‘च्याम्पियन’ बन्ने दौडमा योगेश
राजेश राई
नेकपा (एमाले) का नेताहरु भन्ने गर्थे, ‘आन्दोलन नउठे योगेशलाई कमाण्डर बनाएर जिम्मा दिनु । फर्केर हेर्दा सजिलोमा होइन अप्ठ्यारो आरोहहरुमा योगेशलाई आन्दोलनको जिम्मा आइलाग्ने गरेको देखिन्छ । र, जिम्मेवारीहरुलाई सफलतापूर्वक निर्वाह गरेकै कारण सडक आन्दोलनको ‘कमाण्डर’ को रुपमा बिम्ब बनेको छ, एमाले सचिव योगेश भट्टराईको ।
२०४६ सालमा अखिलको केन्द्रीय सदस्य । आन्दोलनमा कृर्तिपुरबाट अखिलको कमाण्डर । अखिलको अध्यक्ष भएपछि राष्ट्रियताको आन्दोलनका कमाण्डर । उनकै नेतृत्वमा राष्ट्रियताको आन्दोलन सीमा वरिपरिबाट काठमाडौंको केन्द्र भागसम्म आइपुग्यो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व । पूर्व पाँचथरको च्याङथापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमा सुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो ।
नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । योगेशले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उतिधेरै आन्दोलन उठिरहेको थिएन । त्यही बेला उनलाई काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनका लागि कमाण्डरको जिम्मेवारी दिइयो ।
२०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । पञ्चायी व्यवस्थाविरुद्धको आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका कमाण्डर योगेश ५० को दशकदेखि शुरु भएको राष्ट्रियता र स्वाधिनताको आन्दोलनका कमाण्डर हुन् ।
गएको ५ वर्ष मुलतः संबिधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण वर्ष थियो । संबिधान कार्यान्वयन भएको छ । साँचो अर्थमा समृद्धिको बर्ष अब शुरु भएको छ । निर्वाचन हुँदै गर्दाको मुख्य प्रश्न हो, ‘व्यवस्था परिवर्तनका आन्दोलनहरुको अगुवाई गरेका नेताहरुले अवस्था परिवर्तनको नेतृत्व गर्न सक्लान् ?’ योगेशमाथिको प्रश्न पनि यही हो ।
२०६२/६३ को जनक्रान्तिमा
ताप्लेजुङको विकासमा योगेश
योगेश गत निर्वाचनमा आफ्नो गृह जिल्ला ताप्लेजुङ फर्किए । ताप्लेजुङवासीको विश्वास पाए । २१ मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । संविधान जारी भएपछिको पहिलो निर्वाचन थियो । संविधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण यो संसदहरुको पहिलो जिम्मेवारी थियो । कानुनहरुको निर्माणमा उनले हस्तक्षेपकारी उपस्थिति देखाए । एमालेको नेतृत्वमा संविधानको सफल कार्यान्वयन भयो । प्रदेश र स्थानीय सरकारहरू गतिशील बने ।
सांसदहरुको मुख्य जिम्मेवारी नीति निर्माण र कानुनहरुको निर्माण हो । तर जनताको अपेक्षा विकाससँग जोडिएका हुन्छन् । योगेशसँगै प्रदेशसभामा बलबहादुर साम्सोहाङ र टंक आङबुहाङ निर्वाचित भएका थिए । उनीहरुले जिल्लाको योजनाबद्ध र रणनीतिक विकासको अभियान शुरु गरे । योजनाबद्ध रुपमा जिल्लाको विकासको लहर नै शुरु भएको जिल्लावासीहरु बताउँछन् ।
शुरुमा जिल्लाको पूर्वाधार विकासमा जोड दिए । योगेश भन्छन्, ‘जिल्लाको विकास भनेको मुलतः पूर्वाधारको विकास नै हो । हाम्रो प्राथमिकता सोही अनुरुप रह्यो । ओलाङ्चुङगोला हुँदै तिब्बतसँग जोड्ने तमोर करिडोर, सदरमुकामदेखि उत्तरी क्षेत्र जोड्ने सुकेटार–गढी–थिवा सडक, ताप्लेजुङको पूर्वी क्षेत्रलाई समेट्ने काबेली करिडोर, मदन भण्डारी मार्ग, इवा–निगुरादिन–हाङ्पाङ–ढुंगेसाँघु सडक, सुकेटार–काफ्लेपाटी सडक, बाहनन्दे–दोभान सडकलाई प्राथमिकतामा राखे । त्यसो त आम माननीयहरुलाई भन्दा जिल्लाको विकासको लागि योगेशलाई सजिलो छ । किनभने उनले बनाएको उचाईले विकासे कार्यालयहरुले उनको आवज बढी सुन्छ । त्यसको फाइदा ताप्लेजुङले उठायो ।
योगेश अप्ठ्यारो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए । यसको फाइदा ताप्लेजुङले उठायो । जिल्लाका पर्यटकीय क्षेत्र तिम्बुङपोखरीद, फुङफुङदेन झरना, मिल्के जलजले, पाथीभरालाई देशको सय गन्तव्य सूचीमा सूचीकृत गरी पूर्वाधार निर्माणका लागि करोडाैं रकम विनियोजन गराए ।
ओलाङचुङगोलामा रहेको नेपालको पुरानो डिकीछोलिङ गुम्बालगायत जिल्लाका २९ वटा गुम्बालाई रकम विनियोजन गराए । ताप्लेजुङ सुकेटार विमानस्थलको विस्तार, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खेल मैदान, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा पाथीभरा क्षेत्रमा बृहत् खानेपानी आयोजनामा उल्लेख्य बजेट विनियोजन गराए ।
ताप्लेजुङ जिल्लामा बृहत्तर स्वास्थ्य शिविर सञ्चालन गरी ६० बढी मुटुरोगी बिरामीलाई काठमाडांैमा लगेर ५ करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया गराए । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग समन्वय गरी ताप्लेजुङका ६ दर्जन बढी विद्यालय भवन निर्माण गराए ।
भौतिक पूर्वाधारको हिसाबले पाथीभारा/मुकुलुङले मुहार नै बदल्यो । ८ करोड २२ लाखको खानेपानी योजनाबाट पाथीभरा/मुकुलुङको खानेपानी समस्या समाधान भयो । ऐतिहासक महत्व बोकेका धार्मिक स्थलहरू, लिम्बू संग्राहलय, मांगेनायाकहरू, माङ्हिमलगायतको संरक्षण तथा विकासमा बजेटको व्यवस्था गरे । ऐतिहासिक तथा पुरातात्विक दिकीछ्योलिङ गुम्बादेखि अन्य गुम्बाहरूका साथै सबै जाति तथा समुदायका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणको लागि बजेट लगे ।
ताप्लेजुङमा योगेश
०४६ सालयता ताप्लेजुङले धेरै वर्षहरु बितायो । तर गएको ५ वर्षमा विकास एउटा लहर नै शुरु भयो । यतिभन्दा धेरैलाई लाग्नसक्छ, ‘खै उस्तै छ त ?’ ‘भित्तामा रङ्ग लगाए जस्तो योजनाबद्ध विकासको असर तुरुन्तै देखिंदैन,’ ताप्लेजुङका अगुवा रमेश बराल भन्छन्, ‘ताप्लेजुङ बदलिने गरी कामहरु शुरु भएको छ । अब यसको निरन्तरता जरुरी छ ।’
योगेश पछिल्लो पुस्ताका प्रतिस्पर्धी नाम हो । धेरैले उनलाई भबिष्यमा पार्टी र देशको नेतृत्व गर्ने युवाको रुपमा हेरेका छन् । लेखक तथा नेता झलक सुवेदी भविष्यमा नेपालको प्रधानमन्त्री बन्ने सम्भावना भएका युवापुस्ताका नेताहरू छनोट गर्नु पर्यो भने औंलामा गन्न सकिने र तिनीहरूमध्ये एउटा नाम योगेश भट्टराई भएको बताउँछन् । सुवेदी भन्छन्, ‘एमालेभित्र भविष्यमा पार्टी अध्यक्ष र नेताका रूपमा हेरिने थोरै नाममध्ये अग्रभागमा पर्ने नाम पनि हो योगेश भट्टराई । यसरी हेर्दा अहिलेसम्मका आफ्ना कर्महरू र भूमिकाका कारण स्थापित भएका थोरै सम्भावनायुक्त नेताहरूमा पर्छन् योगेश ।’
तर यसको लागि हाम्रो संसदीय राजनीतिमा आफ्नो निर्वाचन क्षेत्रमा बलियो हुनुपर्छ । राम्रो गर्नुपर्छ । जितेर जानुपर्छ । उनी परिवर्तनका आन्दोलनहरुमा ‘च्याम्पियन’ भए । परिचय बनाए । तर अब विगतले मात्रै काम गर्दैन । । केवल इतिहासले मात्रै अब नेता बन्दैन । बाँच्दैन । यसमा सचेत छन्, योगेश । ताप्लेजुङमा उदाहरणीय विकास र समृद्धिको अभियान शुरु गरेर देशभरी आशाको सञ्चार गराउने सपना छ उनको । उनी भन्छन्, ‘भोलिका सम्भावित सम्भावनाहरुको लागि पनि मैले ताप्लेजुङलाई उदाहरणीय बनाउनु पर्नेछ । योगेशले ताप्लेजुङ बदल्यो । अब देश बदल्छ भन्ने सन्देश दिनका लागि पनि मैले अबका ५ वर्ष असाध्यै समपर्णको साथ काम गर्नुछ ।’
‘कुनै दिन पार्टी र देशको नेतृत्व गर्न सक्छु’ भन्ने योगेशको हुटहुटीले पनि ताप्लेजुङको समृद्धिमा ठूलो सहयोग हुने ताप्लेजुङका नेता सन्तोष मादेनको भनाई छ । भन्छन्, ‘भोलि देश र पार्टीको नेतृत्वको लागि उहाँले ताप्लेजुङबाटै आधारभूमि तयार पार्नुपर्छ । त्यस कारण पनि उहाँ जिल्लाको विकासमा असाधारण रुपमा सक्रिय हुने निश्चित छ । यसबाट पनि हामी जिल्लावासीले फाइदा लिन सक्छौं ।’
सदनमा योगेश
निकै लामो आन्दोलन र पार्टी जीवनपछि २०७९ मा मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट योगेश संसदीय मोर्चाको जिम्मेवारीमा पुगे । जनताको पक्षमा राम्रा कानुन बनाउन र खराब कानुनहरु रोक्ने कामको अगुवाई गरे । जनतासँग जोडिएका सरोकारका बिषयहरुलाई उनले संसदमा दृढतापूर्वक राखे ।
ताप्लेजुङ र ताप्लेजुङका जनतासँग जोडिएका समस्या र सवालहरुको बिषयमा उनले संसदमा सुनिने गरी आवाज उठाए । संसदीय समितिमा शुसासन र समृद्धिसँग जोडिएका अनेकन बिषयहरुमा उनले दृढतापूर्वक बिषय उठाए । कार्यान्वयन गराए । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेर जनताको शिक्षा र स्वास्थ्यसँग जोडिएका दर्जनौं बिषयमा कुरा मात्रै उठाएनन् त्यसको नेतृत्व गरेर कार्यान्वयन समेत गराए ।
संसदीय सुनुवाई समितिको सदस्यको रुपमा पनि उनले उसैगरी प्रभावकारी भूमिका निभाए । संवैधानिक अंगका पदाधिकारी, न्यायिक क्षेत्र र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुन्छ । तर, संसदीय सुनुवाई कर्मकाण्डी मात्रै हुने गरेको भन्दै यो समितिको औचित्यमाथि प्रश्न उठाइँदै आएको थियो ।
आचरण, इमान्दारिता, कार्यक्षमता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठेको दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो । संसदीय सुनुवाईको इतिहासमा समितिबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति बनेका हुन् । यो सुनुवाईको सबै नेतृत्व योगेशले नै गरेका थिए । सडक आन्दोलनमा च्याम्पियन योगेशले पछिल्लो ५ वर्षमा बनाएको नयाँ परिचय र बिम्ब हो, ‘संसदीय मोर्चामा पनि च्याम्पियन ।’
सरकारमा योगेश
योगेशले १५ साउन २०७६ देखि ५ पुस २०७७ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हाले । योगेश अप्ठ्यारो र असजिलो अवस्थामा मन्त्री बनेका थिए । आफ्नै प्रिय साथी तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि लामो समय खाली भएका मन्त्रालय उनी सम्हाल्न पुगेका थिए ।
योगेशले मन्त्री भए लगत्तै ‘भिजिट नेपाल–२०२०’ को अभियानलाई तीव्रता दिए । शानदार आरम्भ गराए । नेपालको अर्थतन्त्रमा नै बदलाब ल्याउने गरी उनी पर्यटनको बिकासको श्रृखलाबद्ध योजना बनाएर अघि बढ्दै थिए । बिडम्बना यही बीचमा विश्वव्यापी कोरोना भाइरस ( कोभिड–१९) को महामारी शुरु भयो । ११ चैत २०७६ देखि मुलुक ‘लकडाउन’ मा गयो ।
संकटको समय पनि केही आशलाग्दा कार्य भने शुरुवात गरे । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न निर्णायक पहलकदमी लिए । आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुचारु गराए ।
प्रश्नहरुमा योगेश
४ मंसिर २०७९ मा निर्वाचन हुँदैछ । योगेश पनि यसबेला आफ्नो एजेण्डा लिएर घरदैलोमा छन् । चुनावको बेला उम्मेदवारहरुको समर्थन र बिरोध दुबै हुने नै भयो । उनका विरोधीहरुले समेत जिल्ला विकासको लागि योगेशले केही गरेनन् भन्न सकेका छैनन् ।
तर केही धार्मिक, सांस्कृति र ऐतिहासिक स्थलको नामको सन्र्दभमा योगेशको बिरोध गरेका छन् । पहिलो, ‘पाथीभरा कि मुकुलुङ ? यो चाँहि केवल बिरोधका लागि विरोध मात्रै भएको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, पाथीभरा वा मुकुलुङ जुन नाम भए पनि अहिलेका पुस्ता कसैले राखेका होइनन् । यो इतिहासको कुरा हो । नामको सन्दर्भमा स्थानीयले भन्ने हो । हामीले हेर्ने भनेको यसको विकासमा जनप्रतिनिधिको हिसाबले योगेश भट्टराईले गर्नु भयो वा भएन त्यो हेर्ने हो ।
यो बिषयमा योगेशले पनि प्रष्ट पारिसकेका छन् । विज्ञप्तिमार्फत भनेका छन्, ‘कुनै पनि साँस्कृतिक स्थलहरु आफ्नै ऐतिहासिकता र विशिष्टतााबाट परिचित हुन्छन् । ताप्लेजुङमा अवस्थित पाथीभरालाई कसैले पाथीभराका रुपमा त कसैले मुकुलुङका रुपमा सम्मान गर्दछन् । लामो खोज, अनुसन्धान तथा तथ्यहरुको विश्लेषणबाट त्यसको टुङ्गो लगाउन उपयुक्त हुनेछ । पाथीभरा वा मुकुम्लुङ जुन रुपमा भए पनि त्यसको ऐतिहासिकता, साँस्कृतिक महत्व र गरिमामा आँच आउन नदिनु समस्त ताप्लेजुङबासीहरुको साझा कर्तब्य हो । साँस्कृतिक पर्यटनमार्फत ताप्लेजुङको समृद्धिमा हाम्रा धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण तथा सम्बद्र्धन गरिनु पर्दछ भन्नेमा म दृढ छु ।
योगेशमाथि बिरोधीहरुले लगाएको दोस्रो आरोप हो, तिम्बुङ पोखरीलाई बिष्णु पोखरी भनियो । स्थानीय जनप्रतिनिधिहरुका अनुसार योगेशमाथि लगाइएको निराधार अरोप हो । त्यसमा योगेशको एउटै भुमिका छ, उनले त्यसको संरक्षण र विकासको लाजि बजेटको व्यवस्था ।
यसमा योेगेशले भनेका छन्, ‘तिम्बुङ पोखरीको इतिहास कसैले पनि नष्ट गर्न सक्दैन । पर्यटन विकासका लागि सय गन्तब्यमा तिम्बुङ पोखरीलाई स्थापित गर्दै, पैदलमार्ग र होमस्टे निर्माणमा मैले बजेटको व्यवस्था गरेको छु । ती काम सम्पन्न भएका छन् । आज तिम्बुङ पोखरीको यात्रा विगत भन्दा सहज भएको छ । तिम्बुङ पोखरी तिम्बूङ पोखरी नै हो त्यसको नाम बदलिएको छैन र कसैले चाहेर पनि बदल्न सक्ने छैन ।
सामाजिक सञ्जालमा लगाइएको अर्को आरोप हो, ‘सुकेटार विमानस्थलको नाम परिर्वतन । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिए लगत्तै २०७८ जेठ १५ गते नै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहमति जनाएका थिए ।
लेखेका थिए, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र बिर्मश गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, बिभाजन र अनावश्यक तनाब मात्र झेल्नु पर्दछ ।’ योगेशले भनेका छन्, ‘सुकेटार विमानस्थल, सुकेटार विमानस्थलकै रुपमा सदा रहनेछ ।’
बन्लान् त ‘च्याम्पियन’ ?
२०४७ यताका परिवर्तनका आन्दोलनहरुमा उनको भूमिका आधारमा भन्न सकिन्छ, ‘क्रान्तिका ‘कमाण्डर’ योगेश ।’ गएको ५ वर्षमा ताप्लेजुङको जनप्रतिनिधिको रुपमा उनको उपस्थीतिबाट ताप्लेजुङका जनता तुलनात्मक रुपमा उत्साही नै देखिन्छन् । क्रान्तिका ‘कमाण्डर’ योगेश समृद्धि अभियानमा ‘च्याम्पियन’ बन्ने हुटहुटी सहित चुनावी मैदानमा छन् । क्रान्तिका सफल कमाण्डरलाई ताप्लेजुङका जनताले समृद्धिको नेतृत्व गर्ने अवसर दिए ४ मंसिर २०७९ पछि उनकाे खास परिक्षा अब सुरु हुनेछ ।
त्यसो त योगेशलाई नेकपा (एमाले)का मात्रै उम्मेदवार नभएर ताप्लेजुङको विकास र समृद्धिको पक्षधर सबै दलका साझा उम्मेदवारको रुपमा जनताहरुले लिएको दाबी गर्छन्, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ । भन्छन्, ‘जिल्लाको विकासको लागि उहाँलाई सबैले साझा उम्मेदवारको रुपमा लिएको पाएको छु । उहाँको उचाईको अरु नेता नै छैन । जिल्लाको साझा अभिभावकको रुपमा मतदाताले लिन्छन् जस्तो लाग्छ ।
साभार नयापेज
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply