हाम्रो मार्क्सवाद र हामी हरिलट्ठकहरू
(आर. आर. चौलागाईं प्रगतिवादी आन्दोलनका एक जना प्रखर कवि हुन् । यिनले २०३६ सालमै ‘सामन्तीलाई चिट्ठी’ जस्तो धारिलो कविता लेखेर तहल्का मच्चाएका थिए । कविता लेखेवापत यिनी पटक–पटक जेल परे । कविता लेखेवापतै जागीरबाट निष्कासित भए । यिनले कविता लेखेरै प्रेम गरे र विवाह पनि यिनले कविता सुनाएरै गरे । झट्ट हेर्दा यिनी सोझा र नपत्याउँदा देखिन्छन् तर शब्दसँग लडीबुडी गर्दा यिनी कविताबाट आगो ओकल्छन् र र जनताका वैरीलाई भस्मीभूत पार्छन् अनि देशका शत्रुलाई आच्छुआच्छु पार्छन् । अरू त अरू यिनी आफ्नो पङ्क्तिभित्रका हरिया घाँसमा लुकेका साँपहरूलाई पनि बाँकी राख्दैनन्, तिनीहरूको लादी निकाल्छन्, कलमले नै किचिमिची पार्छन् र ती छद्मभेषी साँपहरूको नकावसमेत उतार्छन् । त्यसैले यिनी आफ्नैहरूबाट पनि खेदिएका छन् । यिनी पहिला राजनीति गर्थे र साथै लेख्थे पनि । तर अहिले यिनी स्वतन्त्र लेखनमा रमाइरहेका छन् । यिनले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनैतिक गतिविधिलाई शुरु गरे, मजदुर आन्दोलनबाट आफूलाई परिष्कृत पारे र कर्मचारी आन्दोलनबाट आफूलाई परिपक्व बनाए । समग्रमा भन्दा यिनी सङ्घर्षको आँधीबेहरीबाट उदाएका कवि हुन् । यिनले नेपालको कम्युनिष्ट आरोहावरोहलाई राम्रोसँग बुझेका छन्, राम्रोसँग पढेका छन् र राम्रोसँग पर्गेल्ने काम पनि गरेका छन् । त्यसैको परिणति हो यो कविता ।)
हाम्रो मार्क्सवाद अहिले
बिहान मन्दिर धाउँछ
दिउँसो भ्रष्टाचारमा डुब्छ
र बेलुका भट्टीमा रमाउँछ ।
हाम्रो मार्क्सवाद अहिले
कहिले कोठीतिर पस्छ
कहिले बाउन्न पत्ती फिट्छ
र कहिले जग्गाको दलाली गर्छ ।
हाम्रो मार्क्सवाद अहिले
टिकटको बार्गेनिङ गर्छ
साथीलाई खुइल्याउँछ
र आफ्नै घरमा आगो लगाउँछ ।
हाम्रो मार्क्सवाद अहिले
भेलाको आयोजना गर्छ
चुनावको नाटक देखाउँछ
र खल्तीबाट नाम पढेर सुनाउँछ ।
हाम्रो मार्क्सवाद अहिले
किताब बेचेर कोट किन्छ
साहित्यलाई गाली गर्छ
र फूललाई कुल्चिन्छ ।
हाम्रो मार्क्सवाद अहिले
दूधमा पानी मिसाउँछ
चामलको सट्टा भूस हाल्छ
र खीर पकाएर हामीलाई खुवाउँछ ।
हामी हरिलट्ठकहरू पनि अहिले
“आहा कति मीठो खीर !
आहा कति मीठो खीर !!” भनेर
कपाकप खाइरहेका छौँ ।
हेटौँडा–४, मकवानपुर
वहाँकाे पृष्ठभूमिलाई अलिकति जाेडाैं हाेला, वहाँ मकवानपुरे कवितालाई अर्काे आकाश दिने कवि हुन् । उनले साहित्यिक संस्था हुर्काए र नयाँ पिँढीलाई बाेल्ने मञ्च बनाइ दिए । वहाँले जीवनभरि बाेकेकाे मार्क्सवादमाथिकाे वैचारिकता यही कविताले पनि यथेष्ठ बाेलेकाे छ ।