के राजनीति देश बिगार्ने नीति हो ?
प्रेमराज सिलवाल
सामान्य बोलीचालीमा राजनीतिलाई एउटा ‘फोहोरी खेल’ भन्ने गरिन्छ । समाजमा पढेलेखेका मानिसहरू पनि कतिपय सन्दर्भमा राजनीतिले मुलुकलाई ‘ध्वस्त’ बनायो भनिरहेका हुन्छन् । केही मानिस त राजनीति आवश्यक कुरा होइन भन्ने गर्दछन् । वास्तवमा के राजनीति देश बिगार्ने नीति हो ? के मुलुक र समाजका लागि राजनीति अनावश्यक कुरा हो ? के राजनीति नभई पनि मुुलुक सञ्चालन हुन सम्भव हुन्छ ? राजनीतिलाई विधिशास्त्री र राजनीतिशास्त्रीहरूले कसरी विवेचना गरेका छन् ? राजनीतिशास्त्रका विश्वव्यापी मूल्य र मान्यता के–कस्ता रहेका छन् ? राजनीति आम सरोकारको विषय हो कि होइन ? राजनीति अधिकांश नागरिक र समाजले जान्नु र बुझ्नु आवश्यक हुन्छ कि हुन्न ? राजनीतिशास्त्र र कानुनको अन्तरसम्बन्ध हुन्छ कि हुन्न ? राजनीतिशास्त्रमा आएका नवीन मान्यता र धारणाहरू के–के हुन् ? भन्नेजस्ता विषयमा विश्वका विभिन्न विचारकहरूका मतहरूको अध्ययन र जानकारी सचेत नागरिकहरूका लागि आवश्यक कुरा हो । अनुसन्धानमा आधारित धारणा र मान्यताको सूचनाले मानिसलाई आफ्ना सही विश्लेषण र विचारको विकास गर्न सहयोग गर्दछ ।
समाज विज्ञान र मानव इतिहासको मान्यताबाट भन्नुपर्दा राजनीतिशास्त्र समाज र मुलुकलाई हाँक्ने तथा बुझ्ने मूल नीति हो । दर्शन, सिद्धान्त तथा कला हो । प्राचीन ग्रिक शासन (७००–३२३ बीसी) प्रणालीमा पनि राजनीति थियो र आजको समाज पनि राजनीतिबाटै सञ्चालित भइरहेको छ । ग्रिक दार्शनिक एरिस्टोटल (३८५–३२२ बीसी) ले आफ्नो पुस्तक पोटिटिक्समा राजनीति (पोलिटिक्स) लाई विविधता भएको समाज र अनेकौं हितलाई एउटै साझा नीतिमा डो¥याउने कुरा नै हो भनेका छन् ।
बेलायती राजनीतिशास्त्री किरिक वेरनार्ड (१९२९–२००८) ले आफ्नो पुस्तक इन डिफेन्स अफ पोलिटिक्स (१९६२) मा विचारधारात्मक दृष्टिकोणले सबै समूह एक आपसमा जोडिएर राज्यको नीति निर्माण र उन्नतिमा योगदान दिन सक्ने दर्शन भनेका छन् । भारतमा जन्मेर बेलायती विश्वविद्यालयमा कानुनको अध्यापनमा लागेका प्राध्यापक उपेन्द्र बंशी (१९३८) को सुप्रिम कोर्ट एण्ड पोलिटिक्समा राजनीति एउटा व्यापक गतिविधि हो, जसमा बिनाहिंसा सामूहिक उद्देश्य पूर्ति गर्न सकिन्छ भन्दै संविधानवाद, राजनीति, उदारवाद तथा समाजवादजस्ता अनेक विचारधारामा देखिन सक्छ भनेका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जोइ ओपनहेमिरले उनको पुस्तक प्रिन्सिपल अफ पोलिटिक्स (२०१२) राजनीति त्यसको लागि हो, जसमा समूहको माध्यमबाट व्यापक हित र उद्देश्य पूरा गर्न सकिन्छ भनेका छन् । उनले असंगठित भएर ठूलो सफलता प्राप्त गर्न कठिन हुन्छ भनेका छन् । अमेरिकी राजनीतिशास्त्री रवर्ट ए डाहाल (१९१५–२०१४) ले राजनीति शक्तिको प्रणाली हो, जसमा शासक र शासन जोडिएर आएको हुन्छ भनेका छन् । क्यानेडियन दार्शनिक डेबिड आइस्टोन (१९१७–२०१४) ले राजनीतिलाई शासकीय मूल्यको वितरणसँग विश्लेषण गरेका छन् । जर्मन समाजशास्त्री म्याम्स वेभर (१८६४–१९२०) ले समाज कल्याणका लागि सामूहिक तरिकाले अघि बढ्ने वैधानिक शक्ति नै राजनीति हो भनेका छन् ।
राजनीति र कानुन
भारतीय धर्मगुरू तथा विचारक रजनिश ओसो (१९३१–१९९०) ले ‘धर्म और राजनीति’ पुस्तकमा राजनीतिको स्वभाव जहिल्यै भावनात्मक र कम तथ्यमा आधारित हुन्छ भनेका छन् । नागरिक र मानिसकोे भावनामाथि खेल्दै नेताले आफ्नो उद्देश्य पूरा गर्दछ भन्ने मत ओसोको रहेको छ । तापनि राजनीतिलाई कानुनी प्रणालीमा स्वीकार गरिएको हुन्छ र त्यसैबाट राज्य सञ्चालित हुन्छ ।
विश्लेषणात्मक विधिशास्त्रमा विश्वास गर्ने बेलायती विधिशास्त्री जेरेमी बेन्थम (१७४८–१८३२), जोन अस्टिन (१७९०–१८५९), हेन्स केल्सन (१८८१–१९७३), जोसेफ राज (१९३९) आदिले शासकले कानुन निर्माण गर्ने र त्यो पालना गर्नैपर्ने बताएका छन् । तर विधिशास्त्री एचएलए. हार्ट (१९०७–१९९२) ले भने शासकले जे पनि आदेश दिँदा त्यो कानुन नहुने र पालना गर्नु आवश्यक नहुने फरक मत राखेका छन् । विधिशास्त्री जोन अस्टिनले कानुन सार्वभौमको त्यस्तो आदेश हो, जसको पालना नगर्नेलाई सजाय हुन्छ (ल इज द कमान्ड अफ सोभरेन हु इज इम्पाइड बाई सेन्सन) भनेका थिए । तर हार्टले त्यस्तो बाध्यकारी सिद्धान्तलाई बन्दुके सिद्धान्त (गनम्यान थ्यौरी) भनी आलोचना गरे । उनले उदाहरण दिँदै बैंकमा बन्दुकधारीले बन्दुकको धम्की दिएर पैसा लुट्न सक्छन् । पैसा नदिए मारिदिने धम्की दिन सक्छन् । के त्यो अब कानुन बन्न सक्छ त भन्दै हार्टले अस्टिनमाथि सवाल खडा गरिदिएका छन् ।
जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) ले कानुन र राज्यको मान्यतालाई नै खारेज गरेका छन् । कानुन पुँजीपति र धनीको शोषण गर्ने यन्त्र (टुल्स अफ एक्प्वाइटेसन) भन्दै त्यस्तो कानुन भत्काउनुपर्ने भनेका छन् । आर्थिक तŒव नै निर्धारक र निर्णायक हुने भन्दै समाजवादी अर्थतन्त्रको विकासमा माक्र्सले थप जोड दिएका थिए ।
आलोचनात्मक कानुनी अध्ययन अभियान
सन् १९७० को दशममा अमेरिकाबाट आलोचनात्मक कानुनी अध्ययन आन्दोलन (क्रिटिकल लिगल स्टडी मुभमेन्ट) नामको राजनीतिक र कानुनी विश्लेषणात्मक अभियानको थालनी भएको देखिन्छ । यसले समाजमा विविध खालका विभेद र अन्याय रहेको र परम्परागत कानुनी प्रणालीले सोको सम्बोधन गर्न नसकेको मान्दछ । यो मान्यताले औपचारिकतावाद (फर्मालिजम) लाई मान्दैन । इटालीका माक्र्सवादी दार्शनिक अन्टोनियो ग्राम्ची (१८९१–१९३७) ले पुँजीवादी समाजमा सामाजिक आदेश विश्वासको साझा धारणा बनाएर एउटा विश्वास थोपरिएको हुन्छ भनेका छन् । ब्राजिलका दार्शनिक रोबर्ट अंगर (१९४७) को ल इन मोर्डन सोसाइटीमा कानुनलाई एउटा स्थापित मूल्य मान्नु आवश्यक छैन भनेका छन् । स्थापित मान्यताले जहिल्यै सबै समस्याको समाधान दिन सक्दैन । आलोचनात्मक कानुनी अध्ययन अभियान (सिएलएस मुभमेन्ट) ले जहिल्यै बनिबनाउ कानुनी मान्यता र मूल्यको विरोध गर्दछ । उसले सामाजिक आवश्यकताबमोजिमको सामाजिक न्यायमा जोड दिन्छ ।
उल्लिखित मान्यतासँगै आएको अर्काे नयाँ मान्यता भनेको उत्तरआधुनिक अभियान (पोस्ट मोर्डनिस्ट मुभमेन्ट) पनि हो । यो मान्यताले कुनै पनि विचार, मान्यता, सिद्धान्त, दर्शन र कानुनले व्यक्तिलाई बाँध्न नहुने भन्दै व्यक्तिलाई सबै प्रकारका स्वतन्त्रता हुने ऊ स्वयं शासित हुन सक्ने भन्दै कसैको शासन र कानुन आवश्यक छैन भन्ने मत राख्दै आएको छ । यससम्बन्धी धारणालाई उदारवादी प्रजातन्त्र, विश्वव्यापीकरण, बजारीकरण, निजीकरण, स्वतन्त्रता, मानवअधिकारजस्ता अवधारणा आदिले थप टेवा दिएको देखिन्छ । यो मान्यताले प्रयोगवाद र व्यवहारवाद (प्राग्माटिजम) लाई बढी महŒव दिन्छ । संरचनागत र प्रणालीगत मूल्य र मान्यतालाई यसले आलोचना गर्दछ ।
सन् १९६० को दशकबाटै विश्वमा महिलावाद (फेमिनिज्जम) सम्बन्धी विचारधाराले बढावा पाएर आएको देखिन्छ । महिलामाथि हुने सबै खालका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विभेद र अन्यायको चर्काे आलोचना गर्दै यो विचारधाराले आमूल परिवर्तनको पक्षमा वकालत गर्ने गरेको छ । महिलावादी विचारधारा मूलतः अमेरिकी अभियन्ता महिलाहरू ब्रेटी फ्राइडेन (१९२१–२००६), काटे मिलेट (१९३४–२०१७), म्याकारिन क्याथरिन (१९४६) लगायतले महिलावादी धारणालाई जोडले उठाएका छन्् ।
राजनीति र धारणा
आधुनिक विश्वमा राजनीति, लोकतन्त्र र प्रजातन्त्रलाई एकअर्काका पूरक अर्थमा पनि लिने गरिएको छ । राज्य सञ्चालनको मूल नीति भनेको नै राजनीति हो । यो मूल नीतिबाट नै राज्यका सबै नीतिमा प्रभाव पर्ने हुन्छ । आधुनिक राज्य प्रणालीमा राजनीति अनिवार्य सर्त हो । राजनीतिलाई अलग गरेर राज्य सञ्चालित हुन सक्दैन । राजनीतिलाई नेताको गतिविधि वा दलको संकीर्ण हर्कत वा क्रियाको घेराबाट मात्र बुझ्नु भनेको राजनीति भन्ने कुरालाई नबुझ्नु हो र अति नै सीमित पारेर विश्लेषण गर्नु हो । नेता र पार्टी विशेषको गतिविधि राजनीति र दर्शनभित्र आउने एउटा सानोभन्दा सानो कुरा हो । राजनीति व्यापक दर्शन र अवधारणा हो ।
राजनीतिलाई सही अर्थमा बुझ्न सक्दा यो समाज बनाउने विज्ञान हो । गलत अर्थमा बुझ्न खोज्दा फोहोरी खेल हो भन्नेहरू पनि रहेका छन् । तर, एउटा शरीरमा रगतको अनिवार्यता भएजस्तै मुुलुक र समाजमा राजनीति र राजनीतिक दर्शन अपरिहार्य हुन्छ । राजनीतिक दर्शन र मुलुकको आन्तरिक राजनीतिमा पनि फरक हुन्छ । राजनीतिक दर्शनले कानुनी मान्यता र संविधानलाई पनि निर्देश गर्ने गरेको हुन्छ । राजनीतिक दर्शन र मूल्यले विधिशास्त्रको निर्माणमा सहयोग गरेको छ । यसकारण, राजनीतिक मूल्य र दर्शनबाट निर्देशित भएरै संविधानहरू बन्दछन् । कानुनमा पनि राजनीतिक दर्शन हुन्छ । विधिशास्त्रका प्राध्यापक मिकी डायस (१९२१–२००९) ले त्यसैले कानुन राजनीतिको विषय हो (ल इज द म्याटर अफ पोलिटिक्स) भनेका छन् । जुनसुकै संविधान कानुनको चर्चा गरे पनि त्यहाँ राजनीतिक मूल्य, दर्शन, मान्यता, प्रणाली आदि पाउन सक्छौं । राजनीतिक मूल्य र दर्शनलाई अलग गरी गरिने कुनै पनि नीतिको व्याख्या अर्ध र अपुरो हुन पुग्छ ।
सारमा
राजनीतिलाई कुनै एउटा दल, नेता, घटना, प्रवृत्ति, पात्र, क्रिया जस्ता संकुचित क्षेत्र र मान्यता मात्र ठान्नु र बुझ्नु हुन्न । राजनीति मानवीय र सामााजिक जीवनको व्यापक अवधारणा तथा मान्यता हो । राज्य संचालनको अनिवार्य विधि एवं विज्ञान नै राजनीति हो । राजनीति फोहोरी खेलको शास्त्र होइन । फोहोरी खेल त राजनीतिलाई पेसा बनाएर समाज र मुलुकको दोहन गर्ने चिन्तन तथा सोच भएका केही भ्रष्ट मानसिकता भएका व्यक्तिले गर्ने व्यवहार हो । राजनीति मुलुक र समाजको लागि जहिल्यै अत्यावश्क हुने मूल्य र दर्शन हो । राजनीतिशास्त्र र कानुनको गहिरो अन्तरसम्बन्ध हुन्छ । कानुन पनि राजनीतिशास्त्रको बृहत् क्षेत्रको विषय हो । नचाहिने भनेका भ्रष्ट, असक्षम, अनुत्तरदायी, जनविरोधी र गैरजिम्मेवार चरित्रका नेताहरू हो । राजनीतिक दर्शन र मान्यतालाई साँघुरो दृष्टिकोणले कुनै निश्चित दल वा नेताको क्रिया र गतिविधिसँग बुझियो भने त्यो गलत बुझाइ हुन जान्छ । यसर्थ राजनीतिक विचारधारा, मूल्य र दर्शनको सान्दर्भिकता जुनसुकै समाज र मुलुकको अत्यावश्यक शास्त्र हो । राजनीति माथिका भ्रम चिर्न राजनीति स्वच्छ, जनमुखी र समाजउपयोगी हुन सक्यो भने समाजमा राजनीति गन्धा र फोहोरी हो भन्ने स्वरहरू स्वतः कमजोर बन्नेछन् । समाज रहेसम्म राजनीति रहने भएकाले यस माथिको बहस आवश्यक कुरा हो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply