एमालेमा एकताको बिन्दुको खोजी
बुधबार डेस्क
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारका कारण लोकतान्त्रिक अभ्यासमा अब्बल र बलियो संगठनमा आधारित विशाल पार्टी नेकपा एमालेमा पुनः विभाजनको खतरा देखिएसँगै लाखौं कार्यकर्ता पंक्तिमा गम्भीर चिन्ता छाएको छ ।
नेकपा बनेपछि न हाँस न कुखुराको चालको सांगठनिक अवस्थामा पुगेर घायल रहेको एमाले २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै ब्युँतिएपछि टोलसम्म व्यबस्थित कमिटी र अनुशासित कार्यकर्ता भएको पांर्टी पूर्ववत् रूपमा क्रियाशील हुने धेरैको अनुमान थियो । तत्कालीन नेकपाभित्रको किचलोबाट आजित भएका दुई समूहमा रहेका तल्ला तहको थुप्रै कार्यकर्तापंक्ति फैसलाप्रति न त सन्तुष्ट बने, न त त्यसविरुद्ध उनीहरूले कुनै गतिविधि नै गरे । तर, प्रधानमन्त्री ओलीमा कायम रहेको दम्भ र अहंकारले पार्टीपंक्ति पूर्ववत् कमिटीकै हैसियतमा क्रियाशील हुनुको साटो झन् टोल तहसम्म बेग्लाबेग्लै समूहमा विभाजित हुँदै गएपछि अहिले कार्यकर्ता पंक्तिमा विभाजनको चिन्ता छाएको हो । २०५४ मा तत्कालीन एमाले विभाजन हुँदा बनेको घाउका खाटा अझै रहेको र त्यतिबेला मुलुकको नेतृत्व गर्न लामो समयसम्म चुकाएको अवसरको समीक्षा हरदम हुँदै आएकाले पनि ओलीको विभाजनलाई प्रश्रय दिने सोच र कार्यशैलीका बाबजुद अहिले पार्टीभित्र थुप्रै नेताहरूले स्वतस्फूर्त आन्तरिक रूपमा एकताको बिन्दुको खोजी गरिरहेका छन् ।
सर्वोच्च अदालतको फैसलाले तत्कालीन एमालेलाई २ जेठ २०७५ को अवस्थामा पु¥याइदिए पनि ओलीले त्यसलाई ठाडै चुनौति दिँदै गुटको बैठक राखेर त्यही निर्णयलाई आधिकारिकता दिने, देशैभर गुटको बैठक राखेर वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा लागेको नेता–कार्यकर्ताहरूलाई हटाउनेजस्ता अवैधानिक र योजनाबद्ध रूपमा पार्टी फुटको बीजारोपण गर्ने काम गर्दै आएका छन् । जसले गर्दा एमालेको नवौं महाधिवेशनदेखि कायम रहेको नेपाल–खनाल समूहले नेता–कार्यकर्ताहरूलाई अन्याय र अत्याचारविरुद्ध गोलबन्द र संगठित गर्नकै लागि समानन्तर गतिवधि गरिरहेको छ । ओलीको निरंकुशताविरुद्ध ४ र ५ चैतमा ४ हजारभन्दा बढि नेता–कार्यकर्ताहरूको राष्ट्रिय भेला आयोजना गरेर नेपाल–खनाल समूहले पार्टी एकता जोगाउन देशव्यापी अभियान सुरु गरिसकेको छ । यो समूहले अहिलेसम्म नौ प्रदेश र ६७ जिल्लामा पार्टी कमिटीहरू विस्तार र पुनर्गठन गरिसकेको छ । त्यस्तै, पाँचवटा भ्रातृ संगठन पुनर्गठित भएका छन् भने अभियानलाई तीव्रता दिने दुईमहिने कार्ययोजनासमेत सार्वजनिक गरेको छ ।
खासगरी पार्टी एकता बचाउन दबाबका रूपमा अघि बढेको यो अभियानलाई पनि नजरअन्दाज गर्दै ओली आफैंले काउन्टर भेला गर्न थालेका छन् । काउन्टरमा बोलाइएका भेलामा सहभागी भएर उत्तेजक अभिव्यक्तिहरू दिएर परिस्थितिलाई भड्काउनेगरी दम्भ र अहंकार देखाइरहेका छन् । पार्टी र सरकार दुवैतिर संस्थापन बनेर सत्ता चलाइरहेको समूहले फरक विचार समूहको कुरा सुन्ने, कमजोरी सच्याएर मिलाउने प्रयत्न गर्नुको सट्टा झन् परिस्थितिलाई उत्तेजक दिशातिर धकेल्ने काममा ओली स्वयं उद्धत भएका छन् । यसको अर्थ हो, ओलीमा सवार भएको निरंकुशताले अन्ततः कम्युनिस्ट आन्दोलनलाई विसर्जनमै पु¥याउनेछ । उनको यस्तो निरंकुश सोच र कार्यशैलीका कारण ओली र नेपाल–खनाल विचार समूहमा रहेका दोस्रो तहका नेताहरू गम्भीर चिन्तित बनेका छन् । उनीहरूले भित्रभित्रै आन्तरिक छलफललाई तीव्र बनाइरहेका छन् । त्यति मात्र होइन, दुवै समूहमा रहेका खासगरी विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङलगायत नेताहरूले आन्तरिक संवादलाई प्राथमिकता दिएर एकताको बिन्दुबारे निजी धारणा पनि सार्वजनिक गरिरहेका छन् ।
खासगरी दुवैतिर ओली र नेपाललाई घेराबन्दी गरेर परिस्थितिलाई उत्तेजक बनाउने नेताहरू अझै पनि हाबी रहेकाले पनि एकताको पक्षमा उभिएका दुवैतिरका नेताहरूले सजगताका साथ आन्तरिक छलफल गरिरहेका छन् । यसबीचमै एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी एकताको बिन्दुबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनले एकताको बिन्दुबारे सबैले पहिला २३ फागुन २०७७ मा सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार गर्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि २ जेठ २०७५ सम्म कायम रहेको तत्कालीन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्नुपर्ने उनको प्रस्ताव छ । त्यस बैठकमा खुला खुलस्त छलफल गरेर निकास खोज्न सकिने, निष्कर्षलाई मानेर सबैले अघि बढ्नुपर्नेमा जोड दिँदै भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं, आफूबाट भएका गल्तीलाई सबैले दिलबाट स्वीकार गरांै ।’
पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने कुरामा सबै तयार हुनेबित्तिकै समाधान निस्किनेतर्फ ध्यानाकर्षण गराउँदै भट्टराईको आग्रह छ, ‘महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गरौं, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौं र परिणाम सबैले स्वीकार गरौं । आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाऔं । जमिनमा टेकौं र जनता तर्फ फर्कौं । यसैमा छ सबैको भलो ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply