ऊसँगको भेटमा
विवश पोखरेल
व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।
शुष्क भएछन् ओठ
चाउरी परेछन् गाला
एकाएक हराएछ हिमालझैं अनुपम सौन्दर्य
मेटिएछन् हत्केलाका भाग्यरेखाहरू
फेरि सोधें–
ठूली, असमयमा नै बूढी भइछौ नि
उसले मुसुक्क हाँस्दै फेरि थपी
के गर्छौ यस्तै हो
उज्यालो कुर्दाकुर्दै बूढी भइयो ।
सुरुसुरुमा मीठो गीत गाउँथी ऊ
सुन्दर लेख्थी कविता
अतीत कोट्याउँदै फेरि सोधें
अचेल गीत गाउँदिनौ ?
लेख्दिनौ कविता ??
उसले उदास हुँदै भनी
जुन दिन कसैले मेरो आँखाको स्वर्णिम सपना र
ओठको मुस्कान लिएर भाग्यो
त्यसै दिनदेखि म¥यो मभित्रको कविता
र हरायो मभित्रको गीत ।
स्मृतिको धमिलो छालमा अझ हराएँ
र फेरि सोधें
सँगै कोसीको बाढीमा
केराको थामको डुंगा चढेको याद आउँदैन ?
एउटै आँपको कोया दुइटैले चुस्दै खाँदै
झगडा गरेको याद आउँदैन ?
खमारमा परालका बोझाहरूको घर बनाएर
माटाको भाँडाकुँडीसँगै
बेहुलाबेहुली भएर खेलेको याद आउँदैन ?
उसले आफ्ना आँखाबाट पग्लिएर झर्न आतुर
आँसुलाई हत्केलाले पुछ्दै भनी
असम्भव कुराको याद गरेर के गर्नु ?
त्यही यादलाई बिर्सन त म
फूलको सुन्दर गाउँबाट
काँडाको यो विषालु सहर आएको छु ।
Leave a Reply