आभ्यासिक कोसेली
डा. मुरारी पराजुली
मुक्तक भनेको कविताको आयामगत एक प्रकार हो । जसरी अन्य आयामका कवितामा अपरिहार्य कविता तŒव हुन्छन्, त्यसैगरी मुक्तकमा पनि तिनको अनिवार्य उपस्थिति हुनु जरुरी छ । कविता कलात्मक लयवाणी हो । कथ्य र कलाका बीच तालमेल मिलेन भने कविता; कविताजस्तो हुँदैन । सामान्य अभिव्यक्तिका लागि त हामीसँग लोकभाषा छँदै छ नि तर अलि घुमाउरो, चसक्क छुने र सुनिरहूँजस्तो लाग्ने हुन त स्वभावतः त्यो भाषा फरक हुनैप¥यो नि । हो, यही सामान्य भाषाभन्दा फरक भाषा नै साहित्य हो, नत्र साहित्य र बोलचालको भाषामा के फरक रह्यो र ? यसरी मुक्तकलाई पनि सुन्दर, चित्ताकर्षक र कालजयी बनाउन कथ्यले जीवनको गहिरो अनुभूति समेटोस्, उदात्त विचारले मथिंगल रिंगाओस्, कुशल बिम्बालङ्कार औ प्रतीक आयोजनामा सौन्दर्यको इन्द्रधनुष ओर्लोस्, लयात्मक सङ्गीतमा हृदय पग्लोस् र तीव्र औत्सुक्यको अनपेक्षित शमन होओस् अनि पो मुक्तक ! वाह मुक्तक ! नेपाली मुक्तकका सन्दर्भमा पनि यही कुरो मननीय छ । दुईचार पंक्तिको संक्षिप्त पद्य बनाउँदैमा, तुकबन्दी मिलाउँदैमा र पूर्वापर निरपेक्ष हुँदैमा त्यो खास मुक्तक हुँदैन ।
कलाका सम्पूर्ण ज्यावलले सिँगारपटार गरिसकेपछि पनि मुक्तकले पाठक वा श्रोतालाई तरंगित तुल्याउन सकेन भने त्यो मुक्तक हुन सक्तैन । थोरैमा चमत्कार पूर्ण कथन गर्न सक्नु मुक्तकको धर्म हो । सूक्ति वा महावाणीजस्तै जनजनका हृदयलाई उद्वेलित गर्ने सामथ्र्य नभएका तुकबन्दीयुक्त चतुष्पदी (वा, दुईदेखि सप्तपदी वा चरणहरफका कविता) मुक्तक धार नभएका हतियारजस्ता हुन् । यिनले समय त कटाउँछन् तर पाठक वा श्रोताका हृदयलाई दीर्घकालसम्म तरङ्गित तुल्याउँदैनन् । कर्पोरेट कम्पनीका प्रकाशन गृह त फस्टाउलान् तर उपभोक्ताको आकर्षण नहुँदा कविमन दुःखी हुन्छ; गाँस काटेर छपाएका कृतिले लेखकलाई उठिबास लगाउँछ । साहित्यको प्रकाशन आत्मप्रकाशन मात्र होइन, यो केही नभए पनि लगानी उठाउने माध्यम त हुनैपर्छ । यसैले आजका मुक्तकमा गरिने गुणवत्ताको मापन मैले रचनाकौशलसहित उपभोक्ताको बजार–प्रभावसम्मलाई मानेको छु ।
लक्ष्मी श्रेष्ठ (जन्मः वि.सं. २०२१, सिन्धुली) विराटनगरमा रहेर साहित्यिक साधनामा समर्पित स्रष्टा हुन् । प्रायः लघुतम कविताका क्षेत्रमा क्रियाशील यिनको ‘मनका तरंगहरू’ नामको हाइकुसंग्रह २०७६ मा प्रकाशित भइसकेको छ । यसैगरी यही कोटीका लघुतम कविताका विविध बान्कीयुक्त संग्रहहरूको प्रकाशन संघारमा पनि यिनी रहेका देखिन्छन् । यसपटक यिनी ‘सधैँ तिम्रो सम्झनामा’ शीर्षकको चतुष्पदी रुबाई शैलीको मुक्तकसङ्ग्रह लिएर देखापरेका छन् । यिनी मूलतः रुमानी मुक्तककारका रूपमा रहेको मैले पाएको छु । प्रणयका बग्रेल्ती चोटपटक, उपचार, निको र प्रसन्नता बोकी यिनैका सेरोफेरोमा रहेका अधिक यिनका मुक्तकहरू परिभ्रमणशील छन् । हुन सक्छ यसैका घातले उब्जाएका पीडा–निराशाका क्षणमा मदिरामोहको मग्नता पनि बाक्लै देखिन्छ । त्यसो त मदिराको मादकता प्रसन्न मनले पनि खोजिरहेको पाइन्छ मुक्तकमा । जे होस्, माया र मदिरा लक्ष्मीकृत मुक्तकका मूलमर्म रहेको मैले पाएँ ।
मुक्तककारलाई बेथितिपूर्ण राजनीतिले पनि आक्रोशित तुल्याएको छ । नेताहरूको भ्रष्टीकरणले मुलुक उठ्न नसकेको यिनको ठम्याइ छ । सामाजिक असंगति र विडम्बनाले यिनको छाती भतभती पोलेको छ । दुराचार, भेदभाव, शोषणका यिनी विरोधी छन् । सुन्दर संसार बनाउने इच्छा राख्ने यी मुक्तककार मानिस नैतिक चरित्रमा अडिनुपर्ने, कर्मशील हुनुपर्ने, देशलाई प्रेम गर्नुपर्ने, कसैलाई घात गर्न नहुने । यी र यस्तै सन्देश यिनले आफ्ना मुक्तकका माध्यमबाट प्रवाहित गरेका छन् । यिनका मुक्तक–रचनाहरूको अध्ययन गर्दा यिनी गजल– लेखनका सन्दर्भमा आउने काफिया र रदिफमा खेल्दै गर्दा रुबाईतर्फ पनि आकर्षित भएको देखिन्छ । सहृदयलाई चमत्कृत गर्ने मुक्तकीय मर्मको सफल प्रत्यारोपणमा पुगिनसकेका भए पनि त्यहाँ पुग्न चाहिने बाटाको सामल यिनले बटुल्न लागेको आभास हुन्छ । यिनको लेखन चरण रुबाईमा चाहिने काफिया, रदिफको आभ्यासिक अनुशीलनमा धमरधुस भएर लागेको पाइन्छ । मैले यिनलाई नवसिकारु रुबाई पद्यकारका रूपमा भेटेको छु । यिनका मुक्तकहरू मुक्तकका साँचामा बडो यत्नसँग ढालिएका छन् । मिहिनेतपूर्वक साँचामा ढालेर निकालिएका यी मुक्तकको आयु कति छ भन्ने प्रश्नलाई दिन सक्ने गतिलो जवाफ नै लक्ष्मी श्रेष्ठका मुक्तकको गुणवत्ता हो । मुक्तकको महत्ता त्यसमा पाइने प्रभावकारिता नै हो । लक्ष्मीका मुक्तकहरूले अब पक्रिनुपर्ने बाटो मैले यही प्रभावकारिताको यात्रा हो भन्ने ठान्दछु । राम्रो मुक्तककार बन्न व्युत्पत्तिको पनि त्यत्तिकै आवश्यकता हुन्छ । देश दुनियाँका उत्कृष्ट मुक्तक शिल्पीहरूका रचनाको आस्वादन र तिनमा रहेका विशिष्टतालाई चुनौतीका रूपमा लिई त्यसका निम्ति नवीन विशिष्टताको सिर्जनतर्फ लाग्न सकियो भने हामीलाई मुक्तकले बचाउँछ । छोटा आयुका मुक्तकले त लेखकलाई छोटै जीवन दिन्छ । यसैले दीर्घजीवी लेखक बन्न सबल, स्वस्थ र समृद्ध रचनाको उन्मेष हुनु जरुरी हुन्छ । लक्ष्मी श्रेष्ठको पहिलो मुक्तकसङ्ग्रह मुक्तक–यात्राको आभ्यासिक कोसेलीका रूपमा मैले बुझेको छु । आगामी यात्राका लागि यसले मुक्तककारलाई मार्गप्रशस्त गरिदिएको छ । मन, मस्तिष्क मुक्तकका मर्म खोज्नमा अलि बढी मग्न भयो भने आगामी रचनामा त्यसको क्षतिपूर्तिसहित लाभ हासिल हुने नै छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply