२० फाल्गुन २०८०, आईतवार ०५:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
`मुक्ति निकट छ नेपाल आमाको´
गणेशकुमार अधिकारी
(छन्द : इन्द्रवज्रा, गण -त त ज गु गु)
कानूनमा मात्र छ लोकतन्त्र,
कार्यादिमा देख्दछु भाँडतन्त्र,
सत्ता बन्यो पीडक छैन न्याय,
देखिन्न बाँच्ने सजिलो उपाय । १
उद्योगधन्दा सब अस्तव्यस्त,
दुर्भाग्य मात्रै छ यहाँ प्रशस्त,
हिंसा र आतङ्क अतीव बढ्दो,
नैराश्यताको छ उमेर चढ्दो । २
ढाक्दो छ मेघ प्रकाशलाई,
उत्साह खोजिन्छ दियो जलाई,
उद्धार होला जब बढ्छ जोस,
जाग्छन् युवावर्ग बनी विशेष । ३
होलान् निमिट्यान्न विकार जो छन्,
प्रछन्न कर्तूत समाप्त हुन्छन्,
विद्रोह घन्किन्छ तुफान तुल्य,
त्यो मुक्तिको अग्नि हुने अमूल्य । ४
पीडा व्यथा नष्ट हुने लडाइँ,
गर्छन् मिली पीडकको विदाइ,
बन्छन् निहत्ता जनता बलिष्ठ,
विद्रोह बन्ला अति नै विशिष्ट । ५
नेपाल आमा तिमी मुक्त हुन्छ्यौ,
छौं पुत्रपौत्रादि स्वतन्त्र बन्छ्यौ,
चम्चाहरूको अवसान होला,
साङ्ला र सिक्री चुडिने छ बेला । ६
Leave a Reply