सभापतिले विधान मानिदिएको भए यो समस्या आउने नै थिएन
गुरुराज घिमिरे नेता, नेपाली कांग्रेस० कांग्रेसको संस्थापन पक्षइतर जिल्ल्ला सभापतिहरूको भेलाले जति नै दबाब दिए पनि पार्टी सभापति शेरबहादुर देउवाले कुनै हालतमा महाधिवेशनको मिति सर्दैन भन्नुभएको छ , यसले त कांग्रेसभित्रको विवाद झनै बढ्ने संकेत देखियो नि ?
त्यस्तो होइन । नेपाली कांग्रेस जहिले पनि वादविवाद माथि उठेर सहमतीय संस्कार र संस्कृतिका आधारमा अघि बढ्दै आएको प्रजातान्त्रिक पार्टी हो । अहिले एकपक्षीय ढंगले भएको निर्णयविरुद्ध जिल्ला सभापतिहरूले ऐक्यबद्धता जनाएपछि त्यो सुझाव कार्यान्वयन गर्ने क्रम पार्टी सभापतिबाट सुरु भइसकेको छ । उहाँबाट समस्या समाधानका लागि पहल सुरु भएको छ । खासगरी सवाल यहाँ महाधिवेशनको मितिको मात्र होइन । यहाँ विधानका केही महत्वपूर्ण धाराहरू निलम्बन गरिएका छन् । यो एकपक्षीय ढंगबाट गरिएको छ । सहमतिका साथै अघि बढ्न सकिने सम्भावना हुँदाहुँदै एकपक्षीय ढंगबाट कदम चालिएपछि जिल्ला सभापतिहरूको भेला भएको हो । अब यसले पक्कै निष्कर्ष निकाल्छ । सबै जिल्ला सभापतिहरूले पछिल्लोे परिस्थितिबारे छलफल गरेर सभापतिज्यूलाई त्यसरी अघि नबढ्न सुझाव दिइसक्नुभएको छ । सोही क्रममा सभापतिज्यूले उहाँहरूसँग भेटघाट र छलफलसमेत गरिसक्नुभएको छ भने केही नेतासँग पनि सभापतिज्यूको छलफल भइसकेको छ । सबै सभापतिहरूले पछिल्लोपटक गरिएको एकपक्षीय निर्णय सच्याउनुपर्छ र पार्टी सभापतिजी सच्चिएर अघि बढ्नुपर्छ भन्ने माग राखिरहनुभएको छ । कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधानविपरीत निर्णय गरेको भन्दै मान्य नहुने बताइसकेको अवस्था हो । कस्तोकस्तो अवस्थामा एउटै धारणामा चलेको कांग्रेस यो परिस्थितिबाट साझा धारणा तय नगरी त्यसबाट पछि हट्छ भन्ने हाम्रो विश्वास छैन ।
० तर बहुमतकै आधारमा निर्णय गरिएको भनिएको छ नि ?
अहिले कुरा बहुमत अल्पमतको होइन । कांग्रेसले बृहत् छलफलबाट नै एकै धारणा सार्वजनिक गर्ने गर्छ । बहुमतका आधारमा पार्टी नेतृत्वले गरेको महाधिवेशन लगायतको निर्णय जुन भनिएको छ, त्यो एकपक्षीय छ । एउटा पक्षले भ्रातृ संगठन, विभाग गठन लगायतमा आफ्नो धारणासहित बैठक बहिष्कार गर्दै गरेको अवस्थामा गरिएको निर्णय भएकाले त्यो बहुमतबाटै गरे पनि सबैको भावना नसमेटिएको निर्णय हो । विधानभन्दा माथि कोही होइन तर एक पक्षले विधान मिचेर निर्णय ग¥यो । संस्थापन पक्षले बहुमतका आधारमा गरेका निर्णय जिल्ला सभापतिहरूले नमान्ने सन्देश दिइसके । तसर्थ, यसमा नेतृत्व पुनर्विचारमा पक्कै पुग्छ । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो गर्न सुहाउने कुरा होइन ।
० के अधिनायकवाद नै लाद्नुभएको हो त पार्टी सभापतिले ?
विगतदेखि नै पार्टी सभापतिले विधानलाई राम्रोसँग अनुशरण गर्नुभएको भए यो समस्या आउने नै थिएन । केही समस्या उहाँबाट सिर्जना भएका छन् । सबैको कुरा सुन्नुपर्ने र साझा बन्नुपर्ने मान्छे गुटको साँघुरो घेरामा रमाउनु निश्चय पनि राम्रो होइन । उहाँ त सबैको विश्वास साथमा लिएर अघि बढ्न सक्नुपर्छ । तर पछिल्लो अवस्थामा त्यस्तो देखिएन । आशा छ, उहाँले सबैलाई समेटेर लैजानुहुन्छ ।
० आशालाग्दा युवा नेतृत्व भनिएका तपाईं, धनराज, विश्वप्रकाश शर्माहरूले पनि खासै केही गर्न सक्नुभएन भन्छन् नि ?
यो एकखालको समस्या हो । मूलतः हाम्रो समाज, यसको राजनीतिक प्रणाली र यहाँका मनोविज्ञानहरूले नै कतिपय कुराहरू निर्धारण हुने रहेछन् । भन्दा र भाषण गर्दा जतिसुकै आवाज ठुलो गरे पनि पार्टीभित्रको संरचनामा हस्तक्षेपकारी हिसाबमा छिर्न बलियो तारबार हुने रहेछ । राजनीतिक संरचना नै एकखालको जब्बर भएर पनि केही समस्या आएको हुन सक्छ । तर, पछिल्लो समय युवाहरूको आवाज पनि मुखरित हुँदै गएको छ । उनीहरू पनि क्रमशः निर्णायक तहमा पुगिरहेका छन् । आजको भोलि नै सबै चिज हुन सक्ने रहेनछ ।
० देउवाइतर पक्षबाट एकले अर्कालाई सभापतिमा अस्तित्व स्विकार गर्न गाह्रो परेका कारण पनि पौडेल पक्ष कमजोर भएको भनिन्छ नि ?
त्यस्तो होइन । व्यक्ति को जाने भन्ने सवाल गौण नै हो र सभापतिमा दुई व्यक्ति मात्र उठ्दा राम्रो नेतृत्व आउँछ भन्ने पनि होइन । जति बढी प्रतिस्पर्धा भयो उति बढी निखारिएको नेतृत्व आउने सम्भावना हुन्छ । यो कुरा कसरी पनि अहिल्यै अनुमान गर्नु गलत हुन जान्छ भने पछिल्लोपटक संस्थापनका निर्णय विरुद्ध उहाँहरूमा एकमत छ । उहाँहरू सबै एक भएर संस्थापन पक्षले गरेको विधानविपरीतका काममा ऐक्यबद्धता जनाउनुभएको छ । यस आधारले पनि तपाईंले गरेजस्तो अनुमान अहिल्यै गर्नु उचित हुँदैन ।
० आगामी महाधिवेशनमा कसरी जानुहुन्छ त ?
आगामी महाधिवेशनमा मूल नेतृत्व अर्थात् सभापतिमै त युवा पंक्तिले दाबी गरिहाल्लान् भन्ने मलाई लाग्दैन । त्यसबाहेकका अन्य पद र पदाधिकारीहरूमा भने अब युवा पंक्तिको सशक्त दाबी र हस्तक्षेपकारी भूमिका नै रहनुपर्छ र रहन्छ पनि । त्यसका लागि एकताबद्ध भएर अघि बढ्नेदेखि महाधिवेशन प्रतिनिधिहरूका बीचमा यो कुरा लाने काममा हामी एकजुट भएर अघि बढ्छौं ।
० छिटो महाधिवेशन तोक्न र कार्यकाल नलम्ब्याउन गर्दै आएको आग्रह महाधिवेशको मिति तोकेर संस्थापन पक्षले पूरा गरिदिएको छ, फेरि किन किचलो हो त ?
कुरा महाधिवेशनको मिति तोक्नेको मात्र होइन । ठीक छ, मिति त सबै तयारी र हाम्रा बाध्यताका कारण पर सर्नु स्वाभाविक हो । संवैधानिक व्यवस्थामा टेकेर र पार्टीगत बाध्यतामा परेर विशेष निर्णय गर्नुपर्छ । तर, सोही निर्णय पनि सहमतिका साथमा र दुई पक्ष नै एक ठाउँमा बसेर गरिनुपर्छ । नेपालको इतिहासमा युगान्तकारी राजनीतिक परिवर्तनलाई सार्थक बनाउने सन्दर्भमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रहेको छ । राणाशाही, पञ्चायतको कालरात्रिलगायतसँग र राजा ज्ञानेन्द्रको अधिनायकवादसँग जुधेको कांग्रेसको अन्य पार्टीसँग तुलना हुनै सक्दैन । सयौं अग्रजको बलिदानको जगमा स्थापित यो पार्टीले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनअधिकारको आदर्शलाई आत्मसात् गर्दै आएको छ । नेपालको राजनीतिक परिवर्तनको संघर्षलाई गतिशील बनाउने र नेपालको प्रजातान्त्रिक संघर्षलाई सार्थक निष्कर्षमा पु¥याउने काममा कांग्रेस फुटेर होइन जुटेर मात्र सम्भव छ । यो कुरा पार्टीका अग्रजहरूले बुझ्नु आवश्यक छ । गुट÷उपगुटका कारण एक पक्षले अर्को पक्षलाई बेवास्ता गरेर अगाडि बढ्ने कुसंस्कारले कांग्रेसभित्र प्रश्रय पाइरहेको छ । अब यो अन्त्य हुनैपर्छ, जुन कांग्रेसको संस्कार होइन, मर्यादा होइन, विधान र महाधिवेशनको म्यान्डेट होइन । तर, त्यही कुरा र व्यवहार अहिले कांग्रेसमा देखिएको छ, यो दुःखद हो । अब यसलाई मेट्नुपर्छ । पार्टीभित्रको मेलमिलापका लागि चारवटा कुरा सच्याउनुपर्छ । तीमध्ये विधानमा रहेका २९ वटा विभागलाई अहिले महाधिवेशनको घोषणा भइसकेपछि ४७ वटा बनाइएको छ, त्यसलाई सच्याउनुपर्छ । यो विधानविपरीत हो र महाधिवेशन प्रभावित पार्न बढाइएको हो । त्यस्तै मेलमिलापको अर्को सर्त भ्रातृ संस्था नेपाल तरुण दलको किचलो तत्काल मिलाउनुपर्छ । तरुण दल र नेविसंघमध्ये एकको नेतृत्व संस्थापनइतरलाई दिइनुपर्छ । पार्टी विधानमा रहेका क्रियाशील सदस्यतासम्बन्धी निलम्बित तीनवटा धारा र अन्य दुईवटा धारा सच्याउनुपर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply