मन्त्रिपरिषद्को हरेफेरमा मैले कुनै चासो राखेको छैन
डा. भीम रावल,स्थायी कमिटी सदस्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपाको स्थायी कमिटी बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ, सुरुमा तपाईंहरू निकै कडा रूपमा प्रस्तुत भए पनि पछि त्यस्तो देखिएन । खासमा यस बैठकबाट के उपलब्धि हासिल भयो ?
हरेक पार्टीमा समस्याहरू उत्पन्न हुन्छन् । अन्तरविरोध हुन्छ । पार्टीहरूमा कहिलेकाहीँ अन्तरसंघर्षहरू पनि हुन्छन् । त्यो हुनुका पछाडि सैद्धान्तिक, वैचारिक, संगठनात्मक र विधिगत कुराहरू हुन्छन् । हामीले विगतमा पनि कडा–कडा कुरा भन्यौं, ती प्रसंगभन्दा बाहिर गएर गरिएका कुरा होइनन् । र, अहिले पनि हामीले जे काम गरेका छौं, यही परिधिभित्र रहेका काम गरेका छौं । र, पार्टीभित्र जुन अन्तरविरोध सिर्जना भएको थियो, त्यो अन्तरविरोधलाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर स्थायी कमिटीले निर्णय गरेको छ । स्थायी कमिटीको अहिलेको निर्णय पार्टीबाट गठित कार्यदलको प्रतिवेदनमा मूलतः आधारित छ । कार्यदलले पनि अहिलेको विषम परिस्थिति तथा देश र जनताको अवस्थालाई समग्र रूपमा ध्यान दिएर यो निर्णय अगाडि आएको छ र यो निर्णयले पार्टीलाई पुनः एउटा नियमित प्रक्रियामा, स्वाभाविक गतिमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।
० यसअघि पनि निर्णय र नीतिगत कुरा त धेरै भएको थियो, तर त्यसको कार्यान्वयन हुन सकेन भन्ने गुनासो थियो, अब सबै कुरा कार्यान्वयन हुन्छ भन्ने अपेक्षा छ ?
यसअघि भएका सबै निर्णय कार्यान्वयन भएनन्, कुनै पनि भएनन् भन्ने पनि होइन । साबिकको नेकपा एमाले वा त्यतिबेलाको माओवादी केन्द्रको कुरालाई छाडेर दुईटा पार्टी एकीकरण भइसकेपछि यताका कुरा गर्ने हो भने पनि पार्टीले गरेका थुप्रै कुरा र निर्णय कार्यान्वयन भएका छन् । चाहे त पार्टीको संगठन एकीकरणको कुरा होस्, चाहे निर्वाचनको विषय होस् या अरू विषय हुन् । तर कतिपय विषय जो अन्तरविरोधसँग सम्बन्धित थिए, जो विभिन्न नीतिगत मतभेदसँग सम्बन्धित थिए, ती कतिपय कुरा कार्यान्वयन नभएको पनि साँचो हो । तर, अब विगतमा कुनै कुरा कार्यान्वयन भएको थिएन भनेर अब अहिले फेरि पार्टीमा रहेका समस्यालाई समाधान गरेर अगाडि जाने कुराका लागि कुनै सहमति गर्नै मिल्दैन भन्ने त होइन । अब हामीले अहिले पार्टीले जे निर्णय गरेको छ, त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ र त्यो कार्यान्वयन हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ । यदि कुनै अधिकारप्राप्त व्यक्ति वा कमिटीले त्यसलाई कार्यान्वयन गरेन भने त त्यो सम्बन्धितको जिम्मा हुन्छ र पछि त्यसको समीक्षा हुन्छ । त्यसकारण, कुनैबेला कुनै सन्दर्भमा निर्णय कार्यान्वयन भएको थिएन भनेर अब अहिलेसम्म भएको समस्याको समाधानतर्फ अग्रसर नहुने र नयाँ निर्णय गर्ने कुरा पनि गर्न नहुने भन्ने तर्क गर्नु स्वाभाविक हुँदैन ।
यो बैठकमा मूलतः तपाईंंहरूले यसबीचमा उठाउँदै आएका सबै मुद्दाको सम्बोधन भयो त ?
सबै मुद्दाको सम्बोधन गरेको हो, अब कुनै पनि समस्या छैन, सम्पूर्ण कुरा समाप्त भयो भन्ने कुरा होइन । यो पार्टी स्वयं माक्र्सवाद–लेनिनवाद र द्वन्द्ववादमा विश्वास गर्छ । यहाँभित्र विचारको विविधता पनि हुन्छ । दृष्टिकोणको विविधता पनि हुन्छ । समस्याहरू उत्पन्न भइरहन्छन् । हामी वर्गीय समाजमा छौं । वर्गीय समाजका प्रतिबिम्बहरू त्यहाँ पनि हुन्छन् । कहिलेकाहीँ ती विषयमा पनि मतभेद हुन्छ । त्यो एउटा प्रक्रियामा अगाडि बढिरहन्छ । तर, अहिलेको कुरा जुन मूलभूत कुरामा चाहे त्यो विधि, पद्धति र प्रणालीमा पार्टीलाई चलाउने कुरामा होस्, चाहे अहिलेको स्थितिको सामना गर्ने कुरा होस्, चाहे कार्यविभाजनको प्रसंग होस् वा महाधिवेशन र अहिले पार्टीको समग्र परिचालन कसरी गर्ने भन्ने कुरा होस्, यी प्रसंगहरूमा तत्काल उठेका मूलभूत कुरालाई सम्बोधन गरेर जुन अन्तरविरोध चर्किएको थियो, त्यसलाई मत्थर पार्ने काम भएको छ । यसको अर्थ सबै समस्या केही पनि भएन, चारैतिर प्वाल थियो, त्यसलाई रसायन लगाएर टालिएको हो भनेजस्तो राजनीतिमा हुँदैन ।
वरिष्ठ नेता माधव नेपालले आफ्नो १७ बुँदे असहमति प्रकट गरेको कुरा आइरहेको छ, यो के हो ?
हाम्रा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा राख्नुभएको कुरालाई पनि बाहिर गलत किसिमले प्रचार गरिएको छ । उहाँले सकारात्मक रूपले ती बुँदा प्रस्तुत गर्नुभएको छ । उहाँले बैठकको आरम्भमा नै अहिले समस्या समाधान गर्न कार्यदलका तर्फबाट गरिएको प्रयास, अध्यक्षद्वयले राख्नुभएको प्रस्तावप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै उहाँले कार्यदल वा प्रस्तावले अगाडि सारेका कतिपय कुरालाई नै उद्धृत गर्दै तिनको कार्यान्वयनमा जोड दिनुभएको छ र केही थप कुरा, जसमा हामीले थप छलफल गर्दै आएका थियौं, जस्तो विधानअनुसार एक व्यक्ति एक प्रमुख जिम्मेवारीलगायतमा आगामी दिनमा अझ हामी स्पष्ट हुनुपर्छ भन्ने कुरामा उहाँले जोड दिनुभएको छ । त्यो उहाँको कुरा एकदम स्वाभाविक छ । त्यो कुरा उहाँले यी मेरा असहमतिका बुँदा हुन्, निर्णय प्रक्रियासँग असहमत छु भनेर बैठकमा भन्नुभएको होइन तर उहाँले त्यसो भन्नुभयो भनेर कसैकसैले प्रचार गरेको देखियो । तर, त्यो कुरा सत्य होइन । मूलभूत रूपमा उहाँले पनि बैठकका निर्णयहरूप्रति पूर्ण समर्थन जनाउनुभएको छ र त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ । हामी पनि कार्यान्वयनमा जोड दिन्छौं ।
० तपाईंले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध खरो ढंगले आवाज उठाउँदै आउनुभएको थियो, त्यसविरुद्ध राष्ट्रवादी सोचका साथ प्रस्तुत हुनुभएको थियो तर यो प्रकरणले स्थायी समितिको यो बैठकमा आइपुग्दा भीम रावलको राष्ट्रवाद खल्र्यापखुर्लुप्प ढल्यो भनेर बाहिर टिप्पणी भइरहेका छन् नि ?
मलाई यी तर्कहरू सुन्दा आश्चर्य पनि लाग्छ अनि हाँसो पनि उठ्छ । यस विषयमा मेरो ट्विट र विभिन्न अन्तर्वार्तामार्फत प्रशस्त प्रस्ट पारिसकेको छु । हामीले हाम्रो देशभक्तिको अडानबाट राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर हाम्रो स्वाधीनता, स्वतन्त्रता, आफ्नो निर्णय गर्ने अधिकार, हाम्रो संविधान, कानुन सार्वभौमसत्ताका पक्षमा हामीले आवाज उठाएका थियौं । योभन्दा अगाडि पार्टी केन्द्रीय कमिटीबाट गठित वरिष्ठ नेता झलनाथ खनालज्यूको संयोजकत्वमा बनेको कार्यदलबाट नै हामीले कुरा राखेका थियौं । अहिलेको बैठकमा पनि हामीले त्यही कुरा दोहो¥याएका हौं । त्यो कार्यदलको प्रतिवेदनमा पनि हामीले मैले अघि भनेका संविधान, कानुन र सार्वभौसत्ता विपरीत छन् भनेर उल्लेख गरेका छौं । हिन्द प्रशान्त रणनीतिअन्तर्गत धकेल्नेजस्ता सम्पूर्ण कुराहरूलाई हामीले अस्वीकार गरेका छौं । मैले व्यक्तिगत रूपमा त्यस विषयमा जोडदार आवाज उठाउँदै आएको हुँ र म अहिले पनि त्यो विषयमा शतप्रतिशत नै कायम छु । यी कुरालाई हाम्रो यो बैठकले जस्ताको तस्तै नभए पनि यी विषयहरू सच्याएर मात्र पारित गर्नुपर्छ भनेको छ । किनभने, कूटनीतिक शव्दावलीमा नगर्ने भनिँदैन । हामीले जेजे कुरा उठाएका छौं, ती भएपछि हामीले नगर्ने भन्ने हुन्न । हाम्रो कुनै देशप्रति विभेद त होइन । त्यसैले कार्यदलको प्रतिवेदनमा जे कुरा उल्लेख थियो, आज पनि त्यही भनिएको छ । अझ त्योभन्दा अगाडि बढेर स्थायी कमिटीको बैठकले अझ नयाँ निर्णय गरेको छ ।
के हो त्यो निर्णय ?
त्यो निर्णय के हो भने हामीले अन्तिम निर्णय नगरुन्जेल यसमा पुनः छलफल गरेर अन्तिम निर्णय गर्ने भनिएको छ । अन्तिम निणैय नगरुन्जेल नेपाल सरकारले एमसीसीसँग गरेको सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एकसीसी) अन्तर्गत जति पनि गतिविधि र कार्यक्रम छन्, ती सम्पूर्ण बन्द गर्ने भनेर झन् कडा निर्णय गरेको छ । यति हुँदाहुँदै जुन मान्छेले यसमा झल्र्यामझुर्लुम भयो, देशभक्ति गयो भनेर हल्ला गरका छन् त्यसलाई ट्विटमा मैले यो एमसीसीका पक्षधर, त्यसका दलालहरूले गरेको कुप्रचार हो र भीम रावल जस्ता व्यक्तिहरूले देशभक्तिको अडान छोडेदेखि नेपालको शिर झुकाउन सकिन्थ्यो की भन्ने कुत्सित आशयबाट प्रचार गरिएको हो र त्यो कुत्सित आशय कहिल्यै पूरा हुनेछैन भनेर मैले त्यसलाई योभन्दा पहिले नै खण्डन गसिकेको छु ।
तर केही व्यक्तिले यसमा नोट अफ डिसेन्ट लेखे तर तपाईंको अभिव्यक्ति भने आन्तरिक बैठकमा त्यस्तो आएन भन्ने छ नि ?
त्यो बैठकमा सबैभन्दा स्पष्ट शब्दमा एमसीसीबारे आजैको बैठकबाट निर्णय हुनुपर्छ, आजको बैठकबाट निर्णय हुँदैन भने त्यसका सम्पूर्ण गतिविधि भंग हुनुपर्छ भनेर मैले नै प्रस्ताव अघि सारेको थिएँ ।
तपाईंको प्रस्तावमा के थियो त कुरा ?
त्यो प्रस्तावमा कार्यदलको बैठकले योभन्दा अगाडि जेजे कुरा औंल्याएको छ, ती सम्पूर्ण कुरामा संशोधन नगरी अब यो एमसीसीअन्तर्गतको कम्प्याक्टको सम्झौतालाई अगाडि नबढाउने तथा यो एमसीसीको र हिन्द प्रशान्त रणनीतिको बीचको सम्बन्धको जुन कुरा छ, दुई देशको बीचको औपचारिक रूपमा छलफल भई पत्राचार गरेर यसको अंग होइन भनेर स्पष्ट नहुँदासम्म त्यो कुरा पनि मान्न नसकिने भन्ने प्रस्ताव झन सबैभन्दा स्पष्ट रूपमा राख्ने म नै हुँ । तर, मैले नै त्यहाँ बोलेन भनेर कसैले भनेको हो भने यो भन्दा दुराशयपूर्ण कुप्रचार के हुन सक्छ ?
भनेपछि पार्टीले त तपाईंले प्रस्ताव राखेकै लाइनले सो विषय पास गरेको हो ?
यसलाई मेरो लाइन मात्र नभनौं, किनभने यो मेरो व्यक्तिगत कुरा मात्र होइन । किनभने यस्ता कुरामा व्यक्तिगत जस लिनुहुँदैन । हामीले हाम्रा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा जुन कार्यदल गठन भएको थियो, केन्द्रीय सदस्यहरूको जुन मत थियो, आम देशभक्त नेपालीको जुन अभिमत थियो, त्यही लाइनमा स्थायी कमिटीको अहिलेको निर्णय आएको छ ।
तर बाहिरी मान्छेहरूले भीम रावललाई मन्त्री बनाउने भएपछि यो विषयमा चुप लागेको भनेर आरोप लगाइरहेको सुनिन्छ नि ?
त्यस्ता आरोप लगाउने मान्छेले मूलतः तीनवटा कारणले यो आरोप लगाएका हुन सक्छन् । पहिलो, मप्रतिको पूर्वाग्रह राखेर मलाई कसरी हुन्छ, प्रहार गर्ने कुआकांक्षा र कुआशयबाट भएको हुन सक्छ । दोस्रो, हल्लाको भरमा मनगढन्ते कुरा गरेर हल्लामा रमाएर गरेको कुरा हुनसक्छ । र तेस्रो, कुरा नबुझेर गरिएको हुन सक्छ । त्यो आरोप पुरै गलत हो ।
अब सरकार पुनर्गठनको कुरा पनि छ, के तपाईं पुर्नगठित सरकारमा जाँदै हुनुहुन्छ ?
त्यो मलाई जानकारी छैन । मैले विद्यार्थीकालदेखि आजसम्म जेजति कुरा उठाएको छु, निष्ठाका साथ देश र जनताको हकहितका लागि उठाउँदै आएको छु । त्यो कुरा मेरो कुनै प्राप्तिसँग सम्बन्धित छैन । अहिले जहाँसम्म मन्त्रिपरिषद्को हरेफेरको कुरा छ, त्यो मलाई जानकारी पनि छैन । मैले कुनै चासो राखेको पनि छैन । मसँग तत्सम्बन्धमा कसैले कुरा गरेको पनि छैन । हल्ला र प्रचार गर्ने मान्छेहरूले किन गरेका छन् ? लोकतन्त्रमा सबैलाई सबै कुरा लेख्न छुट छँदैछ ।
नेताहरूले मन्त्रीका लागि प्रस्ताव गरे तपाईं जानुहुन्छ कि जानुहुन्न ?
कुनै सञ्चारमाध्यममा मेरो मन्त्रीमा जाने सोच छ, फलानाले मलाई मन्त्रीमा प्रस्ताव गर्नुप¥यो, म यस्तो गर्न चाहन्छु भनेर काल्पनिक कुरा गरेर म यत्तिकै हल्का बन्न चाहन्न ।
नेताहरूले आश्वासन दिनुभएको छ कि छैन अहिलेसम्म ?
म आश्वासनको खोजीमा पनि छैन । मैले त्यस्तोमा चासो पनि राखेको छैन । मैले तपाईंलाई अघि नै भने मेरो यसबारे कसैसँग छलफल नै छैन ।
सरकारको कामकारबाहीको समीक्षाको प्रश्न पनि जोडदार रूपमा उठाउँदै आउनुभएको थियो तर यो बैठकले यी विषयका त केही बोलेन नि ?
संगठन सञ्चालनका विभिन्न आयाम हुन्छन् । देश र जनताप्रति जिम्मेवार राजनीतिक दल र नेताहरूले समग्र परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । उनीहरूको एक मात्र उद्देश्य भनेको राष्ट्रको सर्वोपरि हित र देशलाई बलियो बनाउने हुनुपर्छ । त्यसैले, पार्टीभित्र सरकारको समीक्षाको प्रश्नमा कहाँ त्रुटि छन्, त्यसलाई औंल्याउने र हटाउने र सरकारलाई प्रभावकारी बनाउने, पार्टीलाई बलियो बनाउने र देशलाई सुदृढ र समृद्ध बनाउने नै हो । यस सन्दर्भका विषयमा हामीले कार्यसूची बनाएका थियौं । अहिले विषम परिस्थितिमा पार्टीमा अन्तरविरोध चर्किएका बेला कतिपय कुरा वस्तुवादी नहुन पनि सक्छ । कतिपय कुरा पूर्वाग्रही पनि हुन सक्छ । त्यसैले, त्यसलाई उपयुक्त समयमा सरकारको सम्पूर्ण कार्यको समीक्षा गर्छौं भनेर पार्टीले त निर्णय गरेकै छ नि ।
अब महाधिवेशन चैतमा गर्ने निर्णय जुन छ, यो सम्भव छ त ?
महाधिवेशन सम्भव नहुने भन्ने त कुरै भएन । सम्भव भएन भने पनि सम्भव गराउने त पार्टीका संगठन र नेता–कार्यकर्ताहरूले हो । हामीले विगतमा तीन महिनाको अन्तरालमा त अधिवेशन सम्पन्न गरेका छौं । अहिले कोरोना विषाणुको जुन संक्रमण फैलिरहेको छ, यसले गर्दा स्थिति के हुन्छ भन्ने मात्र समस्या हो । भोलि यो कोरोना अनियन्त्रित भएर गयो भने त्यो त्यतिबेलै मूल्यांकन हुने कुरा हो । अन्यथा संगठनात्मक तयारी र सदस्यता नवीकरणलगायत सबै काम सुरु गर्नुपर्छ । हामीले संगठन विभागको बैठक बसेर असोजभित्र नै त्यो काम आरम्भ गरेर अगाडि बढाउने भनेर भनिसकेका छौं । यत्रो ठूलो पार्टीले सबै क्षमता लगाउँदा महाधिवेशन गर्न नसक्ने भन्ने कुरै होइन ।
अहिले नेकपामा एक खालको जुन सहमति भएको छ, त्यो दुई नेताबीच चोचोमोचो मिलाएर मात्र अस्थायी युद्धविरामजस्तो भएको छ, वरिष्ठ नेता माधव नेपाल पक्ष अझै असन्तुष्ट छ, तीनमा दुई पक्ष मात्र मिलेर समस्याको दीर्घकालीन समाधान हुँदैन भन्नेहरू पनि छन् नि ?
समस्या जुनबेला उत्पन्न भयो त्यहीबेला समाधान गर्ने हो । त्यसले कति समयसम्म समाधान दिन्छ, त्यो त भोलि हेर्न बाँकी नै छ । दीर्घकालीन समाधान भनेको के हो ? १० वर्षको लागि भनेको हो कि ? पाँच वर्षका लागि भनिएको हो कि ? को पक्ष हुन् वा को विपक्ष हुन् भन्ने कुरा देश, जनता र पार्टीको बृहत् हितको आँखाबाट हेर्नुपर्छ । अहिले सबैले उठाएका कुरा पार्टी राम्रो होस् भन्ने नै हो । जब त्यो आशय हो भने समस्या आएको ठाउँमा समाधान गर्ने कर्तव्य र दायित्व पनि हाम्रै हो । त्यसैले हामी सबैले अहिले जेजसो ढंगले पाटीको समस्या समाधान गर्न सकिन्छ, त्यही ढंगले गर्ने, भोलि ठुलो समस्या आए त्यहीबेला समाधान त्यही ढंगले खोज्ने । भोलि कुनै समस्या आउला भनेर आजको समस्यालाई थाती राखेर समाधान नगरी बसौं भन्न मिल्छ ? मिल्दैन नि !
कतिपयले यो पार्टी फुट्छ, छिन्नभिन्न हुन्छ भनेर प्रचार पनि गरेका थिए । ती प्रचार नेपाल, नेपाली जनता र नेकपा कसैको हितमा थिएन । त्यो सम्पूर्ण प्रचारको जुन माहोल थियो, अहिलेको सहमतिले त्यो माहोल केही न केही रूपमा परिवर्तन पनि त गरिदियो । भोलि महाधिवेशन गर्ने बेला हाम्रा पार्टीबीच राजनीतिक–वैचारिक समस्या आयो भने हामी त्यतिबेलै समाधान खोजौंला । पार्टीभित्रको समस्या समाधान गर्ने एक उचित र माक्र्सवादी दृष्टिकोण त्यही नै होलाजस्तो लाग्छ मलाई ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply