१२ फाल्गुन २०७७, बुधबार ०४:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नझर्ने आँसु
सुष्मा रानाहँमा
तिमीले मभित्र त्यस्तो के देख्छौ
र डुबिन्जेल हेरिरहन्छौ ?
भन त ए एक कप्टेरो जून !
किनारा नपुगी फर्किने छालहरू नछल्किएकै जाती
मनभित्रै बाँध हालेर पनि नभइदिए डुबान
कति हल्का हुन्थ्यो होला बरू यो छाती !
हाँस्नेहरूले नै जितेको हो यो संसार
तब न
सतर्क अभिनय गरिरहेको छु
जिन्दगीको रंगमञ्चमा
आफ्नैहरूको आसपास !
वर्षा याममा कुहिरोले ढाकेको घाम
घरीघरी, जबर्जस्ती झुल्किएझैं नझुल्किनू !
ए रात लुकिजाने आशाका छायाहरू !
मलाई काफी छ यिनै अँध्यारो र मौनताको साथ ।
आकाश फाटेको बेला
कसले सुनिदेला धरतीमा मेरो वेदना ?
आखिर सधैंं बिझाउने सिरानी रुझ्नु नयाँ भएन
मनले भारी बिसाए न मन हल्का हुने हो… !
तिमीले मभित्र त्यस्तो के देख्छौ
र डुबिन्जेल हेरिरहन्छौ ?
भन त ए एक कप्टेरो जून !
ए नझर्ने आँसु !
अब त तिमीले झर्नैपर्छ ।
Leave a Reply