केपी ओलीजीका अभिव्यक्ति सुन्दा दुःख लाग्छ
भीम रावल, स्थायी कमिटी सदस्य, नेकपापछिल्लो समय नेकपामा एक पक्षले अर्काे पक्षलाई उच्छृंखल ढंगले गालीगलौज गर्ने शृंखला चलेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
हामीले त दोषारोपण गरेका छैनौं । तथ्यका आधारमा कुरा राखेका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीजीले संविधान कसरी मिच्नुभयो भनेर संविधानका धारा उल्लेख गरेका छौं । तर, केपी ओलीजी र उहाँका समर्थकहरूले शिष्टाचार र मर्यादाका सम्पूर्ण पर्खालहरू भत्काएर जे पायो त्यही बोल्ने गर्नुभएको छ । उहाँहरूले त्यसरी बोलेपछि कतिपय प्रसंगमा त्यसको खण्डन गर्नुपर्ने अवस्था र बाध्यता हामीलाई पनि भएको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा तथ्य र सत्यका आधारमा आफ्ना तर्कहरू राख्नु उचित हो, राख्न सकिन्छ । तर, तथ्यहीन किसिमले प्रधानमन्त्रीजस्तो पदमा बसेका व्यक्तिले झुटा र भ्रमपूर्ण प्रचार गरेर जे पायो त्यही बोल्नु यो देशका लागि नै राम्रो होइन ।
प्रदेश १ को कार्यक्रममा पूर्वमन्त्री योगेश भट्टराईलाई ‘केटोले लात हानेर हिँड्यो’ भन्नुभयो, तपाईंलाई पनि केही दिनअघि त्यस्तै शब्दहरू प्रयोग गर्नुभयो, यो शैलीको राजनीतिबाट हामी कता जादैछौं ?
प्रधानमन्त्रको आफ्नै पदीय गरिमा र मर्यादा छ । पार्टी अध्यक्ष भएको व्यक्ति, प्रधानमन्त्रीजस्तो व्यक्तिमा जुन जिम्मेवारीबोध हुनुपथ्र्यो, जुन गम्भीरता हुनुपथ्र्यो, त्यो छैन भन्ने कुरा पुष्टि हुन्छ । मेरो सन्दर्भमा उहाँले धनगढीमा बोल्नुभएको कुरा मैले उहाँलाई खुलापत्र लेखेर जवाफ पनि दिइसकेको छु । उहाँलाई प्रश्न पनि गरेको छु । यद्यपि, मेरा प्रश्नको उत्तर उहाँले दिइसक्नुभएको छैन । अब त्यही कुरालाई म यहाँ दोहो¥याउन चाहन्नँ । उहाँले जसरी बोलिरहनुभएको छ, त्यसले उहाँ कति अराजक हुनुहुन्छ, कति अलोकतान्त्रिक, कति निरंकुश, कति दम्भी हुनुहुन्छ भन्ने कुरा एकपछि अर्को गरी खुल्दै गएका छन् । यो हेर्दा हामीलाई पनि कुनै खुसी हुँदैन, दुःख लाग्छ ।
कुन पार्टी आधिकारिक भन्ने सवालमा उहाँहरूले दिनदिनै भाषणमा आफ्नो दाबी प्रस्तुत गरिरहनुभएको छ नि, के त्यो दाबी गरेजस्तै उहाँहरू नै हो त आधिकारिक ?
उहाँले सूर्य चिह्न हाम्रै हुन्छ, हामी नै आधिकारिक हौं भनेर बल गर्नुको अर्थ सूर्य चिह्न पनि उहाँको होइन र उहाँ आधिकारिक पनि होइन भनेर पुष्टि हुन्छ । ४ सय ३४ जना हाल कायम केन्द्रीय कमिटीका सदस्यमध्ये ३ सय १५ जना रहेको संस्थापन पक्ष आधिकारिक नहुने, पार्टी विधानबमोजिम बहुमतको निर्णय नै निर्णय हुन्छ भनेर लेखिएको छ, त्योअनुसार नहुने । अनि उहाँको गणपूरक संख्या नपुगेको बालुवाटारको गुटको बैठक आधिकारिक हुने ? यो हास्यास्पद तर्क हो ।
उहाँ र उहाँका समर्थकहरूले केपीजी पहिलो नम्बरको अध्यक्ष हो भनेर तर्क दिने गरेको मैले सुनेको छु । हाम्रो पार्टीको विधानमा र कहीँ पनि निर्णयमा पार्टीको पहिलो र दोस्रो अध्यक्ष भन्ने नै छैन । त्यो कुप्रचार मात्र हो । बरु, गएको भदौ २६ गते बसेको बैठकबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डजी’ लाई कार्यकारी अध्यक्ष भनेर निर्णय गरेर जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा केपी शर्मा ओलीले दिएको हस्ताक्षर छ । त्यो बैठकदेखि यताका दिनहरूमा बरु नेकपाको आधिकारिक अध्यक्ष, कार्यकारी अध्यक्ष केपी शर्मा ओलीजीले पनि हस्ताक्षर गरेर सम्पूर्ण अधिकार अभ्यास गर्नेगरी अख्तियार प्राप्त व्यक्ति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी हो ।
केपी ओली जता गयो त्यतै ठुलै भिड लाग्ने गरेको छ त ?
मानिसहरू उहाँ गएका ठाउँमा मात्र उपस्थित भएका छन्, अरू ठाउँमा गएका छैनन् भन्ने होइनन् । हामीले १४ गते देशव्यापी आन्दोलन गरेका थियौं । म त्यतिबेला सुदूरपश्चिममा थिएँ । हाम्रा कार्यक्रमहरूमा पनि व्यापक रूपमा मान्छेहरू उपस्थित भएका छन् । कतिपय ठाउँमा आएका मानिसहरूलाई उहाँहरूले धेरै ठूलो रकम खर्च गरेर ल्याएको भन्ने पनि सुन्नमा आएको छ । हाम्रोमा त स्वतःस्फूर्त रूपमा कार्यकर्ताहरू र अन्य जनसमुदायहरू उपस्थित भएका छन् । त्यसकारण उहाँकोमा मात्र उपस्थित भएका छन् भन्ने होइन । नेपाली कांग्रेसले गरेका कार्यक्रममा र अरू राजनीतिक दलले गरेका कार्यक्रमहरूमा पनि मानिसहरूको उपस्थिति छ । यसो हुनुमा केही कारण छन् । एक त सम्बन्धित राजनीतिक दलले परिचालन गरेर ल्याएका होलान् । दोस्रो, एकदमै विवाद चर्किएकाले मानिसहरू नेताहरूले के भन्छन् भनेर सुन्न पनि आएका होलान् । तेस्रो कुरा, यस्ता कार्यक्रममा विपक्षीहरूसमेत विवाद भइराखेका बेलामा यिनीहरूको विवादको चुरो के रहेछ भनेर सुन्न पनि आएका हुन सक्छन् । त्यसकारण, मान्छे जम्मा भएको अहिलेको विभिन्न अवस्था हेरेर त्यो उहाँहरूको पक्षमा मात्र आएका छन्, अरूका पक्षमा मानिसहरू छैनन् भन्ने अर्थ लगाउन मिल्दैन ।
टोपबहादुर रायमाझीले केही दिन अघि अब एमसीसी पारित गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् नि, यसको के अर्थ छ ?
प्रधानमन्त्री ओलीजीले शेरबहादुर देउवाको पालामा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधिसभामा अनुमोदनको लागि पेस गर्नुभएको थियो । त्यसले नेपालको कानुन मिच्ने, भूमि कब्जा गर्ने, नेपालको स्रोत कब्जा गर्ने, नेपालको कानुनभन्दा माथि अमेरीकी कानुन हुने, मिलेनियम च्यालेन्ज एकाउन्ट जो नेपालमा गठन गरेको छ, त्यो पुरै अमेरिकाबाट निर्देशित हुने, नेपालको स्वाभिमान र आफ्नै निर्णय गर्ने अधिकार सारा कुण्ठित गर्ने जुन राष्ट्रहितविरोधी प्रावधान छन्, यदि त्यो प्रावधान जस्ताको तस्तै राखेर त्यसलाई अनुमोदन गर्ने कुरा गरियो भने त्यो राष्ट्रघात हुन्छ । र, तपाईंले जुन मन्त्रीको नाम लिनुभएको छ, उहाँले यदि त्यसलाई त्यही रूपमा पास गर्ने कुरा गरेको हो भने उहाँ राष्ट्रघाती मन्त्री हो । विदेशी ठूला शक्ति राष्ट्रको दलाली गरेर सत्ता लिप्सामा गएको व्यक्ति भन्ने ठहरिन्छ । यदि कुनै व्यक्तिले एमसीसीलाई जबर्जस्ती पास गर्ने कुरा यो सरकारले ग¥यो भने यो सरकारले राष्ट्रघात गरेको ठहरिन्छ । त्यस्तो राष्ट्रघातका विरुद्धमा नेपाली जनताले विद्रोह गर्नुपर्छ ।
पछिल्लो समय प्रधानमन्त्रीले भाषणका क्रममा खिया लागेका दुईवटा नटबोल्टु आफैं फुक्लिएको भन्नुभएको छ भने कहिले भेट्नु कुहिएर झरेका दुइटा फलले रूख आफैं हो भन्न मिल्छ र भन्नुभएको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
उहाँका त्यस्ता निकृष्ट भनाइहरूका बारेमा कुनै राजनीतिक विश्लेषणको आवश्यकता छैन । त्यसले के देखाउँछ भने उहाँ कति हतास हुनुहुन्छ र त्यस्ता शब्दहरू प्रयोग गरेर आफू माथि परिन्छ कि भन्ने उहाँलाई भ्रम छ । देशको एउटा प्रधानमन्त्री अर्थात् जिम्मेवार पदमा भएको व्यक्तिले यस्ता कुराहरू गर्ने तर राजनीतिक विश्लेषण केही पनि नगर्ने देखिएको छ । एससीसी के कारणले ठीक भयो, किन राष्ट्रघात भएन, नागरिकता के कारणले विदेशीलाई दिने खोजेको, संयुक्त सैन्य अभ्यास गर्न उहाँले किन खोज्नुभयो, लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालका अतिक्रमित भूभागबारे पाठ्यक्रममा सन्दर्भ सामग्री प्रकाशन गरेर निकाल्दा किन प्रतिबन्ध लगाउनुभयो, एउटा राजदूतको पत्रका आधारमा तरकारीमा विषादी जाँच गर्नलाई किन पछि हट्नुभयो, एक महिला जसले हामीले सोभीयत संघ र पूर्वी युरोपमा धर्म प्रचार गरेर कम्युनिस्टलाई सिध्याऔं भन्ने व्यक्तिबाट त्यही मञ्चमा पैसाको थैली अर्थात् सम्मान किन थाप्नुभयो ? यस्ता कुराहरूको जवाफ उहाँले दिन सक्नुहुन्न । उहाँले त्यो राष्ट्रहितविपरीत, पार्टीको सिद्धान्तविपरीत, नीतिविपरीत र नेपाली जनताको भावनाविपरीत गर्नुभएको कामबाहेक केही पनि होइन । त्यस्ता तर्कहरूको जवाफ दिन नसकेपछि यस्तै नटबोल्टुमा खिया लागेका कुराहरू गरेर जनतालाई अल्मल्याउने काम गर्नुभएको छ । बरु, सिद्धान्तको खिया, नीतिको खिया कुनै व्यक्तिमा लागेको छ भने घटनाक्रमहरूले त्यो सबैभन्दा बढी केपी शर्मा ओलीमा लागेको छ ।
कहीँ पनि निर्वाचन जित्न सक्ने हैसियत नभएकैले निर्वाचनमा जान डराएर निर्वाचनको विरोध तपाईंहरूले गरेको भनिरहनुभएको छ नि ?
उहाँले संविधानमा नभएको व्यवस्थाको मनखुसी अपव्याख्या गर्नुभयो । हामीले संविधान निर्माण गर्दा यसका विकृतिहरू फेरी नदोहोरिऊन् भन्ने कुरालाई ध्यानमा राखेर बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था गरेको स्पष्ट हुँदाहुँदै त्यसको उल्लंघन गरेर संविधान मिच्ने काम गर्नुभयो । देश कोरोना संक्रमणको महामारीबाट आक्रान्त भएको, खोपका लागि अर्बौं रुपैयाँ नेपाललाई चाहिएको बेला नेपाली जनतामाथि थप आर्थिक संकट बेहोरेर उहाँले गैरजिम्मेवारपूर्ण काम गर्नुभयो । लोकतान्त्रिक मान्यतामाथि उहाँले प्रहार गर्नुभयो । आफैं संविधानसभामा बसेर जुन कुरा निर्माण गर्नुभएको थियो, त्यो कुराको उल्लंघन गरेर जनतामाथि विश्वासघात गर्नुभयो । यी जति पनि संविधानविरोधी, राष्ट्रहितविरोधी, लोकतन्त्रविरोधी, स्वेच्छाचारी काम उहाँले गर्नुभएको छ । ती कुराहरूको पुष्टि गर्न नसकेपछि अनि मानिसहरूलाई अल्मल्याउन भोट ल्याउन नसक्ने भएकाले निर्वाचनको विरोध गरिएको हो भनेर ती आफ्ना सबै गलत कुरालाई ढाकछोप गर्ने दुष्प्रयास मात्र हो । उहाँले त्यस्तो प्रचार गर्दैमा ती उहाँका गलत कुराहरू ढाकछोप हुँदैनन् । हामी निर्वाचनबाट डराएका होइनौं कि संविधानको रक्षा गर्ने, नेपालको स्वाधीनताको रक्षा गर्ने, उहाँले जुन प्रकारले प्रधानमन्त्री पदमा रहेर विगतमा संविधान निर्माणको बेलामा हामीले जुन व्यवस्था गरेका थियौं, त्यो व्यवस्थालाई भताभुंग गर्ने, देशमा अन्योल सिर्जना गर्ने र देशलाई संकटग्रस्त बनाउने जुन काम गर्नुभएको छ, त्यसैलाई रोक्न हामीले हाम्रा यी विचारहरू अघि सारेका हौं ।
तपाईंहरू कहिलेसम्म आन्दोलन गरिरहनुहुन्छ ?
धेरै ठूलो त्याग र बलिदानबाट प्राप्त हाम्रो लोकतन्त्र र यसलाई अगाडि बढाउन हामीले जनताको अभिमतद्वारा जारी गरेको नेपालको संविधानलाई नै उहाँले संकटतर्फ धकेल्नुभएको छ । तसर्थ, त्यसको विरोधमा हामीले जनतालाई आह्वान गर्नुपरेको हो । सबै राजनीतिक दल एकजुट भएर संविधानको रक्षा गर्नु, देशको स्वाधीनताको रक्षा गर्नु, जनअधिकारको रक्षा गर्नु आवश्यक छ । त्यही भएर हामीले आन्दोलनका कार्यक्रमहरू अघि सारेका हौं । हाम्रो उद्देश्य यी हाम्रा अधिकारहरूको रक्षा होस्, नेपालको संविधानको रक्षा होस्, देश संकटग्रस्त नहोस्, एमसीसीलगायत गलत बाह्य हस्तक्षेपकारी क्रियाकलाप गरेर यो सरकारले नेपाली जनताको अस्थित्वमाथि धावा बोल्न नपाओस् भन्ने हाम्रो उद्देश्य हो । यही उद्देश्यहरूका लागि हामी संघर्षलाई अगाडि बढाउँछौं । हाम्रा उद्देश्य र राष्ट्रको हितको रक्षका लागि हामी जति बेलासम्म अगाडि जानुपर्ने हो, त्यतिबेलासम्म हामी अगाडि जान्छौं ।
पछिल्लो समय संसद् पुनःस्थापनाको विषय अदालतमा छ तर प्रधानमन्त्री जसरी पनि पुनःस्थापना हुँदैन भन्नुहुन्छ, धेरैले उहाँले त्यसरी बोल्नुमा सेटिङको हात छ भन्छन्, तपाईंहरूलाई पुनःस्थापनाप्रति कत्तिको भरोसा छ ?
प्रधानमन्त्री पदमा रहेको व्यक्तिले अदालतले यस्तो गर्छ वा निर्वाचन आयोगले यस्तो गर्छ भन्नु न्यायालयमाथिको हस्तक्षेप हो । न्यायालयलाई धम्क्याइएको छ । र, यसरी निर्वाचन आयोगमाथिको पनि हस्तक्षेप हो । प्रधानमन्त्री पदमा बसेर त्यस्तो गर्नु अनैतिक काम हो । हामी नेपालको संविधानमा अल्पमतको प्रधानमन्त्री या कुनै व्यक्तिले प्रधानमन्त्रीमा आफूले मेरो बहुमत छ भनेर दाबी गरिरहेको र निजले विश्वासको मत लिन नसकेको अवस्थामा मात्रै त्यो विघटन हुन सक्छ भन्ने प्रस्ट व्यवस्था हुँदाहुँदै न्यायालयले अन्यथा गर्छ भनेर हामी परिकल्पना पनि गर्दैनौं । हाम्रो पार्टीको विधानबमोजिम बहुमतको निर्णय पार्टी निर्णय हुने र प्रचण्डजीलाई कार्यकारी अध्यक्ष भनी स्वयं केपी शर्मा ओलीजीले हस्ताक्षर गरेर पार्टीबाट निर्णय भइसकेको अवस्थामा निर्वाचन आयोगबाट सूर्य चिह्न कसको हातमा जान्छ, पार्टीको आधिकारिकता कसैको हातमा जान्छ भनेर शंका गर्ने कुरै छैन । संविधान, कानुन, हाम्रो पार्टीको विधान, सम्पूर्ण कुराले निर्वाचन आयोगमा पनि हाम्रो आधिकारिकता प्रथम दृष्टिमै पुष्टि हुन्छ र न्यायालयले पनि नेपालको संविधानका धाराहरू हेर्दा प्रथम दृष्टिमा नै प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम गलत भन्ने कुरा हुनुपर्छ, हुने स्थिति छ ।
तपाईंमा पार्टीको महासचिव हुने दौडमा हुनुहुन्छ भन्छन् नि ?
म त न कुनै मन्त्रीमा दाबी गर्छु, न कुनै महासचिवमा दाबी गर्छु । मेरो कुनै पनि पदमा यसै हुनुपर्छ भनेर कहिल्यै दाबी र आशक्ति गरेको छैन । म यो देशको स्वाधीनता बचोस्, यो कम्युनिस्ट आन्दोलन बचोस्, निरंकुश र स्वेच्छाचारी काम गर्ने कोपी ओलीजस्ताका गलत कामहरू खारेज होऊन् र नेपालको अस्थित्वमाथि कुनै पनि बाह्य शक्तिले कहिले पनि धावा बोल्न नसकोस्, देशभक्त नेपालीले राष्ट्रियताको झन्डालाई माथि उठाइराखून्, राष्ट्रघातीहरूलाई पराजित गरिराखून् । मेरो इच्छा आकांक्षा त्यति मात्र हो । यो इच्छा आकांक्षा जस जसले पूरा गर्छन्, तिनै साथीहरू कोको केके हुनपर्ने हो, त्यसमा कसको इच्छा छ, जानकारी नि छैन । मैले खास चासो र सरोका राखेको पनि छैन । पार्टीले जे निर्णय गर्छ, त्यो निर्णय शिरोपर छ ।
प्रधानमन्त्रीले भारतीय टिभी कार्यक्रम सञ्चालकलाई दिएको अन्तर्वार्ता र उनको प्रस्तुतिप्रति के भन्नुहुन्छ ?
हामीले प्रधनमन्त्रीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग भेट्दा कूटनीतिक मर्यादा उल्लंघन भयो भन्यौं । राष्ट्रको स्वाभिमानमाथि उहाँले प्रहार गर्नुभयो भन्यौं । पछिल्लो कालमा जस्तो पत्रकारसँग उहाँले कुराकानी गरेर निजलाई सगरमाथाको नजिक कालापत्थरमा पठाएर सगरमाथाको नाम परिवर्तन गर्ने र त्यसमा भारतले दाबी गर्ने भन्ने बकबासपूर्ण निन्दनीय कुरा बोल्ने वातावरण जसरी उहाँले सिर्जना गराउनुभयो, त्यो प्रधानमन्त्री ओलीको सबैभन्दा बढी राष्ट्रहित विरोधी कार्य हो । त्यसको पार्टी बैठकले निन्दा गरिसकेको छ । त्यो पत्रकारले त्यस्तो बोल्दा पनि सरकारको रहस्यमय मौनताको पनि पार्टीले भत्र्सना गरिसकेको छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply