कम्युनिस्ट असफल भएपछि हामी ठूलो हुन्छौं भन्ने मनोदशामा छ कांग्रेस
गुरुराज घिमिरे नेता, नेपाली कांग्रेस ० अहिलेको नेपाली कांग्रेसको भूमिकाको समीक्षा कसरी गर्नुभएको छ ?
स्थानीय, प्रदेश र संघको निर्वाचनपछि नेपाली कांग्रेस गम्भीर समीक्षा गर्नुपर्ने कालखण्डमा आइपुगेको छ । हामीले नेतृत्व गरेको २०६२–६३ को ऐतिहासिक जनआन्दोलन मुलुकमा एक खालको ऐतिहासिक र युगान्तकारी परिवर्तन प्राप्त गर्न त सफल भयो तर त्यो परिवर्तनपछि दुई–दुईपटक संविधानसभाको निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भयो । यद्यपि, पहिलो र दोस्रो दुवै संविधानसभाले संविधान निर्माणका सन्दर्भमा धेरै काम गरे । दोस्रो संविधानसभा त लोकतान्त्रिक संविधान जारी गर्न सफल नै भयो । त्यसले हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ र सँगसँगै भएको निर्वाचनले त्यसलाई कार्यान्वयन पनि गरेको छ ।
संविधान जलाएका तराईकेन्द्रित दल पनि अहिले सरकारमा सहभागी भएका छन् । त्यति मात्र होइन, केही गुनासा राख्दै भए पनि उनीहरू हरेक निर्वाचनमा समेत सहभागी भए । यो संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो । अहिले मुलुकमा दुई तिहाइनजिकको कम्युनिस्ट नेतृत्वको सरकार छ । र, त्यहाँ संघीय समाजवादी फोरम पनि सहभागी छ । अनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसद्भित्र र बाहिर रहेको छ ।
० कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि शक्तिशाली प्रतिपक्षी हुन सकेन भन्ने छ नि ?
हो, नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दल हो । तर, यसका सांगठनिक अवयवहरूलाई जुन ढंगले गतिशील बनाउनुपर्ने हो, त्यो गर्न सकिएको छैन । त्यो सत्य हो । यसलाई सुधार गर्नुको अर्को विकल्प पनि कांग्रेससँग छैन ।
० भनेपछि कांग्रेस कमजोर भएका कारण पनि संसद र बाहिर प्रतिपक्षीको भूमिका बलियो हुन नसकेको हो ?
अहिले कांग्रेस तीनवटै निर्वाचनपछि जसरी कमजोर अवस्थामा आएको छ । त्यसलाई मैले अवसरका रूपमा पनि हेरेको छु । कांग्रेसले यसलाई अवसरका रूपमा हेरेर आफूलाई सुधार गर्दै अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । मैले बेलाबेलामा आफ्ना धारणा राख्दा पनि यो कांग्रेसको पोजिसनप्रति खुसी पनि व्यक्त गर्ने गरेको छु । हामीलाई नियतिले वा परिस्थितिले ठूलो अवसर दिएको छ । हामीलाई आन्तरिक रूपमा सुध्रिन र जनतासँगको सम्बन्धलाई बलियो बनाउन अवसरसमेत दिएको छ ।
त्यति मात्र होइन हाम्रो नेतृत्वमा भएका उपलब्धिहरूलाई समीक्षा गर्न र जनतालाई बताउन पनि एउटा ठूलो अवसर प्राप्त भएको छ । यो अवसरले हामीलाई जनतासँग समधुर सम्वन्ध स्थापित गर्न पनि अवसर दिएको छ । हामीलाई जनताका बीचमा जान योभन्दा ठूला अवसर कहिल्यै प्राप्त भएको थिएन । हामी अहिले सत्ताको केन्द्रभन्दा बाहिर छौं । हामीलाई अहिले सत्ताको केन्द्रले अलमल्याउने अवस्था छैन । त्यसैले जनताका बीचमा जान ठूलो राजमार्ग बनेको छ । हामी विगतमा लामो सयम सत्तामा रहँदा सिंहदरबारभित्रै अलमलियौं । जनतासँगको सम्बन्ध हाम्रो कमजोर भयो । म फेरि पनि भन्छु– अहिले हामीलाई इतिहासले जनतासँग जान ठूलो अवसर दिएको छ । यो अवसरलाई हामीले सदुपयोग गर्नुपर्छ । योबेला हामीले पार्टीका अवयवहरूलाई सक्रिय बनाउने, व्यवस्थित बनाउने र जनताका बीचमा जाने गर्न सकेनौं भने भविष्यमा पनि हामी कमजोर बन्नेछौं ।
० तपाईंले निकै आशावादी कुरा गर्नुभयो । तर, कांग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने त हराएकै अवस्था छ नि ?
हो, अहिले हाम्रो भूमिका जनअपेक्षामुताबिक अघि बढ्न सकेको छैन । मैले अघि पनि भने सदनभित्र र बाहिर दुवैको भूमिका प्रभावकारी हुन सकेको छैन । सरकारले गरेको गतिविधिलाई एउटा विज्ञप्ति जारी गरेर वा सानेपामा पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएर मात्रै पुग्दैन । अहिले कांग्रेस प्रतिक्रियात्मक मात्रै भएको छ । पत्रकार सम्मेलन गरेर विज्ञप्ति जारी गर्दैमा जनताप्रतिको दायित्व पूरा हुँदैन ।
सरकारले गरेका कामलाई केस्रा–केस्रा केलाएर जनताको अहितमा देखिएका कामबारे जमेर सदनभित्र र बाहिर मुकाबिला गर्नुपर्ने अहिलेको आवश्यकता वा दायित्व हो । तर, हाम्रो पार्टी सदनमा सत्तारूढ दलले ल्याएको नीति र कार्यक्रमलाई समर्थन गर्छ । ऐनहरू सर्वसहमतिबाट पारित गर्छ । यसलाई संस्कार पनि भनिएला । तर, यो विश्वमा कहीँ पनि हुँदैन । सत्तापक्षले एक अक्षर पनि कमीकमजोरी नभएको नीति र कार्यक्रम ल्याउँदैन । त्यहाँ प्रतिपक्षीले खबरदारी गर्नुपर्ने हुन्छ । तर, यो भूमिकामा कांग्रेस कमजोर देखियो ।
गत वर्षको नीति तथा कार्यक्रमलाई कांग्रेसले ६ महिनासम्म चुपचाप बसेर समर्थन गरेको विगत छ । यो प्रतिपक्षीको भूमिका होइन, भन्नका लागि संस्कार भनिएला, तर प्रतिपक्षी कमजोर भएको सन्देश हो त्यो । राष्ट्रको हितमा भएका सकारात्मक कामको मुक्तकण्ठले खुलेर समर्थन गर्ने र राष्ट्रको अहितमा भएका कामको खुलेर विरोध गर्नुपर्ने हो । तर, अहँ त्यो देखिएन । हाम्रै पार्टीले यो सरकारले उत्तीणांक प्राप्त ग¥यो भनेर भनेको छ । त्यो भनेको त सरकार सफल भयो भनेको हो नि ? सफल भयो भनेपछि विरोध किन गर्ने ? त्यसैले नेपाली कांग्रेस अहिले विपक्षीको भूमिकामा सदन भित्र र बाहिर एकदमै कमजोर देखिएको छ ।
० कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा खरो गरी उत्रिन सकेन, होइन ?
बिल्कुल, म निसंकोच भन्न चाहन्छु । अहिले पनि हाम्रो पार्टीका नेताहरूका सत्ताको ह्याङओभर हट्न सकेको छैन । अगाडिपछाडि सलाम गर्ने गार्डहरू पनि छन् । अघिपछि दगुर्ने बत्तीवाला गाडी पनि छन् । कार्यक्रममा जादाँ २÷४ सय मानिस भेला पनि भइरहेकै छन् । दैनिक सय–दुई सय मानिस पनि भेट्न आएकै छन् । कहिलेकाहीँ प्रधानमन्त्रीसँग भेट पनि भएकै छ । सदनमा जाँदा विपक्षी दलले बस्ने आशन पनि प्राप्त भएकै छ । पार्टीका पदहरू पनि छन् । यसरी हेर्दा अहिले हाम्रो पार्टी निद्रामा त नभनौं ठूलो तन्द्रामा छ ।
स्थानीय तहमा हाम्रो बहुमत छैन । सत्तामा हामी छैनौं । प्रदेश पनि हाम्रो पक्षमा छैन भन्ने कुराको हेक्का हाम्रो पार्टीले गर्न सकेको छैन । जनआन्दोलनको नेतृत्व गर्ने दल यसरी कमजोर भएको छ भन्नेसमेत हेक्का हाम्रो पार्टीलाई भएको छैन । आकारमा अनपेक्षित रूपमा खुम्चिँदा नि सत्ताको ह््याङओभरबाट मुक्त नहुनु दुःखको कुरा हो । कांग्रेसले धरातलीय यथार्थलाई बुझ्नुपर्छ । यो सबैलाई हेक्का राखेर कांग्रेसले समीक्षा होइन, गम्भीर आत्मासमीक्षा गर्नुपर्छ । कमजोरी कहाँनेर भयो, गल्ती के कारणले भयो भनेर समीक्षा गर्नुपर्छ । जनताको चित्त कहाँनेर दुख्यो, जनता किन असन्तुष्ट भए, जनताले किन हामीलाई मत दिएन भनेर पनि समीक्षा गर्नुपर्छ । हामी समानुपातिकमा राम्रो छौं भनेर त्यो देखाएर हुँदैन । हामीले प्रत्यक्षमा त हारेका हौं नि ? हो कम्युनिस्टहरूको गठबन्धनले गर्दा हामीले हा¥यौं, त्योसँगै हाम्रो आन्तरिक कमजोरीले पनि त हारेका हौं नि ? यो पनि समीक्षा गर्नुपर्छ । हामीले आन्तरिक कमजोरीले पनि हारेका हौं भन्नै नसक्ने हुँदैन । सभापति, वरिष्ठ नेता, पार्टीका नेताहरूले पनि त कमजोरी स्वीकार गर्नुप¥यो नि । कार्यकर्तालाई मूल्यांन गर्न सकेनौं, टिकट वितरणमा कमजोरी ग¥यौं भन्ने कुरा पनि त हामीले ख्याल गर्नुप¥यो नि । एक नेताले अर्को नेतालाई गाली गरेर होइन कमजोरीको समीक्षा गरेर मात्र हामी भविष्यमा कांग्रेसलाई उठाएर हिँडाउन सक्छौं । समाजमा दुई प्रकारका मान्छे हुन्छन् । एउटा चिट्ठा पर्ला र धनी बनौंला भन्ने र अर्को पौरख गरेर धनी हुने । पौरख गर्नेले गरिरहन्छ, ऊ धनी हुन्छ । अर्को चिट्ठा कुरेर बस्छ । कहिल्यै चिट्ठा पर्दैन । ऊ धनी पनि हुँदैन । हो, अहिले कम्युनिस्ट पार्टी अलोकप्रिय बन्ला, कमजोर होला अनि हामी ठूलो हुन्छौं भनेर पर्खिएर बस्ने हो भने कहिल्यै हुँदैन । यो मनोदशालाई कांग्रेसले हटाएर अघि बढ्नुपर्छ ।
हो, सरकारल जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । सरकार अलमलिएको छ । प्रधानमन्त्रीको दम्भले उन्मादले सरकार अलमलिएको छ । त्योभन्दा बढी विपक्षी अलमलिएको छ । यसमा सुधारको खाँचो छ । हामीले पार्टीभित्रको एकतालाई सुदृढ बनाएर अघि नबढ्ने हो भने समस्या छ । कुनकुन नेताबाट कहाँ–कहाँ कमजोरी भयो त्यो सच्याएर अघि बढ्नुपर्छ । पार्टीको अहिलेको आवश्यकता भनेको नै पार्टीभित्रको एकता हो ।
० कांग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई नै चुनौती दिएर भेला गरे । यसलाई कसरी लिनुभएको छ ?
भेला गर्ने आधार नेताहरूले प्रदान गरेका हुन् । किनभने महासमिति बैठकको समापनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति दुवैले बैठकमा उठेका कुरालाई सम्बोधन गर्छौं भनेर भन्नुभयो । नसक्ने कुरा गर्छौं भनेर उहाँहरूले भनेकै कारण यस्तो भएको हो । पूरा गर्न नसक्ने कुरा नेतृत्वले बोल्नुहुँदैन । कमजोरी त्यहाँ भएको हो । बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाबाबुहरू भएको भए त्यसो भन्नुहुने थिएन । यो नेतृत्वको कमजोरी हो । नेतृत्वले नै भेला गर्ने आधार प्रदान गर्नुभएको हो ।
० पछिल्लो समय कोइराला परिवार एकजुट हुन छलफल निरन्तर जारी राखेको समाचार आएका छन् । आगामी महाधिवेशनको तयारीका रूपमा पनि कतिले चर्चा गरेका छन्, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
कोइराला परिवार लोकतान्त्रिक आन्दोलनका धरोहर हुन् । उनीहरू नेपाली कांग्रेसका संस्थापक हुन् । बीपी नहुनुभएको भए हामी परिकल्पना गरौं, नेपालको राजनीतिक इतिहास कस्तो लेखिन्थ्यो होला । अहिले उहाँहरूले जुन खालको छलफल गर्नुभएको भन्ने चर्चा छ, त्यसलाई अन्यथा मान्नुपर्ने कारण छैन । उहाँहरूमध्ये कसैले नेतृत्व लिने कुरा स्वीकार भए लिनुहुन्छ । उहाँहरू सबै मिलेर कसैलाई समर्थन पनि गर्न सक्नुहुन्छ । पार्टीमा कोइरालाहरूको आवश्यकता हो कि होइन ? त्यो विषयमा पनि छलफल भइरहको छ । यसलाई अन्यथा मान्नुपर्ने कारण छैन ।
One response to “कम्युनिस्ट असफल भएपछि हामी ठूलो हुन्छौं भन्ने मनोदशामा छ कांग्रेस”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
मल्टीपार्टी सिष्टममा कुनैपनि दल असफल हुनु हुँदैन, व्यक्ति असफल हुनु भनेको त गौण कुरो हो !