पितृसत्ताको नग्न अनुहार
विवश वस्ती
नेपाली समाजमा पितृसत्ताका नग्न र भद्दा रूप बेलाबखत प्रकट हुने गर्दछ । पितृसत्ताको नग्न रूप उद्घाटित हुने क्रममा महिलालाई एउटा संकुचित घेराभित्र सीमित राख्न कानुन, नियमको सहारा लिनु आम पक्ष बन्दै आएको छ । पछिल्लो पटक, पितृसत्ताको त्यस्तै रूप सामुन्नेमा देखियो । ४० वर्षभन्दा मुनिका महिलामाथि पितृसत्ताको नग्न रूप थोपर्न खोजियो । श्रम वा अन्य उद्देश्य लिएर देशबाहिर जाने ४० वर्षमुनिका महिलाले आफ्नो वडाको अनिवार्य सिफारिस लिनुपर्ने र परिवारको समेत स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधान अगाडि सारिएको छ । उमेर–सीमा तोकेर महिलामाथि नियन्त्रण गर्ने हेतुले यस्तो प्रावधान आउनुको पछाडि नेपाली समाजबाट अझै पनि पितृसत्ताका रूपहरू मेटिइसकेका रहेनछन् भन्ने सीधा पुष्टि हुन्छ ।
महिलामाथि नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको यस्तो प्रावधानविरुद्ध विरोधका आवाजहरू नउठेका होइनन् । महिला अधिकारको पक्षमा विगतदेखि नै आवाज उठाउँदै आएको पंक्तिले दासयुगीन समाजको पुनरावृत्ति गर्ने खालको प्रावधान ल्याइएसँगै सडकमा ओर्लिएर विरोध जनाउन थालेका छन् । तर, सरकारले भने महिला बेचबिखन रोक्ने बहानामा यस्तो प्रावधान ल्याइएको दाबी गरिरहेको छ, जसमा कुनै तुक देखिँदैन । ४० वर्षमुनिका महिलालाई लक्षित गरेर ल्याइएको यस्तो प्रावधानले उनीहरूका वृत्ति विकासदेखि स्वतन्त्रता, मानव अधिकारमा समेत ठाडो हस्तक्षेप भएको सर्वत्र महसुस गरिएको छ ।
नारी–विद्धेषि यस्ता प्रावधानहरू यो नै पहिलोपटक आएको भने होइन । पूर्ववर्ती समयमा पनि नारी–विद्वेषी कानुन, प्रावधानहरू ल्याइएका थिए । तत्कालीन समयमा सडकमा निस्किने नारीहरूको अभाव र उनीहरूका आवाजले घनीभूत हुने मौका नपाएको हुँदा कतिपय नारी–विरोधी कानुनहरू लादिन पुगेका थिए । तर, पछिल्लो समय नेपाली नारीहरूमा सचेतता बढ्दै गएको हुँदा र उनीहरूका आवाज पनि प्रखर रूपमा सुनिन थालेका हुँदा नारी विरोधी कानुनहरू हट्दै गएका छन् । यद्यपि, नारीहरूलाई कसरी संकुचित घेराभित्र जकडेर राख्न सकिन्छ भन्नेमा नेपाली समाज आज मात्र होइन, पहिलादेखि नै अभ्यासरत रहँदै आएकोमा भने कुनै सन्देह छैन ।
हामी बाँचिरहेको समाज नारी–विद्धेषि हुनुमा धर्मको पनि उत्तिकै भूमिका रहेको छ । हिन्दु धर्मले सुरुदेखि नै नारीलाई ‘दोस्रो तह’ का नागरिकका रूपमा व्यवहार गर्दै आयो । यस्तो व्यवहार अझै पनि कतिपय ठाउँमा कायम छन् । एउटा उदाहरण लिऔं, भारतको सबरीमालाको सम्बन्ध यस्ता भगवान्सँग जोडिएको धार्मिक प्रथासँग सम्बन्धित छ, जसमा ब्रह्मचार्य सिद्धान्तलाई महत्वपूर्ण मानिन्छ । त्यहाँ १० वर्षदेखि ५० वर्षसम्मका महिलालाई प्रवेश गर्न दिइँदैन । किनभने, यो उमेर–समूहका महिलाका रजश्वला हुन्छ र रजश्वला भएका महिलाले छोएका धार्मिक मठमन्दिर र अनुष्ठानहरू अपवित्र हुन्छन् ।
हिन्दु धर्मले धार्मिक आस्था र प्रथालाई अघि सारेर महिलामाथि अनेक प्रतिबन्ध लगाउने, उनीहरूलाई संकुचनमा राख्ने प्रयत्न गर्दै आयो÷आइरहेको छ अझैसम्म । भारत र नेपालका कतिपय मन्दिरहरूमा त अझै पनि महिलालाई प्रवेश गर्न दिइँदैन । जबसम्म धर्मको आडमा महिलामाथि नियन्त्रण गर्न सकियो, त्यो बेलासम्म नियन्त्रण गरियो । तर, धर्मका आधारमा महिलाका हक, अधिकार खुम्च्याउन नसकिने भएपछि विभिन्न कानुन, नियमहरू बनाएर राज्यले नै उनीहरूलाई एउटा सीमित घेराभित्र राख्ने प्रयत्नको थालनी भयो । पछिल्लो समय, ४० वर्षमुनिका महिलालाई विदेश जाने क्रममा जुन प्रावधान लगाउन खोजिएको छ, यसलाई अब कानुन, नियमहरू बनाएरै भए पनि महिलाहरूलाई नियन्त्रित गर्ने पितृसत्तावादी सोच हावी हुँदै गएको अर्थमा लिन सकिन्छ ।
यस्तो प्रावधान ल्याइनु दुःखद र लाजमर्दो विषय हो । हामी गर्व गर्छौंंं– एक्काइसौं शताब्दीमा यात्रारत छौं, हरेक प्रविधि र ज्ञानले सम्पोषित छौं, आधुनिक र सभ्य छौं । तर, यी सबै भ्रम र ढोंड मात्र साबित हुँदै गएको छ । के कुनै समाजले, कुनै राष्ट्रले नारीहरूलाई दास र मध्ययुगीन समयमा झैं जकडेर राख्न खोज्छ भने त्यस्तो समाजलाई आधुनिक र सभ्य समाज मान्न सकिएला ? त्यस्तो राष्ट्रलाई नारी–मैत्री, नारीप्रति सम्मानभाव राख्ने राष्ट्रको सूचिमा सूचीकृत गर्न सकिएला ? निश्चय नै, सकिँदैन । त्यस्तो समाज वा राष्ट्र र एउटा बर्बर समाजबीच कुनै भिन्नता देखिँदैन । एउटा बर्बर समाजमा नारीलाई दबाउन, उनीहरूका अधिकारलाई संकुचित तुल्याउन जेजस्ता गलत र अमानवीय अभ्यास हुन्छन्, त्यसकै पुनरावृत्ति मात्र मान्न सकिन्छ ।
अतः रामको जन्मभूमि नेपालमै रहेको र रामलाई ‘मर्यादा पुरुषोत्तम’ मान्ने तहसम्म पुगिसकेका शासकले देश चलाइरहेको हुँदा पितृसत्तावादी मानसिकताले प्रश्रय पाउनु कुनै अचम्मको विषय होइन । रामका अनुयायीहरू सत्तामा रहँदा लक्ष्मणहरूद्वारा शुपर्णखाका नाक काटिनु र सीतालाई अग्निपरीक्षामा सामेल गराइनु कुनै अनौठो कुरा पनि होइन । र, अनौठो होइन– ४० वर्षमुनिका महिलामाथि घुमाउरो भाषामा पितृसत्तावाद लाद्नु पनि ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply