कसले लिने तत्परता ?
विवश वस्ती
२०७७ असार २० गते आफ्नो लघु–आयामको उपन्यास ‘उज्जली’ को विमोचन समारोहमा सुदूरपश्चिमका प्रतिभा गगनसिंह थापाले भनेका थिए, ‘म सिँजा युगमाथि आख्यान लेख्न लागिरहेको छु, त्यसलाई पूर्ण तुल्याउनतिर केन्द्रित छु ।’ थाहा भएन, अहिले थापाको देहावसान भइसकेको हुँदा उनको उद्घोष र योजनाले मूर्त रूप पाए वा पाएनन् ? तर, सिँजा युगलाई आख्यानको धरातलमा उतार्ने उनको सोचलाई उच्च र दूरगामी महŒवको मान्नुपर्छ । सभ्यताको विकास क्रममा नेपाली सभ्यता र संस्कृतिको उद्गम थलो मानिन्छ, सिँजा उपत्यकालाई । सिँजा उपत्यकाबाट नै भाषा, सभ्यता र संस्कृतिको विकास प्रारम्भ भएको मानिन्छ । त्यही उपत्यकामा विकसित भएको भाषा, सभ्यताको लहर बिस्तारै पूर्वी भेगहरूमा फैलियो र आज भाषा र संस्कृतिका हिसाबले हामी समृद्ध छौं ।
सिँजा उपत्यकाको ऐतिहासिक÷पुराताŒिवक उत्खनन हुँदै आएको छ । खस जातिले जह्रो गाडेको सिँजा उपत्यकाको ऐतिहासिक÷पुरातात्विक विषय–सन्दर्भहरूमा बालकृष्ण पोखरेल, डोरबहादुर विष्ट, जनकलाल शर्मा, पूर्णप्रकाश नेपाल ‘यात्री’, डा. राजाराम सुवेदी, डा. माधवप्रसाद पोखरेललगायत लेखक÷विद्वान्हरूले फुटकर वा कृतिगत योगदान दिएका छन् । तर, सिँजा युगलाई आख्यानमा समेट्ने कार्य भने सम्भवतः अहिलेसम्म कुनै सर्जकले गरेका छैनन् ।
इतिहासको गर्तमा धेरै घटना वा विषयहरू पुरिएर रहेका छन्÷हुन्छन् । त्यसको ऐतिहासिक, पुराताŒिवक वा साहित्यिक उत्खनन हुनु अनिवार्य भए पनि विषयवस्तुको गहन खोजबिनमा लाग्ने समय र स्रोत, साधन एवं पहुँचको अभावलगायत कारणले उत्साही सर्जकहरूसमेत खुम्चिनुपर्ने अवस्था छ । आख्यानको दृष्टिले हेर्ने हो भने भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको जीवनमा आधारित उपन्यास ‘रणहार’ र बागलुङ भेगको तत्कालीन शासकीय अवस्थाबारे लेखिएको ‘महारानी’ का सर्जक क्रमशः योगेशराज र चन्द्रप्रकाश बानियाँले दुई वर्ष मदन पुरस्कारसमेत पाए । ऐतिहासिक घटना र पृष्ठभूमिमा लेखिएका दुवै आख्यान–कृति पुरस्कृत हुनुले इतिहासलाई उत्खनन गरेर आख्यानमा रूपान्तरित गर्दा त्यसको अर्थ र महŒव रहेछ भन्ने पुष्टि हुन्छ ।
हामीकहाँ धेरै ऐतिहासिक तथ्य र विषयहरू छन् । पूर्वदेखि सुदूरपश्चिमसम्म हिमालदेखि तराईसम्मका । राजा–महाराजाका ऐतिहासिक कथा छन्, जनसंघर्ष र विद्रोहका कथा छन् । नेपाल एकीकरण हुनुअघि त हरेक टाकुरा–थुम्काहरूका कथा थिए । बाइसे, चौबीसे, सेन राज्यहरूका आ–आफ्नै ऐतिहासिक कथा थिए । तर, त्यस्ता ऐतिहासिक तथ्य, घटनाहरूलाई आख्यानमा ढाल्ने कार्य भने सीमित सर्जकहरूले मात्रै गरेका छन् । राणाकालीन इतिहासको भित्री पाटोलाई उधिन्न डायमनशमशेर राणाले तत्परता देखाएपछि राणाकालीन ऐतिहासिक तथ्यहरूलाई बाहिर ल्याउन अरू सर्जकहरू पनि तत्पर देखिए । कसैले आख्यानमा ढाले, कसैले इतिहासमा । जे जसरी र जुन माध्यम अपनाएर बाहिर आए पनि त्यो वर्तमान पुस्ताका निम्ति बहुमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।
हामीकहाँ इतिहासले चिनेका राजनीतिक, सामाजिक व्यक्तित्वहरूबारे पनि कमै आख्यान लेखिएका छन् । नारी विद्रोहकी प्रतीक योगमायाबारे त लेखियो तर राणाकालीन समयमा विद्रोहको उद्घोष गर्ने अरू थुप्रै ‘योगमायाहरू’ बारे भने अझै लेखिएका छैनन् । यस्ता ऐतिहासिक पात्रहरू हामीकहाँ प्रशस्तै छन्, जसलाई आख्यानीकृत गर्न सकिन्छ र गर्नु पनि पर्ने हुन्छ । प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पित गरेका बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलालजस्ता व्यक्तित्वहरूबारे अझै प्रामाणिक रूपमा कुनै कृति आउन सकेका छैनन् । न त जीवनीपरक रूपमा, न त आख्यानमा । जननेता मदन भण्डारीबारे प्रदीप नेपालले लघु–आयामको आख्यान ‘बर्बरिक’ लेखे तर कम्युनिस्ट आन्दोलनमा असंख्य भोटा फटाएका नेत्रलाल ‘अभागी’, ऋषिराज देवकोटा ‘आजाद’ जीवराज आश्रितजस्ता व्यक्तित्वदेखि वर्ग संघर्षमा हेलिएका जनता र तिनीहरूका संघर्षको धरातललाई छाम्ने हेतुका आख्यानहरू भने लेखिएका छैनन्, अझै । न त पञ्चायतकालको ओखलढुंगा काण्डबारे लेखिएका छन्, न त बर्रे संघर्षका कथा नै कोरिएका छन् । न त पिस्कर, न त मध्य तराईको किसान संघर्षका गाथा नै आख्यानीकृत हुन सकेका छन् । तसर्थ, यस्ता ऐतिहासिक घटनावस्तुहरूलाई कुनै न कुनै माध्यमद्वारा बाहिर नल्याउने हो भने इतिहासको गर्तमा पुरिएर जानेमा दुईमत देखिँदैन । ऐतिहासिक घटनाहरूको उत्खननमा जति ढिलाइ हुँदै जान्छ, त्यति नै त्यो महँगो पर्दै जान्छ । न त्यो इतिहास बुझेका पात्र जीवित रहन्छन्, समय बित्दै जाँदा न त त्यसलाई व्यवस्थित रूपले लिपिबद्ध नै गर्न सकिन्छ ।
भारतीय स्वतन्त्रताका सादगी प्रतीक महात्मा गान्धीबारे विष्णु प्रभाकरले लेखे, ‘आवारा मसिहा’ । त्यो आख्यान गान्धीको उचाइलाई अझ माथि पु¥याउने आख्यान–कृति बन्यो । विद्वान् राहुल सांकृत्यायनलाई चिनाउने कृति बन्यो, ‘समय साम्यवादी’ । विष्णुचन्द्र शर्माले राहुलको जीवन–यात्राका सम्पूर्ण आरोह–अवरोहलाई त्यो आख्यानमा समेटेका छन् । तर, हामीकहाँ भने ऐतिहासिक व्यक्तित्वबारे अझै पनि व्यवस्थित रूपमा लेखिन सकेको छैन । यसका निम्ति राज्यले नै लेखक÷स्रष्टाहरूलाई विद्वतवृत्ति दिएर हुन्छ वा कुन माध्यम अपनाएर हुन्छ, ऐतिहासिक व्यक्तित्व, घटनाबारे लेखाउनु आवश्यक भइसकेको छ । आखिर, ४० को दशकमा तत्कालीन राजा वीरेन्द्रले चासो दिएर इतिहासकार दिनेशराज पन्तलाई ‘गोरखाको इतिहास’ लेखाउन आर्थिक, भौतिक सहयोग दिई उत्प्रेरित नगरेका भए चार खण्डको त्यो ऐतिहासिक कृति बाहिर आउन सम्भव नै थिएन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply