यस्तो लज्जास्पद हार व्यहोर्दा पनि कांग्रेसले नचेत्ने ?
अर्जुननरसिंह केसी नेता, नेपाली कांग्रेसनेपाली कांग्रेसको आसन्न महाधिवेशनमा दर्जनजति आकांक्षी दौडमा रहेको देखिन्छ, तपाईं पनि त्यो दौडमा हो ?
म पनि सभापति पदको उम्मेदवार हुँ । आकांक्षा गर्नु स्वाभाविक कुरा हो । नेपाल कांग्रेसमा हैसियत पुगेका र विधानले अनुमति दिएका व्यक्तिहरूले नेतृत्वमा आउन आकांक्षा लिनुलाई म अस्वाभाविक मान्दिनँ ।
तपाईंको मूल मुद्दा के हो त ?
अहिले नेपाली कांग्रेसभित्र नेतृत्वगत र संरचनागत व्यापक परिवर्तन र सुधार गर्दै एउटा जीवन्त र क्रियाशील नयाँ कांग्रेस निर्माण गर्न वैचारिक पुनर्जागरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । पार्टी अहिले जुन परम्परागत शैल र स्वेच्छाचारी मनोवृत्तिबाट सञ्चालन भइरहेको छ, त्यसलाई तोड्दै नेताप्रधान होइन, नीतिप्रधान व्यक्तिप्रधान होइन, विधिप्रधान, खुला र पारदर्शीका साथै संस्थागत संरचनासहित अगाडि बढ्ने अभियान हाम्रो सबैभन्दा ठूलो अभियान हो ।
त्यसो भए तपाईंले यस एजेन्डासहित अरूलाई छाड्ने सम्भावना छैन ?
म आफैं पनि यी एजेन्डासहित उम्मेदवार हुँदाहुँदै पनि यो वैचारिक दृष्टिकोणले समानता राख्ने साथीहरूबीचमा हाम्रो सहमतिपुर्ण एउटा निष्कर्ष निकाल्नुपर्छ । कांग्रेसभित्र अहिले त्यत्रो लज्जास्पद हारपछि प्रमुख प्रतिपक्षका रूपबाट जुन ढंगको भूमिका गर्नुपर्ने हो त्यो भूमिका फिटिक्कै पाइएन । सरकारसँग सौदाबाजी गर्ने र हुँदाहुँदा हामीलाई भाइ कम्युनिस्ट भन्न थालिसके । हिजोसम्म राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेको कांग्रेस अहिले सरकारले राखेको विचार र दृष्टिकोणको पिछलग्गु बनेको जस्तै थिति देखिएको छ । त्यो थितिबाट पुनर्जागृत हुँदै त्यो बासी बानी, व्यवहार, स्वेच्छाचारिता र अलोकतान्त्रिक पद्धतिबाट पार्टीलाई मुक्त गराएर नयाँ सुधारको बाटोमा लैजाने काम गर्नुपर्छ । यत्रो लज्जास्पद हारपछि पनि यही यथास्थितिबाट पार्टी चल्छ भन्ने र यसका सुधारका पक्षधरबीचको द्वन्द्व हो । हामी सुधारका पक्षधरहरू एक ठाउँमा उभिएर निर्णय गर्नुपर्छ भन्ने मेरो प्रयत्न हो । त्यसका लागि म निरन्तर लाग्नेछु । विगतमा हरेक हारपछि हामीले कांग्रेसलाई पहिलो पार्टीका रूपमा स्थापित गरेका छौं, त्यसगरी २०७९ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा स्थापित गर्न सकिन्छ । पात्र मात्र परिवर्तन गरेर केही हुँदैन । प्रवृत्ति परिवर्तन हुनुप¥यो । अहिले वैचारिक नेतृत्वको आवश्यकता हो । हामी त्यतातिरै उन्मुख छौं ।
भनेपछि आफू हुनु र नहुनुभन्दा पनि नेतृत्वको प्रवृत्ति परिवर्तन हुनुपर्छ भन्ने तपाईंको भनाइ हो ?
प्रवृत्ति परिवर्तन र पार्टीलाई नयाँ ढंग र दृष्टिकोण राखेर सामूहिक नेतृत्वबाट हामी अघि बढौं, त्यो सहमतिको प्रयत्नमा म छु । नभए म सभापतिको उम्मेदवार हुँ ।
अहिलेका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा दोहोरिने इच्छाले बाँकी मनोनयन र नियुक्तिहरू एकलौटी ढंगले गरिरहनु भएको छ, शक्ति प्रयोग गरिरहेकाले तपाईंहरू यसमा निरीह हुनुहुन्छ, पराजित गर्न सक्नुहुन्न भन्छन् नि ?
उहाँले स्वेच्छाचारिता र विधिविहीनताको पराकाष्ठा नाघ्नुभएको छ । हाम्रो विधानमा महाधिवेशनको ६ महिना भित्र विभागहरू गठन गरिसक्नुपर्ने स्पष्ट प्रावधान छ । त्यस्तै चार वर्षभित्र अधिवेशन गर्ने विधानको स्पष्ट व्यवस्था हुँदाहुँदै लगातार हामी त्यसमा लाग्दालाग्दै चार वर्षसम्म त्यसमा सोच्न सम्म पनि सोचिएन । चार वर्ष सकिएपछि अचानक विधानको असामान्य परिस्थिति लगाइयो । असामान्य परिस्थिति के थियो भन्ने कुनै प्रामाणिक आधार छैन । तैपनि एक वर्ष बढाइयो । बढाएको मितिमा महाधिवेशन घोषित गरिसकेपछि जसरी अहिलेको विभागहरू गठन गरिएको छ, त्यो विधानविपरीत छ । साढे तीन वर्षभित्रै सुशील कोइरालाले त्यस्तो विभग गठन गर्दा स्वयं वर्तमान सभापतिजीले विघटन गर्न बाध्य गराइएको जुन स्थिति थियो, त्यसलाई पनि सभापतिले सम्झनु बेस हुन्छ ।
तपाईंलाई अस्थिर र गुट फेरिरहने व्यक्तिको रूपमा आरोप लगाउँछन् नि ?
त्यस्ता कुरा छाड्दिनुस् । टिममा अहिले हामीसँग भएका साथीहरू पनि कोही शेरबहादुरसँग थिए । एउटै पार्टीभित्र पार्टीभित्रका वैचारिक दृष्टिकोणले कहिले कोसँग समानता होला, कहिले कोसँग मतभेद होला । त्यो वस्तुगत र परिस्थितिगत बाध्यतामा पार्टीभित्र एउटै झन्डामुनि कसले कतातिर सहयोग र असहयोग ग¥यो भन्ने कुरा ताŒिवक रूपमा महŒवपूर्ण हुँदैन ।
संस्थापनइतरहरू एकताबद्ध भएर एउटै उम्मेदवारका साथ जानुपर्छ र देउवाजीलाई हराउनुपर्छ भन्ने तपाँइको भनाइ हो ?
हो, त्यसरी जानुपर्छ र त्यो प्रयत्नमा म निरन्तर रूपले लागेको छु ।
त्यसो हुँदा आफू सभापति नै हुनुपर्छ भन्ने माग तपाईंको छैन ?
सहमतिको बिन्दुमा जे गर्दा पनि हामी तयार हुनुपर्छ । हामी सुधारवादी पक्षधरहरू जोजो छौं, हामीबीच सहमति गरौं र सहमतिमा जे अवस्था हुन्छ, त्यहीअनुसार अघि बढौं, यदि हाम्रो बीचमा सहमति हुन सक्दैन भने हामी सबै केन्द्रीय स्तरमा केन्द्रीय समितिमा बसेर निर्देशक मण्डलका रूपमा रहेर सम्पूर्ण युवाहरूको जमातलाई पनि प्रथमिकतासाथ अगाडि बढाउन सकिन्छ । त्यसमा मूल कुरा सामूहिक नेतृत्व र निश्चित उद्देश्य अर्थात् मिसन स्पष्ट हुनुपर्छ । अहिले हामी सबैले एउटा स्वार्थविहीन संकल्प यो राखौं कि पार्टीलाई २०७९ मा पहिलो पार्टी बनाऔं ।
यो पाराको काम गराई हेर्दा फागुनमा महाधिवेशन सम्भव देख्नुहुन्छ त ?
नगर्ने मनशाय अभिप्रेरित देखिन्छ । तर, तोकिएको मितिमै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो दृढ धारणा छ ।
त्यसो भएन भने के विकल्प छ ?
तोकिएको मितिमा हुन सक्दैन भने पुरानै महाधिवेशन प्रतिनिधिहरूका बीचबाट निर्वाचन गरेर त्यो कमिटीले दुई वर्षभित्र विधिवत् रूपले महाधिवेशन गर्ने तयारीतिर लाग्नुपर्छ । अन्यथा, सबैतिर मनोमानी गर्न थाल्ने हो भने त्यसले पार्टीलाई विगठनतिर लैजान्छ ।
पुरानो महाधिवेशनपछि विजय गच्छदार, सुनील थापाहरू पनि समेटिएका छन् नि ?
गच्छदारजीका पनि कतिपय साथीहरू महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकै छन् । उहाँको केस भनेको पार्टी नै मर्ज हो भने अरू साथीहरू केही व्यक्ति र समूहगत रूपले प्रवेश गरेका हुन् । उनीहरूलाई पनि राष्ट्रिय पहिचानअनुसार सहमतिसाथ अहिलेलाई हैसियत दिनेबारे सोच्न सकिन्छ । तर, अहिले जसरी पार्टीले जुनसुकै व्यक्ति जहाँबाट आएको भए पनि हजारौं रूपबाट सक्रिय सदस्यता दिएर पठाउने र धाँधली गर्ने मनशायपूर्ण परिस्थिति देखिएको छ, त्यो गलत हो ।
देउवाजीले फेरि म्याद थप्दै जाने हो भने पुनर्निर्वाचित हुनुप¥यो ?
म्याद थप्दै जाने मात्र होइन, विभिन्न किसिमका अफ्ठ्याराहरू सिर्जना गर्ने र महाधिवेशन पर सार्ने खालका परिस्थिति देखियो भने विशेष महाधिवेशनको व्यवस्था गरेर त्यसबाट अस्थायी नेतृत्वको व्यवस्थापन पुरानो महाधिवेशन प्रतिनिधिले नै गर्नुपर्छ ।
कांग्रेसमा पनि युवा नेतृत्वको जमात पुस्तान्तरणको आवाज उठाइरहेको छ तर तपाईं बूढा पंक्तिले नै ओगट्ने छाँट देखाउनुभयो त ?
नेपाली कांग्रेसमा युवा पुस्ताको शसक्तता आवश्यकता छ । उहाँहरू विभिन्न ओहोदा र हैसियतमा हुनुहुन्छ पनि । उहाँहरूले पाउनुपर्ने सम्मान अहिले पनि पाउनुभएको छ । पुस्तान्तरण भनेको प्राकृतिक र स्वाभाविक हो । घरकै पनि परिवारको मुलीपछि दोस्रोले बिस्तारै सम्हाल्छ । त्यसकारण, पुस्तान्तरण स्वाभाविक हो र समयअनुसार आफैं परिवर्तन हुने कुरा हो भन्छु म । मूल देखिएका समस्या भनेको पुस्तान्तरणभन्दा पनि पुस्ता अन्तरालको समस्या हो । यो हाम्रो पार्टीमा मात्र होइन अन्त पनि छ ।
यो भनेको के हो ?
यसलाई हामी जेनेरेसन ग्याप पनि भन्छौं । अहिले आएका शसक्त युवाहरूका सोच, दृष्टिकोण, उनीहरूका आकांक्षा, उनीहरूका कार्यशैली र उनीहरूको सशक्ततालाई संयोजन गरेर लैजान सक्ने नेतृत्व आवश्यक छ । उमेर होइन, सबै उमेरका बीचको संयोजन र समावेशिता नै अहिलेको आवश्यकता हो । उमेरले मात्रै पनि नेतृत्व गर्ने होइन भन्ने कुरामा म दृढ छु । उनीहरूलाई मूलधारमा समावेश गर्नकै निम्ति पुरानै महाधिवेशनले नै गर्न पर्ने स्थिति आयो भने पनि एक दुई वर्षभित्र विधिवत् महाधिवेशन गर्ने गरेर विशेष महाधिवेशनद्वारा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो ।
कांग्रेसमा पारिवारिक लिगेसीको नेतृत्व स्थापित हुँदै आइरहेकोमा यसपटक पनि त्यही विरासत थाम्छौं भनेको स्थिति छ भने अर्कातर्फ रामचन्द्र पौडेलले पनि यो पटकको मनै हकदार हो भनिरहनुभएको छ, यसमा तपाईंको के भनाइ छ ?
हकदारीको दाबी गर्ने कुरा आ आफ्नो हो । जस्तो मैले पनि दावी गरिरहेको छु । तर म वंश, विरासत र व्यक्तिभन्दा विचार ठूलो हो । त्यसैलाई केन्द्रित गरेर नेपाली कांग्रेसको वैचारिक पुनर्जागरण र लोकतान्त्रीकरणको प्रक्रियामा सशक्तताका साथ अगाडि बढ्न अहिले सबैका बीचको संयोजन आवश्यकता छ भन्ने मेरो विचार हो ।
तपाईंले संसद्को विशेष अधिवेशन बोलाउन प्रमुख प्रतिपक्षले पहल गर्नुपर्छ भन्नुभयो नि यो कोरोनाको बेलामा ?
भारत र बेलायतमा कोभिड महामारीका बीचमा पनि संसद् चलि नै रहेको छ । अमेरिकामा राष्ट्रपतिको चुनावको तयारी सशक्तका साथ भइरहेको छ । दक्षिण कोरियामा यही महामारीका बीचमा निर्वाचन भयो । जापानमा प्रधानमन्त्रीको परिवर्तनदेखि संसारका विभिन्न भागमा सामान्य ढंगले प्रक्रिया अघि बढिरहेको छ । तर, यो देश ६ महिना अघिदेखि कोभिड १९ को महामारीले आक्रान्त छ । जीवन–मरणका बीचमा नेपाली जनता छन् । आत्महत्या र अकाल मुत्युका साथै भोकभोकै मर्नेको संख्या दिनदिनै बढिरहेका छन् । अस्पताल र त्यसमा भेन्टिलेटर नपाएर मर्नेदेखि यो बीचमा ८० जना सुत्केरी उपचार नपाएर मरेको स्थिति छ ।
यस्तो बेला प्रकृतिक प्रकोपको वितण्डाले झन्डै ३ सयजना मान्छेको ज्यान गइसकेको छ । हजारौंजना अंगभंग भएका छन् । हजारौं उपचारमा छन् । दसौं हजार भौकभोकै छन् । तर, यहीबेला देशमा व्याप्त भ्रष्टाचार छ । वाइड बडी, न्यारो बडी, ३३ केजी सुन, ओम्नी, यती प्रकरणदेखि सेक्युरिटी प्रिन्ट सम्मको काण्डले मुलुक थिलथिलो छ । त्यति मात्र होइन, जीवन मरणका दोसाँधमा रहेका नेपाली जनताको औषधोपचार खरिद बिक्रीमा पनि उस्तै भ्रष्टाचार भएको सुनिन्छ । अनियमितता, विधिविहीनता, मनपरी नियुक्तिलगायत सबै कुराको सशक्त प्रतिरोध गर्न नेपाली कांग्रेस प्रतिपक्षको नाताले लाग्नुप¥यो नि । तसर्थ, कांग्रेसले यिनै कुराहरूलाई ध्यामा राखेर केन्द्रीय कार्यसमित बोलाएर छलफल गर्नुप¥यो नि ।
संसदीय दल सक्रिय भएर दलका नेताले निर्णय गरेर संसद् बोलाउनेलगायत अन्य विपक्षीहरूसँग जोडिएर यो एजेन्डा उठाउनुपर्दैन ?
यसका लागि तत्काल विशेष अधिवेशन बोलाउन पहल गर्नुपर्छ भन्ने मेरो माग हो । मैले पदाधिकारीहरूलाई पनि भनेको छु । अहिले केन्द्रीय समितिको बैठक पनि बसेको छैन । म अघि सरौं भने संसद्मा छैन । तर, पार्टी अघि सरेर तत्काल संसदको विशेष अधिवेशन डाकेर यी समग्र विषयमा छलफल गर्नुपर्छ । किनकि, संसद् भनेको जनताको हरेक विषय छलफल गर्ने महŒवपूर्ण निकाय हो । यो बेला प्रतिपक्ष मूकदर्शक भएर बस्नु दुःखद हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply