लखेटिँदा लखेटिँदै
सीमा आभास
मैले प्रथमपटक टेकेको माटोबाट लखेटिँए
मैले प्रथमपटक हेरेको अनुहारबाट लेखेटिँए
मलाई प्रथमपटक समातेका हातहरुबाट लखेटिँए
लखेटिँदा–लखेटिँदै आफू आफैबाट लखेटिँए ।
कतै स्नेह र प्रेम नछरिएको
मरुभूमिभन्दा पनि शून्य र उराठ बाटो हुँदै
पसिनैपसिनाको कन्चट
आँतभरि तिर्खा लिएर लखेटिँए ।
लखेटिँदा लखेटिँदै
बाटो वरिपरि गुराँस फुल्ने देशको याद आयो
चिसो पानी बग्ने गाउँको पँधेराको याद आयो
काफल पाकेको जङ्गलमा कोइली गाएको गीतको याद आयो
र याद आयो मलाई झुक्याएर भागेको विगतको
लखेटिँदै जाँदा
बाटोमा कतै विश्राम भेटिएन
समी, पीपल र चौतारो पनि भेटिएन
लखेटिँदै जाँदा
थुप्रै चीजहरु भेट्टाएँ र गुमाएँ
समात्न खोजेका हातहरु छोडिएका छन्
संगाल्न खोजेका साथहरु छोडिएका छन्
छेकबारहरु चुँडेर दौडिरहँदा
अञ्जान बस्तीमा नानीहरु खेलेको भेटेँ
आफूभरि आँखाभरि
लखेटिँदा–लखेटिँदै
कल्पनाका गुराँसबाट पनि लखेटिएँ
मैले विश्राम नगरेको चौतारोबाट लखेटिँए
मैले शीतलता नतापेको छहारीबाट लखेटिँए
स्वयम् आफ्नै छाँया छोडिएर लखेटिँए
यसरी
मैले प्रथमपटक टेकेको माटोबाट
म आफै लखेटिँए ।
००
maarmik kavita