नेपालमा फेरि आन्दोलन–क्रान्ति आवश्यक छ ?
अधिवक्ता प्रेमराज सिलवाल
उत्तर अरबियन मुलुक लिबियामा सन् २०११ मा भएको भीषण सत्ता विरोधी संघर्ष र आन्दोलनले चार दशक शासन–सत्तामा रहेका निरंकुश शासक कर्णेल गद्दाफीलाई सत्ताबाट हटाएर सडकमा घिसारेर ल्याई हत्यासमेत गरेको थियो । संघर्षका क्रममा खुट्टामा गोली लागेका अली अल अगोरी क्रान्तिमा सामेल भएका एक आन्दोलनकारी हुन् । उनीजस्ता हजारौं घाइते र सहिदको बलिदानिपूर्ण संघर्षले लिबियामा गद्दाफीको निरंकुशता ढल्न पुगेको थियो । त्यो संघर्ष सो क्षेत्रका अन्य मुलुक र समाजका लागि समेत प्रेरणादायी र उदाहरणीय क्रान्तिकारी स्रोत बन्न पुग्यो । सोही कारण त्यसपछि विभिन्न अरबियन मुलुकमा स्वतन्त्रता, प्रजातन्त्र र राजनीतिक परिवर्तनका लागि विभिन्न संघर्ष, आन्दोलन तथा क्रान्तिहरू गरिए र सफल पनि भए ।
क्रान्ति र दृष्टिकोण
सन् २०२१ फेब्रुअरीमा खोजी पत्रकारले उनै घाइते अगोरीलाई सोधे, ‘तपाईंले क्रान्तिमा गोली खाएर के पाउनुभयो ?’ उनले जवाफ दिए, ‘क्रान्तिले मुलुकलाई निरंकुशताबाट मुक्त गरिदियो, जुन लिबियाका लागि आवश्यक थियो ।’ पत्रकारको अर्काे प्रश्न, ‘के अब फेरि पनि लिबियामा क्रान्तिको आवश्यकता छ ?’ सोको जवाफ भने अगोरीले बढो दार्शनिक तरिकाले दिए र भने, ‘क्रान्ति र आन्दोलन भन्ने कुरा एउटा व्यापक प्रक्रिया (प्रोसेस) हो त्यसको आवश्यकता हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।’ उनले दिएको त्यो पछिल्लो जवाफ राजनीतिशास्त्रीय दर्शन र समाजशास्त्रीय ऐतिहासिक विश्व दृष्टिकोण तथा मानव विकासक्रमको दृष्टिकोणले धेरै नै महत्वपूर्ण र शक्तिशाली रहेको छ । सो पछिल्लो जवाफले विश्वमा भएका, भइरहेका र भविष्यमा हुने राजनीतिक र सामाजिक आन्दोलनको औचित्यमाथि थप बल पुगेको देखिन्छ ।
नेपालका गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ २३ गते नारायणहिटी सभाका क्रममा नेपालमा फेरि तेस्रो चरणको जनआन्दोलनको आवश्यकता रहेको भनेपछि क्रान्ति र संघर्षको बहस पुनः भयो । सरकारकै गृहमन्त्रीले आन्दोलन र क्रान्तिको चर्चा गर्दा धेरैले अनौठो पनि माने । वास्तवमा नेपालमा आन्दोलन भन्ने कुरै के हो र किन गरिन्छ भन्नेमै व्यापक भ्रमहरू रहेका देखिन्छन् । के आन्दोलन भनेको सडकमा ढुंगामुडा गर्ने मात्र हो ? के क्रान्ति र आन्दोलन हिंस्रक मात्र हुन्छ ? के राजनीतिक संघर्षका लागि मात्र आन्दोलनहरू गरिन्छन् ? केलाई आन्दोलन वा क्रान्ति भन्ने ? यस्ता अनेकथरी विषयमा बुझाइमा अनेकौं भ्रम र अन्योल राजनीतिक वृत्त र समाजमा रहिआएको छ ।
आन्दोलन र संगठन
आन्दोलन र क्रान्ति राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा समाजको बृहत् परिवर्तन र आवश्यक सुधारका लागि गरिने सामाजिक अभियानको साझा नाम हो । आन्दोलनमा जनता र नागरिकहरूको सार्थक, उद्देश्यमूलक र प्रतिबद्ध संगठित सहभागिता तथा समर्थन रहेको हुन्छ, हुनुपर्दछ । जनता र नागरिकको सहयोग, समर्थन र सहभागिता नभएको विषय आन्दोलन र क्रान्तिको व्यापक परिभाषामा पर्दैन । कुनै एउटा ठूलो प्राइभेट कम्पनीले केही सय कामदार निकाल्यो र पुनर्नियुक्ति गर्नुपर्ने माग राखी तिनले सडकमा जुलस निकाले वा केही दिन सडक बन्द गराए वा कम्पनीको ढोकामा गरिने धर्नालाई क्रान्तिको परिभाषामा राख्न मिल्दैन । त्यस्ता निजी, सामूहिक, समूहका स्वार्थका माग राखी गरिएका अनगिन्ती विरोध–धर्ना र जुलुसहरू हुन सक्छन्, त्यस्तालाई जनआन्दोलन र क्रान्तिको कोटीमा राख्नै मिल्दैन । कुनै आपराधिक समूह वा राजनीतिक नारा दिइएको स्वार्थी समूहले कसैको हत्या गरिदियो । अब के क्रान्ति भयो त ? त्यो कदापि क्रान्ति र जनआन्दोलन हुनै सक्दैन । त्यसो भएकाले नेपालमा सामान्य बोलीचालीमा सडकमा केही मान्छे जम्मा भएर सरकारविरुद्ध नाराबाजी गरे भने त्यसैलाई आन्दोलन पनि भन्ने गरिएका छन् । क्रान्ति र जनआन्दोलनको इतिहास, विश्वव्यापी मान्यता र दर्शनले त्यस्ता घटनालाई क्रान्ति भन्न सकिन्न । यद्यपि क्रान्तिको सुरुवात थोरैबाटै हुन्छ । तर त्यस्तो क्रान्ति र जनआन्दोलनमा भने उद्देश्य, लक्ष्य, राजनीतिक–सामाजिक र सांस्कृतिक मुद्दा, विषयको उठान, संघर्षका रूप तथा विधि, जनपरिचालन, जनताको संगठन, निश्चित सिद्धान्त र विचारद्धारा परिलक्षित रहेको हुन्छ । त्यस्ता आधारभूत कुरा नभई क्रान्ति र जनआन्दोलन भन्ने हुन्न । भएगरिए पनि त्यसै तुहिन्छ ।
नेपालमा क्रान्ति आवश्यक छ ?
यो सवाल नेपाली राजनीति र बौद्धिक बहसमा लगातार उठाईने गरेको मुद्दा र प्रश्न हो । के नेपालमा फेरि क्रान्ति हुन्छ वा चाहिन्छ ? फेरि किन क्रान्ति चाहियो ? यस्ता प्रश्न तथा सवाल गरिन्छन् । अब क्रान्ति र जनआन्दोलन केलाई भन्नुपर्ने हुन्छ भन्ने कुरामा चर्चा गरिएपछि क्रान्ति र आन्दोलन भन्ने कुरा केवल सडकमै गएर मात्र गरिने कुरा पनि होइन भन्ने कुरामा भ्रम रहेन । क्रान्ति भनेको अग्रगमन तथा परिवर्तनको अस्त्र हो, सामाजिक अभियान हो । क्रान्ति भन्ने कुरा समाज, राजनीति र मानिस रहेसम्म चाहिने र चलिरहने कुरा पनि हो । केवल क्रान्तिका विधि, तरिका, उद्देश्य, मुद्दा, संघठन र पात्र फेरिन सक्छन् । तर पनि क्रान्ति हुन्छ, हुनुपर्छ । मानिस, राष्ट्र र समाजका अनेकौं आवश्यकताले क्रान्ति र संघर्षहरू भएका छन्, हुँदै आएका छन् र हुने गर्छन् ।
विश्व इतिहासमा क्रान्ति
विश्व इतिहासमा पनि हेर्ने हो भने सामाजिक र राजनीतिक आवश्यकताले पटकपटक विभिन्न खाले क्रान्ति र आन्दोलनहरू भएका छन् । चीनकै उदाहरण हेरौं, सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यतिले मात्र क्रान्ति पूरा भएन । त्यसैले सन् १९६६ देखि सन् १९७६ सम्म फेरि सांस्कृतिक क्रान्ति गरियो । नेता माओकै भनाइमा ८ लाख मानिसले सो क्रान्तिमा ज्यान गुमाएका थिए । यद्यपि त्यसले पनि क्रान्ति पूरा भएन र माओको मृत्युपछि सत्तामा राष्ट्रपति देङस्याओ पिङ आएपछि फेरि क्रान्तिको रूप, नारा र शैली फेरियो । आर्थिक क्रान्ति भनियो र चीनमा मिश्रित उदार अर्थनीति लागू गरियो । तर पनि समाजमा अन्तरविरोध कायम थियो । सन् १९८९ मा फेरि चीनमै विद्यार्थीहरूका नाममा ठूलो विद्रोहसमेत भयो । यद्यपि सो विद्रोहलाई चीनले सैन्य बलको प्रयोग गरी दबायो । अब अहिले चीनमा आर्थिक–सामाजिक आन्दोलन भइरहेका छन्, मुुलुक र नागरिक धनी हुन । तसर्थ यो चीनको पनि उदाहरणले मुलुक र समाजमा क्रान्ति र आन्दोलनहरू एकपटक गरेपछि पूर्ण तथा पूरा हुने कुरा होइन रहेछ भन्ने प्रमाणित गर्छ । त्यस्ता अनेकौं उदाहरण अमेरिका, भारत, रुसलगायत विश्वका अन्य देश र समाजमा पनि अनगिन्ती देखिन्छन् ।
नेपाल र क्रान्तिको इतिहास
नेपाली राजनीतिक–सामाजिक इतिहास हेर्ने हो भने पनि २००७ सालमा भएको राणाविरोधी संघर्ष त्यतिबेला ऐतिहासिक क्रान्ति थियो । प्रजातन्त्र आयो र छोटो समयमै फेरि तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते दलमाथि प्रतिबन्ध लगाए । ३० वर्ष पञ्चायतको विरोधमा विभिन्न संघर्ष भए । २०४६ फागुन ७ गते देखि चैत २६ सम्म भएको जनविद्रोहले पञ्चायत ढाल्यो । त्यो नेपाली राजनीतिक इतिहासमा ठूलो क्रान्ति र राजनीतिक परिवर्तन थियो र हो । अब त्यसले पनि सामाजिक र राजनीतिक आवश्यकता त पूरा भएन । फेरि २०५२ फागुन १ देखि १० वर्ष जनयुद्ध गरियो, भयो । तत्कालीन राजा ज्ञानेन्द्रले फेरि सत्ता लिए र त्यसको विरोधमा भएको २०६२÷६३ को आन्दोलनले गणतन्त्र ल्यायो । त्यो नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि बन्यो । २०७२ असोज ३ गते नयाँ गणतान्त्रिक संविधान बन्यो र लागू भइआएको छ । अब के त्यतिले नेपाली समाज र जनताका आवश्यकता पूरा भयो ? अब कहिल्यै कुनै आन्दोलन र क्रान्ति गर्नुपर्दैन त ? मूल सवाल यो हो । मानिस भनेको अग्रगमन चाहने परिवर्तनशील र चेतनशील प्राणी हो । सोही परिर्वतनको चाहना र संघर्षको कारण नै विज्ञानले आजको दुनियाँको विकास गरेको हो । यो क्रम यसै यतिमै रोकिएको छैन र रोकिँदैन । संवैधानिक र कानुनी प्रबन्ध गरेर पनि एकपटक गरेको व्यवस्थाले सधैंको सामाजिक र मानवीय आवश्यकता पूरा गर्न सक्दैन । अमेरिकी विधिशास्त्री कार्ल लिवलिनले ‘सोसाइटी चेन्जेज फास्टर देन ल’ (कानुनभन्दा समाज छिटो परिर्वनशील छ) भनेका छन् । सो भनाइबाट पनि विश्लेषण गर्ने हो भने नेपालमा भएको गणतन्त्र र गणतान्त्रिक–संविधान अन्तिम होइन । अर्थात संविधानमा पनि सुधार र परिवर्तन समय र आवश्यकता अनुसार हुँदै जान्छ, जानुपर्दछ । खासमा त्यो पनि आफैमा एक प्रकारको क्रान्ति नै हो । यसैले कुनै पनि विषय परिवर्तन गर्न नसकिने भन्ने हुन्न । विज्ञानले पनि परिवर्तन गर्नै नहुने र नसकिने अब अत्यन्त थोरै कुरा मात्र रहेको प्रमाणित गरिसकेको अवस्था छ । एउटाको शरीरमा भएको मिर्गाैला झिकेर हालेका प्रधानमन्त्री ओली मजाले दैनिक भाषण गरेर हिँडिरहेकै छन् । यस्ता अनेकौं चमत्कार विश्वमा छन् ।
सारमा
नेपालमा फेरि तेस्रो चरणको आन्दोलन र क्रान्तिको कुरामा राजनीतिशास्त्रीय दर्शन, समाज विज्ञान र विश्व इतिहासको दृष्टिकोणबाट हेर्दा सम्भावना छैन भन्न सकिन्न । अर्काे कुरा आन्दोलन–क्रान्ति भन्ने कुरा पहिले जसरी जुन तरिकाले, जुन मुद्दा र परिवर्तनका लागि गरिए त्यसैगरी गर्नुपर्दछ भन्ने पनि हुन्न । समाज रहेसम्म परिवर्तन आवश्यक हुन्छ र छ । नेपाली राजनीतिमा पनि जसरी प्रतिक्रान्तिका स्वरहरू उठ्न थालेका छन् त्यसलाई चिर्दै थप अग्रगमनतर्फ समाजलाई लान र समृद्ध नेपाल बनाउने यात्रामा नागरिक र जनतालाई गोलबन्द गर्न विभिन्न विधि र तरिकाबाट जनपरिचालन गर्दै जनआन्दोलन गर्न सकिन्छ, गर्नुपर्दछ । लिबियाली क्रान्तिका योद्धा अगोरीले भनेजस्तै क्रान्ति र संघर्षको आवश्यकता हिजो थियो, आज छ र भोलि पनि रहनेछ । मुद्दा, शैली, स्वरूप, विधि, संगठन र सहभागिताजस्ता पक्ष फरक हुन सक्छन् । समाज र जनता रहेसम्म सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक आन्दोलन तथा संघर्ष हुन्छ, हुनुपर्छ । क्रान्ति र आन्दोलनलाई बृहत् सामाजिक आवश्यकता र विश्व दृष्टिकोणबाट बुझ्न र विश्लेषण गर्नुपर्दछ । त्यो विश्व दर्शन र मूल्यबाट विवेचना गर्दा समाज रहेसम्म क्रान्ति र जनआन्दोलनको औचित्य सकिएको हुन्न ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply