शासनमा मेकियावेली सोचको परिणाम
अधिवक्ता प्रेमराज सिलवाल
क्रान्तिबाट सत्ता ल्याउने र टिक्न सकिने धारणामा विश्वास गर्ने जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८-१८८३) र भ्लादिमिर लेलिन (१८७०-१९२४) आदिले संघर्ष, क्रान्ति र जनताको प्रतिरोधबाट मजदुर र जनताको सत्ता ल्याउनुपर्ने धारणा राखेका थिए । सन् १९१७ अक्टोबरमा तत्कालीन सोभियत संघमा यसै मान्यतामा रुसी सत्ता ल्याइयो र सन् १९८९ सम्म जबर्जस्ती टिकाउने काम गरियो । त्यो सत्ता ढल्यो र रुसमा कहिल्यै फर्कन सकेन बरु कम्युनिस्ट पार्टी अस्तित्वको लडाइँमा रहेका छन् । यसरी शासकका आफ्ना मान्यता र विचारको कारण सत्ताहरू आए, शासन गरे र ढले । तिनको आफ्नै कम्युनिस्ट दर्शन रहेको भए पनि इटालीका मेकियावेलीको राजनीतिक विचारको समेत प्रभाव देख्न सकिन्छ ।
मेकियावेलीको विचार र सत्ता
इटालीका कूटनीतिज्ञ निकोलो मेकियावेली (१४६९-१५२७) लाई अन्तर्राष्ट्रिय राजनीतिक दर्शनमा निकै चतुर दार्शनिकका रूपमा हेरिएको पाइन्छ । उनी आफ्नो समयमा इटालीका तर्फबाट विभिन्न मुलुकमा राजदूत भएर काम गरेका व्यक्ति पनि हुन् । उनमा कूटनीतिक क्षेत्रको धेरै अनुभव रहेको छ । मेकियावली शासक चतुर, डरलाग्दो, षड्यन्त्रकारी र शत्रुले आक्रमण गर्ने संकेत पाएलगत्तै ड्याम्मै ठोक्नुपर्ने मूल्य र मान्यतालाई ठाडै घोषणा गर्दथे । राजनीतिमा साम, दाम, दण्ड र भेदको नीतिलाई लागू गर्र्नुपर्ने कुराको बढी वकालत मेकियावेलीले नै गरे । हुन त त्यो मान्यतालाई भारतीय कूटनीतिज्ञ र दार्शनिक चाणक्यले २५ सय वर्षअघि नै उल्लेख गरेको भए पनि त्यसको तरिका, विधि र अवस्थासमेतको चर्चा गर्दै उल्लेख गर्ने काम भने दार्शनिक मेकियावेलीले नै खुलमखुला गरिदिए । यसरी नेपालका शासकहरूको कदम र कार्यशैलीमा पनि कतकता मेकियावेलीको सोच झल्किरहेको देखिन्छ । मेकियावेलीको साम, दाम, दण्ड र भेदको नीतिबाट हाम्रा शासक बढी नै प्रभावित भएको देखिन्छ । यसै मूल्यसँग जोड्न मिल्ने गतिविधि हालै घटेका पनि छन् । पशुपतिमा गएर लाखबत्ती बाल्नु, करोडौंको सुनको जलहरी दिने घोषणा गर्नु, चितवनमा राम मूर्ति राख्ने तयारी गर्नु, सशस्त्र युद्धका लडाकुलाई भत्ता दिने कुरा गर्नु, विद्रोही चन्द समूहसँग वार्ताको तयारी गरेको देखाउनु र तराईमा राजनीतिक उद्देश्यले अन्य पार्टीका मानिसहरूलाई आफ्नो समूह र पार्टीमा भिœयाउनुजस्ता घटना र क्रियाकलापले नेपाली राजनीतिमा हाबी भएको साम, दाम, दण्ड र भेदको नीतिबाट शासन सत्ता अघि बढ्न सक्दछन् भन्ने संकेत गरेको छ ।
नेपालमा निर्वाचनमार्फत नै विजयी भएर आएका शासक हुन् वा नेतामा पनि सत्तामा टिक्न जस्तोसुकै तिकडम पनि गर्नुपर्दछ भन्ने मेकियावेली सोच त विकास भएको छैन भन्ने आशंका गरिँदै आइएका छन् । निर्वाचित भएर आएका कतिपय शासक र सत्तामा रहेका व्यक्तिमा पनि त्यो खाले निरंकुश सोच र शैली समय-समयमा प्रस्ट भएर बाहिर देखिएका छन् । जुन सोच र शैली जनपक्षीय हुनै सक्दैन । त्यो तरिका र विधिले सत्तालाई वैधताको अनुभूति गराउन पनि सक्दैन । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा सत्ता र शक्तिले गरेपछि जे पनि पास हुन्छ भन्ने सोच्नुभयो । तर, सर्वोच्च अदालतले संसद्को पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउनुपर्ने आदेश दिएपछि एक प्रकारले त्यो विचार कमजोर पनि भएको देखिन्छ ।
शासनसत्तामा रहेका शासकहरूको वैधता (लिजिटिमेसी) लाई जर्मन दार्शनिक म्याक्स वेबरले तीन प्रकारले विभाजन गरेका छन् । पहिलो, परम्परागत शक्तिमा अडेको शासक, जस्तो ः धर्मगुरू, पादरी तथा राजा आदि । दोस्रो, चमत्कारिक शक्ति भएको शासक, जस्तो ः सन् १९४५ अघि जर्मनका शासक रहेका एडोल्फ हिटलर (१८८९-१९४५), फिल्मको हिरो आदि । तेस्रो, वैधतामा आधारित शासक, जस्तो ः राजनीतिक प्रणालीअन्तर्गतको विधिबाट निर्वाचित भएको शासक । यो तेस्रो प्रकारको वैधता भएको शासकचाहिँ आजको विश्वका सबैजसो मुलुक र शासनमा रहेको देख्न पाइन्छ । राजाको जस्तो वैधता र हिटलरको जस्तो वैधताको युग समाप्तप्रायः भइसकेकाले जनताको सार्थक र अर्थपूणर् वैधानिक सहभागिता र समर्थनबाट आएको सत्ता र शासन मात्र अबको युगमा स्वीकारयोग्य वैधता हो र हुन्छ । त्यो बाहेकको वैधता अस्थायी वैधता बाहेक केही हुन्न र होइन ।
सत्ताको वैधता र मूल्य
अब यसै वैधताको कसीमा नेपालका सत्ता र शासक कुन कोटीको वैधता भएको शासक हुन् भन्ने हिसाबले विभिन्न कोण र दर्शनबाट बौद्धिक समुदायले चर्चा गर्दै चासोपूर्वक विवेचना गरिरहेको देखिन्छ । विगतका विभिन्न प्रधानमन्त्री र हालका प्रधानमन्त्री ओली वैधानिक बाटोबाट निर्वाचित भएका वैधतामा आधारिक शासक हुन् । तापनि, कतिपय सन्दर्भमा विगतका शासक र हालका शासक प्रधानमन्त्रीलाई चामत्कारिक शक्ति, सोच र कार्यशैली भएको शासक हुन् भन्ने पनि गरिएको छ । के साँच्चै उनी चामत्कारिक हुन् ? प्रधानमन्त्री ओलीको बोली र शासनशैलीमा विश्वमा भएका कस्ता शासकीय दर्शन लुकेको छ ? प्रधानमन्त्रीको भाषणा, घोषणा र शासकीय शैलीको विश्लेषण गरी त्यस्ता शैलीसँग प्रधानमन्त्रीलाई तुलना गर्ने गरिएको छ । वैधताको बाटोबाट निर्वाचित भएर आएको अवस्था भए पनि कतिपय अवस्थामा चामत्कारिक क्षमताले पनि काम गरेको देखिन्छ । जनताको संगठनको बलमा जनताको सार्थक सहभागिता र वैधानिक बाटोबाटै आएकाले प्रधानमन्त्री ओलीलाई जर्मनका हिटलरको जस्तै वैधता हो भन्न मिल्दैन । यद्यपि उहाँका कतिपय शैली, व्यवहार र सोच त्यो बाटोमा त छैनन् भन्ने हिसाबले मानिसहरूले चर्को आलोचना गर्ने गरेका छन् ।
सत्ता र प्रचार
शासन सत्ता र प्रचारको सन्दर्भमा विश्वका शासनहरूका आ-आफ्ना शैली, सोच र तरिकाहरू रहेका थिए र छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक नारा (सोलोगान) दिएर आफ्ना विकाससम्बन्धी कार्यलाई प्रचारप्रचार गर्दै आएका छन् । रुसी शासक भ्लादिमिर पुटिन डर, त्रास, धम्की र दमनको हतियार प्रयोग गरी आफ्नो शासनको प्रचार गर्ने गर्दछन् । विपक्षीलाई बोल्न त के उठ्नै दिन्नन् । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हल्लाले भन्दा पनि काम गर्दै विश्वास आर्जन गरी अगाडि बढ्ने नेतामा पर्दथे । अमेरिकाकै पूर्वराष्ट्रपति ट्रम्प भने आफ्ना मान्यता र कुरा जबर्जस्ती सत्तामा लागू गर्दै अघि बढ्ने सोच र शैलीमा देखिए । विश्वमा यस्ता धेरै खाले नमुना देख्न र सुन्न पाइन्छ । प्रचार त्यस्तो दुईतर्फी धार भएको हतियार हो, जसले सत्ता र शासकलाई सत्तामा पुर्याउन र ढाल्न केही बेर लाग्दैन । अति प्रचार र झुटो प्रचारको उल्टो असर पनि पर्न सक्छ ।
जर्मनका गोयबल्स र प्रचारशैली
प्रचारकै चर्चा गर्दा जर्मनमा तत्कालीन नाजी शासक एडोल्फ हिटलर (१८८९-१९४५) को प्रचारमन्त्री रहेका जोसेफ गोएबल्स (१८९७-१९४५) लाई विश्व राजनीतिका घृणित पात्रका रूपमा लिइन्छ । दोस्रो विश्वयुद्धको अवधि र त्यसअघि विश्वको शक्तिशाली र डरलाग्दा शासक रहेका थिए हिटलर । उनको सत्तालाई डरलाल्दो बनाउने एउटा जर्मन पात्र रहे उनका तिनै प्रचारमन्त्री गोएबल्स । गोएबल्सले झुटो कुरा र विषयलाई पनि पटकपटक चर्को स्वरमा बारम्बार भन्ने गरेपछि त्यो साँचोमा परिवर्तन हुन्छ भन्ने मान्यता राख्दथे र हिटलरी नाजी शासन सत्ताको यति धेरै प्रचार गर्दथे कि विपक्षी, देशी-विदेशीहरू डरले काम्दथे । अर्थात्, नेपालका वर्तमान प्रधानमन्त्रीमा पनि उनै गोएबल्सको सोच र शैली त हाबी छैन भन्ने आशंका गर्ने ठाउँ उनकै घोषणा र भाषणहरूले दिन थालेको आरोप पनि लाग्ने गरेको छ ।
हिटलरका सूचनामन्त्री गोयबल्सको प्रचारशैलीलाई शासन सत्तामा अनुशरण गर्न खोज्दा विश्वमा कतिपय शासक स्वयं धराशायी बनेका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफ्ना कुरा र विषयलाई जबर्जस्ती जनतामा लागू गर्नुपर्दछ र प्रचार गर्नुपर्दछ भन्ने मत राख्दथे र सोहीबमोजिम व्यवहारहरू गरे । तर सत्ता टिकेन र निर्वाचनमा हार खानुपर्यो ।
सूचना र सञ्चारको आधुनिक युग
आजको युग सूचना, आधुनिकता, विकास, प्रणालीगत विस्तार, जनताको चेतनास्तरमा व्यापक सुधार र परिवर्तन भइसकेको युग र समय भएकाले सत्ता र शासकले फलाउने भ्रमको खेतीलाई जनता स्वमंले धराशायी बनाउन सक्छन् भन्ने कुरा देखियो । यसर्थ सूचना र सञ्चारको युगमा झूट र भ्रमको खेती र सस्तो चर्चाबाट सत्ताहरू मुक्त हुनैपर्छ । केवल हलुका र सस्ता प्रचारका लागि मात्र गरिने कार्यको जनतामा नकारात्मक प्रभाव पर्ने हुन्छ । यस्तो स्थितिमा जनता थप निराश बन्न जान्छन् । यस अर्थमा इटालीका कूटनीतिज्ञ मेकियावेली र जर्मनका तत्कालीन सूचनामन्त्री गोयबल्सको प्रचारशैलीलाई हुबहु लागू गर्न खोज्दा सत्ताहरूको आधारभूमि थप धराशायी बन्नेतर्फ सचेत बन्नैपर्ने हुन्छ ।
निष्कर्ष
विश्व कूटनीति र राजनीतिमा इटालीका मेकियावेलीको साम, दाम, दण्ड र भेदको नीतिलाई बढी नै महत्व दिएर अध्ययन र अनुसन्धान गर्ने गरिएको छ । विश्वका कतिपय शासक यो उनको शैली र सोचलाई आफ्ना शासन र सत्तामा टिक्ने र पुग्ने उत्तम उपायका रूपमा लिन्छन् र लिँदै आएका पनि छन् । त्यो मूल्य र मान्यता आज पनि महŒवपूणर् राजनीतिक दर्शन भएर रहेको पनि छ । यद्यपि सोही कारण मात्र सत्ताहरू टिकेनन्, टिक्दैनन् । मूल पक्ष र कुरा भनेको फेरि पनि जनताको सार्थक र अर्थपूणर् सहभागिता नै हो । जनताको अर्थपूणर् सहभागिता भएन भने शासकले जति नै वितण्डा मच्चाएर होहल्ला गरे पनि जनताले पत्याउँदैनन् । बदलिँदो सूचना र सञ्चारको युग र अवस्था भएकाले जनता र नागरिकको चेतनामा व्यापक सुधार र वृद्धि भएको छ र हुँदै पनि आएको छ । यस अर्थमा आजको युगमा शासक र सत्ता केवल इटालीका दार्शनिक मेकियावेलीले भनेजस्तो साम, दाम, दण्ड र भेदको सूत्रबाट मात्र टिक्न र जनविश्वास पाउन सक्दैन । त्यसो भएकाले जनताले विश्वास गर्ने र अनुभूति हुने कार्य गर्न जनताकै सार्थक सहभागिता र अपनत्व हुने गरी सामुहिक ढंगले अघि बढ्नुपर्ने खाँचो सर्वत्र गरिएको छ । पुरानो र परम्परागत निरंकुश मूल्य र मान्यताबाट मात्र अघि बढ्न खोज्नुहुन्न भन्ने हो । नेपालका शासन र सत्तामा बसेकाहरूमा पनि त्यो खाले परम्परावादी सोच र शैली छ भने त्यसबाट मुक्त हुनैपर्दछ । आजको युग लोकतन्त्र, संविधानवाद, गणतन्त्र, मानवअधिकार, नागरिक शासन र नागरिक अपनत्व भएको प्रणालीको समय भएकाले सो युगले स्वीकार गरेको मूल्यबाट दायाँबायाँ जानुहुन्न भन्ने कुरालाई सम्बन्धित सबैले अंगीकार र अनुशरण गर्नुको उत्तम विकल्प छैन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply