सीमित वृत्तभन्दा बाहिर
विवश वस्ती
तीव्र आर्थिक संकटबीच गुज्रिरहेको साझा प्रकाशनले केही वर्षपूर्वसम्म मासिक रूपमा ‘गरिमा’ प्रकाशन गथ्र्यो । नेपाली भाषा, साहित्य, संस्कृतिको उन्नयनमा ‘गरिमा’ ले यथेष्ट भूमिका निर्वाह गर्दै आएको थियो । तर, मूल संस्था नै आर्थिक संकटमा चुर्लुम्म डुबेको हुँदा ‘गरिमा’ ले निरन्तरता पाउन नसक्नु स्वाभाविकै हो । २०३९ सालदेखि प्रकाशन हुँदै आएको सो प्रकाशन इतिहासको गर्तमा बिलाउने हो कि भन्ने आशंका साहित्यिक वृत्तमा हुँदै आएको थियो । तर, खुसीको कुरा छ- ‘गरिमा’ ले पुनः निरन्तरता पाउने वातावरण बन्दै छ । साझा प्रकाशनलाई हाँक्न चयन भएको नयाँ सञ्चालक समितिले आगामी वैशाखदेखि गरिमालाई पुनः प्रकाशन गर्ने सोचसहित तयारी थाल्दैछ ।
नेपाली साहित्यिक पत्रकारितामा अग्लो स्थान बनाएको ‘गरिमा’ को पुनः प्रकाशन आफैंमा सुखद पक्ष हो । तर, अर्को दुःखद खबर पनि छ- कृषि विकास बैंकले हरेक दुई-दुई महिनामा प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका ‘समष्टि’ भने अब वर्षमा दुई अंक मात्रै निस्कनेछ । नेपालको अग्रणी बैंकिङ संस्थाले चालिसको दशकदेखि नै प्रकाशन गर्दै आएको ‘समष्टि’ को प्रकाशनलाई खुम्च्याउन बैंकको व्यवस्थापन अग्रसर देखिएको छ । सो बैंकको वार्षिकोत्सवमा व्यवस्थापन पक्षको भनाइ रहेको थियो, ‘बैंकले बैंकिङ कार्यहरूमा समय खर्चिनुपर्ने भएको हुँदा साहित्यिक पत्रिका निकालेर बस्न कठिनाइ महसुस भएको हुँदा अबदेखि ६/६ महिनामा निकाल्ने टुंगोमा पुगेका हौं ।’
‘गरिमा’ र ‘समष्टि’ को आ-आफ्नै व्यथा छन् । ‘गरिमा’ संस्थाले आर्थिक संकट झेल्नुपरेपछि बन्द हुन पुगेको थियो । तर, ‘समष्टि’ लाई प्रकाशनको अभिभारा उठाउँदै आएको कृषि विकास बैंक भने आर्थिक संकट झेल्ने संस्थामा गनिँदैन । वित्तीय क्षेत्रमा सो बैंकले अग्रता लिँदै गइरहेको छ । तर, बैंकको जनशक्तिलाई बैंकिङ कार्यमा नै लगाउनु आवश्यक परेको निचोड निकाल्दै इतिहास रचेको ‘समष्टि’ लाई खुम्च्याउने काम भएको प्रस्टै देखिन्छ ।
यी दुई साहित्यिक पत्रिका मात्र होइन, अरू पनि साहित्यिक पत्रिकाहरू छन्, जुन संस्थागत प्रयत्न/प्रतिबद्धतामा प्रकाशित हुँदै आएका छन् । गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ र नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित ‘मिर्मिरे’ यसबाहेकका पत्रिका हुन्, जसले लामो समयदेखि निरन्तरता पाउँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानले पनि ‘समकालीन साहित्य’ ‘कविता’ लगायत विभिन्न भाषा, संस्कृतिसम्बद्ध पत्रिकाहरू प्रकाशित गर्दै आएको छ ।
हुन त ‘मधुपर्क’ र ‘गरिमा’ जस्ता पत्रिका प्रकाशन संस्थाबाट र ‘समकालीन साहित्य’ भाषा-साहित्यको उन्नयनमा क्रियाशील सरकारी निकायबाट निस्किने पत्रिकाहरू भएका हुँदा त्यसलाई सुहाउँदिलो पक्ष मान्न सकिन्छ । तर, ‘समष्टि’ र ‘मिर्मिरे’ बैंकिङ संस्थाद्वारा प्रकाशित पत्रिका भएका हुँदा नाफा-घाटाको संसारमा मात्र होइन, साहित्य, भाषा, संस्कृतिको अभ्युत्थानमा पनि केही अंश योगदान होस् भनेर ती वित्तीय संस्थाहरूले साहित्यिक पत्रिकाहरू प्रकाशन गर्नुलाई खुसीको विषय मान्नुपर्छ ।
संस्थागत प्रयत्नद्वारा प्रकाशित यी साहित्यिक पत्रिकाहरूमा ‘मधुपर्क’ र ‘गरिमा’ लाई नेतृत्व गर्ने सम्पादकहरू भाषा, साहित्यमै भिजेका व्यक्तिहरू हुनु स्वाभाविक हो । यदाकदा गैरसाहित्यिक सम्पादकहरूले नेतृत्व गरे पनि आफ्नो उद्देश्यमा तल-माथि भएको देखिएको छैन । ‘मिर्मिरे’ र ‘समष्टि’ लाई पनि गुणस्तरीय तुल्याउन प्रायजसो साहित्य-लेखनमा सम्बद्ध र साहित्यिक भावना भएका व्यक्ति वा कर्मचारीहरूलाई जिम्मा दिँदै आएको पाइन्छ । सक्षम र उम्दा सम्पादकहरूले यी साहित्यिक पत्रिकाका गुणवत्तामा यति धेरै ध्यान दिएका हुन्थे कि प्रतिष्ठित लेखक/स्रष्टाहरूले समेत आफ्ना रचना छापियोस् भन्ने चाहना राख्थे । तर, पछिल्लो समय भने ‘मधुपर्क’ ले आफ्नो स्तर उठाउँदै गएको छ भने ‘गरिमा’ त बन्द नै भइहाल्यो । यद्यपि, यतिबेला पुनः प्रकाशनको तयारीमा रहेको ‘गरिमा’ ले विगतको छविलाई कायम राखेरै गति लिने अपेक्षा मात्र गर्न सकिन्छ । ‘समष्टि’ भनौं, ‘मिर्मिरे’ भनौं र ‘समकालीन साहित्य’ नै किन नभनौं, यी पत्रिकाहरू स्तरीय भए पनि आम पाठकको पहुँचमा अझै पुग्न सकेको देखिँदैन । यी पत्रिकाहरू राजधानीका केही पुस्तक पसलमा आक्कलझुक्कल मात्र झुन्डिएका पाइन्छन् । प्रकाशन भए पनि आम पाठकबीच पुर्याउने कार्यमा कुनै तत्परता र योजना नै नदेखिएको हुँदा गोदाम र स्टोरमा नै थन्काउने हेतुले मात्र प्रकाशन गरेको हो कि भन्ने भान हुनु स्वाभाविकै देखिन्छ ।
इतिहास रचेका यस्ता साहित्यिक पत्रिकाहरूले नयाँ समय र सन्दर्भअनुरूप आफूलाई ढाल्दै लैजानुपर्ने र आम पाठकबीच पुर्याउनेतिर योजनाबद्ध ढंगले अग्रसरता देखाउनु आवश्यक भइसकेको छ । सीमित वृत्तमा मात्रै खुम्च्याउने कार्यबाट बाहिर निस्किनु आवश्यक छ । अझ सूचना प्रविधिको धेरैभन्दा धेरै सदुपयोग गर्न सकिने वर्तमान समयमा त अनलाइनको माध्यमद्वारा पनि आम पाठकबीच फैलिनु आवश्यक भइसकेको छ । ताकि राजधानीबाट प्रकाशन हुने यी साहित्यिक पत्रिकाहरू राजधानीकै केही सीमित पसलहरूमा मात्र नभएर मोफसलका साथै विदेशमा बस्ने साहित्यका पाठकहरूले समेत सहज रूपमा प्राप्त गर्न सकून् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply