नारा र धाराले आउने होइन समाजवाद
प्रेमराज सिलवाल
समाजवाद त्यस्तो अर्थ–राजनीतिक दर्शन, मूल्य, मान्यता, विचार र सिद्धान्त हो, जसले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा रहेको विभेद, असमानता र अन्यायलाई न्यूनीकरण गरी समतामूलक, न्यायपूर्ण तथा आर्थिक समानताको वकालत गर्दै समृद्ध राज्य प्रणाली र समाजको परिकल्पना गर्दछ । संघीय लोकतान्त्रिक गणतान्त्रिक संवैधानिक प्रबन्धको सिँढी चढेर उक्लनुपर्ने तला भनेको मुलुक, समय र जनताको आवश्यकताअनुसारको नेपाली मोडेलको समाजवाद निर्माण हो । यद्यपि, त्यसमा अनेकौं तगारा र छिर्के हान्ने जनविरोधी प्रतिगामी तŒव सक्रिय भएर खडा भएका छन् । षड्यन्त्र र जनविरोधी हर्कतलाई वैचारिक र नीतिगत खुँडा हान्दै ढाल्दै राजनीतिक अभियान छेड्नु आजको आवश्यकता हो । त्यो शक्ति जनताको राजनीतिक संगठन, विचार र क्रियामा हुन्छ र छ ।
नेपालको संविधानको प्रस्तावनाले समाजवादउन्मुख अर्थ–राजनीतिक व्यवस्थाको चर्चा गरेको छ । संविधानका मौलिक हकका विभिन्न धारामा समाजवादी सिद्धान्त र मूल्यका विभिन्न आर्थिक, सामाजिक र राजनीतिक अधिकार तथा नागरिक हितको पक्षमा संवैधानिक प्रबन्ध गरेको छ । समाजवाद जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) द्धारा प्रतिपादित माक्र्सवादी दर्शन र राजनीतिक विचारधारामा बढी आधारित मूल्य र विचारधारा हो । माक्र्सले समाजमा हुने खाने र हुँदा खानेका बीचमा वर्गीय असमानता र राजनीतिक शोषणको अवस्था हुने कुरालाई वैज्ञानिक भौतिकवादी सिद्धान्तद्वारा प्रमाणित गरेका थिए । उनको दर्शन र विचारलाई पछि भ्लादिमिर इलिच लेलिन (१८७०–१९२४) ले सन् १९१७ मा अक्टोवर क्रान्तिमार्फत व्यवहारमा उतारेका थिए । तर, सन् १९८९ मा तत्कालीन सोभियत रूस ढलेपछि कम्युनिस्ट विश्वमा ठूलो धक्का लाग्न गयो । समाजवाद र कम्युनिस्ट विचार र सिद्धान्तलाई जडसूत्र र निरंकुश शासनशैलीका बलमा लागू गर्न खोज्दा त्यस्तो दुर्घटना हुन पुगेको हो । त्यसपछि विश्वमा विचारधारात्मक परिवर्तन र सुधारका भावनाहरू विकास र विस्तार हुँदै आएका छन् ।
बदलिँदो विश्व र समाजवाद
विश्वमा सोभियत सत्ता ढलेसँगै अन्य कतिपय राष्ट्रमा कम्युनिस्ट शासन धमाधम ढल्न पुगे । त्यसको मूल कारण भनेको कम्युनिस्ट शासन, विचारधारा, मूल्य, दर्शन र सिद्धान्तललाई जडसूत्रमा बुझ्नु, निरंकुशता लाद्नु, दमनकारी सत्ता हुनु, जनताको जनमतको कदर नगर्नु, विश्व परिस्थिति र अन्तर्राष्ट्रिय पुँजीवादी षड्यन्त्र चिर्न नसक्नुजस्ता कारणहरू प्रमुख रहे । जबकि, समाजवाद भनेको विज्ञानसम्मत विचारधारा, दर्शन र सिद्धान्त थियो र हो । तर पनि सत्ताहरू टिकेनन् । जनताको सार्थक समर्थन र सहभागिताबिना शासन टिक्दैनन् । केवल नारा र आश्वासनले मात्र सत्ता टिक्दैनन् । सन् १९७५ देखि सन् २००९ सम्म भारतको कलकत्तामा शक्तिमा रहेका माक्र्सवादी सत्ता ढल्यो र पछि कहिल्यै फर्कन सकेको छैन । यस्तो किन हुन्छ ? भन्दा कम्युनिस्ट सत्ता र शासनले समाजवादी ढाँचाको अर्थ–राजनीतिक प्रबन्ध गर्नै सकेनन् । केवल राजनीतिक नाराबाजी र चुनावी घोषणाले मात्र कुनै सत्ता टिक्दैनन्, टिकेनन् ।
नेपालमा समाजवादी शासन र अर्थ–राजनीतिक प्रणालीको लागि राज्यले के–कस्ता सुधार र परिवर्तन गर्नु आवश्यक हुन्छ भन्ने कुराले धेरै लामो समयदेखि चर्चा र चासोको विषय भयो । यसमा धेरै अध्ययन गरिएका छन् । धेरै बहस भएका छन् । धेरै क्रिया र अन्तक्र्रिया पनि भएका छन् । समाजवादी प्रणाली ल्याउनुभन्दा त्यसका लागि आधार निर्माण गर्नु बढी महŒवपूर्ण हुन्छ । समाजवाद टिक्ने भनेको पनि त्यही अर्थ–राजनीतिक आधार र जगमा नै हो । अर्थ–राजनीतिक जग र आधारबिना समाजवाद भनियो र समाजवाद घोषणा गर्न हतारो गरियो भने त्यो सन् १८७१ को ‘पेरिस कम्युन अफ फ्रेन्च रिभोलुसन’ जस्तो हुन पुग्छ । जो मजदुरको सत्ता थियो तर ७२ दिनमै ढल्न पुग्यो । त्यसैले, हामीले समाजवादी शासन प्रणाली र समाजवादी सत्ता भन्नुभन्दा अगाडि त्यसको आधार निर्माण गर्नुचाहिँ बढी महवŒपूर्ण हुन्छ । केवल राजनीतिक घोषणा र संवैधानिक प्रबन्ध मात्र गरिएको समाजवाद टिक्नै सक्दैन । यसर्थ, समाजवादका लागि पहिले समाजवादी आधारशिलाको निर्माण गर्नुपर्दछ । जसरी बलियो घर निर्माणका लागि मजबुत जगको आवश्यकता पर्दछ, त्यसरी नै समाजवादका लागि अर्थ–राजनीतिक क्षेत्रमा व्यापक परिवर्तन, सुधार तथा प्रबन्ध गर्दै अघि बढ्नुपर्छ ।
अर्थ–राजनीतिक प्रबन्ध र समाजवाद
अर्थ–राजनीतिक प्रबन्धसँग मुलुकका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सुधार र परिवर्तन जोडिएका यावत् विषयमा दिगो परिवर्तन तथा प्रबन्ध गर्नु आवश्यक हुन्छ । समय, आवश्यकता र जनताको चाहना भनेको समृद्ध लोकतन्त्र र गणतन्त्र हो । जनतामा आधारित जिम्मेवार गणतन्त्र हो । विकासमुखी लोकतन्त्र हो ।
जाति, भाषा, लिंग, क्षेत्र, भूगोल, तह, तप्का, धर्म, आर्थिक–सामाजिक उत्पीडनमा परेका हरेक वर्ग, समूह र पक्षलाई राजनीतिको मूल प्रवाहप्रतिको अपनत्व र विश्वास हुनेगरी राज्यको राजनीति, आर्थिक र सामाजिक प्रणालीले काम गर्न सक्नुपर्दछ । संविधानवाद र संवैधानिक मूल्य र मर्मअनुसारको समावेशिता, सहभागिता, सुविधा, हित, सुरक्षा, सेवा र विकास सबैले पाउनैपर्ने कुरा हो । त्यसमा कसैले पनि अपनत्वबोध गर्न सक्नुपर्छ । भ्रष्टाचार न्यूनीकरण गरी प्रगतिशील कर लागू हुुनुपर्छ । राज्य आफ्ना लागि होइन र छैन भन्ने भावना जनता र नागरिकमा पनि हुने अवस्था भयो भने त्यो समाजवाद उन्मुखको राजनीतिक प्रणाली बलियो बन्ने आधार खडा हुनै सक्दैन । अधिकतम रोजगारी, शिक्षा, स्वास्थ्य, आर्थिक सुविधा, प्रजातान्त्रिक र राजनीतिक अधिकार, मानवहित र मानवअधिकार, जनताका हरेक हितको सुरक्षा, शासन र प्रणालीप्रतिको अपनत्व वृद्धि, गणतान्त्रिक भावना र प्रणालीको विकास र विस्तार, संघीयता र संघीय शासन प्रणालीको मर्म र भावनाअनुकूलको शासन व्यवस्था र जनतामा आधारित शासन प्रणाली, उत्तरदायी र जनताको शासन, राजनीतिक प्रणालीमा कुनै पनि व्यक्ति र नागरिकले सहज तरिकाले भाग लिन पाउने ग्यारेन्टी, स्वच्छ निर्वाचन र जनउत्तरदायी प्रतिनिधि, सामाजिक न्याय र सहभागितामूलक शासनजस्ता पक्षमा सार्थक तथा देखिने सुधार र परिवर्तन गर्न सक्ने अवस्था भयो भने त्यो समाजवादको जग र आधार बलियो बन्ने स्थिति हुन्छ ।
त्यसको मूल कडी र आधार जनताको राजनीतिक संगठन बलियो बनाउनु हो । समाजवादभन्दा समाजवादको जग निर्माण गर्ने कुरालाई बढी महŒव दिनुपर्दछ । जनता र नागरिक समुदायका प्रत्येक व्यक्ति र समूहले राज्य आफ्नो हो र शासन आफ्नै हो भन्ने अन्तरमनदेखि भावना विकास गर्न सक्ने अवस्था र वातावरण निर्माण हुन सक्नु नै समाजवादको अर्थ–राजनीतिक क्षेत्रको आधारशिल निर्माण गर्नु हो । त्यस्तो आधारशिला निर्माण भइसकेको अवस्थामा समाजवाद लागू गर्न सहज हुन्छ । जस्तो उदाहरणका लागि कुनै किसानले बाँझो खेतमा रोपाइँ गर्न सक्दैन । त्यसका लागि खेतलाई पूरै खनजोत गर्नुपर्छ । बिउ राख्नुपर्छ । पानी, मल, बिउ सबैको जोरजाम गरेपछि अन्तमा श्रमिक (खेतालाहरू) तयार गरेको तयारी दिन रोपाइँ गर्न सकिन्छ । अर्थात्, रोपाइँ गर्ने भन्नेबित्तिकै ती सबै साधनस्रोत, पूर्वतयारी, व्यवस्था र प्रबन्ध गरेकै हुनुपर्दछ । जसरी बाँझो खेतमा बिनातयारी किसानले रोपाइँ गर्न सक्दैन, त्यसैगरी राज्यमा अर्थ–राजनीतिक क्षेत्रमा व्यापक सुधार, पूर्वतयारी तथा आवश्यक प्रबन्ध नगरी समाजवाद भन्ने मात्रले केही हुन्न । समाजवाद भन्न र नारा लगाउन त्यति कठिन हुन्न जति लागू गर्न हुन्छ । त्यसैले, किसानले खेत रोप्दा गरेको तयारी जस्तै मुलुक र राजनीतिक नेतृत्वले प्रणाली र व्यवस्थामार्फत राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा व्यापक सुधार तथा दिगो परिवर्तन गर्न सक्नुपर्छ । त्यस्तो प्रबन्ध र परिवर्तनले मात्र समाजवादी शासन प्रणालीतर्फको यात्रा गर्न सहज हुन्छ ।
राजनीतिक नारा र संवैधानिक हिसाबले समाजवाद भनेर मात्र समाजवाद आउने पनि होइन र लागू गर्न पनि सकिन्न । नेपालमा लामो समयदेखि निरंकुश, निर्दलीय र जनविरोधी शासन प्रणाली लागू गरिएको छ । तसर्थ, त्यस्तो प्रणालीले विकास गरेका अनेकौं खालका जनविरोधी संवैधानिक, राजनीतिक, आर्थिक र सामाजिक प्रबन्ध तथा जबर्जस्ती विकास गरिएका जडता र विकृतिलाई उखेलेर फ्याँक्नुपर्छ । त्यसकै लागि राजनीतिक, आर्थिक र सामाजिक पक्षमा पहिले संवैधानिक, कानुनी र राजनीतिक दृष्टिकोणले दिगो परिवर्तन गर्नुपर्छ । त्यस्तो गर्न सकिएन भने समाजवाद केवल चुनावी नारा र संविधानको कुनै ठाउँमा उल्लेख हुने शब्द–वाक्य मात्र बन्ने अवस्था हुन्छ । साँचो अर्थमा समाजवाद लागू गर्न समग्र तयारी तथा प्रबन्ध गर्नु आवश्यक हुन्छ ।
निष्कर्ष
नेपालको राजनीतिमा लामो समयदेखि समाजवाद, समाजवादी सत्ता, शासन र परिवर्तनको नारा लागेको छ । संविधानले पनि त्यो मूल्य र मान्यतालाई स्वीकार गरेको अवस्था छ । यद्यपि सो अनुकूलको राजनीतिक, आर्थिक र सामाजिक प्रबन्ध निकै जटिल र कठिन काम हो । निरंकुश र सामन्ती सत्ताले थोपरेका अनेकौं अन्यायपूर्ण विधि र प्रबन्धले समाज जकडिएको छ । समाजवाद लागू गर्ने कुराभन्दा पनि सो अनुकूलको परिवर्तन गर्दै अघि बढ्नु नै आजको सन्दर्भमा बढी महŒवपूर्ण कुरा हो । समाजवाद जनताको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अनुभूति हुनेगरी लागू गर्न सक्नुपर्दछ । समाजवादको गीत गाएर समाजवाद आउने होइन । संघीय गणतन्त्र अनुकूलको लोकतान्त्रिक संविधान आफैंमा समाजवादतर्फको पहिलो खुड्किलो त हो । तर, त्यसैबाट जनताका सबै आवश्यकता पूरा हुन सक्छन् र अब संघर्ष सकियो भन्ने ठान्नुहुन्न । फेरि पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अनेकौं प्रकारका सुधार एवं परिवर्तन आजको नेपाली राजनीतिको अनिवार्य विषय भएको छ । यो नगरी लोकतन्त्र पनि बलियो बन्नै सक्दैन । समाजवादको लागि अर्थ–राजनीतिक क्षेत्रमा परिवर्तन तथा सुधार आजको खाँचो हो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply