दुई कविता
वासु थापा पुलामी
प्रेम
तिमीलाई म चराले जस्तै
बोलाइरहन सक्तिनँ होला
खोलाले जस्तै साउती गर्न सक्तिनँ होला
न त यो बतासले जस्तै
जहिलेसुकै जुनै बेला पनि
छोइराख्न सक्छु ।
जूनले जस्तै
न त रातमा छाना माथिमाथि
डुलेर हेर्न सक्छु
घामले जस्तै
न त बिहानै
तिम्रो बार्दलीमा आएर टेक्न सक्छु ।
म त तिमीसित
दुई पाइला सँगै हिँड्न सक्छु
तरबारभन्दा लाग्ने तिम्रा वचनका धारहरूलाई
प्रेम गर्न सक्छु ।
जिन्दगी आफैंमा कुरुक्षेत्र
यसमा युद्धरत हामी
जित्नैपर्ने युद्धहरू
सायद हार्दैहार्दै
तर हार नमान्दै मर्न बिर्सेर पनि बाँचिदिन सक्छु ।
उमेर
बाहिर आँगनमा
हरियो बोटमा हल्लिँदै गरेका
जवाकुसुमको फूललाई
जसरी थाहा हुँदैन
उसको उमेर ।
पोखरीमा फुर्तीसाथ
पौडिँदै गरेका माछाहरूलाई
थाहा हुँदैन
उसको उमेर ।
बारीका डिल डिल
हरिया घाँस खाँदै
उफ्रिँदै गरेका
बाख्राका पाठाहरूलाई
थाहा हुँदैन
उसको उमेर ।
खुल्ला आकाशमा
उडिरहेका
चराहरूलाई पनि
थाहा हुँदैन
उसको उमेर ।
घरभित्र
अनुलोम बिलोम गर्दै
हात खुट्टा तन्काउँदै
दाहिने देब्रे पल्टिँदै
औंला भाँच्दै भाँच्दै
उमेर गन्दैगन्दै बस्ने ता
मान्छे मात्रै ।
Leave a Reply