राजीनामाको तयारी गरेका प्रधानमन्त्री किन ‘ब्याक’ भए ?
बुधबार डेस्क
काठमाडौं । आफूले चालेकोे प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली तत्काल राजीनामा दिने मनस्थितिमा थिए । स्रोतका अनुसार सर्वोच्च अदालतबाट फैसला आएको भोलिपल्टै अर्थात् गत बुधबार राजीनामा दिनकै लागि भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई खबरसमेत गरिएको थियो । तर, परिस्थितिले एकाएक अकै मोड लियो । रात रहे अग्राख पलाउँछ भने झै पछिल्लो समय प्रधानमन्त्री ओलीलाई आफ्नै कोर समूहका कसैले राजीनामा दिने सल्लाह दियो भने हप्की खाएर फर्कनुपर्छ ।
आखिर यस्तो परिस्थितिले कसरी यसरी पल्टा खायो ? यसका पछाडि प्रमुख भूमिका कसको छ ? विश्वस्त स्रोतले बताएअनुसार ओलीलाई राजीनामा दिन नहुने कुरामा यसरी चट्टानी रूपमा उभ्याउने काम उपप्रधानमन्त्री ईश्वर पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । त्यसबाहेक पूर्वमाओवादी समूहबाट आएर मन्त्री भएकाहरूले पनि ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन नहुने ठाउँमा पुर्याएका हुन् । उक्त स्रोत भन्छ, ‘ईश्वरको भूमिका हेर्दा आफूमाथि प्रधानमन्त्री ओलीबाट पटक-पटक भएको अपमानको बदला लिन प्रेरित भएको जस्तो देखिन्छ । अर्थमन्त्रीका लागि शपथ खान पुग्दा रक्षामन्त्रीको शपथ खानुपरेको, त्यो पनि पछि खोसुवामा परेको, पार्टी एकताको नाममा महासचिवबाटै गलहत्याइएको, उपचारका लागि सिंगापुर जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा नदिएको जस्ता थुप्रै घटनाक्रमलाई पोखरेलले आफूमाथिको अपमानका रूपमा लिएका छन् ।
ओलीसँगै रहेर पनि ओलीको विश्वासिलो बन्न नसक्नु र माधव-प्रचण्ड समूहले पनि दूरदूर गरेपछि आफ्नो मात्रै राजनीतिक जीवन किन सक्नु, ओलीको पनि सिध्याउने रणनीति ईश्वरले लिएको बताइन्छ । सर्वोच्चको फैसलाको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकमा त पोखरेलले राजीनामा दिएर आफूहरूको राजनीतिक भविष्य सिध्याउन नपाइने भन्दै धम्क्याएका थिए । माओवादीबाट आएका मन्त्रीहरू रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझीहरूको अभिव्यक्ति पनि ईश्वरकै जस्तो थियो । राजनीतिक जीवनको सबैजसो समय खर्चेको विचार समूहलाई छाडेर ओलीतिर आइयो, अब प्रधानमन्त्रीले राजीनामा दिएर अरूलाई बर्बाद पार्न पाइँदैन भन्दै उनीहरूले पनि ओलीलाई उक्साएको बताइन्छ । यी कुरामा आफ्ना खास विश्वासिला लुम्बिनी प्रदेशका मुख्यसचिव शंकर पोखरेलले पनि होमा हो मिलाइदिएपछि सनकी स्वभावका प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने भन्दै गर्जिन थालेको बताइन्छ ।
अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल अहिले पनि पाटीलाई नयाँ ढंगबाट एकताबद्ध बनाएर जानुपर्ने पक्षमा रहेको बताइन्छ । लुम्बिनी प्रदेशमा विष्णु पौडेलसँगको प्रतिस्पर्धाको राजनीतिक फाइदा लिन ईश्वरका कदमलाई शंकरले नचाहँदा नचाहँदै पनि साथ दिएको बताइन्छ । पार्टी एकताका बेला ईश्वरको महासचिव पद खोसेर पौडेललाई दिएपछि ईश्वर र विष्णुबीच दुवै ओली समूहमै भए पनि हार्दिक सम्बन्ध भने छैन । पछिल्लो समय राजनीतिक मञ्चमा सबैभन्दा निकृष्ट शैलीको शंकरको अवतरणलाई भने धेरैले आश्चर्यका रूपमा लिएका छन् । संसद् पुनःस्थापनाको निणर्य भइसकेपछि पार्टी एकताको सम्भावनाको ढोका नै बन्द भएजसरी उनले सामाजिक सञ्जालमा लेख्दै आएका छन् । आजको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्रीले राजीनामा दिन नहुने संसद् नै फेस गरेर जानुपर्ने कुरालाई कुतर्क गरेर उकास्ने काममा पनि पोखरेलद्वयको भूमिका प्रमुख रहेको बताइन्छ ।
गत बुधबार वसेको ओली समूहको स्थायी समिति बैठकमा सुवास नेम्वाङ र प्रदीप ज्ञवालीले अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु नै उत्तम हुने सुझाव दिएका थिए । सहभागी सदस्यहरूको कुरा बढी सुनेका तर आफू धेरै नबोलेका प्रधानमन्त्रीले सुवास र प्रदीपको धारणा पनि मौनपूर्वक सुने । केही बोलेनन् । त्यसो त पुस ५ गते संसद् विघटन गर्नु ठीक अगाडि बसेको मन्त्रिपरिषद् बैठकमा पनि ज्ञवालीले संसद् विघटन गर्ने कुरा कानुनी र राजनीतिक रूपमा पनि औचित्यपूणर् नहुने धारणा राखेका थिए । नेकपाभित्र मात्र हैन प्रतिपक्षीहरूले पनि शालीन र बौद्धिक छवि भएका नेता भनेर आदर गर्ने ज्ञवालीले संसद् विघटनपछि पनि एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा यदि अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएमा प्रधानमन्त्री र आफूहरूले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विगतमा यो संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नै छैन भन्दै थुप्रै सार्वजनिक कार्यक्रममा बोलेका नेम्वाङ भने प्रधानमन्त्रीले संसद् विघटन गरेपछि भने यस विषयमा मौन रहँदै आएका थिए । आफू कानुनको समेत विद्यार्थी भएकाले अदालतमा विचाराधीन विषयमा नबोल्ने बताएका थिए । तर, अदालतले संसद पुनःस्थापना गर्नासाथ उनले आफूले पहिल्यै प्रधानमन्त्रीलाई यो कदम नचाल्न सुझाएको भए पनि उनले नमानेको प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply