गुट चलाउने कुराले कसैले हित गर्दैन
यज्ञराज सुनुवार, सांसद एवं युवा नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)० पछिल्लोपटक राजनीतिकवृत्तमा पार्टीमा ‘सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने बहस सुरु भएको छ, के भन्नुहुन्छ ?
खासमा तपाईंले कुन सन्दर्भमा यस्तो भन्न खोज्नुभएको हो । तर स्वाभविक रूपमा कम्युनिस्ट पार्टीहरूले नै पार्टीको सरकार चलाउने गर्छ ।
० तर पार्टी सचिवालयको बैंठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि पठाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो निर्णय लत्याइदिनुभएको छ त ?
सम्माननीय प्रधानमन्त्रीज्यू यतिखेर उपचारका क्रममा हुनुहुन्छ । यतिखेर राष्ट्रियसभामा को जाने भन्ने कुराको सन्दर्भमा निर्णय नै भएको छैन । मन्त्रिपरिषद्ले गर्ने निर्णयका सन्दर्भमा त निर्णय आइसकेको छैन । त्यसो भएकाले सचिवालयले कुन तहमा कुन ढंगले छलफल भएको छ, त्यसबारेमा तल सर्कुलर आइनसकेकाले स्वाभाविक रूपमा पार्टी अध्यक्ष हाम्रो पार्टीमा दुईजना हुनुहुन्छ । त्यसरी हेर्दा पार्टी र सरकारबीचको आपसी सम्बन्धमा फाटो त्यतिबेला हुन्छ, जतिबेला पार्टी अध्यक्ष एउटा र सरकार प्रमुख अर्को हुन्छन् । स्वयं प्रधानमन्त्री पनि पार्टी अध्यक्ष भएकाले पार्टीमा व्यापक छलफल भएर निष्कर्ष निकालेको कुरामा अहिले नै कार्यान्वयन भएन, भयो वा सरकारले मानेन भन्ने कोणबाट जानुहुन्न । कार्यान्वयन हुुन बाँकी नै रहेको परिस्थिति छ । कुन स्तरमा छलफल भएको हो र निर्णय भएको हो भन्ने कुरा भोलीका दिनमा आउने नै छ । अहिलेका लागि स्वाभाविक रूपमा पार्टीले गरेका निर्णयहरू सरकारमार्फत कार्यान्वयन गर्ने सँगसँगै सरकारले गरेका राम्रा कामहरूको प्रचार पार्टीले गर्ने नै सरकार र पार्टीबीचको अन्तरसम्बन्धको प्रमुख कडी हो भन्ने लाग्छ ।
० सिद्धान्ततः कुरा त्यस्तो हुनुपर्ने भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकपछि केही नेता बोलाएर आफ्नै अध्यक्षतामा भएको सो निर्णय कार्यान्वयन गर्न नसक्ने प्रस्टीकरण दिइसक्नुभएको छ नि ?
नेताहरूसँगको छलफल र कुराकानी भनेर त्यस ढंगले बाहिर आएपनि पछिल्लो समयमा पार्टी र सरकारको बीचमा कुनै त्यस्तो मिस अन्डर स्ट्यान्डिङ वा असमझदारी छैन भन्ने कोणबाट नै धेरै कुरा आएका छन् । त्यसैले सकारात्मक भएर सोच्नु नै उपयुक्त हुन्छ । कतिपय सन्दर्भमा आ–आफ्ना चाहनाहरू हुन सक्छन् । जुनसुकै समयमा पनि राष्ट्रिय मुद्दाका सन्दर्भमा खासखास विषयमा छलफल हुनु, मत मतान्तर हुनु जीवन्त पार्टीमा स्वाभाविक हो । तर एउटा सकारात्मक पाटो के हो भने यतिबेला नेकपासँग निश्चित गुरुत्तर दायित्वहरू छन् । राष्ट्रिय राजनीतिलाई ठीक दिशामा अगाडि बढाउनेदेखि विकास निर्माणको जुन जनताको चाहना छ, त्यसलाई पूरा गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको जुन दीर्घकालीन राष्ट्रिय अठोट हो, त्यसलाई पूरा गर्न सबैको दायित्व हो ।
० के ती दायित्वहरू पुरा हुन कुनै अवरोध छैनन् त ?
अवश्य पनि छन् । यतिबेला नेकपाभित्र केही स्वार्थ समूह, दबाब समूह हुन सक्छन् । तिनका आ–आफ्नै चाहना र स्वार्थ हुन सक्छन् । तर मेची महाकालीका, हिमाल पहाड र तराई सबैतिरका कार्यकर्ताहरूको एउटै चाहना छ कि यो ऐतिहासिक अवसरलाई उपलव्धिमा टु्ंग्याउँदै आगामी दिनमा देशविकासमा नेकपाको सिंगो नेतृत्व एक ठाउँमा उभियोस् । यो चाहनालाई पूरा गर्नेतर्फ सबै नेतृत्व गम्भीर हुनुपर्छ । व्यापक छलफल गर्ने र छलफल पछि निकालेको निष्कर्ष र निर्णयमा कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्ने, निर्णय पूर्वव्यापक छलफल र निर्णयपछि कार्यान्वयनका लागि एकीकृत ढंगले लाग्ने नेकपाको कार्यशैलीलाई हाम्रो सबै तहमा कार्यान्वयन हुन्छ भन्ने सबैले विश्वास गरेका छन् ।
० पार्टीमा स्वार्थमा रमाउने सानो झुन्डले नेतृत्वलाई बिगारिरहेको हो ?
विभिन्न स्वार्थ र दबाब समूहको विभिन्न स्वार्थ र चाहनाहरू हुन सक्छन् । सँगसँगै प्रतिक्रियावादीहरूको चाहना पनि अनेकन् हुन सक्छन् । तर नेतृत्वले यत्रो चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै जुन सफलता प्राप्त गरेको छ, त्यसको अगुवाइ गरिरहेको छ । त्यही नेतृत्वबाट फरकफरक कुरा तलका कार्यकर्ताहरूलाई अन्योल हुनेगरी आउन हुँदैन भन्ने मेरो विश्वास हो ।
० सरकारको कामको समीक्षा चाँहि कसरी गरिरहनु भएको छ ?
स्वाभाविक रूपमा प्रधानमन्त्रीज्यको जुन प्रकारको हुटहुटी, यो बेला नगरे कहिले गर्ने, यो सरकारले नगरे कसले गर्ने भन्ने जुन तत्परता देखिरहिएको छ, त्यो अत्यन्तै सकारात्मक कुरा हो । जुन कुरा मुलुक र स्वयं नेकपाका लागि पनि अत्यन्त सकारात्मक पक्ष हो । यो गुरुत्तर दायित्वको अनुभूतिसमेत हो भन्ने मलाई लाग्छ । जुन प्रकारको प्रधानमन्त्रीको हुटहुटी छ, विकासप्रतिको चाहना छ, त्यो कुरालाई पूरा गर्नेतर्फ सरकारका संयन्त्रहरू र स्वाभाविक रूपमा प्रधानमन्त्रीज्यूले लिएको दृढ संकल्पललाई पूरा गर्ने सबै खालको राजनीतिक र पार्टीगत संयन्त्र र निजामती तथा सरकार एवं गैरसरकारी निकायका संयन्त्रहरूले यो स्पिरिटमा हिँड्न सक्नुपर्ने थियो । तर कतिपय मामिलामा यस कुरामा ख्याल गर्नुपर्ने पाटो र पक्ष मैले देखेको छु । यसो भनिरहँदा कतिपय सन्दर्भमा स्वार्थ र दबाब समूहहरूका आआफ्ना चाहना र मनोभावना हुन्छन् । र, राजनीतिमा पनि विभिन्न प्रकारका बिचौलियाहरूको जुन प्रकारको चलखेल सबै ठाँउमा देखिइरहेको छ, त्यसबाट तीव्र विकासका चाहना राख्नेहरूले यो पाटो र पक्षलाई ध्यान दिनुपर्छ । जुन कुरामा सम्माननीय प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक चासो र चिन्ता राख्नुभएको होला भन्ने म ठान्छु । यतबेला प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको एउटै स्वर जनता र पार्टी कार्यकर्ताहरूले सुन्न चाहेका छन् ।
० विभिन्न नेताहरूका समीकरण र बैठकपछि एकाएक वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री बन्न अनुकूल हुनुेगरी संविधान संशोधन गर्नेसमेत कुरा आयो, एउटा व्यक्तिका चाहना पूरा गर्नकै लागि संविधान नै संशोधन गर्नेसम्मका कुराहरू कत्तिका उपयुक्त हुन् ?
वास्तवमा तपाईंले एउटा गम्भीर कुरा उठाउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनका लागि यस पार्टी र यसका जिम्मेवार नेताहरूको अत्यन्तै ठूलो भूमिका छ । २००६ सालबाट अनेकौं आरोह र अवरोहका साथै घुम्ती र मोडहरू पार गर्दै आज एकिकृत कम्युनिस्ट पार्टी निर्माणका साथ नेकपाले आज यो स्थान प्राप्त गरेको छ । पहिलो पटक आज नेपाल कम्युनिस्ट पार्टीको बहुमतको एकल सरकार छ । यस कोणबाट हेर्नुहुन्छ भने यो ठूलो उपलब्धि हो । मुलुकलाई यो ठाउँमा ल्याउन धेरै नेताको योगदान छ । त्यसमा योगदान गर्नुहुने सचिवालयका सबै नौजना नै धन्यवादका पात्र हुनुहुन्छ । लाखौं कार्यकर्ता र मतदाता धन्यवादका पात्र हुनुहुन्छ । यसमा व्यक्ति व्यक्तिका रूपमा म चर्चा गर्न चाहन्न । कमरेडी केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेवलगायत सम्पूर्ण सचिवालयका नेताहहरूको अत्यन्तै सिर्जनात्मक त्याग तपस्या र बलिदानको ठूलो योगदान छ । त्यसैले सबै नेता यो लोकतान्त्रिक गणतन्त्रको विशाल मार्गमा मुलुकलाई हिँडाउन उहाँहरूले गरेको योगदान उच्च स्तरको र कदर गर्न लायकका छन् । तर पनि नेतृत्वका तर्फबाट स्वयं वामदेव कमरेडलाई पनि र स्वयं वाचा र आश्वासन दिने अथवा त्यो कुराका लागि तपाईं उपयुक्त हो, तपाईंका लागि यस कोणबाट वातावरण निर्माण गरिन्छ भनेर भन्ने कुरा आफैंमा कतै समीक्षा गर्नुपर्ने विषय हो कि ? भन्ने कुरा त आजको जनस्तरमा जुन प्रतिक्रिया आइरहेको छ, त्यसबाटै छर्लङ्ग छ नि । त्यो कुरा नेतृत्वले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।
कमरेड वामदेव गौतमलाई म सम्मान गर्छु । उहाँले कम्युनिस्ट आन्दोलनमा गर्नुभएको योगदान प्रशंसनीय छ । तर स्वयं उहाँले पनि आज बजारमा आइरहेको प्रतिक्रियाबारे उहाँ स्वयं जानकार हुनुहुन्छ भन्ने मलाई लाग्छ । त्यस कोणबाट नेतृत्वले जनचाहना र गुनासाका साथै कार्यकर्ता पंक्तिबाट उठेका चासोहरूलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । नेपालको संविधानका सन्दर्भमा अहिलेको जुन प्रावधान छ, यो विषय म त्यति सजिलो देख्दिनँ । मूलतः पार्टी एकताका काम सम्पन्न गर्न सन्दर्भमा भएका ढिलाइहरूले केही समस्या सिर्जना गरेकै हो । कोलम्बसले अमेरिका पत्ता लगाउन जस्तै ढिला भएको प्रति कार्यकर्ताहरूको गुनासो छ । तर, नेतृत्वले चुनौतीपूर्ण घडीमा अनेकौं शंका, उपशंकाका बीचमा पार्टी एकताको एक हदसम्मको काम टुंगोमा पु¥याएको छ । जसरी यस सन्दर्भमा नेतृत्वले हाइहाइ कमाएको थियो, त्यही रूपमा स्थानीय स्तरसम्म पार्टी एकीकरण र पार्टी परिचालन छिटो टुंग्याएको भए अझ ठुलो हाइहाइ हुन्थ्यो । त्यसमा त हामी चुक्यौं । तरपनि अब लगभग टुङ्गीएको छ । यसलाई उपलव्धीमा लगेर टुङ्ग्याउनुपर्छ र यतिबेला गुट चलाउने कुरा गरेर कसैलाई पनि हित हुँदैन । त्यो काम नेतृत्व तहबाट भएको छ भन्ने पनि लाग्दैन ।
० पछिल्लो समय एमसीसीका विषयमा चर्को बहस चलेको छ, यसलै पार्टीलाई नै विभाजनको तहसम्म पु¥याउने हो कि भन्ने पनि चिन्ता छ, के भन्नुहुन्छ ?
यसबारे केन्द्रीय बैठकमा पनि व्यापक छलफल भएको हो । सबै समूहहरूबाट एउटा साझ निष्कर्षका रूपमा एसीसीबारे धेरै प्रश्नहरू उठेका छन् । त्यस्ता प्रश्नबारे नेपाली जनताका घरघरमा जुन छलफल भयो, त्यो सचेत नेपाली जनताको एउटा प्रतिबिम्बन हो भन्ने मलाई लाग्छ । देशप्रतिको माया, कुनै सरकारले चाल्ने नयाँ कदमबारे जनस्तरमा जुन प्रकारका व्यापक वहश भयो, यो राजनीतिक सचेतताको दृष्टिले एउटा महŒवपूर्ण उपलब्धि हो भन्ने म ठान्छु । त्यही सन्दर्भमा यो पास गर्नैहुन्न भन्ने निष्कर्ष केन्द्रीय बैठकले निकालेको पनि होइन । जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने कुरा पनि केन्द्रीय कमिटीले स्विकारेको छैन । मूलतः मुलुकलाई हित हुनुपर्छ, नेपालको सार्वभौमिकता माथि प्रश्न उठ्नेगरी, असंलग्न परराष्ट्र नीतिलाई असर पुग्नेगरी वा अर्को राष्ट्रका विरुद्ध लक्षित हुनेगरी हुने क्रियाकलापतर्फ सचेत हुनुपर्छ भनेको छ । महाकाली सन्धी पारित गरिरहँदा एमाले जसरी विभाजन भयो, त्यस्तो परिस्थिति नआओस् भन्ने हो । बैठकले विज्ञहरूको कार्यदल बनाएर त्यसको सुझाव मागेको थियो । कमरेड झलनाथ खनालको संयोजकत्वको कार्यदलले सुझाव पनि दिइसकेको छ । कतिपय बुँदाहरूमा कमीकमजोरी छन् भने त्यसलाई सच्याउनुपर्छ । स्वमं अमेरिकासंग पनि छलफल गर्नुपर्छ । संसद र पार्टीमा पनि व्यापक छलफल गरेर राष्ट्रको हितमा हुनेगरी यसलाई अगाडि बढाउनुपर्छ भन्ने जुन निष्कर्ष निस्कियो त्यो नै आजका लागि वैज्ञानिक निष्कर्ष हो ।
० प्रमुख प्रतिपक्षीले त यो सरकारले काम गर्न सकेन, जनताको विश्वास जित्न सकेन भनिरहेको छ नि ?
यो बेला नेपाली कांग्रेसले एउटा प्रश्न उठाइरहेको छ कि नेकपाको सरकारले के ग¥यो ? नेपाली कांग्रेसले पटकपटक अवसर पायो । तर उसले न पार्टी जोगाउन सक्यो, न मुलुकलाई एकिकृत ढंगले अगाडि लान सक्यो, न व्यवस्था जोगाउन सक्यो । यो उसको अयोग्यता हो । इतिहासको निमर्मम समीक्षा गर्दा आफ्नो अयोग्यता ढाकछोप गर्न उसले सरकारमाथि आफ्नो प्रहार केन्द्रीत गर्न खोजे जस्तो देखिन्छ । तर उसको विरोधमा तुक छैन । तर पनि अहिलेको सरकारले विगतका ती तीता व्यवहारहरूलाई मनन गरेर जनमुखी, लोककल्याणकारी कार्यक्रमहरू पनि अघि बढाउनुपर्छ । सँगसँगै दिगो विकासको सन्दर्भमा नेकपाको हिजोको घोषणापत्र मनन गरी कार्यान्वयनतर्फ लाग्नुपर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply