अध्यक्षबाट विवेकशील निर्णय भएन
जयन्त चन्द, केन्द्रीय सदस्य एवम् सभासद्, राप्रपा० पहिलो पटक सभासद् हुनुभएको छ, संसदीय अनुभव कस्तो छ ?
– अहिलेसम्म म उपयोगी अनुभव हासिल गर्दैछु । संविधानसभा वा व्यवस्थापिका–संसद् जुन गतिका साथ जानुपथ्र्यो, त्यसरी जान सकिरहेको छैन । तैपनि मेरो अनुभवमा अभिवृद्धि भएको छ । संविधानसभा वा व्यवस्थापिका–संसद्लाई बाहिरबाट हेर्दा जुन प्रभाव हुन्छ, भित्र आएर फरक अनुभव हासिल गरिरहेको छु ।
० अहिले त नियामावली पनि आइसक्यो, कार्यतालिका पनि आएको छ तर पनि के कारणले गतिका साथ काम गर्न नसकेको हो भन्ने लाग्छ ?
– गति पक्डिँदै छ । नियामावली बन्न पनि अलिक ढिला भयो । सरकार गठन पनि ढिला भयो । अब त सरकारले पनि करिब–करिब पूर्णता पाएको छ । अहिले तुरुन्त गर्नुपर्ने व्यवस्थापिका–संसद्का समिति गठनको काम बाँकी छ । त्यो पनि बनिसकेपछि संविधान निमार्णको कामले गति लेला ।
० समिति गठनका किन ढिला भएको हो भन्ने लाग्छ ?
– विभिन्न कारणहरू होलान् । खै के–के कुरा मिलेको छैन कुन्नि †
० भागबन्डा नमिलेको होला ?
– सिधासाधा भाषामा त्यो पनि भन्न सकिन्छ । सायद अरू पनि कारण छन् कि † सरकारले बिजनेस पनि दिन सकिरहेको छैन । बिजनेस ट्रयाकमा नआइसकेकाले कामले गति लिन नसकेको हो ।
० संविधानसभाको पहिलो बैठक बसेको तीन महिना भइसकेको छ, कामले गति लिएको छैन, यस पटक पनि संविधान बन्दैन भनेर शंका गरिन्छ नि ?
– बाहिर त्यस्तो आशंका छ । पहिला २ वर्षमा बन्नुपर्ने संविधान ४ वर्ष लगाउँदा पनि बन्न सकेन । त्यसले गर्दा सशंकित हुन, आशंका गर्न प्रशस्त ठाउँ दिएको छ । यो शंकाले दलहरुलाई सतर्क पनि गराएको छ ।
० सतर्क गराएको भए, शीर्ष नेताहरू संविधानसभामा जानुपर्ने तर कतिपय दलका शीर्ष नेताको संविधानसभामा कम उपस्थिति देखिन्छ नि ?
– संविधानसभाले बिजनेस नै पाएको छैन । ट्रयाक पक्रिसकेको छैन । त्यो भएर पनि उपस्थिति न्यून भएको होला । अब विस्तारै रेल लिकमा आएको छ, स्पिड लिन समय लाग्छ ।
० तपाईं अलिक भलाद्मी देखिनुहुन्छ, सभासद्हरूबीच घुलमिल पनि हुनुहुन्न भनेको सुनिन्छ नि ?
– म अलिक रिजर्भ बस्ने मेरो पहिलेदेखिकै बानी हो । तर, कसैसँग घुलमिल नै नहुने भन्ने होइन । मैले मौका पाउँदा जोसँग पनि घुलमिल हुन, कुरा गर्न रुचाउँछु ।
० अलिक रिजर्भ बस्ने कुराले राजनीतिका टिक्न गाह्रो पार्दैन र ?
– साथीभाइ, इष्टमित्र बनाउन चाहिँ समय लाग्छ । बानीलाई रातारात परिवर्तन गर्न पनि सकिँदैन । तर, म आसाजिक जस्तो पनि होइन । मलाई कुरा गर्न, विभिन्न मान्छेहरूको संगत गर्न रुचि लाग्छ ।
० तपार्इंको बुबा लोकेन्द्रबहादुर चन्दको बानीसँग तपाईंको बानीलाई तुलना गर्ने गरेको पनि सुनिन्छ नि ?
– अलि–अलि बुबासँग मिल्न पनि सक्छ ।
० बुबालाई राजनीतिको बाह्रौं खेलाडी भनिन्थ्यो……..
– बाह्रौं खेलाडी उहाँको ज्यादै चर्चित कृति हो । ०३४ सालतिर निस्केको हास्य निबन्धहरूको संग्रह हो ।
० राजनीतिमा पनि अरू खेलाडी सकिएपछि उहाँलाई उतारिने भएकाले बाह्रौ खेलाडी नै भनिन्थ्यो नि ?
– विगतमा त्यस्तो देखिएको हो । जस्तो ०४६ सालमा स्थिति ज्यादै भयावह थियो । देश त्यस्तो संकटको बिन्दुमा गइसकेको थियो, जहाँबाट फर्कने ठाउँ नै थिएन । त्यस्तो बेला उहाँले १४/१५ दिनको प्रधानमन्त्री पाउनुभयो । भिडन्ततर्फ गइसकेको मुलुकलाई उहाँले सहज अवतरण गराउनुभयो ।
० सानैदेखि बुबाको सान, मान देखेर तपाईं पनि राजनीतिमा लाग्नुभएको हो ?
– त्यो पनि देखें । साथसाथै, सिद्धान्त र इमानदारिताको राजनीति गर्दा कति दु:ख–कष्ट पाइन्छ भन्ने पनि मैले देखेको छु । देश र जनताको सेवा गर्ने हो भने राजनीतिबाहेकको अर्को उत्तम माध्यम नदेखेरै म यता लागेको हुँ । विगतमा दु:ख–कष्ट पाएका मान्छे हाम्रो घरमा आउँथे । बुबाले नभ्याएको समयमा म स्वयम्सेवक ढंगले त्यस्ता मान्छेहरूको सेवा गर्थें । सहयोग गर्न पाउँदा मलाई आत्मसन्तुष्टि पनि हुन्थ्यो । हुँदा–हुँदा जब आफ्नो जीवनको अगाडिको बाटो रोज्ने बेला आयो, मैले राजनीतिलाई नै रोजें ।
० राजनीतिमा दुश्मनी पनि त कमाइन्छ भन्छन् नि ?
– त्यस्तो भन्छन् । दुश्मन हुन्छन् भनेको पनि सुनेको छु । राजनीतिमा लागिसकेपछि स्वाभाविक प्रतिद्वन्द्विता हुन्छ । त्यसलाई छाड्ने हो भने राजनीतिकर्मीलाई जनताले जति माया गर्छन््, त्यति अरू क्षेत्रमा पाइन्छ भन्ने लाग्दैन ।
० पार्टीमा तपाईं, सुनिल थापाको आगमनपछि राप्रपा परिवारिक पार्टी भयो भन्नेहरू पनि छन् नि ?
– सुनिलजीका बारेमा म केही भन्दिनँ । जहाँसम्म मेरो कुरा छ, ०४७ सालमा राप्रपाको स्थापना भयो । त्यो बेलादेखि नै मान्छेहरूसँग घुलमिल गर्ने, सुख–दु:खमा साथ दिने काम गर्थें । पार्टीका क्रियाकलापहरूमा त्यो बेलाबाट नै सहभागी हुन पुगें । तर, सहभागिता राजनीति नै गर्ने योजनाअन्तर्गत थिएन । दलीय प्रणाली आएपछि राजनीतिक गतिविधिमा सक्रियता धेरै बढ्यो । उमेर पनि धेरै नभएकाले मेरो त्यो बेला पार्टीको कुनै पदीय जिम्मेवारी थिएन । ०४८ सालको चुनावमा बैतडीमा त्यत्रो क्याम्पियनमा भाग लिएँ । ०५१ मा करिब पाँच महिना बैतडीमै चुनावमा खटिएँ । ०५४ को स्थानीय निर्वाचनमा पनि त्यत्तिकै खटें । गाउँमा जनतासँग घुलमिल हुँदा आनन्द पनि आउँथ्यो । ०५५ सालमा पार्टीको सदस्यता लिएँ । सुरुमा पार्टीको विदेश विभाग सदस्य भएँ ।
० केन्द्रीय कमिटीमा, संसद्मा त बुबाकै कारण आएको हो भनिन्छ नि ?
– त्यो बिलकुलै होइन । साथीभाइबीच व्यापक चिनजान भएपछि ०५९ को पोखरा महाधिवेशनमा धेरै साथीहरूले केन्द्रीय सदस्यमा लड्न आग्रह गर्नुभयो । त्यसअघि त्यसबारे कुनै तयारी पनि थिएन । त्यसबेला राप्रपा ठूलो पार्टी थियो । अहिले जस्तो टुक्रा–टुक्रा थिएन । म चुनाव लडें । दोस्रो धेरै मत ल्याएर निर्वाचित भएँ । ०६३ तिर काठमाडांैमा भएको चौथो महाधिवेशनमा पनि दोस्रो धेरै मत ल्याएर केन्द्रीय सदस्य भएँ । पाँचौं महाधिवेशनमा त सबैभन्दा बढी मत ल्याएँ । ०६४ सालमा संविधानसभामा चुनाव पनि लडेको मान्छे हुँ ।
० यस पटक प्रत्यक्षमा चुनाव लड्ने हिम्मत किन गर्नुभएन ?
– म त चुनाव लड्न इच्छुक थिएँ । असोज पहिलो हप्ता त्यसैको तयारीमा बैतडी गएँ । तर, त्यहाँका जनताले ‘तपार्इंको त फेरि पनि समय छ, यस पटक पूर्वप्रधानमन्त्रीलाई नै लडाउनुपर्छ । उहाँको व्यक्तित्व र विगतको इमानदारिता हेरेर हामी मत दिन्छौं’ भन्नेहरूको माग धेरै भयो । त्यो ठीकै जस्तो पनि लाग्यो । मेरो प्रचारमा आउने उहाँको कार्यक्रम थियो तर जनताको आग्रहका कारण उम्मेदवार नै बनेर आउनुभयो ।
० तर, चुनावमा मत त दिएनन् ?
– राजनीतिमा हारजित हुन्छ । यसलाई चिन्ताका रूपमा लिनु हुँदैन । निजी प्रतिष्ठा, आर्थिक सम्पन्नतासँग लालसा राख्नेहरूले चिन्ताका रूपमा लिन्छन् । त्यति राम्रो माहोल हुदाँहुँदै पनि परिणाम राम्रो आएन ।
० किन त ?
– विगतमा पनि बुबाले दुईपल्ट हार्नुभयो, धेरै पटक जितियो पनि । तर, यस पटक जुन किसिमको मत आयो त्यो हामीले नचिताएको आयो । धाँधली भयो भनौं, प्रमाणित गर्न सक्ने आधार छैन । भएन भनौं, माहोल एकातिर परिणाम अर्कातिर कसरी भयो ? म आश्चर्यचकित छु । मतको परिणाम र जनतामा देखिएको भावनाबीच कतै तालमेल नै देखिँदैन ।
० बुबाले हारेका कारण पनि तपाईं समानुपातिकमा छनोट हुनुभएको हो ?
– मैले यति लामो मेरो राजनीतिक पृष्ठभूमि बताइसकेको छु । बुवा प्रत्यक्षमा लडेपछि मलाई पार्टीले समानुपातिकमा बस्नु भन्यो । सभासद् हँुदा पार्टीले बनाएको मापदण्ड अनुसार भएको हुँ । संविधानले निर्धारण गरेको कोटा त छँदैछ त्यसबाहेक पार्टीले पाएको १० सभासद्मा सबैभन्दा बढी मत ल्याउने १० जिल्लाबाट सभासद् छान्ने मापदण्ड बनाइएको थियो । पार्टीको सबैभन्दा बढी मत आउने जिल्लामा बैतडी सातौं स्थानमा थियो । पार्टीले बनाएको मापदण्डमा छिरेरै आएको हुँ ।
० पार्टी अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापासँगको सम्बन्ध कस्तो छ ?
– ठीक छ । सुनिलजी पहिला बाहिर रोजगारीमा हुनुहुन्थ्यो, त्यसबेला त्यति व्यक्तिगत घनिष्ठता थिएन । राजनीतिक रूपमा गत वर्षको राप्रपा र जनशक्तिबीचको एकता महाधिवेशनपछि चिनेको हुँ ।
० तर, बुबाहरूबीचको सम्बन्धमा त सधैं उतार–चढाव आइरहन्थ्यो ?
– एकै ठाउँमा बसेर लामो राजनीति गर्दा स्वाभाविक रूपले राजनीतिमा त्यस्तो हुन्छ । राजनीतमा स्थायी शत्रु र मित्र हुँदैन भन्छन् । उहाँहरूको सम्बन्ध पनि त्यही हो ।
० राजनीतिमा तपाईंभन्दा निकै पछि आउनुभएका सुनिलले त मन्त्री पड्काइसक्नुभयो ?
– म त्यसरी पनि भन्न चाहन्न । राजनीतिमा कसैलाई चाहेको कुरा छिटै प्राप्त हुन्छ, कसैलाई ढिला प्राप्त हुन्छ । कसैलाई कहिल्यै प्राप्त हुँदैन । राजनीतिमा लागेर सर्वस्व गुमाएकाहरूले कुनै अवसर नपाएका प्रशस्त उदाहरण पनि छन् ।
० मन्त्री बन्ने अवसर प्राप्त गर्ने चाहना तपाईंले पनि राख्नु त भएको थियो नि ?
– बिलकुल थिएन । म भएमा खुसी हुने शुभचिन्तकहरूको चाहना थियो होला तर मेरो चाहना थिएन । करिब चार महिनाअघि नै एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदा म मन्त्रीको दौडमा छैन भनेको थिएँ ।
० राजनीति गर्ने तर अवसर नखोज्ने पनि हुन्छ र ?
– दाबी नै त नभनौं तर पार्टीको महामन्त्रीमा मेरो चाहना छ । महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य हुनेलाई महामन्त्री बनाउने हाम्रो पार्टीको चल्दै आएको प्रचलन हो । दोस्रो महाधिवेशनदेखि यता यो अभ्यास गरिँदै आएको छ, चाहे एकल महामन्त्री हुँदा होस् चाहे एकभन्दा बढी महामन्त्रीको व्यवस्था हुँदा होस् । यो परम्परा स्थापित भइसकेको छ । अहिले हाम्रो पार्टीमा तीन जना महामन्त्रीको व्यवस्था छ । दुई जना महामन्त्री भइसक्नुभएको छ तर मलाई बनाइएको छैन । यो कुरालाई पनि मैले व्यापक बनाएको छैन तर प्रसंगवस् कुरा आउँदा भन्ने गरेको छु । पार्टीले परम्पराको पालना र कार्यकर्ताको भावनाको कदर गर्ला भन्ने ठानेको छु ।
० मन्त्री छनोटमा पनि निकै गलफत्ति भयो नि ?
– मन्त्री छनोटमा समय पनि निकै लाग्यो । आकांक्षी धेरै हुन्छन्, सिट थोरै । नपाउनेहरू केही समय असन्तुष्ट हुन्छन्, त्यो स्वाभाविक हो । तर, यसपालि जुन किसिमले छनोट गरिएको छ र प्रतिनिधित्व गराइएको छ, त्यसमा धेरैको असन्तुष्टि छ । यसमा म धेरै जान चाहन्न ।
० अध्यक्षको मनोमानी भयो भनिन्छ नि ?
– यसको जिम्मा अध्यक्षलाई नै दिएको हो । विवेकशील निर्णयको आशा गरेर जिम्मा दिएकोमा त्यो हुन सकेन भन्ने व्यापक गुनासो छ ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास