्र होइन, पश्चिम पुगेर भीम रावल र पूर्वतिरका मान्छे जम्मा गरेर योगेश भट्टराईलाई खुइल्याउन पछि पर्नुभएको छैन । यस्ता क्रियाकलापले नेकपाभित्रको बहसलाई पूरै व्यक्तिकेन्द्रित गरिदिएको छ ।
प्रधानमन्त्री ओलीले आफू १५ वर्षसम्म मातहतमा बसेर नेता मानेका माधवकुमार नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ का रूपमा चित्रण गर्न प्रयत्न गरिरहनुभएको छ । आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने नेतासँग यस तीन वर्षका बीचमा गरेको व्यवहारले पोलेर होला, ओलीले आफ्नो प्रहारको निसाना नेपालतिर सोझ्याइरहनुभएको छ । प्रचण्डले नेपाललाई पहिलो वरीयताको नेता मान्न आफूलाई कुनै समस्या नरहेको सार्वजनिक घोषणा गरेर जवाफ दिएपछि पनि ओलीले के गरेर हुन्छ, माधव नेपाललाई होच्याउन छाड्नुभएको छैन । तर, उहाँले जतिजति माधव नेपाललाई होच्याएँ भनेर आनन्द मानिरहनुभएको छ, मानिसहरूलाई ओलीसँग माधव नेपाल किन दिक्दार हुनुभएछ भनेर बुझ्न सजिलो भइरहेको छ ।
प्रधानमन्त्री ओलीको समूहले यतिबेला जोडतोडका साथ ‘एमालेहरू एक ठाउँमा रहनुपर्ने’ कुरा उठाइरहेको छ । पूर्वएमालेका नेता–कार्यकर्ताहरूलाई के गरेर भड्काउन सकिन्छ र त्यसबाट फाइदा लिन सकिन्छ भनेर तलदेखि माथिसम्म यस कुरालाई महŒवका साथ प्रचारप्रसार गरिएको छ । आफूसँग आएका सानो संख्याका पूर्वमाओवादीका नेताहरूलाई समेत नजरअन्दाज गर्दै पूर्वसमूहको एकताको कुरा गरिँदैछ । तर, यहाँनेर हेक्का राख्नुपर्ने कुरा के छ भने यतिबेला नेकपामा आएको विभाजन वस्तुतः पूर्वएमाले समूहभित्रको समस्याले गर्दा हो । आफ्नो स्वार्थ पर्दा ‘एमालेहरू एक हुनुपर्ने’ कुरा निकाल्नेहरूलाई हेक्का हुनुपर्ने हो– पार्टीभित्र केपी ओलीले एकलौटी निर्णय गर्न खोज्दा माधव नेपालले तीनपटक ‘नोट अफ डिसेन्ट’ लेख्नुपरेको थियो । अहिले एमालेको हुरुरु माया लागेर कस्सिनेहरू त्यतिबेला पनि यही पार्टीमा थिए । माओवादीसँगको एकतामा सिंगो एमालेको होइन, आफ्नो गुटको मात्र प्रतिनिधित्व गर्दै ओलीले मनपरी गरेर माओवादीलाई होइन, एमालेलाई नै पेल्नुभएको थियो । त्यसैले, आज ‘एमालेहरू’ को नारा लगाएर सुम्सुम्याउन खोज्नु गैंडाले चाट्न खोजेजस्तै हो ।
माधवकुमार नेपाललाई ‘प्रचण्डसँग मिल्न गएको’ भनेर कार्यकर्ता भड्काउन खोज्नुको कुनै तुक छैन । किनभने, प्रचण्डसँग एकता माधव नेपालले होइन, केपी ओलीले गर्नुभएको थियो । आज प्रचण्ड अनेक कारणले मन नपर्न सक्नुहोला तर घामजत्तिकै छर्लंग र यथार्थ कुरा के हो भने त्यतिबेला उहाँको समर्थन नभएको भए न विद्या भण्डारी राष्ट्रपति बन्ने सम्भावना थियो न केपी ओली प्रधानमन्त्री नै । सम्भवतः यही पद प्राप्तिको हतारोले गर्दा ओलीले त्यतिबेला प्रचण्डसँग एकता गर्नुभएको थियो । तर, आज कताबाट के बल प्राप्त गरेर हो, एकता उचित लागेन भनेर अरूमाथि आरोप लगाउन सुहाउँदैैन ।
पूर्वएमालेका नेता–कार्यकर्तालाई भड्काउनकै लागि प्रधानमन्त्री ओली र उहाँका समर्थकहरूले प्रचण्डले हिजो गरेको ‘गल्ती’ हरूको फेहरिस्त सुनाइरहनुभएको छ । हिजो युद्धका बेला मारिएका १७ हजार मानिस सम्झेर यतिबेला प्रधानमन्त्रीले दिनदिनै आँसु चुहाइरहेको आश्चर्यलाग्दो दृश्य देखिन्छ । पक्कै पनि मानिसहरूको ज्यान गएको कुरालाई राम्रो मान्न सकिन्न । त्यसमा पनि युद्धमा असंलग्न एमालेका नेता–कार्यकर्ताहरूले अनाहकमा ज्यान गुमाएको थप पीडादायी अनुभव हामीसँग छँदैछ । तर, ओलीलाई यस्ता कुरा सम्झना भइरहँदा एउटा थप कुरा पनि सम्झना हुन आवश्यक छ– यी घटना यही पुस ५ गते उहाँले संसद् विघटन गरेका कारण प्रचण्ड–नेपाल एक ठाउँमा उभिएपछि भएका होइनन् । त्यसैले आफ्नो सुविधामा तर्क अघि सार्ने कुराले नेताको उचाइ बढाउँदैन ।
यसबाट पनि अघि बढेर ओलीले प्रचण्डमाथि बासी आरोपहरू दोहो¥याइरहनुभएको छ । यतिसम्म कि नेपालमा जनयुद्ध गर्दा प्रचण्ड कपालमा जेलवाला तेल लगाएर दिल्लीमा बसेको, ०७० को निर्वाचनमा मतपेटिका साटेर चुनाव जितेको, मतपत्र च्यातेर छोरीलाई मेयरमा जिताएको जस्ता कुराहरूको ओलीलाई यतिबेला सम्झना भइरहेको छ । सबैलाई थाहा छ, यी कुनै पनि घटना हालका होइनन् र यहाँले दुईजनालाई जेटका पाइलट भनेर पार्टी एकता गर्नुअघि नै भएका थिए । उहाँले एकता गर्दा यी कुनै कुराको पनि चर्चा गर्न र जिम्मा लिनुनपर्ने अनि कुरा मिलेन भनेर चिहान उधिन्ने कुराले हाम्रो राजनीतिक चेतनास्तर र नेताहरूको हैसियत देखाउँछ ।
माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ‘४० वर्ष लामो सम्बन्ध छ’ भनेको कुरालाई अपव्याख्या गर्दै ‘त्यसो भए एमालेका कार्यकर्ता मारिएका बेला पनि माधव नेपाल र प्रचण्डको सहकार्य रहेछ’ भनेर अपव्याख्या गर्ने कोसिस भएको छ । नेताहरूबीचको सम्बन्ध र राजनीतिलाई नबुझ्ने र तथ्यलाई तोडमरोड गर्ने कुत्सित मनशायका साथ आएका यस्ता कुतर्कहरूको जवाफ आवश्यक नभए पनि द्वन्द्वका बेलामा समेत शान्तिका लागि माधव नेपालले लखनउ, सिलिगुढी र दिल्ली पुगेर गरेका प्रयासहरूलाई मात्रै सम्झिँदा पुग्छ । यस्तो तर्क तिनीहरूले गरिरहेका छन्, जो पार्टी एकता हुँदा ‘केपी ओली र प्रचण्डको केमेस्ट्री मिल्छ’ भनेर सिद्धान्त प्रतिपादनमा लागेका थिए । कम्तीमा आफैंले खाएको थालमा फोहोर नगर्दा सम्बन्धित पात्रहरूलाई नै फाइदा हुन्छ ।
केपी ओली कमजोर राजनीतिक धरातलमा उभिनुभएको छ । होला, उहाँसँग यतिबेला राज्यसत्ता छ, राष्ट्रपति खल्तीमा हुनुहुन्छ, पैसा छ, हुल्लडबाजहरूको पंक्ति छ, रातिराति भेट्ने विदेशी मित्रहरू छन् । तर, राजनीतिक एजेन्डा छैन । राजनीतिक रूपमा उहाँ पूरै प्रतिरक्षात्मक हुनुहुन्छ । राष्ट्रपतिसँग मिलेर असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने जालसाजीपूर्ण व्यवहारले उहाँलाई पूरै एक्ल्याएको छ । कमल थापाबाहेक कसैले पनि देशभित्र उहाँको कदमलाई साथ दिएका छैनन् भने हिजो उहाँलाई महान् ठान्ने विदेशी मित्रहरू पनि आज जिब्रो टोक्न बाध्य छन् । यसैकारणले विषयान्तर गर्न पुराना कुराहरूलाई विरूप पारेर उत्खनन गर्न बाध्य हुनुहुन्छ ।
यदि इतिहास नै खोतल्ने हो भने केपी त्यहाँ पनि रक्षात्मक नै भेटिनुहुन्छ । प्रचण्डलाई आज आएर व्यक्ति हत्याको अभियोग लगाउने हो भने त्यसको अगुवा पनि ओली स्वयं हुनुहुन्छ । जुन व्यक्ति राजनीतिक गतिविधि गरेको बेला व्यक्ति हत्याको अभियोगमा पक्राउ परेर १४ वर्ष जेल बसेको छ, त्यही व्यक्तिले अरूलाई आरोप लगाएको पटक्कै सुहाउँदैन । यी सबै विगतलाई सिरानी हालेर नयाँ आधारमा सम्झौता भएर संविधान बनिसकेपछि निहुँ खोज्ने कुरा गर्दा आफ्नै इतिहासको उत्खनन हुन्छ भन्ने कुरा किन ध्यान नदिएको होला ?
प्रधानमन्त्री नै तल्लोस्तरको गालीगलौजमा उत्रिएपछि नेकपाको विवाद यतिबेला गालीगलौजमय भएको छ । नेतादेखि कार्यकर्तासम्म तर्क, बहस र छलफलमा होइन, चर्का गालीगलौजमा उत्रिरहेका छन् । प्रधानमन्त्रीलाई जवाफ दिन अरू नेताहरू पनि त्यही तहमा उत्रिएको सिको कार्यकर्ताहरूले गरिरहेका छन् । आफूसँग कुनै एजेन्डा र तर्क नभएकाले व्यंग्य, गाली र उखान–टुक्काबाट काम चलाइरहनुभएका प्रधानमन्त्री ओली त्यसबाट मुक्त नभएसम्म नेकपाको बहस स्वस्थ हुन सक्दैन ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply