नेपालका प्रथम ज्ञात कवि अनुपरम
कृष्णप्रकाश श्रेष्ठ
नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलब्ध भएका दसौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहित लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनब्रज बज्राचार्यले चावहिलमा प्राप्त बौद्धचैत्यको वर्णन गरिएको खण्डित एक शिलालेखलाई लिपिका आधारमा मानदेवभन्दा पहिलेका राजा वृषदेवको समयको हुन सक्ने संकेत दिएका छन् ।
प्राचीन शिलापत्रहरुको अध्ययनबाट नेपालमा लिच्छविकालमा नै संस्कृत भाषामा विभिन्न शास्त्रीय छन्दहरुमा देवदेवीहरुको स्तुतिका अतिरिक्त चैत्य र मन्दिर–निर्माण, विभिन्न उत्सवपर्वहरुको व्यवस्था, गुठीको प्रबन्ध, दानदातव्य तथा राजाहरुको वर्णन र वंशावली आदि धार्मिक र सामाजिक विषयवस्तुबारे पनि पद्यरचना भएको पाइन्छ । यस्ता अभिलेखहरुमा प्रयुक्त अनुप्रास आदि मात्र नभई शब्दविन्यास, उपमा र अलंकारको प्रयोग आदिमा पनि रचनाकारहरुको साहित्यिक दक्षताको बोध हुन्छ । तर, अधिकांश शिलालेखहरुमा दाता र तत्कालीन शासकको नाम उल्लेख भए तापनि रचनाकारहरुको नामचाहिँ अज्ञात नै रहेको पाइन्छ । संस्कृतमा लेख्ने पहिला ज्ञात कवि अनुपरम (मृत्यु ः ई.सं. ५४०) थिए । उनले एउटा स्तुतिकाव्यको रचना गरेका थिए, तर त्यो स्तुति देवदेवी र राजाप्रति समर्पित थिएन, बरु वेदहरुको वर्गीकरण गरेको हुनाले वेदव्यास भनी प्रसिद्ध भएका पौराणिक महर्षि द्वैपायनप्रति समर्पित थियो ।
रचनाकारको नाम स्पष्ट अंकित पहिलो शिलाभिलेख हो, हाँडीगाउँस्थित नारायणस्थान सामुन्ने स्थापित गरुडस्तम्भको पूर्व पाटामा कुँदिएको खण्डित अभिलेख । यस शिलाभिलेखको माथिल्ला भाग निकै खण्डित भए तापनि यो शिलाभिलेख साहित्यिक दृष्टिले ज्यादै महत्वपूर्ण छ । समयमा मारमा परेर सुरुका केही श्लोकहरु अस्पष्ट छ, यद्यपि ३४ श्लोकको यो खण्डित अभिलेखको विशेषता के हो भने यसमा देवदेवी र राजाहरुको स्तुतिगान गरिएको नभई प्राचीन कालको एक प्रकाण्ड विद्वान् अर्थात् वेदहरुको वर्गीकरण गरेको हुनाले वेदव्यास भन्ने नामले विख्यात महाभारतग्रन्थका रचनाकार मानिने महर्षि द्वैपायनको स्तुतिगान गर्नुका साथै वैदिक धर्म र दर्शनको गुनगान गरिएको छ । ‘लिपिको दृष्टिले यो अभिलेख राजा मानदेवको लगत्तै पछाडिको अर्थात् वसन्तदेवको ताकाको हो भन्ने देखिन्छ’ भन्ने धनब्रज बज्राचार्यको राय छ ।
अर्का नेपाली विद्वान् जगदीशचन्द्र रेग्मीको भनाइअनुसार यो अभिलेख ‘वेदव्यासको स्तृतिमा लेखिएको हुँदा यसको मूल उद्देश्य दार्शनिक छ । वेदका द्रष्टा र महाभारतका लेखकका रुपमा वेदव्यासको महत्व मानी अनुरुपमले तिनलाई यस संसारमा धर्मको महत्व थप्ने महापुरुषका रुपमा देखेका छन् । वेद र महाभारतसँग जोडिएका वेदव्यासको स्तुति गर्ने दार्शनिक अनुरुपम आफैँ पनि ती दुवै महान् रचनाका तत्व जान्ने व्यक्तिका रुपमा देखिन आउँछन् । नास्तिक दर्शनको विरोधमा लेखिएको यो स्तोत्र अभिलेख वेद र महाभारतजस्ता इतिहासका सबै युगमा व्याप्तिएका ग्रन्थहरुका संग्रहकर्ता र लेखकका रुपमा वेदव्यासको स्तुति गरी स्थायी धर्मको प्रतिपादन गर्न अघि सरेको महान् ऐतिहासिक रचना हो । भारतीय इतिहासमा कुनै युगमा यति राम्ररी, छोटकरीबाट सद्र्धमको प्रतिपादनका लागि थालिएको यस्तै अभिलेखसाहित्य नपाउँदा लिच्छविकालीन संस्कृतिको एउटा गहकिलो मर्म थाहा पाइन्छ ।
यस गरुडस्तम्भमा कुँदिएको पद्यरचनाका लेखक अनुरुपम भन्ने कुनै कवि हुन् भन्ने संकेत अन्तिम ७३ औं पंक्तिमा उत्कीर्ण निम्न वाक्यबाट पाइन्छ, ‘भगवतो द्वैपायनस्य स्तोत्रङ्कृतमनुपरमेण’ (अनुरुपले भगवान् द्वैपायनको स्तोत्रको रचना गरे ) । किन्तु यत्तिकै सूचनाको आधारमा यस अभिलेखमा आफ्नो नामसमेत उत्कीर्ण गराउने कवि अनुरुपम को थिए भन्ने स्पष्ट हुँदैन । यस प्रश्नको उत्तर पशुपतिनाथको मन्दिरदेखि दक्षिणपट्टि चौंसठ्ठीलिंगदेखि अलि तल्तिर वत्सलाको मन्दिरदेखि पश्चिमपट्टि) प्राप्त भौमगुप्तकी आमा आभीरी गोमिनीले आफ्ना स्वर्गीय पतिको नाममा अनुपरमेश्वर भन्ने नामले शिवलिंग स्थापना गरेको बेहोरा उल्लिखित अभिलेखबाट घुमाउरो किसिमले पाउन सकिन्छ । सम्वत् ४६२ (ई.सं. ५४०) मा स्थापित शिवलिंगको पादपीठको अभिलेखबाट अनुपरम नामका कवि ‘लिच्छविकालका एक प्रसिद्ध सहायक शासक भौमगुप्तका पिता’ हुन् भन्ने स्पष्ट हुन आएको छ । यसर सम्वत् ४६२ मा कवि अनुपरमको देहान्त भइसकेको थियो र तसर्थ उनले उक्त द्वैपायनस्तोत्रको रचना कहिले गरेका थिए भन्ने अनुमान परोक्ष प्रमाणको आधारमा मात्र लगाउन सकिन्छ र यो सन् ५१५ देखि ५२० को समयावधिभित्र रचिएको थियो ।
आभीर गुप्तहरु वैदिक धर्मका अनुयायी थिए र उनीहरु आफूलाई ‘गोमी’ पनि भन्दथे । गोमीको अर्थ हुन्छ, गाई पाल्ने व्यक्ति (मातातीर्थ थानकोट भेकतिर यस प्राचीन आभीर वंशका सन्ततिहरु अद्यापि छन्, जो आफूलाई गोपाल भन्ने गर्दछन्) । आभीर गोमिनीको अभिलेखबाट कवि अनुपरम आभीर वंशका थिए भन्ने अनुमान हुन्छ । त्यस अभिलेखमा आभीरी गोमिनीले तत्कालीन प्रचलनअनुसार पतिको नामोल्लेख नगरे तापनि आफ्ना ससुरा र छोराको नाम चाहिँ उल्लेख गरेकी छिन् । यसबाट अनुपरम भौमगुप्तको पिता र परमाभिमानी (यो नाम नभएर विशेषण पनि हुने सम्भावना छ) नामका कुनै प्रतिष्ठित व्यक्तिका पुत्र हुन् भन्ने थाहा पाइन्छ । आभीरहरुले गुप्तका साथै गोमी पनि कहलाइएका हुनाले अनुपरमकी आमाले आभीरी गोमिनी भनी आफ्नो परिचय दिएकी होलिन् । उनले पतिका तर्फबाट आफ्नो कुलनाम (जाति) को उल्लेख गरे तापनि व्यक्तिवाचक नामको चाहिँ उल्लेख गरेकी छैनन् । केवलपुरम प्राप्त अर्को एक अभिलेखमा भौमगुप्तका जेठा बावु अर्थात् अनुपरमका दाजुको नाम मानगुप्त बताइनुका साथै उनलाई ‘गोमी’ भनेर स्पष्ट लेखिएको छ र यसै आधारमा अनुपरम नामको अन्त्यमा कुलनामको रुपमा गुप्त वा गोमी लेख्न सकिने अनुमान हुन्छ । भनाइको तात्पर्य के हो भने कवि अनुपरम पनि गुप्त वा गोमी कुलनामधारी आभीर वंशका हुन् । उनले द्वैपायन स्तोत्रको रचना गरी वेदान्त दर्शनप्रति आफ्नो आस्था प्रदर्शन गरेका थिए ।
वैदिक परम्पराका अनुयायी कवि अनुपरमले यस स्तम्भलेखमा ‘नास्तिक, कुतार्किक, मूर्ख, कुमति आदि शब्दको प्रयोग गरी बौद्धहरुको निन्दा गरेको कुरा मननीय छ । लिच्छविकालमा नेपालमा बौद्ध धर्मको प्रचार र प्रभाव निकै बढी थियो र वैदिक धर्मका अनुयायीहरु र बौद्ध धर्मावलम्बीहरुबीच वादविवाद चल्दथ्यो भन्ने तथ्यको उद्घाटन यस शिलाभिलेखबाट हुन्छ । उदार धार्मिक भावनाले प्रश्रय पाएको नेपालमा धनब्रज बज्राचार्यको मतानुसार, ‘शास्त्रार्थको रुपमा खण्डनमण्डन गर्ने परम्पराका रुपमा मात्र यो भावना सीमित थियो । जनतासम्म धार्मिक कलहले स्थान पाएको उदाहरण हाम्रो यहाँ पाइँदैन ।’ जेहोस्, नेपाली विद्वान् जगदीशचन्द्र रेग्मीले अनुपरमलाई ‘कविदार्शनिक’ भन्ने उपाधि प्रदान गर्दै उनका कृतिमा ‘दार्शनिक गहनताबाहेक साहित्यिक स्वरुप र आन्तरिक भावसमेत प्रस्टिन खोजेको’ कुरा जनाउँदै लेखेका छन्, ‘उपयुक्त शब्दहरुको प्रयोगमा उनको सीप हाम्रो कानले प्रस्टै थाहा पाउँछ र यसका रचयिताको महत्वबारे निर्णय दिन थाल्दछ ।’
यस महत्वपूर्ण अभिलेखको माथिल्लो भाग निकै खिइएको हुँदा प्राचीन कालको एक अनुपम साहित्यिक कृतिको आंशिक मात्र रसास्वादन गर्ने हामीले सम्भावना पाएका छौं । तर प्रौढ लेखनशैली, दार्शनिक विचारधारा आदिको दृष्टिले नेपालका प्रथम ज्ञात साहित्यकारको ईशाको छैटौं शताब्दीको मध्यतिर रचिएको र हामीसम्म खण्डित रुपमा आइपुगेको प्रस्तुत काव्यकृति पनि नेपाली विद्वान् धनब्रज बज्राचार्यले जनाएझैं ‘उच्चकोटिको मानिएको छ’ ।
(विख्यात अनुवादक, लेखक, अन्वेषक कृष्णप्रकाश श्रेष्ठ ८३ वर्षको उमेरमा बिते । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका एउटा छोटो लेख यस पटक समावेश गरेका छौं ।)
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply