मैले शेरबहादुरजीको जयजयकार गर्नु उचित हुदैन
फरमुल्लाह मन्सुर नेता, नेपाली काँग्रेस
० मधेसी मोर्चाले यही वैशाख ३१ मा हुने निर्वाचनमा सहभागी नुहने भन्दै निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा गरेका छन् । यसलाइए कसरी लिनु भएको छ ?
–नेपाली काँग्रेस र मधेसी मोर्चाको समर्थनमा माओवादी केन्द्र नेतृत्वको सरकार गठन हुँदा मधेसका समस्यालाई संविधान संशोधनमार्फत समाधान गर्ने र देशलाई संविधान कार्यान्वयनको दिशामा अघि बढाउने भन्ने नै सहमति भएको हो । त्यहि आधारमै संविधान संशोधन प्रस्ताव सरकारले अघि बढाएको हो ।
० तर, संविधान संशोधन प्रस्ताव पनि अघि बढाउने निर्वाचन प्रक्रिया पनि अघि बढाउने भनेर त सरकारले प्रष्ट रुपमै भनेको छ नि, फेरि किन आन्दोलन त ?
–निर्वाचन गर्ने दायित्व सरकारको हो । अहिले सरकारले निर्वाचन प्रक्रिया अघि बढाउनुलाइ नकारात्मक कुरा भनिएको छैन । तर, योसँगै देशका सबै राजनीतिक पार्टीले निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्ने दायित्व पनि सरकारकै हो । नेपालका सबै नेपाली जनताले निर्भीकताका साथ निर्वाचनमा भाग लिने वातावरण बनाउने पनि सरकारकै दायित्व हो ।
० यसको मतलव मधेसी मोर्चालाई खुशी नबनाइ निर्वाचनमा जानु हुँदैन भन्ने तपाईको भनाइ हो ?
–हो, मधेसमा समस्या छैन कसैले पनि भनेका छैनन् । मधेसमा समस्या छ भन्ने कुरा सबैले स्वीकार गरेकै कुरा हो । त्यसैले मधेसमा समस्या छ भने छलफल गरेर, मधेसका समस्या समाधान गरेर मधेसका सबै जनताले निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्ने कुरामा सरकार र अन्य दलको पनि किन कन्जुस्याँइ त ? मधेसमा पनि सहज वातावरणमा निर्वाचन होस् भन्ने हो भने मधेसको समस्या समाधन गर्नुको अर्को विकल्प छैन । यो भनेको संविधान संशोधन नै हो । मैले यी कुरा विभिन्न फोरममा पनि भन्दै आएको छु ।
० यसको मतलव मधेसमा अहिले पनि अशान्ति नै छ । यस्तो बेलामा निर्वाचन सम्भव छैन, होइन ?
–निर्वाचन शान्तिपूर्ण रुपमा गर्ने हो भने मात्र फलदाई हुन्छ । त्यो तिर पनि सरकारको ध्यान जान सकोस् भन्ने मेरो भनाइ छ ।
० तर, मधेसी मोर्चाले गरेका एकपछि अर्को माग पूरा हुनै नसक्ने छन् भनेर त काँग्रेस, माओवादी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि भन्दै आएको छ नि ?
–कुन माग मधेसी मोर्चाका पूरा हुन सक्दैनन् ? त्यो कुरा त प्रष्ट रुपमै भन्नु पर्यो नि ! तपाईँहरुका यी–यी माग अहिले पूरा गर्न सकिन्न भनेर प्रष्ट त आउनु पर्यो नि त्यत्तिकै भनेर हुन्छ ?
० अहिले मधेसी मोर्चाले उठाएको सीमांकन भाषा, नागरिकतालगायतका विषयमा त प्रष्ट रुपमै सम्भव छैन भनेर सरकार र अन्य राजनीतिक दलहरुले पनि भनेकै छन् नि होइन ?
–जहाँसम्म सीमांकनको कुरा छ । त्यो त पहिला संविधान जारी गर्नु अघि नै मधेसमा दुई प्रदेश हुने छ भनेर भनिएको कुरा हो । त्यतिबेला नै काँग्रेस, एमाले र राप्रपाले त्यो खाकालाई सहमति जनाएका हुन् । बरु माओवादी र मधेसी मोर्चाले भने त्यसैबेला पनि अस्वीकार गरेको हो ।
० सहमतिका लागि त दुबैतर्फबाट लचिलो बन्नुपर्ला नि ?
–मैले यही भन्दै आएको छु । अहिले मधेसी मोर्चाले जे माग राखेका छन् । उनीहरुले पनि केही चलिचो हुनुपर्छ र सरकारले पनि केही लचिलो बन्नुपर्छ । त्यो भयो भने मात्र सहमति निस्कन सक्छ । यो समस्या देशको हो भनेर एमाले पनि जिम्मेवार भएर अघि बढ्नुपर्छ । सबैले हाम्रो जिम्मेवारी देशलाई निकास दिने नै हो भनेर अघि बढ्ने हो भने समस्या समाधान गर्न कुनै समस्या छैन ।
० यही अवस्थामा वैशाख ३१ मा स्थानीय निर्वाचन हुने सम्भावना कत्तिको छ ?
–मधेसी मोर्चालाई पनि वार्तामा ल्याएर निर्वाचनमा सहभागी गराउने जिम्मेवारी हामी सबैको हो । सरकारको पनि हो । तिमीहरु आए पनि आऊ नआए पनि नआऊ भनेर जाने हो भने त निर्वाचन पनि फलदायी होला जस्तो मलाई लाग्दैन ।
० तपाइको पार्टी नेपाली काँग्रेसको भनाइ चाहिँ के–हो ?
–हामीले ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्ने दायित्व छ । हामी सबै यही दायित्व पूरा गर्न लागेका छौँ । हामीले संविधान जारी गरेर निकै ठूलो उपलब्धी हाासिल गरेका छौँ । अब यसलाई कार्यान्वयन गर्ने दायित्व पनि हामीसँग छ । त्यसैले सबै पक्षलाई समेटेर हामी संविधान कार्यान्वयनको दिशामा जानुपर्छ । नेपाली काँग्रेसको धारणा पनि यही हो । हामीले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउन पनि सबै पक्षलाई समेटेर लैजानुपर्छ । त्यो भयो भने मात्र सर्वस्वीकार्य संविधान बन्न सक्छ । त्यसका लागि सबै भन्दा बढी पहल सरकारले गर्नुपर्छ । त्यसका लागि पनि मधेसी मोर्चालाई सहमतिमा ल्याउनुको अर्को विकल्प छैन ।
० मधेसी मोर्चा नै सहमतिबाट भागेको हो भन्ने आरोप काँग्रेस, माओवादी र एमालेले पटक–पटक किन लगाएको त ?
–मधेसी मोर्चासँग यी–यी कुरामा हामीले वार्ता गर्न खोजेका हौँ । मोर्चा यी–यी कुरामा मानिरहेको छैन भन्ने प्रष्ट धारणा त सरकारले पनि बाहिर ल्याउनु पर्यो नि ।
० संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाकै सहमतिमा ल्याएको हो । तर, उनीहरुले नै मानेनन् भन्ने प्रधानमन्त्री प्रचण्डका भनाई आरोप मात्रै हुन ?
–यो सन्दर्भमा प्राविधिक त्रुटि भएको हो कि भन्ने मैले ठानेको छु । सरकारले मधेसी मोर्चाकै सहमतिमा संशोधन प्रस्ताव ल्याएको भनिरहेको छ । यता मोर्चाका नेताहरुले हामीसँग जे सम्झौता भएको थियो त्यसैलाई हटाएर संशोधन प्रस्ताव ल्याए पछि हामीले स्वीकार गर्न सकेनौँ भनिरहनु भएको छ । यसरी हेर्दा दुबै पक्षबाट केही कमजोरी भएको छ । यी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।
० मधेसी मोर्चाका मागप्रति तपाईँ सकारात्क देखिनु हुन्छ । तर, मधेसी मोर्चाका कार्यकर्ता तपाईँहरुकै घर तोडफोड गर्ने, तपाईँहरुलाई नै आक्रमण गर्ने जस्ता क्रियाकलापमा संलग्न हुन्छन् । यस्ता कारणले पनि मधेसमा भएका आन्दोलन मोर्चाको भन्दा पनि अरु कसैको निर्देशनमा चलेको छ भन्यो भने के हुन्छ ?
–नेपाली जनताका प्रतिनिधिले पहिलो पटक जारी गरेको संघीय लोकतान्त्रिक संविधानका पक्षमा म दृढतापूर्वक उभिँदा मधेसी मोर्चाका साथीहरुले त्यसलाई अन्यथा रुपमा लिए र मेरो घर तोडफोड गरे । विगतमा माओवादी र पञ्चायतले पनि मलाई विभिन्न खाले दुःख दिएकै हुन् । यी सबैलाई मैले दृढतापूर्वक सामना गर्दै आएको छु ।
अहिले पनि भन्छु । संविधानमा केहि त्रुटि थिए । केही त्रुटि भएकै संविधान हामीले संशोधनमार्फत सच्याउने भनेर नै जारी गरेको हो । त्यसैले अब सच्याएर जाने कुरामा हामी सबैले गम्भीर भएर लाग्नुपर्छ । ३ सय ९ वटा दफा भएको संविधानमा मधेसी मोर्चाले पनि जम्मा चार वटा दफाको पनि केही उपदफामा मात्र असहमति व्यक्त गरेको छ । ती बाहेक त स्वीकार गरकै हो नि । त्यसैले उनीहरुका यी केही असहमतिलाई पनि सम्वोधन गरेर सर्वस्वीकार्य संविधान जारी गर्नु नै अहिलेको सबै भन्दा उत्तम विकल्प हो । अहिले काँग्रेस कहाँ हार्यो, मोर्चा कहाँ जित्यो, एमालेले कता हार्यो भन्ने भन्दा पनि सबै नेपाली जनताले जित्ने गरी अघि बढ्नुपर्छ । यो देश सबै पार्टीको हो भन्ने बुझेर अघि बढ्ने हो भने समस्या समाधान हुन्छ ।
० अहिले मधेसी मोर्चाको मागमा भन्दा पनि नियतमा शंका छ भनिन्छ नि ?
–मधेसी मोर्चाकै साथीहरुको सहयोगमा बाबुराम भट्टराई, प्रचण्डजी, झलनाथजी प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला चाहिँ शंका भएन छ ? मैले केपी ओलीजीको आलोचना गर्ने अनि शेरबहादुर देउवाजीको जयजयकार गर्ने कुरा पनि त्यति उचित हुँदैन । हामी सबैले सबैको सम्मान गरेर अघि बढ्नुपर्छ ।
शान्तराम बिडारी
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply