श्यामजीसँग अन्तिममा भएन भेट
डा. मुकेशकुमार चालिसे
श्यामजी (श्यामप्रसाद) को बारेमा मैले थाहा पाएको केटाकेटीदेखि नै हो । मेरा बुवा उहाँबारे सात साल आसपासदेखि चिनेको कुरा गर्नुहुन्थ्यो । २०१४÷१५ सालतिर ‘साहित्य‘ र ‘स्वास्नीमान्छे’ पत्रिका बेच्ने, अरू जनपक्षीय साहित्य प्रकाशन गर्ने र बेच्ने क्रममा श्यामजीले बुवालाई भेट्ने गर्नुभएको थियो रे । वसन्तपुर, झोछेंमा बस्दा उहाँसँग बाक्लै भेट हुन्थ्यो रे । उहाँको सरल लेखनी, साधारण लुगा, हँसिलो मुहार र राम्रा कुरा गर्ने स्वभावको मेरो बुवा प्रशंसा गरिरहनुहुन्थ्यो । पछि बर्दियामा बस्दा प्रसंगवस बुवा–आमा उहाँलाई सम्झिरहनुहुन्थ्यो ।
२०२७ सालमा हामी पढनका लागि काठमाडौं आएपछि चिनियाँ र रुसी साहित्य अध्ययन गर्ने क्रममा श्यामजीका साहित्य केही पढने मौका पाएँ । त्रिचन्द्र कलेजमा विज्ञान संकायको प्रमाणपत्र तहमा भर्ना भएपछि जनसाहित्य पढने क्रम बढ्दै गयो । २०३१ सालमा चौतारामा बुवा सरुवा भएर जानुभएको थियो र म जाडो बिदामा गएको थिएँ । त्यहाँ जनकप्रसाद हुमागाईँ र शारदारमण नेपालसँग भेट भएको थियो । उहाँहरू मेरो बुवालाई भेट्न आइरहनुहुन्थ्यो । उहाँहरूका कुरा मलाई अरुभन्दा फरक लागेर बुवासँग सोधें । बुवाले उहाँहरू लगायत अमृत बोहरा, खिलबहादुर भावुक र ठूलो पाखरका केही मानिस वामपन्थी राजनीतितिर नजिक भएको बताउनुभएको थियो ।
म बुर्जुवा शिक्षा बहिष्कार गरी पार्टीको काममा लागेपछि पाएजति पढ्थें, उहाँका साना किताब । त्यतिखेर सबैभन्दा मनपर्ने उहाँको ‘तँ, तिमी, तपाईं, हजुर’ भन्ने निबन्ध नै थियो । पछि जनकजीले हाम्रो प्रेसमा ‘शृंखला’ छाप्न ल्याउँदा उहाँका थुप्रै मसिना रचना विभिन्न छद्म नाममा आएका थाहा पाउन थालें । मैले ती रचनाहरू मन पराएको र जनकजीले कुरा लुकाएको अनुभव भएपछि मैले उहाँका नयाँ पुस्तक छाप्ने वा पुनः मुद्रण गर्ने कुरा गरेपछि जनकजी अलि खुल्नुभयो । केही दिनमा हामीले त्यो निबन्ध संग्रह छाप्यौं पनि । मलाई भेटने चाँजो पनि मिलाउनुभयो । एक अपराह्न जनकजी आई यताउती हेर्दै ‘आज साँझ मेरा कोठामा काम छ, तपाईं ५ बजेतिर कुरिया गाउँ आउनोस्, उतै बस्ने है’ भन्दै भेट्ने ठाउँ भन्नुभयो । म समयमा पुगें । उहाँले पहिला आफ्नो डेरा लैजानुभयो र चिया खाएर झमक्क साँझ परेपछि बाहिर जाऔं भन्नुभयो । म उहाँको पछि लागें । भर्खर बन्दै गरेका घरहरू पर एउटा कम्पाउन्ड भएको दुईतले सेतो घर । हामी बाहिरी भ¥याङ उक्लेर माथि गयौं । एकजना वयस्क महिलाले मसिनो स्वरमा स्वागत गर्नुभयो र एउटा कोठामा बसाउनुभयो । जनकजी उहाँसँग यसो बाहिर निस्की ‘म गएँ, आउनोस् है कुरा सिद्धिएपछि’ भनी निस्किनुभयो । त्यो कोठा सामान्य तर सफा थियो र बस्न दुईवटा चकटी र एउटा पातलो ओछ्यान थियो । केही बेरमा नै मन्द मुस्कानका साथ एक होचो कदका करिब चाँदीभैंm टल्किने कपाल भएका, कमिज र सुरुवाल लगाएका प्रौढ व्यक्तित्व आउनुभयो । म अचम्म मान्दै हेरी रहें । के उहाँ नै श्यामप्रसाद हो ? उहाँले ‘आरामै हुनुहुन्छ, घरपरिवार सबै ठीक हुनुहुन्छ नि’ भन्दै कुरा सुरु गर्नुभयो ।
जनता र जनराजनीतिक प्रणाली स्थापनामा उपयुक्त विभिन्न राजनीतिक, दार्शनिक तथा व्यावहारिक विषयवस्तुमा छलफल भयो । उहाँसँग घनिष्ठतापछि म उहाँको ‘चार्ली’ र मेरा लागि श्यामजी अथवा ‘काका’ का रूपमा सन् २०१७ सम्म रहनुभयो । यसबीच भूमिगत हुँदा ओसारपसारदेखि खुला हँुदा अर्धभूमिगत सेल्टर व्यवस्थापन र उहाँका विचार पैmलाउन सक्रिय रहें । किताब कम्तिमा वर्षको एउटा त नियमित निकाल्थें । यसको सुरुवात क्याम्पसमा पाउने दसैंको अतिरिक्त तलब मलाई ठीक लागेन, बढी भयो, यो मेरो लागि घाँडोजस्तो भयो । काम नै नगरिएको समयमा अझ थप तलब त मलाई खुला लुटजस्तो लाग्यो । फिर्ता गर्न पनि नसकिने के गर्ने ? अनि, घरसल्लाह गरी श्यामजीलाई नै सहयोग गर्ने विचारले उहाँको कृति प्रकाशन गर्ने विचार आयो । पारिवारिक निर्णय गरी वर्षको कम्तीमा एउटा पुस्तक प्रकाशन गरेर त्यो सुकामको कार्य सुरु भएको थियो । हाम्रो फोन सम्पर्क र पत्र दुवै दोहोरो थियो र भेटघाट विभिन्न थप राजनीतिक छलफलका लागि । बेलाबखत उहाँको पायक हुँदा मेरो बासस्थान पनि उहाँले प्रयोग गर्नुहुन्थ्यो । बुवा–आमा श्यामजीलाई पहिलोपटक मेरै कोठामा बसेको भेट्दा उहिलेका कुरा गरी बडो रमाउनुभएको थियो । बुवाले त बस्न अनुकूल लागे सधैं यतै बसौं भनी प्रस्ताव पनि गर्नुभएको थियो । उहाँले बारम्बार ‘आउँछु भइहाल्छ नि’ भन्नुभयो र नयाँ परिपाटीको समीक्षा गर्नुभएको थियो ।
विद्यावारिधि प्रस्ताव बुझाउनुअघि उहाँको सल्लाहअनुसार नै गर्छु भनी घरसल्लाहमा समेत उहाँको राय सर्वस्वीकार्य ठम्याई ‘के गरौं पार्टी काम वा वैज्ञानिक अनुसन्धान ?’ भनी राय लिन जाँदा उहाँले मैले कल्पनै नगरेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईं अनुसन्धानमा पनि अब्बल भई बुर्जुवा खेमाबाट एउटा असल विज्ञ घटाउनुहोस्, हाम्रो पंक्तिमा जनपक्षीय वैज्ञानिक बढाउन सक्रिय हुनु नै हाम्रा लागि योगदान हुन्छ, विचार अनुसारको संगठनको काम भ्याए जति गर्नुहोस् ।’ बुर्जुवा शिक्षा बहिष्कारमा हुर्किएको मलाई एउटा नयाँ आत्मविश्वास र ऊर्जा पो उत्पन्न भयो र झन् उत्साहका साथ काम गरें । त्यसैको फलस्वरूप तीनचारवटा अन्तर्राष्ट्रिय पुरस्कार, दुईवटा नेपालको उच्च वन्यजन्तु विज्ञानको पुरस्कार पनि पाउन सफल भएँ । आफन्त वा चाकरीबिना नेपालमा पनि पुरस्कृत हुन पाएकोमा उहाँको उत्साहजनक प्रेरणाको ठूलो हात रहेको महसुस गर्ने भएर नै आफ्नो विद्यावारिधि शोधग्रन्थमा उहाँप्रति कृतज्ञता प्रकट गरेको छु । त्यो देखेर कैयौं स्वनामधन्य प्रगतिवादीहरूले ‘विज्ञानमा श्यामजी किन नि ?’ भनी ओठ लेप्य्राएका थिए । मैले भन्न हुनेलाई त्यो प्रसंग भनें, अरुलाई ओठे जवाफ फर्काएथें । धेरैपटक धेरै सेल्टरमा उहाँसँग भेट हुँदै खुला भएपछि प्रायः उहाँ उहाँकै जेठी छोरी सम्झना र वासु मानन्धरको निवास कमलपोखरी स्थायी सम्पर्क थलो रह्यो । बुवा–आमा बित्दा १३ दिनभित्रै शोक व्यक्त गर्न आउनुभएको थियो भने लुसुन र पावेलको विवाहमा आफ्नै परिवारको सदस्यका रूपमा सरिक हुनुभएको पनि सधैं सम्झिन्छु ।
क्योटो विश्वविद्यालय जापानमा आगन्तुक प्राध्यापक भई जानुअघि सन् २०१७ मार्चमा उहाँलाई भेट्न गएँ । उहाँलाई अल्जाइमर्सले पूरा रूपमा गाँजेको रहेछ । हेरचाह गर्ने बहिनीले ‘मन परे भेट्न आउनेलाई हात हल्लाउने र हँ हँ हँ गरेर हँसमुख हुनुहुन्छ, मन नपरे नदेखेको जस्तो गर्नुहुन्छ’ भनिन् । मैले ‘उहाँ भएको ठाउँमा लैजानुहोस् हेरौं’ भने । कौसीमा हुनुहुँदो रहेछ, मलाई देख्नासाथ एउटा हात सलाम पाराले उठाई हँ हँ हँ भनी उहाँले सदावहार आवाजविहीन हाँसो हाँस्नुभयो । मलाई उहाँ कुरा गर्न सक्नुहुन्न भन्ने लाग्दै लागेन । म उहाँसँग सधैंझैं राजनीतिक, सामाजिक र केही मेरा वन्यजन्तुका कुरा सुनाउन लागें । उहाँ हँसिलो अनुहारले हँ हँ गर्नुहुन्थ्यो तर अरू बोल्नु भएन । प्रश्न राख्दा गम्भीर भएर मुखमा हेर्नुहुन्थ्यो । एकछिनमा उहाँले अँ अँ गर्नुभयो, मैले बुझिनँ । बहिनी तलतिर गएकाले बोलाएँ, उनी आउन एकछिन बेर भएछ, मतिर अँध्यारो मुख लगाउनुभयो र मेचमा सुरुवाल नखोली बसीबसी पिसाब फेर्नुभयो । उहाँलाई अप्ठ्यारो लागेर अँध्यारो मुख पार्नुभएको रहेछ । मसँग भेटेर र जापान जाने कुरामा खुसी भएको भनी ती हेर्ने बहिनीले उहाँको भाव व्याख्या गरिन् । त्यस बेलासम्म मैले केही भिडियो क्लिप र फोटो खिचिसकेको थिएँ । तिनै कुरा मेरा अन्तिम भएछन् उहाँसँग र सायद अरूका लागि पनि हो कि ? थाहा छैन । जापान गएको एक महिनापछि नै उहाँ नरहनुभएको खबर विद्युत् पत्रिकाबाट थाहा पाई समवेदना चढाएँ, नेपालका शिखर चरित्रका कम्युनिस्ट व्यक्तित्वलाई । एक महिनाअघि खिचेका फोटाहरू मातृका तिम्सिनालगायत साथीहरूलाई विद्युत् सञ्चारमा राख्न पठाएँ ।
(डा. चालिसेको प्रकाशोन्मुख कृति ‘मैले छिचोलेका कुइनेटा’ को एक अंश)
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply