अब गीतसँगै कथा पनि
विवश वस्ति
केही दिनपूर्व, नायक दयाहाङ राई र अरू सहकलाकार अभिनित एउटा गीत सार्वजनिक भयो । बोल थियो, ‘सँगसँगै कान्छी… ।’ शरणार्थी समस्यालाई केन्द्रबिन्दुमा राखिएको त्यो गीतको पृष्ठभूमिमा एउटा सिंगो इतिहास, कालखण्ड र जीवन–भोगाइका तस्बिर छ । त्यो गीतमा गीतिपन कम छ र अभिनय धेरै । अर्थात्, संवाद–बाहुल्य गीत । जसलाई नामकरण नै गरिएको छ, म्युजिकल गीत । पछिल्लो समय, कुनै गीत–संगीतलाई अझ प्रभावशाली बनाउन नयाँ–नयाँ उपायहरू रच्न थालिएको छ । गीतसँगै कथा–संवाद । त्यसकै पछिल्लो कडी हो, दयाहाङ अभिनित यो गीत पनि ।
कुनै समय, गीत–संगीत केवल श्रवण मात्रै गर्ने गरिन्थ्यो । तत्कालीन समयमा श्रवणमा नै गीत–संगीतको शक्ति थियो । तर, प्रविधिको तीव्रतम विकाससँगै गीत–संगीतले श्रवणको साँघुरो घेरा तोडेर दृश्य–बिम्बमा पाइला टेक्यो । गीत–संगीत ‘सुन्ने’ को तह छिचोलेर ‘हेर्ने’ तहमा उक्लियो । नयाँ–नयाँ माध्यमको विकास र त्यसको बढ्दो पहुँचसँगै दृश्यांकनबिनाको गीत–संगीत फुको सातुजस्तै हुन थाल्यो । अब फेरि अर्को लहर चल्न थालेको छ । दृश्यांकनमा गीत मात्रै पस्केर नहुने भयो अब । त्यसमा कथावस्तुले समेत स्थान पाउनुपर्ने अनिवार्यता देखिँदै गएको छ । पछिल्लो समय, कुनै कथातŒव र संवादसहितको गीत पस्किने होडबाजी प्रारम्भ भएको छ र त्यस्ता गीत–संगीतले बहुसंख्यक भावकको मन जित्न पनि सकेका छन् । धेरैभन्दा धेरै ‘भ्युअर्स’ बटुल्न सक्षमसमेत देखिएका छन् ।
केही वर्षपहिला वैदेशिक रोजगारमा जानेहरूका पीडालाई सिँगारपटार गरेर एउटा गीत बाहिर आएको थियो– ‘सुन साइँली…।’ धेरै प्रसिद्धि पायो, त्यो गीतले । शब्द र अभिनयमा व्याप्त पीडासँगै त्यसमा सम्मिश्रण कलात्मकता एवं श्रवण–शक्ति पनि बेजोड भएकै कारण त्यो गीत चम्किएको सहजै ठान्न सकिन्छ । गीतले प्रसिद्धि बटुलेको केही वर्षपछि त्यही गीतमा घोलिएको कथासारलाई टिपेर ‘साइँली’ नामक चलचित्र नै निर्माण भयो । गीतलाई कथातŒवले सिँगाने कार्य त त्यसअघि पनि नभएका होइनन् तर त्यो गीतसँगै गीत–संगीतमा कथापनको बाहुल्य भने अचाक्ली बढ्दै आएको छ । अब गीत पूर्ववर्ती दिनहरूमा जस्तै केवल ‘सुन्ने’ वा ‘हेर्ने’ मात्र होइन, त्यसको कथ्यलाई पनि ग्रहण गर्ने समय आएको महसुस गर्न सकिन्छ ।
हुन त एउटा गीत आफैँमा पूर्ण हुन्छ । अर्थात्, एउटा गीतले सिंगो कथा–संसार नै बोकेको हुन्छ । नभए कुनै समय चर्चित डेजी बराइलीको गीत ‘भैंसी लड्यो है माया…’ होस् वा नारायणगोपाल र मीरा राणाको युगल स्वरमा सजिएको ‘मेरो जोबान लैजाऊ…’ होस्, ती गीतहरू आफैंमा कथा थिए । कथ्य संरचनामा उभिएका थिए । साथै, ती गीतहरू आफैंमा कुनै समाज र जनजीवनका व्यथा पनि थिए । ती गीतहरूलाई कुनै कथ्यमा ढाल्नु आवश्यक नै पर्दैनथ्यो । तर, अब भने जमाना बदलियो । भावकहरूका रुचिमा दिनानुदिन झनै परिष्कार आउँदै गयो । तसर्थ, ‘सुन्ने’ र ‘हेर्ने’ तह छिचोल्दै अब कथ्य–संरचनामा गीत–संगीतलाई ढाल्न अनिवार्यजस्तै बन्दै गएको छ । त्यसो नगरिए अपेक्षाकृत रूपमा ‘भ्युअर्स’ पाउनै कठिन ।
कुनै समय, गीति–नाटक÷कथाको व्यापकता थियो । चालिसको दशकतिर नेपाली रंगमञ्चलाई समृद्ध तुल्याउने एउटा माध्यम गीति–नाटक पनि थियो । रंगमञ्चमा महिनौं दिनसम्म चल्थे, त्यस्ता गीति–नाटकहरू । त्यही दशकमा एकातिर राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत ‘मालती–मंगले’ ले झ्याली पिटेको थियो भने अर्कातिर प्रगतिशील वृत्तमा रायनकृत ‘सिम्मा’ ले तहल्का नै मच्चाएको थियो । पञ्चायतको आखिरी दिनमा प्रदर्शित यी दुई गीति–नाटकमा एउटाले तत्कालीन सत्ताको माया र स्नेह पाउने विषयवस्तु टिपेको थियो भने अर्कोले सत्ताको निरुत्साहन पाउने विषयवस्तु । जे भए पनि नेपाली रंगमञ्चलाई गीति–नाटकले समृद्ध तुल्याउन आ–आफ्नै बिन्दुबाट भूमिका भने दुवै नाटकले गरेका थिए । अब गीति–नाटकको समय लगभग समाप्त भइसकेको छ । यो विधा÷माध्यमलाई पछ्याउने सर्जकहरू कहीँकतै परिदृश्यमा देखिँदैनन् । त्यस्तै, गीति–कथा पनि समाप्तिको दिशातिर उन्मुख छ । एकाध दशकअघि केही मिडिया (एफएम) ले यो विधालाई प्राथमिकता दिए पनि अचेल भने प्राथमिकताको सूचीबाट हटिसकेको आभास हुन्छ ।
अहिलेको पुस्ता सामाजिक सञ्जालहरूलाई प्रयोग गरेर आफ्नो प्रतिभालाई उजागर गर्ने कार्यमा अभ्यस्त बन्दै छन् । प्रविधिको दु्रत विकासले आफूमा मौजुद प्रतिभालाई बाहिर ल्याउन जोकोहीलाई सहज हुँदै गइरहेको छ । यही क्रममा, गीत–संगीतलाई सार्वजनिक गर्ने सहज माध्यम युट्युबजस्ता च्यानलहरू बन्न पुगेका छन् । फेरिँदो माध्यमसँगै गीत–संगीतको रूप पनि फेरिनुलाई स्वाभाविकै मान्नुपर्ने हुन्छ । साथै, यसलाई मनोरञ्जनको दायरा झन् फराकिलो बन्दै गइरहेको एउटा प्रमाणका रूपमा पनि मान्न सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply