मन्त्री, प्रधानमन्त्री बन्न रोकेको छ भने किन यत्रो रोइलो ?
खिमलाल भट्टराई, प्रमुख सचेतक, राष्ट्रिसभा० सत्तारुढ दल नेकपाको तर्फबाट माथिल्लो सदन राष्ट्रिय सभाको प्रमुख सचेतक हुनुहुन्छ, सो सभाको प्रभावकारिता र औचित्य पुष्टी गर्न कत्तिको सफल भएजस्तो लाग्छ ?
मूलत संसदको भूमिका भनेको कानुन निर्माणमा हुन्छ । त्यो सन्दर्भमा कुरा गर्दा कतिपय विद्ययेकहरु सिधै राष्ट्रिय सभामा दर्ता भएर पछि त्यहाँबाट पास भएपछि मात्र प्रतिनिधीसभामा जान्छ भने कतिपय प्रतिनिधीसभाबाट पास भएर राष्ट्रिय सभामा आँउछ । तसर्थ कानुन निर्माणका सन्दर्भमा राष्ट्रिय सभाको भूमिका पनि महत्वपुर्ण नै छ । तसर्थ हामी धेरै गम्भिरतापुर्वक नै लागेका छौं ।
प्रतिनिधी सभाका मस्यौदाहरु अक्सर क्षेत्रकेन्द्रीत भएर आँउछन् । हामीले त्यसलाई कानुनी नजरमा एउटा राष्ट्रिय महत्वको हिसावले हेर्ने र त्यही अनुरुप शंसोधन र परिमार्जन सहितको सुझाव दिन्छौं । ती मस्यौदाहरुलाई राष्ट्रिय हिसावले सोचेर परिपक्व बनाउने काममा मुख्य रुपमा राष्ट्रिय सभाको भुमिका हुन्छ । हामीले त्यही हिसावले सोचिरहेका छौं । यतिबेलासम्म आएपुग्दा त्यस्तो विवादास्पद र बहस केन्द्रित गर्नुपर्ने विषय आइराखेको स्थिति छैन । खासगरी प्रतिनिधी सभाले बनाएको कानुनलाई त्यसको मुल स्पिरिट भन्दा बाहिर गएर अथवा फरक ढंगले निर्णय दिनुपर्ने स्थिति अहिलेसम्म आएको छैन । तर कहिलेकाँही त्यस्तो परिस्थिति आयो भने पनि राष्ट्रिय सभाले आफ्नो परिपक्वता देखाउन पर्छ भन्ने मान्यता पनि छ र सोचाई पनि त्यही छ ।
० निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडीया काउन्सिल सम्वन्धी विवादास्पद ऐनका बारेमा पत्रकार महासंघको आन्दोलन साम्य गराउन तपाँइ आफैंले आश्वस्तताको पत्र दिनुभएको थियो, उक्त मस्यौदा पास हुँदा फेरी विरोध छ, किन यस्तो भयो ?
हो, मिडिया काउन्सिल सम्वन्धी विधयेक पहिलोपटक हामीकहाँ नै दर्ता भएको थियो । त्यसमा खासगरी मिडिया क्षेत्रका साथीहरुको जे हुनपर्छ भन्ने चाहना थियो, त्यही अनुसार नै गरिएको छ । विषयवस्तुका हिसावले हेर्दा मिडीयाको स्वायत्तताको कुरा, स्वतन्त्रतालाई आँच आउन नदिने कुरा र त्यसको प्रत्याभुतिमा कहीँनेर समस्या नहोस्, बुझाई र व्यवहारमा फरकपन नआओस् भन्ने उहाँहरुको विषय थियो । त्यो कुरा हामीले पनि स्विकार गरेको कुरा हो । सरकारको पनि त्यो प्रतिवद्धता हो । मन्त्रीज्युको पनि त्यसमा हामीले कुनै कन्फ्युजन भेटेनौं । यसलाई अलिकति व्यवस्थित गरेर मर्यादित बनाउने गरी अगाडि जाऔं, तर स्वायत्तता र स्वतन्त्रतलाई कुन्ठीत गर्ने त मनशाय होइन भन्ने उहाँको पनि कुरा थियो । हामी पपनि त्यसमा सजग नै थियौं । कतिपय भाषिक कुरामा मात्र गइएको हो । मिडीया काउन्सिल निर्माण गर्दाका संरचना, जरिवाना तथा सजाय, कारवाही लगायतका कुराहरु मिडीया क्षेत्रका पनि साथीहरुको परामर्शमा सजिलो तरिकाले सम्वोधन ग¥यौं । यस सन्दर्भमा हामी जे जति छलफलमा गयौं, छलफलमा सबैको एकमत नियमन गर्ने कुरामा र मर्यादित बनाउने कुरामा देखियो । तर बाहिर आँउदा सरकार अधिनायकवादी, यसको स्वायत्तता र स्वतन्त्रता खोस्ने गरी पो ल्याइयो कि भन्ने ढंगले बाहिर प्रचार आयो । तर हामी जुन छलफलमा बस्यौं त्यहाँ त्यस्तो देखिएन ।
० प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीले अत्यन्तै तारिफ र विश्वास गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घूस लेनदेनको आसयको जुन अडियो टेप बाहिर आयो, त्यसपछि राजिनामा दिनुपरेको छ, यस घटनालाई कसरी लिनुभएको छ ?
यसमा प्रधानमन्त्रीले गम्भिरतापुर्वक लिइसकेको र स्वयम् पुर्व मन्त्री गोकुल बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिइसकेको अवस्था हो । उहाँले प्रधानमन्त्रीज्युको आग्रह अनुसार नै मार्गप्रसस्त गरिसकेपछि धेरै के टिप्पणी गर्नु । अडियोमा जे कुरा आएको छ, त्यो पछि नैतिकतासंग जोडिएको प्रश्न भयो भनेर त स्वयम् उहाँले नै स्विकार गरेर अब यसको छानविन् होस् भनेर माग नै गर्नुभएको छ । यो तथ्यमा हामी पनि जानु प¥यो । तथ्यको आधारमा यसलाई स्पष्ट पार्ने काम गरियोस् भनेर स्वयम् पुर्वमन्त्री गोकुल बास्कोटाले अख्तियार, सिआइबी लगायतका निकायलाई नै आग्रह गरिसक्नुभएको छ । ति संस्थाहरुले छानविन पनि गर्दैछन् भन्ने कुरा आइराखेको छ ।
तर एउटा कुरा के हो भने हामीले राजनीतिलाई नैतिक मुल्य र मान्यतामा आधारित बनाउनैपर्छ । अहिले शुसाशनको यत्रो महाअभियान प्रधानमन्त्रीको नेतृत्वमा चलिराखेको छ । प्रधानमन्त्रीले नै बचाउ गरेको भन्ने आरोप समेत कतिपयले लाएको देखिन्छ । यो भनेको भ्रम फिजाउने कोशिस मात्र हो । प्रधानमन्त्रीबाट त्यस्तो कमि भएको कहिँ पनि हामी देख्दैनौं । कमि भएको छैन । कुनै भ्रष्ट्राचारी र अनियमितता गर्नेलाई प्रधानमन्त्रीबाट रक्षा छैन । थाहा पाउने वित्तिकै दन्डित भएका छन् । कोही जोगिएका छन् भने थाहा नपाउन्जेल र प्रमाण नभेटिन्जेल हो । कोही मानिस कुनै झण्डामुनी जोगिएको होला तर तर जोगिएको छ भन्नुको तात्पर्य उसले गरेका कर्तुतहरुको थाहा भएको छैन । त्यसकारण उ जोगिएको छ । जुन दिन थाहा हुन्छ, त्यसलाई सरकारले सुरक्षीत गर्नेवाला छैन ।
० पार्टी सचिवालयले निर्णय गरेको व्यक्ति राष्ट्रिय सभामा मनोनयनको लागि शिफारिश नगर्ने अडानले पार्टीभित्र विवाद सिर्जना गरेको सन्दर्भमा के भन्नुहुन्छ ?
नेताहरु सबैका लागि आदरणीय नै हुनुहुन्छ । वामदेव गौतमा भनौं वा अरु नेता भनौं । उहाँहरुले लामो समय सम्मआन्दोलनको अगुवाई गर्दै आउनुभएको छ । तर एउटा कुरा हामी सबैले मन्नुपर्ने कुरा के हो भने हामीले राजनीतिक मुल्य के स्थापित गर्ने ? मान्यताहरु के स्थापित गर्ने ? भन्ने कुरा पनि हुन्छ । हाम्रो संविधान, हाम्रो कानुन बनाउदै गर्दा त्यसले पनि एउटा निर्वाचनमा हारेको मान्छेलाई त्यो अवधीभरी मन्त्री हुनबाट रोकेको छ । मन्त्री हुनै रोकेको छ भने प्रधानमन्त्री हुन त निश्चीतै रुपमा रोकेको छ । त्यसकारणले यो एउटा मुल्यसंग जोडिएको कुरा हो । त्यसैले हामीले त्यो कुरालाई छोड्नुहुन्न भन्ने मैले मान्यता राख्छु ।
० तर पार्टीले सचिवालयमा यो निर्णय गरेर संविधान संशोधनका लागि कार्यदल नै बनाउनु पर्नाको कारण के त ?
यसले कति बेठिक सन्देश गयो भने यसले स्वयम् नेताहरुलाई पनि घाटा पु¥यायो । स्वयम् वामदेव कमरेड जो यत्रो आन्दोलन को नेतृत्व गरेर आउनुभएको नेता हुनुहुन्छ, उहाँ स्वयम्लाई पनि आफ्ना लागि संविधान शसोधन गराउन लाग्यो भन्ने सन्देश गयो । पार्टीको हिसावले भन्ने हो भने नेपाल कम्युनिष्ट पार्टी जस्तो पार्टी जसले अहिले देशको संस्थापनको भुमिका निर्वाह गर्नु परिरहेको छ । हामीले कुनै सरकार बनाएर मात्र हाम्रो अविभारा पुरा हुँदैन नी । यहाँको संस्कृति, सामाजिक व्यवस्था, अर्थतन्त्र, राजनीति सबैलाई सही ढंगले हिँडाउने एउटा अविभारा छ । त्यस्तो एउटा जिम्मेवारी बोकेको पार्टीले त्यसको शिर्ष स्थान अर्थात केन्द्रीय सचिवालयले एउटा व्यक्तिका लागि संविधान शंसोधन गर्न लाग्यो भन्ने सन्देश गयो । त्यो असाध्यै बेठिक कुरा भयो । सचिवालयका नेताहरुले पहिले हामीले कार्यदल बनाएका छैनौं भन्नुभयो, पछि कार्यदल विघटन भयो, केही पनि हुँदैन भन्ने कुरा गर्नुभयो । हामीले यस्तो काम चाँही गर्नु हुँदैन । कहिलेकाँही व्यक्ति आफु स्वार्थी हुन सक्छ । आफ्नो हितको लागि उसले प्रयत्न गर्न सक्छ । नैतिक मुल्य भन्दा फरक ढंगले उ चल्न सक्छ । तर पार्टी चाँही नैतिक मुल्यमा अडिनुपर्छ । नैतिक मान्यतामा अडिनुपर्छ । पार्टीले त्यस चिजलाई नियन्त्रण गर्नुपर्छ । तर आज त पार्टी नै त्यसमा लाग्योकी भने जस्तो गलत शन्देश गएको स्थिति छ । त्यो भएकाले यस्तो चिजबाट आन्दोलन जोगाउन पर्छ । अहिलेको सन्दर्भमा त्यस हिसाले जान मिल्दैन ।
० भनेपछि अवको नियुक्ति प्रधानमन्त्तीको एकल चाहना बमोजिम डा. युवराज खतिवडा नै हुनुपर्छ ?
अब के गर्नुहुन्छ ? सहमतिमै गर्नुहोला । वामदेव गौतम राष्ट्रिय सभामा आउनु हुँदैन भन्ने कुरा होइन । आउन सक्नुहुन्छ । तर पछिल्लो छलफललाई हेर्दा हिजो १८ जनाको सिटमा ल्याउन खोज्दा राष्ट्रिय सभाको सदस्य हुनका लागि मात्र जान्न भनेर उहाँले भन्नुभएको थियो । उहाँ राष्ट्रिय सभामा प्रधानमन्त्री हुनका लागि आउने र संविधान संशोधन भएमात्र आँउछु भनेर उहाँले आफ्नो धारण अघि सारिरहनु भएको थियो । निजी रुपमा उहाँले जुन अडान लिइरहनु भएको थियो, एक हदसम्म त्यो ठिकै मानौं । हाम्रो मान्यता र संविधानको हिसावबाट हेर्दा पनि त्यो कुरा हुन नसक्ने कुरा नै थियो ।
० पहिले त्यस्तो अडान राखेको मान्छे पछि सदस्य मात्र बन्न किन राजी हुनुभयो त ?
बजारमा अहिले जे कुरा आइरहेका छन्, हामी त्यतापट्टी जान परेन । तर उहाँको लागि संविधान संशोधन गरेर उहाँलाई मन्त्री बनाउने कुरा, प्रधानमन्त्री बनाउने कुराले पक्कै राम्रो सन्देश जाँदैन । हामी त्यसरी अघी बढ्नु हुँदैन । त्यसले उहाँ स्वयम्लाई पनि राम्रो गर्दैन । र, पार्टीलाई पनि राम्रो गर्दैन । देशलाई पनि राम्रो गर्दैन । हामी त्यस हिसावले जान हुँदैन ।
० पार्टीमा प्रधानमन्त्रीलाई अफ्ठेरो पार्न केही नेताले बामदेव गौतमलाई कार्डको रुपमा प्रयोग गरिरहेको हो र ?
अहिले आएर त्यस्तो पनि देखियो । सुरुमा नजाने भनेका मान्छे पछि सदस्यका लागि एक्कासी सहमत हुनुभयो । त्यो सहमति नेताहरुको बीचमा एउटा छलफल गरेर टुङ्गिएको देखिएन । केही नेताहरु मात्र बसेर टुङ्गिएको देखियो । र प्रधानमन्त्री स्वयम्ले यसो त हुन सक्दैन भन्ने स्थिति बन्यो । पार्टीको पहिलो मर्यादाक्रमको अध्यक्ष र प्रधानमन्त्री स्वयम् त्यसमा असहमत भए जस्तो वा हुनुपर्ने जस्तो स्थिति बन्न गयो । त्यसैले यो सबै कुरा राम्रो तरिकाले भयो भन्ने स्थिति देखिएन । फरक फरक ढंगले बैठकहरुबाट कुरा अघि बढ्न थाल्यो भन्ने बाहिरबाट हेर्दा देखिइरहेके छ । त्यसकारणले एउटा सहमतिपुर्ण हिसावमा जानुपर्ने अवस्था थियो तर गएन ।
० तर जुन परिस्थिति अहिले निर्माण भइरहेको छ, त्यो केही शिर्ष नेताहरुसंग सरकार सञ्चालनमा प्रभावकारी समन्वय नगरेर आएको परिणाम हो भन्ने कुरा के हो ?
हामीले हेर्दा त सबैकुरा सहमतिको खोजी गर्दा नै ढिला भइरहेको छ । पार्टी यत्रो एकिकरण भइसकेपछि यो एकता लामो समय सम्पुर्ण रुपले यसको संगठनात्मक, राजनीतिक, वैचारिक सबै कुरा टुङ्ग्याउनका लागि जति लामो समय लियो, त्यो त्यही सहमतीकैखोजी गर्दा भएको ढिलाइ हो । सबै कुरा सहमतिमै टुङ्गीएको छ नी । नेताहरुलाई कहाँनेर त्यसमा अपमान गर्ने, छलफल नगर्ने, त्यो स्थिति कहाँनेर देखियो त ? बार–बार उहाँहरु बसिरहनु भएको छ । छलफल गरिरहनु भएको छ । सहमतिको खोजी गरेर नै सबै विषय टुङ्ग्याउदै आउनु भएको छ । भनेपछि कसलाई बेवास्ता ? त्यो कुरा पनि भन्नलाई भनिएको कुरा जस्तो मात्र लाग्छ ।
० तर वामदेव गौतम एउटा लामो आन्दोलनबाट आएको पात्र जसलाई चुनाव पनि हराइएको भन्छन् त ?
धेरै ठुलो संख्याको अन्तर भएको ठाँउमा उहाँ पराजित हुनुभयो । हामी सबै दुखी भयौं । देशै दुखी भयो । तर पराजित त भएकै हो नी ? हाम्रो कानुन, मुल्य र मान्यताले उहाँले जुन कुरा अगाडि सार्नुभयो त्यो कुरालाई स्वीकार गरेन, कुरा त्यतीमात्र हो । नभए सिङ्गो देश उहाँको साथमा छ । जनता उहााको साथमा छैन र ? एउटा प्रक्रियामा उहाँ बाहिरीएर मात्र समस्या परेको हो । त्यसको कारणहरु विभिन्न होला । तर उहाँलाई को हराउन गएको थियो त ? उहाँ स्वयम् पार्टीको शक्तिशाली नेता हो । उहाँलाई कसैले हराउन गएर हराइने हो र ? कमीहरु रहे । व्यक्तिगत रुपमा उहाँ हानुभयो । समष्टीमा त पार्टी हा¥यो नी । तसर्थ त्यसको समिक्षा गरेर अगाडि बढ्नुको हामीसंग विकल्प छैन । यो लामो अवधी होइन । अरु पदीय हिसावले हेर्दा त्यो कुरालाई उहाँले आत्मसाथ गर्नु नै धेरै राम्रो हुन्छ ।
० तर उहाँले तत्कालिन एमालेको महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन ठुलो सहयोग गरेको हो नी, त्यो गुन भुलेको देखियो नी ?
हामी नै हो उहाँलाई अस्ति केन्द्रीय कमिटीको बैठकमा तालि पिटेर सर्वसम्मतीले उपाध्यक्ष बनाउने । उहाँले अहिले मै अध्यक्ष भैहालौं भन्नु त भाछैन नी । उपाध्यक्ष त पार्टीले बनाइसक्यो नी । त्यसमा कसैको विरोध थिएन । उहाँ उठेर लाल सलाम गर्नुभयो । हामली लामै समय ताली पिटेको पिट्यै ग¥यौं । यो सब त्यसरी सर्वसम्मतीले भएको चिज हो नी । उहाँलाई कसले अपमान गर्ने ? साविक एमालेको महाधिवेशनमा अध्यक्षका लागि कमरेड माधव र कमरेड केपी ओली लड्नुभएको र वामदेव कमरेड केपी ओलीलाई बनाउन भनेरै लागेको हो । तर त्यस पछि अरु जिम्मेवारीका सन्दर्भमा उहाँलाई जिम्मेवारी नदिने वा कन्जुस्याई नगर्ने स्थिति त हामीले देखेका छैनौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply