मन पर्दा ऐतिहासिक एकता मन नपर्नासाथ आफैले बनाएको बाटो भत्काउने ?
वर्षमान पुन स्थायी कमिटी सदस्य एवं मन्त्रीप्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपाको सचिवालय बैठकमा राखेकको लिखित धारणाहरूका बारेमा तपाईंको के मत छ ?
नियमित बैठक नबस्ने, बैठकलाई बेवास्ता गर्ने उहाँको कार्यशैली रहेछ । हुन त हामी भर्खरै सहकार्य गर्दैछौं । सचिवालयको बैठक बसाउन पनि पाँचजना नेता तथाा बहुमत सदस्यहरूले लेखेर दिनुपर्ने अवस्था भयो । कम्युनिस्ट पार्टीमा योभन्दा बिडम्बना के हुन्छ ? उहाँहरूले १० पेजको जो चिठी दिनुभयो, त्यसमा अलि आरोप, अलि असहिष्णु खालको देखिराखेकै थियो । त्यसपछि पाँचजना नेताहरूका तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले १९ पेजको प्रस्ताव पेस गर्नुभयो, त्यसमा खासगरी वैचारिक प्रश्नहरू थिए । जहाँ समाजवाद हामी कसरी निर्माण गर्न सक्छौं, के अहिले हामी गरिराखेको गतिविधिले समाजवादको ढोका खुलिरहेको छ वा समादवादतिर जान पार्टीका विधिपद्धपित के हुनुपर्छ ? त्यसको आन्तरिक जीवन के हुन्छ ? भन्ने खालका प्रश्नहरू छन् । यसका साथै सरकार र पार्टीका आपसी सम्बन्ध के हुन्छ ? सरकार सञ्चालनमा एक्लै प्रधानमन्त्रीको भूमिका हुन्छ कि पार्टीसँगको सल्लाह, समन्वय र स्वामित्व हुन्छ वा पार्टीको नीति, निर्देशन र जनतासँग हिजो गरिएका प्रतिबद्धताहरूलाई पनि ध्यान दिनुपर्छ ? यस्ता गम्भीर खालका जुन प्रश्नहरू उठेका थिए, प्रधानमन्त्रीजीले तिनको जसरी जवाफ दिनुभएको छ, त्यो हेर्दा खासमा नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको दुई÷अढाइ वर्षका बीचमा त्यसयताका वैचारिक प्रश्न, त्यसयताको राजनीतिक प्रश्न र त्यसयताका नेताहरूबीचको सम्बन्धको प्रश्न मुख्य प्रश्न हो । तर उहाँ भने अलि बढी नै उता फर्किएर पूर्वमाओवादीमाथिको आक्रमणजस्तो, त्यहाँबाट पनि छुट्ट्याएर प्रचण्डमाथिको आक्रमणजस्तो जो भयो, त्यो अलिकति रणनीतिक खालको जस्तो वा प्रचण्ड एक्लैलाई केन्द्रित गरेर आक्रमण गर्ने, बदनाम गर्ने खालको जस्तो देखिएको छ । यसमा मेरो कमरेड केपी ओलीलाई अलि विचार केन्द्रित, विधि केन्द्रित, संगठन केन्द्रित, कम्युनिस्ट पार्टीको आचार–व्यवहार केन्द्रित , पार्टी र सरकारको सम्बन्ध केन्द्रित र अब नेकपालाई नयाँ गन्तव्यमा पु¥याउने भविष्य केन्द्रित बहस ल्याएको भए राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ ।
प्रचण्डले आफ्नो धारणालाई छापेर नै तल्ला कमिटीसम्म पठाइसकेको सन्दर्भमा त्यसको जवाफस्वरूप यो आएको तर ती फगत आरोपहरू मात्र भएको र प्रक्रियाविपरीत पठाइएकाले खारेज योग्य भन्दै प्रथम दृष्टिमै यसलाई खारेज गर्छु भनिएको छ नि ?
राजनीतिमा कानुनी तर्क पनि हुन्छ तर कानुनबाट राजनीति चल्दैन । राजनीति विचारले चल्छ । राजनीति दृष्टिकोणले चल्ने चिज हो । अर्को कुरा, पाँच नेताहरूको दुई पेजको चिठी, प्रधानमन्त्रीको १० पेजको जवाफ, त्यसमाथि कमरेड प्रचण्डको सात पेजको जवाफ र पाँचजना नेताहरूका तर्फबाट प्रस्तुत १९ पेजको प्रस्ताव जसरी मिडियामा गयो, त्यसलाई व्यवस्थित रूपले पार्टी केन्द्रीय कार्यालयले नै छापेर वितरण गर्दा त झनै राम्रो भयो, संस्थागत भयो, कार्यकताको अभिमत आउने भयो, आफूखुसी जान पाइएन । बरु, अब प्रधानमन्त्री तथा पार्टी अध्यक्षले प्रस्तुत गरेकोलाई पनि यसरी नै छापेर वितरण गर्दा पार्टीका नेताहरू, कार्यकर्ताहरूलाई पढ्न, छलफल गर्न सजिलो हुन्छ भन्ने मेरो धारणा छ । यसलाई प्रक्रिया केन्द्रित, पद्धति केन्द्रित वा कानुनी तर्क गरेर यति ठूलो राजनीतिक बहसलाई कमजोर बनाउनुहुँदैन ।
पहिले पनि नेकपा झन्डै फुटको डिलबाट बचेको जस्तो देखिएको, पछिल्लो समय पनि दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र दोषारोपणको शृंखला चलिरहँदा भोलिका दिनमा पार्टी एकै ढंगले अघि बढे पनि तुष र तिक्तता र वैमनश्यता त कायमै रहने भयो नि ? यसको समाधान कसरी गर्ने ?
अलि राजनीति केन्द्रित, विचार केन्द्रित, संगठन केन्द्रित बहस हुनुपथ्र्यो । खासमा हामीले त्यही संस्कार बसाउनुपर्ने हो । तर, हाम्रा सचिवालयका नेताहरूले जो बहस अघि बढाउनुभएको छ, मूल विचारमा केन्द्रित छ । त्यसैमै केन्द्रित गर्नुपर्छ । तरिकाहरू, त्यसका भाषाका स्तर आमकार्यकर्ता र जनताले हेर्ने विषय हो । सकेसम्म सभ्य ढंगले र शिष्ट ढंगले त्यही कुराभन्दा पनि राम्रो हुन्छ । तर, अब अहिले हामीले अपेक्षा गरेर भन्दा पनि बढी नै छरपस्ट नै आइसकेपछि बरु त्यसलाई सामना गरेर पार्टीलाई एकताबद्ध ढंगले लाने, संविधानले संघीयता, गणतन्त्र, समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी प्रगतिशील विचारहरूलाई संस्थागत र सुदृढ गर्ने, जनताबाट प्राप्त जनमतलाई सम्मान गर्दै राष्ट्र र जनताको रूपान्तरण–समृद्धिको लागि जिम्मेवारीपूर्वक प्रयोग गर्ने हाम्रो दायित्व हो । त्यसैमा बहस केन्द्रित हुनुपर्छ । सकेसम्म सभ्य, शिष्ट हुनुपर्छ भन्ने त स्वाभाविक अपेक्षा हो । हामी पनि नेताहरूलाई त्यसरी नै प्रेरित गर्नुपर्छ । रचनात्मक ढंगले पार्टीलाई फेरि नयाँ सिराबाट एकताबद्ध गर्ने प्रयत्न हुनुपर्छ । यसमा आइसकेपछि भाग्नेभन्दा पनि सामना गर्ने, यसलाई समाधान खोज्ने नै गर्नुपर्छ ।
अध्यक्ष ओलीबाट आएको लिखित प्रतिवेदनमा यही रूपमा बस्न सकिन्न भने जाँदा पनि हुन्छ, अलग्गिए पनि हुन्छ भन्ने खालको भाव भेटिन्छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
हिजो तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले समाजवदमा जाने, त्यतातिर उन्मुख हुने, देशलाई स्थायित्व दिने, समृद्धि दिने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, ऐतिहासिक आवश्यकतालाई आत्मसात् गर्दै एकता गरिएको थियो । आज पनि त्यो आवश्यकता छँदैछ । त्यसलाई कमजोर बनाउनुहुँदैन । र, मन पर्दा त्यो ऐतिहासिक आवश्यकतालाई महिमा मन्दित गर्ने र फेरि अलिकति मन नपर्नेबित्तिकै त्यसलाई एकदमै कमजोर गर्ने गरी एकता नै भाँड्ने ढंगले आफूले बनाएको बाटोहरूलाई नै भत्काउने ढंगले सोच्नुहुँदैन । यस्तो सोच्न नेतृत्वको नैतिकताले पनि दिँदैन । यस्तो कुरा नेतृत्वको जिम्मेवारीले पनि शोभा दिँदैन । यसैले कोही जाऊ, कोही बस भन्नेभन्दा पनि हिजोका हाम्रा पार्टीका आधार र आफ्ना ठाउँहरू भत्काइएका छन् । एउटा अर्थमा भन्दा फर्किने पुल भत्काइएका छन् । हामी अब खोलापारि फर्कने होइन कि अगाडि बढ्ने गन्तव्यलाई बरु नयाँ ढंगले परिभाषित गर्ने, त्यसमा छलफल, बहस गर्ने, त्यसमा एकता कायम गर्ने गर्दा इतिहासको आवश्यकता पनि पूरा हुन्छ । हाम्रो जिम्मेवारी पनि पूरा हुन्छ । जनता र कार्यकर्तामो भावना पनि सही ढंगले प्रतिनिधित्व गर्छ ।
तपाईंले प्रचण्डले अति सहनुभयो, अब सहने ठाउँ नै छैन भन्नुभयो नि, यस्तो किन भन्नुभएको हो ?
हिजो दुईवटा पार्टीमा थियौं । हामी अलगअलग रहेर निर्वाचन पनि लड्यौं । जसरी प्रधानमन्त्रीले १३ लाखलाई मैले ३२ लाखले ठाउँ दिएँ भन्न खोज्नुहुन्छ, त्यो १३ लाख भोटले ६ वटा प्रदेशमा बहुमत आएको छ । संघमा बहुमत आएको छ । त्यसरी भोट मात्रै हिसाब गर्दा पनि तत्कालीन एमाले, तत्कालीन माओवादी र कांग्रेसको त एक सिट मात्रै फरक हो नि समानुपातिकमा । तसर्थ, त्यही १२ लाख एउटा गठबन्धनमा बस्दा पूर्ण बहुुमत भयो । त्यसलाई घटाउनेबित्तिकै एक सिटले बढी भएको अर्थात् एक सिटले ठूलो पार्टी मात्र न हुन्छ । त्यसैले मान्छेलाई भोटमा हेरेर जसरी अपमानित गर्नेजस्तो उहाँले सोच्नुभयें, त्यो एकदम बेठीक कुरा हो । यो त गुणात्मक रूपले हामी जनताको भावना, देशको आवश्यकता, कार्यकर्ताको चाहनाअनुरूप कम्युनिस्ट आन्दोलनलाई अगाडि लैजाने पवित्र उद्देश्यका साथ अघि बढेको कुरा हो । यस सन्दर्भमा जसरी पार्टीभित्र पनि खासगरी आठौं र नवौंं महाधिवेशनमा तत्कालीन एमालेभित्र मतदान भयो, फरकफरक कित्ताबन्दी भयो, नयौं महाधिवेशनपछि कमरेड केपी ओली र कमरेड माधव नेपालको समूह जो छ, त्यसलाई पनि मिलाएर हामी एकतामा आउनुको अर्थ कमरेड केपी ओलीको ग्रुपसँग मिलेर कमरेड माधव नेपालको ग्रुपलाई माइनस गर्न आएका होइनौं । तत्कालीन माओवादी केन्द्रभित्र पनि विभिन्न समूहहरू एकताबद्ध हुँदा केही मनोविज्ञानहरू होलान्, त्यसलाई पनि कसैले खेल्ने होइन कि हामी त बरु हिजो तत्कालीन एमालेभित्रका विभिन्न विचार समूहहरू र मनोविज्ञानलाई पनि एक गर्ने र माओवादी आन्दोलनबाट आएकाहरूलाई पनि एक गर्ने र नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी बनाउने भनेर आएका हौं ।
कमरेड प्रचण्डले धेरै सहनुभयो भन्ने सन्दर्भमा अरूभन्दा पनि आलोपाले पनि उहाँले छोडिदिनुभयो । हिजो अलग पार्टी हुँदा अलिकति अविश्वासहरू थिए । अलिअलि भावनाहरू थिए । अब तपाईंले चलाउनुस् भन्नुभयो । दुईजना नै अध्यक्ष, पालैपालो बैठक चलाउने भनियो । त्यो पनि दुई÷अढाइ वर्षसम्म छोडिदिनुभयो । पछि पार्टीले कार्यकारी अध्यक्ष भन्यो । तर, त्यसलाई पनि ‘उहाँ त होइन मै छु’ भन्दाभन्दै फेरि भदौ २६ मा एकजना कार्यकारी अध्यक्ष र अर्कोजना प्रधानमन्त्री हुँदा पनि जसरी कार्यविभाजन भएर जिम्मेवारीअनुसार जाने हो, त्यो सन्दर्भमा लागु हुन सकेन । एउटा बैठक राख्न पनि सोध्न जानुपर्ने, अनुमति लिनुपर्ने ? अहिलेको भाषा छ नि, पहिलो दृष्टिमै खारेजयोग्य छ, एक्लै ल्याइएको प्रतिवेदन भनिएको छ । अनि केको कार्यकारी हो ? पार्टीको विधि, विधान, कार्यदिशा नाघे त्यसमा बहस हुने हो । तर एउटा बैठक पनि आयोजना गर्न नसक्ने कस्तो कार्यकारी ? यस्ता गतिविधि धेरै सहनुभयो । त्यसको अर्थ उहाँलाई एक्लै हिँड्नुस भनेको होइन, बहस गर्नुस् भनेको । असहिष्णु हुनुस् भनेको होइन, छलफल गर्नुस्, त्यसले पार्टीलाई गतिशिल बनाउँछ भन्ने अर्थमा मैले भनेको हुँ ।
तर अहिलेको विवाद हेर्दा दीर्घकालसम्म हिजोको अपेक्षाअनुरूप पार्टी एक भएर जान्छ त ?
अब मान्छे रहरले ठ्याक्कै एमाले वा ठ्याक्कै माओवादी हुन सक्दैन । विचारमा आधारित बहु जो सुरु भएको छ, प्रवृत्ति केन्द्रित बहस सुरु भएको छ, भविष्य केन्द्रित बहस सुरु भएकाले यसले विचार मिल्नेहरू, प्रवृत्ति मिल्नेहरू, सोच मिल्नेहरू एक ठाउँमा हुँदै जान्छन् । न कि हिजोका समूहहरू । न हिजोको जस्तो तत्कालीन एमालेभित्रका मनोविज्ञानहरू अलगअलग हुन्छन्, न हिजोका माओवादीभित्रका मनोविज्ञानहरू अलगअलग हुन्छन् । न हिजोको जस्तै ठ्याक्कै एमाले र माओवादी भन्ने हुन्छ । एउटा मिश्रणजस्तो बनेको छ । त्यसलाई ठ्याक्कै जस्ताको तस्तै वा हिजोको जस्तै गरी छुट्ट्याउन सकिँदैन । त्यस्तो छुट्टिने अवस्था हुँदैन । बरु, अब अगाडि नै बढ्ने हो । बढ्न कोको तयार हो ? बढ्दाका कदमहरू केके हुन् ? त्यसमा मिल्ने र नमिल्ने हुन्छन् । मिल्ने एक ठाउँ बसौं । नमिल्नेलाई पनि सम्मान गरौं । फेरि कम्युनिस्ट पार्टीहरू त्यसैगरी चल्दै जान्छन् । त्यसरी नै जाऔं भन्ने हो ।
अध्यक्ष प्रचण्डको केही दिनअघिको लिखित प्रस्तावमा पार्टीले सत्ता चलाउनुपर्नेमा सत्ताले पार्टी चलाउने गरेको अनुभूति उल्लेख छ, तपाईं त सत्तामै हुनुहुन्छ, यो कुरा के हो ?
पार्टीको मूल विचार, सिद्धान्त, लक्ष्यसँग नबाझिनेगरी सरकार चल्नुपर्छ भनेर उहाँले भन्न खोज्नुभएको हो । पार्टीले समाजवाद उन्मुुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ । समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गरेको छ । तर, त्योअनुसार चलेको छैन भने त्यसैअनुरूप पार्टी चल्नुप¥यो । त्यसैका आधारमा नीतिगत निर्णय होला । राजनीतिक नियुक्ति होला । त्यस विषयमा पार्टीको परामर्शमा चल्नुप¥यो भन्ने हो ।
पार्टीमा फरक फरक शक्तिकेन्द्रजस्तो देखिएको छ, मन्त्री पनि बन्नुभएको छ तर प्रधानमन्त्रीसँग काम गर्दा स्वतन्त्र ढंगले काम गर्न पाउनुभएको छ त ?
म हिजो एकदमै अप्ठ्यारो बेला नौ÷दसवटा पार्टीको गठबन्धनबीच पनि काम गरेको मान्छे हुँ । गठबन्धनमै बस्दा पनि त सन्तुलन नै गरिएको थियो । मुख्य कुरा त देश हो, जनता हो । त्यसमा आफूलाई इमानदार राखीयो भने काम गर्न सकिन्छ । अहिले पनि हाम्रो प्राथमिकता त्यही नै हो । त्यसो हुँदा स्वाभाविक रूपले अहिले बहुमतको सरकार छ, गठवन्धनभन्दा धेरै सजिलो हुनुपर्ने हो । व्यक्तिगत रूपले त काम गर्नै अप्ठेरो छैन तर जसरी तीव्र गतिमा जनताको अपेक्षाअनुसार सुशासनका कुरा, विकासका कुरा, समृद्धिका कुरामा अलि दौडिनुपर्ने हो, त्यो रूपले गएको छैन । कामको सुरुवात सरकारले गरेको छ । दिशा पक्रँदै गएको छ ।
कतिपय सन्दर्भमा प्रधानमन्त्रीका शैली, मन्त्रीका शैली र स्वभावहरूले ठ्याक्कै सोचेअनुसार काम गर्न नमिल्ने पनि हुन सक्छ । एउटा बृहत्तर संविधानले दिएको फ्रेमभित्र जनताले गरेका अपेक्षाभित्र, पार्टीका हिजोका घोषणापत्रभित्र रहेर काम गरिराखेका छौं ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनमा चार महिनापछि हुने महाधिवेशनबाट आफू अध्यक्षको नेतृत्वमा नआउने र दुई वर्ष पछि हुने चुनावमा प्रधानमन्त्री दाबी नगर्ने भनेर बारम्बार भन्दा पनि आफूलाई काम गर्न नदिन बारम्बार गुटबन्दी र षड्यन्त्र गरेको र यसले जनता र कार्यकर्र्ताहरूप्रति त्यतिन्जेल धैर्य गर्न सक्ने र पत्यार नभएको भनेर तर्क गर्नुभएको छ नि, यसलाई कुन रूपमा लिनुभएको छ ?
उहाँले नै सरकार चलाउने गत स्थायी समितिको बैठकको निर्णय हो । उहाँले चलाइराख्नुभएकै छ । नेताहरूको मात्रै भनाइ हो भने सरकार पार्टीसँगको सल्लाहमा चलाउनुस् भन्ने हो । मन्त्रीहरू पनि कमसेकम सचिवालयको परामर्शमा, अध्यक्षहरूको सहमतिमा काम गर्ने टिम बनाउनुस् । राजदूतलगायत राजनीतिक नियुक्तिहरूमा पनि प्रभावकारी मान्छे जाओस् । एउटा गुट समातेको भरमा, कोही नेता नजिक भएको भरमा जाने अवस्था नहोस् । जनताको अपेक्षाअनुसार काम होस् भन्ने हो । छिमेकीसँगका सम्बन्धहरू र कूटनीतिक व्यवहारहरू पनि पार्टीको घोषित नीतिअनुरूप संस्थागत होस् । यसलाई सन्तुलनमा लगियोस् भन्ने हो । जुन आफैंमा नीतिगत र वैचारिक कुरा हुन्, यसमा अन्यथा छैन । उहाँलाई अहिले प्रधानमन्त्री छोड्नुस पनि कसैले भनेको छैन । पार्टी अध्यक्ष छोड्नुस् पनि कसैले भनेको छैन । उहाँ आफैं नै बरु झस्किएर छोडाउन खोजिएको हो कि भन्नेमा हुनुहुन्छ ।
अध्यक्ष ओलीको प्रतिवेदनमा महाधिवेशन नभइसकेको अन्तरिम अवधि भएकाले बहुमत–अल्पमत भन्ने कुराको औचित्य छैन भन्ने भनाइ छ , कसरी लिनुहुन्छ ?
कुनै बेला माधव कमरेडले दुईतीनपटक फरक मत लेख्दा पनि बहुमतले निर्णय गर्दै गयो । त्यसो गर्दा त मिल्दो रहेछ नि । आफ्नो अनुकुल नहुदा त्यो व्याख्या गर्नुभन्दा पनि मूल रूपमा पार्टी जुनसुकै अवस्थामा पनि सहमतिबाट जानुपर्छ । हाम्रो रहर होइन, बहुमत–अल्पमतको कुरा । तर, खासखास अवस्थामा सहमति बन्न नसक्दा त्यो आइपर्छ । पार्टीलाई खास रूपमा एकताबद्ध राख्ने हो भने एकदुई इस्युहरूमा कोहीकोही नेता कहिलेकाहीँ अल्पमतमा पर्न सक्छन् । त्यसलाई स्थायी विभाजनका रूपमा लिनुहुन्न । माधव नेपाल कमरेड यही बसिरहनुभएको छ । यही संघर्ष गरिरहनुभएको छ । आफ्नो धारणलाई स्पष्ट राखिरहनुभएको छ ।
अब दुईथरी लिखित प्रस्ताव र आरोप प्रत्यारोपपछिको मिलनबिन्दु के हो ?
दुईथरी धारणा लिखित आइसकेपछि अब सचिवालयका नेताहरू एक ठाउँमा बस्नुस् । विचार मन्थन गर्नुस् । त्यसमा राजनीतिक बहस होस् । त्यसपछि स्थायी कमिटीसँग पनि यसलाई स्वस्थ ढंगले लगियोस् । यो राजनीतिक विचार, कार्यशैली र प्रवृत्तिगत उपज हुन् । आवश्यक पर्दा केन्द्रीय कमिटीसम्म पनि लगियोस् । त्यसबाट उचित निकास र सहमति पक्कै आउँछ । महाधिवेशन नहुँदासम्मको सर्वोच्च निकाय केन्द्रीय कमिटी हो । सबै पक्षले आफूलाई आत्मसमीक्षा गर्दै आफ्ना कमजोरी मनन गर्न सकियो भने आगामी दिनमा सरकार सञ्चालन र पार्टी सञ्चालन गतिलोसँग अघि बढ्छ । समस्या हुन्न । यो आम नेताकार्यकर्ताको अपेक्षा पनि हो । विधि मान्न सबै तयार होऔं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ त्यति लोकप्रिय र सफल हुँदाहुँदै र जनताको माग हुँदाहुँदै पनि किन पुर्ननियुक्ति गर्नुभएन ?
हिजोका दिनमा विद्यमान लोलसेडिङ प्रधानमन्त्री, मन्त्रीलगायतका नीतिगत निर्देशन, प्रयत्न र योजनाले नै अन्त्य भएको हो । एउटा प्राविधिक व्यक्ति वा व्यवस्थापकको हिसाबले कुलमानजीको त्यसमा योगदान छ । प्राधिकरणका १२ हजार नै कर्मचारीकै त्यस अभियानमा श्रम–पसिना लागेको छ । उहाँले आफ्नो चारवर्षे कार्यकाल पूरा गर्नुभयो । त्यसपछि अहिले राम्रो गरेको सन्दर्भमा उहाँलाई पुनर्नियुक्ति गर्नुपर्छ भन्ने जनमत पनि देखियो । मैले त्यसका लागि क्याबिनेटमा प्रस्ताव पनि लिएर गए । तर, हुन सकेन । यही क्रममा झनै पार्टीभित्र राजनीतिक मतभेद पनि सुरु भयो । त्यसपछि त्यो विषयले प्राथमिकता पाएन ।
सीधा भाषामा भन्दा प्रधानमन्त्रीको हस्तक्षेपले कुलमानको पुनर्नियुक्ति नभएको हो ?
क्याबिनेटमा पु¥याएको हो । यता राजनीतिक मतभेदहरू सुरु भए । त्यो विषय अहिले प्राथमिकतामा परेन । कायममुकायम कार्यकारी निर्देशकबाट हामीले काम गरिराखेका छौं । यद्यपि, मैले मन्त्रालयका तर्फबाट गर्ने काममा समन्वय गरिरहेको छु । जनतालाई दिने विद्युतीय सेवामा कुनै कमी हुन दिएको छैन । संस्थागत संरचना विकास गरेका छौं । व्यक्ति महŒवपूर्ण होइन । तर, व्यक्तिका भूमिकाहरूलाई उचित ढंगले मूल्यांकन गर्नुपर्छ भन्ने यसले पनि देखाएको छ ।
One response to “मन पर्दा ऐतिहासिक एकता मन नपर्नासाथ आफैले बनाएको बाटो भत्काउने ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Yakdam right