ढुक्क भए हुन्छ, यो एकता टुक्रिँदैन
विष्णु पौडेल उपमहासचिव नेकपा (एमाले)० तपाईंलाई दुई कम्युनिस्ट एकताको सूत्रधारका रूपमा पनि हेर्ने गरिन्छ । अहिले पछिल्लो समय दुई कम्युनिस्ट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता होला÷नहोला भन्ने चर्चा पनि छ । कहिलेसम्म एकता होला ?
– एकता प्रक्रियाका यावत कुरालाई हामीले प्रभावकारी ढंगले अघि बढाएका छौं । दुई ओटा पार्टीलाई व्यापक रूपमा एकता गर्नका लागि, साझा विधान निर्माण गर्नका लागि र एकता प्रक्रियालाई पूर्णता दिनका लागि दुई ओटा कार्यदल पनि बनेको छ । कार्यदलहरूले काम गरिरहेका छन् र छिट्टै कार्यदलले प्रतिवेदन प्रस्तुत गर्नेछ ।
एकता प्रक्रियाले चाहिँ ठ्याक्कै कहिले पूर्णता पाउँछ ?
– मेरो विचारमा एकता प्रक्रियाले छिट्टै पूर्णता पाउँछ । अहिले तिथिमिति नै तोक्न त मलाई मुस्किल छ, तर केही हप्ताभित्र एकता प्रक्रियाले पूर्णता पाउँछ । समयावधिका हिसाबले नेपाल कम्युनिस्ट पार्टीको इतिहासका कारण २२ अप्रिल नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । म त्यही दिन कम्युनिस्ट पार्टीबीच एकताको घोषण होस् भन्ने चाहन्छु । हाम्रो तयारी पनि त्यही छ । मेरो विचारमा जनताले ढिलोमा २२ अप्रिलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको देख्न सक्नेछन् ।
० एमाले र माओवादीको तिक्तापूर्ण अवस्था हेर्दा कुनै समय यी दुई पार्टीबीच एकता होला र भन्ने थियो । तर, सबैलाई चकित पार्ने गरी तपाईंहरूले एकता प्रक्रियालाई अघि बढाउनुभयो । बाहिर जेजस्ता प्रतिक्रिया आएपछि भित्री रूपमा त धेरै पापड पेल्नुपर्यो होला नि । कति मुस्किल भयो यहाँसम्म आइपुग्न ?
– स्वाभाविक रूपमा एकता प्रक्रिया त्यति सजिलो विषय होइन । दुई पार्टीबीचको एकता त्यसै पनि असहज विषय हो । म एकता प्रक्रियाको एक जिम्मेवार व्यक्ति भएको नाताले पनि यसो भन्न सक्छु । यो किन पनि सहज विषय थिएन भने हामी दुई पार्टीका राजनीतिक, सैद्धान्तिक विषय अलगअलग थिए । हाम्रो स्कुलिङ पनि फरक थियो । हाम्रो इतिहास र अनुभव पनि फरक थियो । हाम्रो सम्बन्ध पनि निकै आरोह–अवरोह पार गर्दै आएको थियो । यी कारणले पनि एकता प्रक्रिया सजिलो थिएन । धेरै मानिसलाई यी सबै कारणले गर्दा यी दुई पार्टीबीच एकता कुनै हालतमा पनि सम्भव छैन भन्ने लागेको थियो । उनीहरू यी दुई पार्टी मिल्दैनन्, मिल्न सक्दैनन् भन्नेमा नै थिए ।
० तर, राष्ट्रिय सभागृहमा धुमधाम कार्यक्रम गरेर तपार्इंहरूले सबैलाई अचम्मित गर्दै एकताको सन्देश दिनुभयो नि ?
– हो, जब हामीले गत असोज १७ गते राष्ट्रिय सभा गृहमा एकता प्रक्रियाका लागि एउटा विशेष कार्यक्रमको आयोजना ग¥यौं । त्यसपछि धेरैले यी दुई पार्टीबीच एकता हुन्छ कि क्या हो भन्ने अनुमान गर्न थाले । अझ हामीले त्यहीँबाट दुई ठूला निर्वाचन प्रदेश र संघीय निर्वाचनमा साझा घोषणापत्र लिएर जनताका बीचमा एक भएर जाने घोषणा गरेपछि धेरैलाई अचम्म लाग्यो ।
० एकता प्रक्रियाको विषय त्यस्तो अचम्म मान्नुपर्ने खालको होइन भन्न खोज्नुभएको हो ?
– एकता प्रक्रियाको पृष्ठभूमिलाई हेर्ने हो भने अचम्मित हुनुपर्ने विषय नै होइन । हामीले लामो समयदेखि छलफल, बहस गर्दै आएका हौं । एकताका प्रयासहरू पनि हामीले लामो समयदेखि गर्दै आएका हौं । त्यसलाई पूर्णता दिन पनि हामी पहिलादेखि नै निरन्तर लागेकै हौं । हामीले पछिल्लो समय इतिहासका सबै कुराको विश्लेषण गर्दै, विभाजित कम्युनिस्ट आन्दोलनबारे समीक्षा गर्दै यी दुई पार्टीबीच एकता हुँदा मुुलुकले प्राप्त गर्ने उपलब्धि सबैको विवेचना गरेर हामी एक हुने प्रक्रियामा अघि बढेका हौं । यी दुई पार्टीबीच विभाजन हुँदा नेपाली जनताले पाउने सास्तीबारे पनि हामीले खुलेर बहस ग¥यौं । हामीले अन्तिममा दुई पार्टी एक हुँदा मुलुकको भविष्य कस्तो हुन्छ ? नेपाली जनताले कति उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरालाई ध्यानमा राखेर नै एकताको प्रक्रिया अघि बढाएका हौं ।
० भनेपछि पार्टी एकता वैयक्तिकभन्दा पनि जनताको हितमा बढी हुने ठानेर एकता प्रक्रिया अघि बढाउनुभयो, होइन त ?
– हो, हामीले यो पार्टी एकतालाई वैयक्तिक विषयभन्दा माथि ठानेर नै एकता प्रक्रिया अघि बढाएका हौं । जनता र राष्ट्रको हितमा गाँसिएको कुरा पनि हो भनेर हामीले एकता प्रक्रिया अघि बढाएका हौं ।
त्यसकारण, म भन्न चाहन्छु, यो एकता प्रक्रिया टुंगिन्छ कि ? टुंगिँदैन कि ? एकता हुन्छ कि हुँदैन कि ? भनेर आशंका गरिरहनुपर्ने म कुनै कारण देख्दिन । आशंका गर्नेले गर्दै रहे हामीले एकता प्रक्रियालाई अघि बढाउँदै गयौं ।
० अहिले पनि त आशंका त भइरहेको छ नि ?
अहिले पनि आशंका गर्नेले गर्दै रहन्छ । तर, एकता प्रक्रिया रोकिन्न, अघि बढिरहन्छ । दुई पार्टीबीचको एकतालाई रोक्ने तागत कसैसँग छैन ।
० यसो भन्दै गर्दा यी दुई पार्टी एक भइहाले पनि लामो समय टिक्न सक्दैनन् फेरि फुट र विभाजन निश्चित छ भन्ने पनि चर्चा छ नि ?
मैले धेरैपटक भन्ने गरेको छु । यो एकताका बारेमा दुईवटा कोणबाट व्याख्या हुने गरेको छ । एक कोणबाट एकता हुनुपर्ने हो, हुनुपर्छ भन्ने तरिकाले आशा र अपेक्षा गर्ने गरेका छन् । उनीहरू यी दुई पार्टी एकता होस् भन्ने चाहन्छन् । एकता हुन्न कि, भए हुन्थ्यो, एकता प्रक्रियामा अवरोध नभए हुन्थ्यो, एकता प्रक्रिया समयमै सम्पन्न भए हुन्थ्यो भन्नेको ठूलो संख्या छ । अर्को एउटा सानो संख्याचाहिँ एकता नभए हुन्थ्यो, एकता भाँडिए हुन्थ्यो भन्नेहरूको छ । एकता भइहाले पनि छिट्टै विभाजन भए हुन्थ्यो त्यतिबेला हामीले खेल्ने मौका पाउने थियौं । हामीले केही स्पेस पाउने थियौं भन्ने शक्ति र प्रवृत्ति पनि यहाँ छन् ।
त्यसैले, मेरो विचारमा जसले एकता चाहेका छैनन्, उनीहरू एकता प्रक्रिया अघि बढ्दा निकै निराश भएका छन् । उनीहरू निराश हुँदै गर्छन्, हामी एकता प्रक्रिया अघि बढाउँदै जान्छौं । हामी सार्थक निष्कर्षमा पु¥याउँछौं ।
एकता भएपछि फेरि टुक्रिन्छन् कि भन्ने जुन आशंका छ, एकतापछि टुक्रिने भए हामी किन एकता चाहन्थ्यौं । त्यसैले, यो आशंका नै गलत छ । यो व्यर्थको कुरा हो । टुक्रिन होइन हामीले यो एकता देश र जनतालाई नयाँ दिशामा लैजान एकता गरेको हो । यो एकता टुक्रिनेछैन, टुक्रिँदैन । ढुक्क भए हुन्छ ।
मुलुकमा नयाँ संविधान बनेको छ । जनतको मुहारमा खुसी छाएको छ । हामी यो खुशीलाई सार्थक रूप दिन एकता प्रक्रियामा जुटेका हौं । त्यसैले, यो एकता पूर्ण हुन्छ । ढुक्क भए हुन्छ ।
० अहिले पनि विभिन्न पदमा तपाईंहरूले भागबन्डा गर्दा अहिले पनि यी दुई पार्टीबीच एकता भएको छैन भन्ने पनि छ नि ?
– हामी एकता प्रक्रियाको औपचारिक घोषणाको निकै नजिक पुगेका छौं । जहाँसम्म भागबन्डाको प्रश्न छ । यो भागबन्डाको प्रश्न नै होइन । यो कसलाई कुन जिम्मेवारी दिने भन्ने जिम्मेवारीको विषय हो । स्वाभाविक रूपमा आजको मितिसम्म त हामी एक पार्टी भएका छैनौं । सैद्धान्तिक, कार्यक्रमिक र नीतिगत रूपमा एक ठाउँमा आए पनि एक भएका छैनौं । यद्यपि, हामी एक हुने निश्चत छ । यस्तो अवस्थामा दुवै पार्टीका जिम्मेवार नेता बसेर कुन पार्टीले के जिम्मेवारी लिने भन्ने कुरालाई गफको विषय बनाउनुपर्छ जस्तो लाग्दैन । यो पार्टीका विभिन्न तहका जिम्मेवार साथीहरूलाई उपयुक्त ढंगले जिम्मेवारी दिएको कुरा हो ।
० प्रधानमन्त्री केपी शर्मा ओलीले तेल र रेलको कुरालाई सार्थकता दिने गरी अहिले अघि बढ्नुभएको छ भन्ने छ । तपाईंलाई त्यस्तो लाग्छ ?
– हिजोको परिस्थिति र अहिलेको परिस्थितिमा निकै फरक छ । हिजो यो सरकार कहिलेसम्म टिक्ला भन्ने प्रश्न थियो । अहिले त्यो अवस्था छैन । आज हामी दुई पार्टी एक ठाउँमा छौं । हामीसँग करिब दुई तिहाइ बहुमत छ । अब राजनीतिक अस्थिरताको प्रश्न जनताको मनबाट हटिसकेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले पहिलोपटक प्रधानमन्त्री हुँदा राखेका प्रतिबद्धता हामीले चुनावी मैदानमा जाँदा पनि साझा घोषणापत्र बनाएर अघि बढेका थियौं । त्यसैले ती सबै घोषणा पूरा गर्ने यो उपयुक्त बेला हो । म के कुरामा विश्वस्त छु भने हामीले अघि सारेका घोषणापत्रले पूर्णता पाउने बेला हो । देश सुखी र समृद्ध नेपाल निर्माण गर्छौं । यो हाम्रो प्रतिबद्धता पनि हो । हामी सबैले प्रधानमन्त्रीज्यूलाई सहयोग गरेर अघि बढ्ने हो । अहिले को मन्त्री बन्ने ? कसले के जिम्मेवारी पाउने भन्ने गौण विषय हुन् । हामी सबै एक भएर समृद्ध मुलुक निर्माणको अभियानमा अघि बढ्छौं ।
म मन्त्री बन्ने कुरा सेलाइसकेको छैन
पम्फा भुसाल, प्रवक्ता, एमाओवादी केन्द्र
० एक महिना हुन थाल्यो नयाँ सरकार बनेको किन अझै पूर्णता पाउन सकिरहेको छैन ?
– राष्ट्रपतिको निर्वाचनपछि सरकारले पूर्णता पाइहाल्छ । मंगलबारको निर्वाचनपछि पक्कै पनि यही महिनाभित्रै सरकारले पूर्णता पाँउछ भन्नेमा हामी आशावादी छौं ।
।
० मन्त्रीहरू छनोटमा तपाईंको पार्टीभित्र किचलो भएकैले ढिलो भइरहेको भन्ने कुरा आएको छ नि ?
– यो गलत कुरा हो, किचलो छैन । हरेक पार्टीका सांसद स्वाभाविक रूपमा मन्त्रीका उम्मेदवार हुन् । त्यसैले, इच्छा, अकांक्षा अलि धेरैले राखेका हुन सक्छन् । त्यसो भन्दैमा किचलो नै भनेर बुझ्नुहुँदैन । अन्ततः सबैलाई समेटेर समावेशी खालको टिम मन्त्रिमण्डलमा जान्छ ।
० पार्टीका पुरानाहरूलाई मन्त्री नबनाइएको तर एकता प्रक्रियाबाट पछि आएकाहरूलाई बढी अवसर दिइयो भन्ने गुनासो रहेछ नि ?
– हामी सबै आएको एकताबाटै हो । नेकपा माओवादी केन्द्र बनाएर क्रान्तिकारी माओवादी, एकीकृत नेकपा माओवादी, विद्रोही माओवादीलगायत धेरैवटा माओवादीमा विभाजित पार्टीहरूको एकीकृत पार्टी हो यो । त्यही भएर कोही एकदम घरको हुने अनि कोही बाहिरबाट आउने भन्ने हुन सक्दैन ।
० पहिले अध्यक्ष प्रचण्डलाई कडा विरोध गरेर संशोधनवादी भन्दै हिँड्ने तपाईंहरू अहिले उहाँकै लाइनमा आउनुभएकोमा धेरैले जनताले अचम्म मानेका छन् नि ?
– यसमा अचम्म मान्नुपर्ने कारण छैन । अध्यक्ष प्रचण्डले पनि नयाँ गर्नुपर्छ भन्नुभयो । हामीले पनि किरणजीकोमा गएर नयाँ गर्न नसकेको अवस्था रह्यो । यसले गर्दा माओवादी झन् कमजोर भयो । टुक्राटुक्रा भयो । एकबाट दुई, दुईबाट चार गर्दाखेरि हामीले उठाएका एजेन्डा त कमजोर हुने भए । त्यसैले, यस्तो त गर्नुहुन्न भन्ने भएपछि हामीले अध्यक्ष कामरेडसित पनि भेटवार्ता र छलफल थालनी ग¥यौं र एकताको प्रक्रिया अगाडि बढायौं । यसमा हामीले ठीकै ग¥यौं भन्ने लागेको छ । अब समग्र नेपालको कम्युनिस्ट आन्दोलनलाई बृहत् एकीकरण गर्नुपर्छ ।
० पार्टीमा अधिकांश अवसर रुकुम, रोल्पातिरकालाई दिइयो भन्ने गुनासो पनि रहेछ नि ?
प्रायः आन्दोलनको केन्द्र जहाँ हुन्छ, त्यहीबाट हो नेतृत्वको विकास हुने । त्यसैले, अवसर लिने जसको पनि हुन्छ । अहिलेको एमाले मुख्यत झापा आन्दोलनबाट विकसित भएको हो । त्यसैले, पार्टीका धेरै नेता त्यहाँबाट हुनुहुन्छ । अवसर पनि त्यस्तै देखिन्छ । त्यसैले, आन्दोलनको केन्द्र जहाँ हुन्छ, योगदानका आधारमा अवसर पनि त्यतैको हुने गर्छ । ठाउँ विशेषले प्रभाव पार्ने भन्ने होइन ।
० तपाईंको पनि मन्त्री बन्ने चर्चा थियो, फेरि सेलायो त ?
– सेलाइसकेको त छैन । पार्टीले मौका दियो भने म जाने कुरा हुन्छ । दिएन भने सांसदकै रूपमा पनि मैले प्रभावकारी भूमिका पूरा गर्छु । हामीले अध्यक्षलाई नै निर्णय गर्नुस् भनेर जिम्मा दिएका छौं । निर्णय नै भएको छैन । पार्टीले गर्ने निर्णय हो । मलाई पार्टीले टिकट दियो । मैले निर्वाचन जितें । अब पार्टीले जे जिम्मा दिन्छ, त्यो हार्दिकतापूर्वक स्वीकार गर्छु र काममा अगाडि बढ्छु ।
० दुई पार्टी एकताको गृहकार्य कहाँ पुगेको छ ?
– एकताका सन्दर्भमा कार्यदलहरू बनेका छन् । कार्यदलहरू आ–आफ्नो काममा लागिरहेका छन् । समय नपुग्ने भएको भएर थप्ने पनि कुरा भइरहेको छ । आन्तरिक कामहरूमा जुटिरहेको अवस्था छ । तोकिएकै समयमा नसकिए पनि छिट्टै निष्कर्ष आउँछ । समय पनि लाग्ने कुरा भयो । ठूलाठूला दुई पार्टी छन् । त्यसलाई मिलाउन त केही समय त लागि नै हाल्छ । मेरो विचारमा यो महिनामा सकिएला ।
० एकता प्रक्रिया भाँड्न पनि विभिन्न तŒव लागेको हल्ला छ नि ?
विभिन्न हल्ला चलाए पनि पार्टी एकीकरण कसैले रोकिएर रोकिनेछैन । पदीय भागबन्डाले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई कुनै असर गर्दैन । दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवादअनुरूप नै पार्टी एकीकरण छिट्टै हुन्छ । म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, पदीय भागबन्डाको विषयले पार्टी एकीकरणमा कुनै असर गर्दैन ।
० वाम गठबन्धन पनि अरूले गराइदिएको भन्ने चर्चा छ नि ?
– गलत अफवाह हो । वाम गठबन्धन नेपालका वामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरिएको हो । उहाँले वामपन्थी र प्रजातान्त्रिक शक्ति दुई पक्ष मात्र भयो भने स्थिरता हुन्छ, यो देशको आवश्यकता हो भनेर नै सुरुदेखि हामी लागेका थियौं । त्यही भएर हामीले गएको निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाइ मत मागेका थियौं । यसो भयो भने देशले आर्थिक समृद्धि र स्थिर सरकार पाउने हाम्रो आशा थियो ।
० साझा दस्तावेज निर्माण गर्ने कमिटीको सदस्यसमेत हुनुहुन्छ । दुई पार्टीबीच जबज, माओवादलगायतका विषयलाई अब कसरी मिलाउनुहुन्छ ?
– असोज १७ को घोषणा, निर्वाचनको साझा घोषणापत्र, पार्टी एकता संयोजन समितिले निर्णय गरेर जारी गरेको परिपत्र अनि पछिल्लो सातबुँदे समझदारीले अलिकति मार्गप्रशस्त गरिदिएको छ ।
एकातिर माओवाद र एक्काइसौं शताब्दीको जनवाद छ भने अर्कोतिर बहुदलीय जनवाद छ । यी हामीले मानेर अपनाएका आआफ्ना कार्यदिशा, कार्यक्रमहरू हुन् । तर, हामी नयाँ स्टेप चालेर यी विषयभन्दा अलि माथि जाँदै छौं । हामी नयाँ चरणमा आएका छौं । त्यसैले, समाजवादका आधार तयार पारेर समाजवादमा जाने नयाँ कार्यदिशा तयार पार्नुपर्छ । अहिले समाजवादको आधार तयार गर्ने र माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त बनाउने भन्नेबाट हामी जान्छौं । अहिले हामी दुवैतिरका डकुमेन्ट पढ्दै छौं । अहिले हामीले अध्ययनका सामग्री मात्रै संकलन गरेका छौं । यसका आधारमा विषयवस्तु के बनाउने भनेर खाका तयार पार्न एउटा उपसमिति बनाएका छौं । हाम्रो मुख्य उद्देश्य एकता हो । त्यसो भएको हुनाले मिल्ने कुराबाट अगाडि बढौं र नमिलेका कुरामा अध्ययन गरौं भन्नेबाट हामी अगाडि जाँदै छौं । नमिलेका विषयहरू महाधिवेशनसम्म छलफलमा जान्छन् ।
० अब सरकारमा महन्थ ठाकुरहरू आउने भए उनलाई उपराष्ट्रपतिसमेत दिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको कुरा आइरहेको छ, तपाईंहरूसँग सल्लाह भएरै उहाँले यसो भन्नुभएको होला नि ?
– मलाई यसबारे जानकारी छैन । हाम्रो पार्टीमा पनि जानकारी भएको मैले थाहा पाएको छैन । आज मात्रै पनि म अध्यक्षसँग थिएँ । मैले बिहान भेट्दाखेरि मैले त्यस्तो कुरा थाहा पाइनँ ।
० प्रधानमन्त्रीलाई मधेसी दलहरूले समेत विश्वासको मत दिन संविधान संशोधनलगायत अन्य जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ कि ?
त्यस्तो मलाई थाहा छैन । मधेस उहाँहरूले समर्थन गर्नुभयो अब त्यही भएर ऋण तिर्दै छौं भनी राजेन्द्र महतोजीको दिनुभएको अन्तरवार्ता मैले पनि पढेको हुँ । त्यही हिसाबले पनि समाजवादी फोरम त सरकारमा आउने निश्चित नै भएको छ । स्वतः गर्ने कुरा हुने भयो । त्योभन्दा बढी कुराचाहिँ मेरो जानकारीमा छैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply