यो केपी ओलीको सरकार हो, नेकपाको होइन
कुमार पौडेल केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी तपाईंको दल नेकपामा सतहमा छरपस्ट विवादहरू देखिरहँदा केन्द्रीय सदस्यका रूपमा रहनुभएको तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
कम्युनिस्ट पार्टी एकता, संघर्ष र रूपान्तरण अनि ‘नयाँ आधारबाट नयाँ एकता’बाट अगाडि बढ्छ । एउटा जीवित पार्टीमा अन्तरविरोध हुनु स्वाभाविक हो । सकेसम्म सहमतिबाट अगाडि बढाउन पार्टीका निर्णयहरू गरिन्छ । नभए अल्पमत–बहुमतका आधारमा गरिन्छ । तर, वर्तमान सरकारको नेतृत्व जसले गरिराख्नुभएको छ, उहाँले पार्टीको कुनै पनि तहको न सहमति मान्नुहुन्छ, न कुनै पनि तहको निर्णयलाई स्विकार्नुहुन्छ । त्यसले गर्दा कम्युनिस्ट पार्टी यो प्रक्रियाबाट विघटनको दिशातर्फ पो जान सक्छ कि भन्ने अनुभूति मलाई भइरहेको छ ।
आधार के छ ?
पूर्वसोभियत संघको विघटन पनि यस्तै दम्भले भएको थियो । मिखायल गर्भाचोभ महासचिव थिए । उनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टी विगठन भयो । त्यसपछि त्यही अर्कमण्यताले सोभियत संघ पनि विघटन भयो । ठीक त्यस्तै, अहिलेको प्रधानमन्त्रीको रबैयाले पार्टीलाई त्यो दिशामा लाँदैछ । सकेसम्म पार्टी एकता रक्षा गर्नका लागि, पार्टी भित्र देखापरेका समस्या हल गर्नका लागि, विधि र प्रक्रियामा पार्टी लैजानका लागि दुई अध्यक्षको सहमतिबाट भएन । अब सामूहिक ढंगले लैजाने प्रक्रियामा गयो भने पार्टी एकता रक्षा हुन सक्छ । अन्यथा, एउटा सानो चोइटो फुटेर जान सक्ने सम्भावना छ । मैले त्यही खालको अनुभूति गरिरहेको छु ।
तर, प्रधानमन्त्रीज्यू त आफूले निरन्तर देश, जनता र पार्टीको पक्षमा काम गरिरहँदा पार्टीभित्रैबाट असहयोग भयो, राम्रो ढंगले काम गर्न दिइएन, गुटबन्दी र भेलाहरू दिनहँु गरेर अप्ठेरो पारे भन्नुहुन्छ नि ?
बिल्कुल गलत हो । प्रधानमन्त्रीजीले नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता गराउन लगाउनुभएको छ । मदन भण्डारी फाउन्डेसन चलाइराख्नुभएको छ । आफ्ना गुटहरूको भेला गरिराख्नुभएकै छ । यी जुन गतिविधि अरूले गरेका छैनन् तर उहाँले गरिराख्नु भएको छ । यसले के प्रस्ट हुन्छ भने संस्थागत रूपमै उहाँले उहाँको तर्फबाट पार्टीलाई विभाजनको दिशातर्फ लैजानका लागि प्रयत्न गरिराख्नुभएको छ । र, मूलतः पार्टीका कुनै पनि निर्णय कार्यान्वयनमा उहाँ तयार हुनुहुन्न भने, सामूहिकतामा चल्न तयार हुनुहुन्न भने, कमिटीको बैठक राख्न तयार हुनुहुन्न भने आखिर पार्टीलाई विभाजनतिर कसले लैजाँदैछ भन्ने कुरा हो । पार्टीको निर्णयअनुसार सरकार चलेदेखि स्वाभाविक हो उहाँलाई सबै हिसाबमा सहयोग हुने कुरा हुन्छ । अहिलेको सरकारले गरेको काम कारबाहीबारे पार्टीपंक्ति माथिदेखि तलसम्म कसैले पनि स्वीकार गर्न सकेको छैन । किनकि, पार्टीको नेतृत्वले जब पार्टी कमिटीको निर्णय मान्दैन भने सरकारले गरेको कामको स्विकारोक्ति गर्नुपर्छ भन्ने कुनै जरुरी हुन्छ भन्ने लाग्दैन । त्यसैले अहिलेको सरकार केपी ओलीको सरकार हो । नेकपाको सरकार होइन भन्ने मलाई लाग्छ ।
पटकपटक तपाईंहरूको पार्टीभित्र संकट देखिने, थामथुम पार्ने, केही व्यक्ति नेता मिलाउन लाग्ने गरेको देखिएको धेरै भयो । किन पटकपटक उही समस्या परिरहन्छ ?
पार्टीभित्रको अतरविरोधमा खेल्न सकिन्छ, गुटगत गतिविधि गरेपछि आफूलाई सुदृढ पार्न सकिन्छ भन्ने लामो अभ्यास उहाँहरूले गर्दै आउनुभयो । सबैभन्दा पहिले त पार्टी एकताको प्रक्रिया नै कुन ढंगले गर्नुभयो भन्ने मूल प्रश्न हो । उहाँले नेकपा एमालेको सिंगो पार्टी पंक्तिको बैठक नराखीकन पार्टी एकता गर्नुभएको रहेछ भन्ने कुरा अहिले प्रस्ट भइहालेको छ ।
यसकाण अब पूर्वएमालेभित्र रहेको एउटा पक्ष जो हो, माधव कमरेडले नेतृत्व गरेको पक्षलाई ‘मिनीमाइज’ गरेपछि अर्को पक्षलाई पनि सिध्याउन सकिन्छ भन्ने उद्देश्यका साथमा पार्टी एकता भएको रहेछ । दुई तिहाइको सरकार बनाउने, पार्टीभित्रको अल्पमतलाई पेलेर जाने र एकलौटी निर्णय प्रक्रियाबाट अघि बढ्ने भन्ने उहाँले सोच्नुभएको रहेछ । तर पार्टी त्यसरी चल्दैन । कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक पद्धतिका आधारबाट चल्ने गर्छ । छलफलमा स्वतन्त्रता अनि कामकारबाहीमा एकरूपता नै कम्युनिस्ट पार्टीको मूल संगठनात्मक सिद्धान्त हो । त्यसकारण, उहाँले जनवादी केन्द्रीयताको सिद्धान्तलाई नमानीकन जब एकल ढंगले पार्टी चलाउन खोज्नुहुन्छ र पार्टीभित्रको विभिन्न व्यक्ति–व्यक्तित्वलाई फुटाउने र कमजोर पार्ने, पद विभाजन गर्ने, हतोत्साही गर्नेजस्ता कामहरू गरिराख्नुभएको छ । त्यस्ता गतिविधिले उहाँ पार्टीलाई फुटको दिशामा लान उद्यत हुनुहुन्छ भन्ने देखिन्छ । पाटीभित्र खेल्न सकुन्जेल खेल्ने र नभए अन्टसन्ट कुरा बोलेर कार्यकर्तामा भ्रम पार्ने, आफ्नो गुटलाई सुदृढ गर्ने ढंगले लागिराख्नुभएको छ । त्यसैले अरू पार्टी एकताको पक्षमा छन् तर उहाँ फुट र विभाजनकै पक्षमा हुनुहुन्छ भन्ने देखिन्छ ।
तपाईं केन्द्रीय सदस्यहरूका तर्फबाट नेताहरूबीच देखिएको रडाको हेरिरहने मात्र दायित्व हो कि हस्तक्षेपकारी ढंगले यो विवाद मिलाउन प्रयास गर्ने ?
हामीले पहिले पनि केन्द्रीय कमिटी बैठक बस्नुपर्छ भनेर हस्ताक्षर अभियान चलायौं । स्थायी कमिटीको बैठक उहाँले नमानिसकेपछि सचिवालयको पनि निर्णय नमानिसकेपछि केन्द्रीय कमिटी राखेर टुंग्याऔं भनेर हामीले त्यो हस्ताक्षर अभियान अगाडि बढाएका थियौं । त्यसको परिणाम सचिवालय र स्थायी कमिटीको बैठक बस्न सम्भव भयो । अझै पनि हाम्रो प्रयत्न पार्टीका बैठक राख्नुपर्छ भन्नेमै छ । तर, उहाँले अहिले प्रस्ट ढंगले पार्टीको निर्णय मान्दिनँ भनिराख्नुभएको छ । कुनै पनि कमिटीको निर्णय मान्दिनँ भन्नुहुन्छ । कहिले पुस्ता हस्तान्तरणको कुरा गर्नुहुन्छ, कहिले माधव कमरेडलाई बोलाउनुहुन्छ । कहिले वामदेव कमरेडलाई बोलाउनुहुन्छ । कहिले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डलाई बोलाउनुहुन्छ । सबैलाई फरकफरक कुरा गर्नुहुन्छ । मान्छे, जुधाउने, बझाउने र उहाँहरूको आत्मसम्मानमा ठेस लाग्ने कुरा गर्नुहुन्छ । त्यस्तै विवादास्पद अभिव्यक्तिहरू दिनुहुन्छ । एउटा कुरा याद रहोस्, कोही पनि बाख्रा चराउँदाचराउँदै पार्टीमा आएका होइनन् । सबैका लामा राजनीतिक बिरासत छन् । सबैका आफ्नै इतिहास र संघर्षका गाथा छन् । त्यसैले आत्मसम्मानलाई ठेस पुयाउनेगरी उहाँले जुन अभिव्यक्तिहरू दिनुहुन्छ, त्यसले पार्टीका कमरेडहरूको चित्त पनि दुखेको छ । तैपनि पार्टी एकता बचाउने उहाँहरूले अन्तिम प्रयत्न गरिराख्नुभएको छ । पार्टीका बहुमतका कमरेडहरू फुट र विभाजनको पक्षमा हुनुहुन्न । अन्तिमसम्म हामी पनि पार्टी एकताकै पक्षमा छौं । त्यो पक्षमा भएकाले हामीले हस्ताक्षर सुरु गरेका थियौं । एकताकै लागि नै हस्ताक्षर सुरु गरिएको हो । विभाजन र फुटका लागि होइन । एमाले दर्ता त उहाँले गर्नुभयो नी । त्यसपछि मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाउनुभयो । भर्खरै एक नम्मर प्रदेशमा मदन भण्डारी फाउन्डेसनको नाममा जुम मिटिङ बस्नुभयो । काठमाडौं जिल्लामा जिल्ला पार्टीको उहाँहरूले भेला गर्नुभयो । त्यसैगरी स्थानीय तहमा यस्ता खालका भेलाहरू थुप्रै गर्नुभएको छ र मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि जारी राख्ने भनेर उहाँहरूले निर्देशन दिइसक्नुभएको छ । त्यसले गर्दा पाटी कसले फुटाउन खोज्दैछ, पार्टीविरोधी गतिविधि कसले गर्न खोज्दैछ भन्ने कुरा यी तथ्यहरूले नै प्रस्ट पार्छ । त्यसैले हामी पार्टीको एकता रक्षा होस् भन्ने चाहन्छौं ।
दुई पार्टी एक भएपछि देशमा स्थिरता र सुशासन हुने आशाले जनताले झन्डै दुई तिहाइ मत दिए, तर उस्तै फुटको शृंखला सुरु हुने हो भने मुलुक बर्बाद हुँदैन ?
पार्टी फुट्ने होइन । नेकपा फुट्दैन । साने समूह चोइटिएर बाहिर जान सक्छ । यसले एकीकृत पार्टीमा खासै असर पर्छ भन्ने लाग्दैन । हामीले नेपाली राजनीति हेर्दै जाँदा कांग्रेस फुट्यो, पूर्वएमाले फुट्यो, माओवादीहरू पनि फुटे । तर पनि संस्थापन जतातिर हुन्छ, पार्टी त्यतैतिर हुँदो रहेछ भनेर त देखिइरहेको छ नि । एकाध मान्छेहरू दायाँबायाँ हुन सक्ने कुरा हो । केही समय भ्रममा रहने कुरा हुन्छ । फेरि चोइटिएर गएकाहरू मूल प्रवाहमा आउनुको विकल्प रहन्न । त्यसैले अन्तिमसम्म पार्टी एकताको पक्षमा अध्यक्ष कमरेड प्रचण्ड, प्रधानमन्त्री केपी ओलीलगायत टिमलाई एकताको पक्षमा पार्टीको विधि र पद्धति स्थापित गर्न बैठकहरू राख्नेलगायतका प्रयत्न अन्तिम समयसम्म गरिनुपर्छ । केही नलागेपछि मर्ता क्या नही कर्ता भनेझैं हुन्छ । अगाडि बढ्ने कुरा स्वाभाविक छ । पार्टी गतिविधीलाई रोक्ने कुरा हुँदैन । तसर्र्थ यसको नियमित गतिविधि अघि बढाउनुपर्छ ।
अहिले अध्यक्ष तथा प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ तर अल्पमतले बहुमतलाई लतारिरहनु भएको छ भन्छन् नि, बहुमतमै भए त बैठक राखेर कडा ढंगले जान सक्नुप¥यो नि ?
बहुमत सधैंभरि विनम्र हुन सक्छ । पार्टीलाई फुटमा लानबाट रक्षा गर्नुपर्छ । त्यसैले जो जिम्मेवार छ, त्यसले पार्टीको विभाजनको पक्षमा आफूलाई उभ्याउनुहुँदैन । पार्टी एकता र रूपान्तरणको पक्षमा सधैं उभ्याउनुपर्ने भएको हुनाले स्वाभाविक रूपमा जो जिम्मेवार छ, उसैले गम्भीरतापूर्वक यी विषयवस्तु र घटनाक्रलाई समाधान गर्नुपर्ने हुन्छ । त्यसैले बहुमत पक्ष नै आत्तिएर अन्टसन्ट डन्डा लगाउन थालियो भने आखिर पार्टी एकताको रक्षा गर्न सक्ने कुरा भएन । त्यसैले अन्तिम समयसम्म प्रयत्न गर्ने कुरा हुन्छ । पार्टीको एकता रक्षा गर्ने, पार्टीलाई रूपान्तरण गर्ने सबैलाई सामूहिकतामा अगाडि बढाएर एकता र रूपान्तरणमा जान सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनमा चुनावी घोषणा पत्रले जुन उद्देश्य अगाडि सारेको थियो, त्यसलाई पुरा गरेर जान सकिन्थ्यो । तर, यहाँ सरकारले चुनावी घोषणापत्रमा टेकेन । अन्तरविरोध त्यहाँबाट पनि पैदा भयो । नेतृव सामूहितामा चलेन, हरेक कुरामा एकलौटी गर्न थाल्यो, त्यहाँबाट पनि समस्या आयो । प्रधानमन्त्रीले मनोपोली ढंगले सरकारलाई लान खोज्नुका साथै पार्टीलाई पनि एकलौटी ढंगले चलाउन खोज्दा अन्तरविरोध हुन गएको हो । तसर्थ फेरि पनि विनम्रतापूर्वक सबैलाई लिएर–समेटेर जाने कुरा, एकतालाई प्राथमिकतामा राखेर लाने कुरामा ध्यान दिनुपर्छ ।
यस्तो अन्तरद्वन्द्व सतहमा आइसकेपछि अब भएको एकता र मिलन उही टालटुले र अस्थायी त होला नि ?
हरेक वस्तुभित्र अन्तरविरोध हुन्छ । त्यसैले, जीवन्त पार्टीमा त यो स्वाभाविक नै हो । अन्तरविरोधलाई ध्वसात्मक ढंगले हल गर्ने कि समाधानमुखी ढंगले हल गर्ने, कसरी हल गर्ने भन्ने कुरा महŒवपूर्ण हो । हामी समाधानमुखी हल चान्छौं । ध्वासात्मक ढंगले जानेहरू विभाजनको पक्षमा छन् । उनीहरूलाई एकता मन पर्दैन । अलग्गै बाक्लो दाल खाने मनसाय राखेका होलान् । त्यसैले पार्टीको जिम्मेवार पक्षले रचनात्मक रूपमा पार्टी एकताको रक्षा गर्दै आन्दोलनको समेत जगेर्ना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । पार्टी एकताका कामहरू अझै बाँकी नै छन् । पछिल्लो कालमा नेकपाप्रति आम जनताको राम्रो फिलिङ हुन सकेको छैन । पार्टी एकता किन पूरा भएन भनेर जनताले पनि प्रश्न गरिरहेका छन् । तसर्थ, फेरि नि विभाजनको पक्षमा कोही उभिनुहुन्न । कोही उभिन्छ भने भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न । नेकपाको यो ऐतिहासिक एकताको मर्मलाई टेक्दै दुईजनाको सहमतिबाट मात्र अब पार्टी विवाद हल हुँदैन । अब सामूहिक बैठकबाट सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको समस्यालाई वैचारिक, राजनीतिक , सांगठानिक र भावनात्मक हिसाबले एकीकृत बनाउँदै अगाडि बढाउन प्रयत्न गरौं । रूपान्तरणको कोणबाट एकतालाई खोजौं । एकताका लागि मात्र एकता गर्न खोजेर समस्या हल हुन सक्दैन । त्यसैले, रूपान्तरणसहित सामूहिक निर्णयमा आधारित एकता खोजौं । सबैले यसमै जोड दिऔं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply