मेरो घडेरी सस्तिन्छ कि महँगिन्छ भन्ने चित्तले मुलुक चल्दैन
डा. विजयकुमार पौडेल, नेता, नेकपालुम्बिनी प्रदेशको राजधानी भालुवाङमा राख्ने निर्णयको सन्दर्भमा विवाद भयो, तपाईं आफैं लुम्बिनीको मान्छे, राजधानी लुम्बिनीमै राख्ने भनेर त्यो बेला नेकपाका नेताहरूले चुनावी मुद्दासमेत बनाएका थिए, अहिले यो विषयमा के भन्नुहुन्छ ?
हामीले सबैभन्दा पहिले प्रादेशिक राजधानीको सैद्धान्तिक मान्यता बुझ्नुपर्ने हुन्छ । संघीयताको नकारात्मक पक्षबारे धेरै चर्चा भयो तर यो लागु भइसकेपछि यसको सकारात्मक पक्षबारे पनि बेलाबेला चर्चा गर्नुपर्छ । यसबाट फिर्ता हुनुहुँदैन, किनभने हामीले लामो समयदेखि परीक्षण गर्ने अनि फिर्ता हुने गरिरहेका थियौं । अब संघीयतालाई बलियो बनाएर जाने र यसको फाइदालाई अत्यधिक प्रयोग गर्नेमा जानुपर्छ । यसले विकेन्द्रीकरणको अधिकारलाई तल छरेर धेरै ठुला प्रोजेक्टहरू, कार्यक्रमहरू, विदेश सम्बन्ध, मौद्रिक काम, राष्ट्रिय सुरक्षाजस्ता विषयमा केन्द्रले गर्ने र मझौला प्रोजेक्टजति सबै प्रदेशले गर्ने अनि साना प्रोजेक्टहरू स्थानीय सरकारले गर्ने अवधारण हो । यो अवधारणाअनुसार हेर्दा विकेन्द्रीकरण भनेको विकासको पनि विकेन्द्रीकरण हो । त्यसो भएकाले मेरो घर लुम्बिनीमा भए पनि विकासलाई विकेन्द्रित गर्दा दाङ राजधानी एकदमै उपयुक्त हो । प्रस्ट बोल्नुपर्छ यसमा । मेरो घडेरी सस्तिन्छ कि महँगिन्छ, मेरो सटरमा बढी ग्राहक आउँछन् कि आउँदैनन् भन्नेजस्ता सानो चित्त लिएर अब काम चल्दैन । हर्क गुरुङले दाङलाई नै वैकल्पिक राजधानी सोच्नुभएको थियो । त्यसो भएर राम्रो त अझ दाङ उपत्यकामा लगेको भए राम्रो हुन्थ्यो । तर पनि भालुवाङमा राख्नु पनि नराम्रो कुरा होइन ।
नेकपाका लुम्बिनीका नेताहरूले त्यो बेला चुनाव जित्न बुटवलमै कायम गर्छौं भनेर चर्का भाषण गरे, अहिले त्यो नक्कली आश्वासन रहेछ भनेर चर्चा छ नि ?
शक्ति प्रयोग गरेर जनमतलाई पहिले नै कब्जा गर्ने कुरा नै गलत हो । किनभने, जनमत आइसकेपछि त त्यसले के परिणाम ल्याउँछ, त्यही हुने हो । एउटा जनप्रतिनिधीले चुनाव अगाडि ‘म यसका लागि प्रयास गर्छु’ भन्न सकिन्छ । तर यहीँ नै हुनुपर्छ भनियो भने त लोकतन्त्र, अल्पमत–बहुमत, सर्वसम्मतलगायतको त कुनै अर्थ नै भएन । त्यसो भएर त्यो तरिका गलत हो । जनमतले फैसला गर्ने विधिमा नजाने हो भने त भोलि बिहान बुटवलतिर राप्तीको पानी ल्याउनुपर्ला । नौमुले योजनामा पहिल्यैदेखि कति पानी कता लाने भन्नेबारे विवाद छ । त्यो पानी रोकिदिए भने के गर्ने ? त्यसो भएकाले यस्ता विषयमा विवाद गरेर हुँदैन । हाम्रो रुपन्देही–कपिलवस्तुलाई त्यहाँ राजधानी हुनुपर्छ भनेर लड्नैपर्दैन । कपिलवस्तुमा भगवान् गौतम बुद्धको राजधानी नै भयो । उहाँले २९ वर्ष चर्चेको ठाउँ । त्यसो भएकाले हामीले पर्यटनमा त्यसलाई धेरै नै विकास गर्न सक्छौं । लुम्बिनी संसारभरका डेढ अर्ब बौद्धमार्गीको चर्चित ठाउँ नै भयो । अन्तर्राष्ट्रिय विमान स्थल त्यही छ । पहिचानका पाँच र सामथ्र्यका चार आधार हेर्ने हो भने पनि र विकासमा विकेन्द्रित गर्ने हो भने दाङ जानु वा भालुभाङ राख्नु अथवा कपिलवस्तु राख्नुले केही भिन्नता छैन । राजधानी भनेकै केन्द्रीय राजधानीमा केही संकट आयो र सिफ्ट हुन परिहाल्यो भने पनि सहज र उपयुक्त जता हुन सक्छ, हामीले त्यतै हेर्नुपर्छ । भारतमा पनि पहिले कलकत्ता थियो, पछि दिल्ली भयो । पाकिस्तानमा पनि पहिले रावलपिन्डी थियो पछि इस्लामाबाद भयो । त्यहाँ सर्दा केही बबाल भएन । त्यसो भएकाले यस्तो विषयलाई हाम्रो घडेरी मानसिकताले विवादास्पद बनाएको हो ।
यो प्रकरणले पार्टीभित्रका दुई प्रभावशाली नेता मुख्यमन्त्री शंकर पोखरेल र महासचिव विष्णु पौडेलबीच दरार हुने भयो नि ?
जुनसुकै ठूला नेताले जे नै गरे पनि हामी घडेरी मानसिकताबाट माथि उठ्नुपर्छ । संघीयतालाई बलियो बनाउन त जहाँ धेरै सम्भावना छ, जहाँ धेरै जमिन छ, जहाँ विकास कमजोर भएको छ, त्यतापट्टि केन्द्रित गर्नुपर्छ । रूपन्देही त औद्योगिक क्षेत्र पनि हो । त्यसैले त्यहाँ राजधानी सरेर विकास पछि पर्छ कि भन्ने मान्यता पनि गलत हो ।
प्रतिनिधिसभामा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई यही अवधिमा राष्ट्रिय सभामा मनोनयन गरेर मन्त्रीसम्म बनाउने खेल भएको भन्दै जनतामा वितृष्ण पैदा भएको छ, यसबारे के भन्नुहुन्छ ?
म एउटा सानो मान्छेका हिसाबले कमरेड वामदेव गौतमलाई के सुझाव दिन चाहनछु भने उहाँले आत्मसमीक्षा गर्नुप¥यो ।
कस्तो आत्मसमीक्षा ?
नवौं महाधिवेशनमा उहाँले जे भूमिका निर्वाह गर्नुभयो त्यसबाट तपाईं घाटामा पर्नुहुन्छ भनेर उहाँलाई हामीले सुझाव दिएका थियौं । त्यो बेला उहाँले हामीलाई कमरेड ओली अध्यक्ष भएपछि संसदीय दलको नेता मलाई छोडिदिनुहुन्छ अथवा उहाँ प्रधानमन्त्री भएपछि अध्यक्ष मलाई छोडिदिनुहन्छ जस्ता कुरा गरेर बस्नुभयो । सायद त्यस्तो बन्ने वा बनाइदिने हो भने त उहाँ हाम्रो पश्चिमतिरका नेता, हाम्रो क्षेत्र जहिले पनि पछाडि परेको छ । मोदनाथ प्रश्रितलाई रिटायर्ड हुनुभयो, जीवराज आश्रित मारिनुभयो भनेपछि तपाईं एकजना अगाडि आउनुहुन्छ भने ठीक छ भन्ने पनि साथीहरूको उहाँलाई सहानुभूति थियो । तर मैले चाहिँ उहाँलाई भनिदिएको थिएँ ।
के भनिदिनुभएको थियो ?
एउटा टिम छोडेर यसरी जाँदा राजनीतिक रूपमा तपाईंलाई घाटा पर्छ भनिदिएको थिएँ । तर उहाँले त्यतिखेर सुन्नुभएन । त्यसो भएकाले उहाँले राजनीतिक फैसला गर्दा के गरिन्छ भन्ने कुरा विचार गर्दा राम्रो ।
हुन त बर्दियाबाट चुनाव उठ्दा पनि हारेको होइन, पार्टीले नै हराएको भन्ने छ त ?
यो त शतप्रतिशत सही हो । पार्टीको जिम्मेवार मान्छेहरूले नै उहाँका विरुद्ध खुला षड्यन्त्र गरेका छन् भन्ने कुरा उहाँलाई मैले त्यतिबेला फोन गरेरै भनिदिएको थिएँ । उहाँले पत्याउनुभएन ।
उहाँलाई तपाईंले कसरी चिन्नुभएको छ ?
उहाँ जता लागे पनि अत्यन्तै विश्वास गरेर लाग्ने उहाँको बानी हो ।
अनि राष्ट्रिय सभामा मनोनयन गरेर मन्त्रीसम्म बन्न किन आशक्ति बढाएको, यसले जनमत बढ्छ र ?
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने उहाँले केही समय चुप लागेर बसे पनि हुन्थ्यो । तर उहाँको तर्क के छ भने संसदीय दल चलेन । त्यहाँ गएर राम्ररी चलाउँछु भन्ने उहाँको सोच छ । लोकतन्त्रमा उहाँ नभइनहुने भन्ने होइन । जहाँ जिम्मेवारी दिइएको छ, त्यही नै गज्जबसँग काम गरे पनि उहाँलाई पुग्छ । संगठन विभाग प्रमुख हुनुहुन्छ उहाँ, पार्टी उपाध्यक्ष हुनुहन्छ । अन्यत्र जानुपर्ने थिएन । दनदनाएर पार्टी चलाए भइहाल्थ्यो । तर यसको भित्री पाटो पनि छ ।
त्यो भित्री पाटो के हो त ?
मैले बुझेसम्म उहाँलाई बेकारमा यो आरोप आइलाग्यो । भित्री पाटो भनेको प्रधानमन्त्री र उहाँका वरिपरिका मान्छेले एकलौटी ढंगले जसरी सत्ता चलाएका छन्, वामदेव कड्किएर बोल्न सक्ने मान्छे, त्यस अर्थले पनि अरू नेताहरूले उहाँलाई जान प्रेरित गरिरहेका छन् । त्यही कारण उहाँ जान तयार हुनुभएको हो । वामदेव सबै कुरामा शतप्रतिशत नै लोभी अवश्य होइन । उहाँको जीवन हेर्दा सबै कुरामा त्यस्तो लोभी भन्ने लाग्दैन । बाहिर हेर्दा भने त्यस्तै पो हो कि भन्ने बनेको छ । तर, भित्री कुरा उहाँ जाँदा यो एकलौटीपन रोकिन्छ कि भन्ने कुरा हो ।
बीचमा तपाईंले अन्य केही सुझाव दिनुभयो त उहाँलाई ?
यसबीचमा म आफैं पनि उहाँको घरै गएर ‘नाम नआउनु थियो आइहाल्यो, अब तपाईं जानुपर्छ’ भनिदिएँ । किनकि उहाँ सारै धेरै लतारिनुभयो । पार्टीका जिम्मेवार मान्छे खुलमखुला लागेर हराएको कुरा छानबिन नहुने ? त्यो चोट उहाँलाई छ । उहाँ त कुनै हालतमा हार्ने मान्छे नै होइन नि । भोट नहाल्नू भनेर फोन गरेका छन् । जिल्लाका जिम्मेवार पार्टी नेताहरूले त्यो कुरा त हामीसँग सेयर गरेका छन् नि । उहाँले जुन कुराको छानबिनको माग गर्दै आउनुभएको थियो, त्यो त छानबिन गरेर टुंग्याइदिनुप¥यो नि ? साँच्चै अन्याय गरेर हराइएको हो भने त त्यसरी हारेको भन्न भएन । हराइएकै भए पनि ठीकै छ, म यसको संगठनबाट बदला लिन्छु भनेर अडिएको भए हुन्थ्यो । तर मुख्य नेताहरूको पनि कुराचाहिँ त्यहाँ अलिकति अडान लिएर गलतलाई गलत र सहीलाई सहि भन्न सक्ने मान्छे चाहियो भन्ने छ ।
नेकपामा केही पहिले भएको आन्तरिक विवाद अब हल होला त ?
एकातिर कार्यदलको प्रतिवेदन आयो । हुन त सो प्रतिवेदन आफैंमा समाधान नदिने खालको त छँदैथियो । त्यसले सरकारका तर्फबाट भएका लापरबाही र गल्तीलाई उल्लेख नै गरेको थिएन । त्यो मलुवाखालको बीचबीचको बनाएर ल्याइएको थियो । त्यही प्रतिवेदन पनि हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले लागु गर्नुहुन्न । कसैले आशा पनि नगरे हुन्छ । उहाँलाई मैले जे गर्छु त्यही राम्रो भन्ने छ । सल्लाहकारहरूले पनि त्यही लाइदिएका छन् । कुनै समायोजन गर्ने, सबैलाई सन्तुलित गर्ने, सबैलाई मिलाएर लाने भन्ने कुरा हाम्रो प्रधनमन्त्रीज्यूको डिक्सनरीमै छैन । मिलाएर लानुपर्छ, आफूले छोड्न पनि तयार हुनुपर्छ अथवा म गार्जियन हुँ, मैले सबैको चिन्ता गर्नुपर्छ भन्ने कुरा त उहाँमा छँदै छैन नि ।
के कुरा के आधारमा भन्दै हुनुहुन्छ ?
यत्रो संकट छ । तर कुनै सामूहिक छलफल हुँदैन । पार्टीमा यत्तिका धेरै अर्थशास्त्रीहरू छन् । नयाँ युवाहरू पनि छन् । विकसित देशबाट टप गरेर आएका अर्थशास्त्री–म्यानेजरहरू छन् । कहीँकसैसँग सल्लाह लिइँदैन । त्यो आफ्नो सीमित घेरा छ ।
डा. खतिवडा त उहाँका प्रिय अर्थशास्त्री होइनन् र, पार्टीकै मान्छे ?
ल भन्नु त, उहाँ एक मान्छेलाई कतिवटा मौका दिने ? उहाँले गरेको योगदान के हो ? राष्ट्रिय अर्थतन्त्रमा के विचित्र कुरा ल्याउनुभयो ? समाजवाद उन्मुख नीतिबारे के अवधारण अघि सार्नुभयो ? रुटिन वर्क त सचिवले नै चलाउँछन् । यदि खतिवडाकै स्टाइलमा जाने हो भने अर्थमन्त्री ल्याउनुपर्दैन । गरिबहरूले खान नपाउँदा, संकट समाधान गर्न नसक्दा पो मान्छेलाई समाजवादको सम्झना आउँछ । उहाँले समाजवादलाई फाइदा पुग्नेगरी के चाहिँ गर्नुभयो त ? यहाँ त न क्याबिनेटमा समाजवादबारे छलफल छ, न संसदीय दलमा यसबारे छलफल छ, पार्टी कमिटीमा यसबारे छलफल छ । अहिले देशको मात्र होइन, सिंगो संसारको अर्थतन्त्र अप्रेसन गर्नुपर्ने अवस्थामा छ । यसबारे खोइ छलफल भएको ? त्यसो भएकाले हाम्रा प्रधामन्त्रीले यो सरकार गतिलो गरी चलाउनुहुन्न । उहाँले फरक विचारको समायोजन गर्नुहुन्न । उहाँको कुनै कार्यशैलिमा सुधार आउँदैन ।
विकल्प के त ?
विकल्प भनेकै उहाँलाई फेर्नुपर्छ ।
तुरुन्तै कि कहिलेसम्म ?
त्यो त नेताहरूले जान्ने कुरा हो । त्यहाँसम्म हाम्रो हैसियत छैन । तर, यथार्थ के हो भने उहाँलाई प्रधानमन्त्रीका रूपमा कायम राखेर यो राष्ट्र एक इन्च अगाडि जाँदैजाँदैन । यो भनेबापत गोली खानुपर्छ भने मलाई गोली हाने हुन्छ । तर, यथार्थ यही हो ।
उहाँको सकारात्मक पक्षचाहिँ छैन त ?
छ, किन नहुनु । उहाँ दृढ अडान भएको मान्छे हो । मेरो बाको साथी हो । मैले अंकल नै भन्छु । जेल परेर संघर्षका साथ आउनुभएको मान्छे हो । तर त्यो सबै कुराको नकारात्मक प्रयोग भयो । दृढ अडान त शत्रुका विरुद्ध हो नि । आफ्ना साथीका विरुद्ध हो ? अनि प्रधानमन्त्री जुवा खेल्न दिएको हो कि देश राम्रोसँग चलाउन दिएको हो ? भ्रष्टाचार भएको छ तर छानबिन गर्छु नि भन्नुहुन्न । भएकै छैन भन्नुहुन्छ । सत्ता भनेको आफ्नो टिमभित्र मिलाएर लिएर जाने हो भन्ने कुरा उहाँको डिक्सनरीमा छैन । एकलौटी ढंगले निरंकुशतातिर बढेको सत्ता हो । योभन्दा सम्माननीय प्रधानमन्त्रीज्यू रिसाउनुहुन्छ होला । उहाँका समर्थकहरू मविरुद्ध खनिन्छन् होला । तर यो देशमा आफ्नो जवानी सिध्याएर एउटा परिपक्व उमेरमा आइसकेको मान्छे, कुनै लोभलालच छैन । फेरि मैले भनिसकेको छु कि यो सरकारबाट व्यक्तिगत रूपमा केही आशा अपेक्षा गरेको छैन । तर म के निष्कर्षमा पुगे भने कुनै पनि कुरा मिलाएर लैजाऔं भन्ने उहाँले सोच्दै सोच्नुहुन्न ।
उहाँको कार्यशैली यस्तो हुनुमा दोष कसलाई जान्छ ?
यसमा उहाँ र उहाँको झुण्ड दुवैथरीलाई दोषी देख्छु म । किनभने यस्तो पनि हुन्छ ?
यस्तो भनेको कस्तो ?
मैले दुईतीनपटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटें । सञ्चार क्षेत्रको समस्या राखें । अर्थतन्त्रमा यसरी जानुपर्छ भनें । भेट्न यति गाह्रो छ कि उहाँ नजिकका पिएहरूले हाम्रो फोन पनि उठाउँदैनन् । के हामी फोन नै उठाउनुनपर्ने मान्छे हौं ? बरु, हिजो गिरिजाको सरकार हुँदा बजेट कस्तो बनाउने होला भनेर पत्राचार गरेर सुझाव माग्न बोलाउनुहुन्थ्यो । सम्मानसाथ बोलाउनुहुन्थ्यो, हामी गएर राय दिन्थ्यौं । रामशरण महतजीले धेरैचोटि बोलाउनुभाएको थियो । एमालेले पठाएर होइन, व्यक्तिगत हिसाबले । अहिले हाम्रो त्यति नि हैसियत छैन कि हामी निःशुल्क राय दिऔं ? कसैलाई पनि नगन्ने, नटेर्ने भनेपछि त त्यसको जिम्मा उहाँले नै लिनुप¥यो नि । मैले यो भनेबापत मविरुद्ध के–के हुन्छ, मलाई थाहा छ । तर गलतलाई गलत नै भन्नुप¥यो नि कम्युनिस्ट कार्यकर्ताले । उहाँबाट चल्दैन र हुँदै हुँदैन । यो तरिकाले देश खाल्टोमा जानेबाहेक अरू हुँदैन । यो सरासर तानशाही तरिका भो ।
मन्त्रिमण्डल हेरफेरबारे के भन्नुहुन्छ ?
समस्या प्रधामन्त्रीमा छ । कार्यशैली उहाँले बदल्नुपर्छ । तर कार्यशैली नबदल्ने हो भने दुइ चार थान मन्त्री फेरेर मात्र केही परिवर्तन हुन्न ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply