एक महिनाभित्र राजदूत नियुक्त गरिसक्ने योजना छ
महेन्द्रबहादुर पाण्डे,परराष्ट्रमन्त्री० मन्त्री भएको एक महिना भयो, कस्तो पाउनुभयो त मन्त्रालय ?
– मन्त्री भइसकेलगत्तै बिमस्टेकको सम्मेलन थियो, एक हप्ता त्यही सम्मेलनमा खर्च भयो । त्यहाँ राम्रै गरियो भन्ने लागेको छ । हामी बिमस्टेका सदस्यहरूमा सबैभन्दा कम विकसितमा पर्छौं । हाम्रो सबैसँग घाटा व्यापार छ । विकसितहरूले कम विकसितहरूलाई सहयोग गर्नुपर्छ भन्ने एजेन्डा राख्नुपर्ने थियो यस पटक नेपालले । त्यो कुरा राखेर आएको छौं । हामी यसको अध्यक्ष पनि भएका छौं ।
० मन्त्रालयमा छलफल कत्तिको गर्नुभयो ?
– बिमस्टेकमा जानुअघि मैले मन्त्रालयका कर्मचारीसँग बसेर छलफल पनि गर्न पाएको थिइनँ । उताबाट फर्केपछि सबै कर्मचारीसँग बसें । दुई घन्टा जति परिचयात्मक कार्यक्रम राखेर निर्देशनात्मक खालको काम–कारबाही गरें । त्यसपछि मैले ब्रिफिङ लिन सुरु गरेको छु । विभिन्न विभागहरूका बारेमा विस्तृत रूपमा बुझिरहेको छु । त्यो क्षेत्र हेर्नेले कति मुलुक हेर्छ ? त्यहाँको अवस्था के छ ? त्यहाँ नेपालीहरू कति छन् ? त्यो मुलुकसँगको द्विपक्षीय सम्बन्ध कस्तो बनाइरहेका छौं ? त्यहाँ के–के कुराको कमीकमजोरी छन्् ? हाम्रो परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा ती मुलुकको रेस्पोन्स कस्तो छ ? भन्ने जस्ता कुरामा छलफल गरिरहेको छु ।
० कुरा करिब–करिब बुझिसक्नुभयो त ?
– ब्रिफिङ भइरहेको छ । एक दुईटा महाशाखाको अझै बाँकी छ । एक–दुई दिनमा त्यो पनि सिध्याउँछु ।
० नीतिगत रूपमा चाहिँ हामी कहाँनेर उभिएका रहेछौं त तपार्इंको अनुभवमा ?
– संसार गतिशील छ । यससँगै हाम्रा सबै कुरा परिवर्तन हुन्छन् । परिवर्तन नहुने भनेको हाम्रो भूगोल हो, इतिहास हो । अझ इतिहास विकसित हँुदै जान्छ, संस्कार–संस्कृतिमा पनि परिवर्तन आउँदै जान्छन् । विज्ञान र प्रविधि अनि मान्छेको चेतनाले ल्याएका परिवर्तनहरूका कारण हाम्रा नीतिहरूमा परिमार्जन गर्दै जानुपर्ने हुन्छ । यो विषयमा विभिन्न मुलुकहरूसँग हामीले राखेको सम्बन्धमा अलिक गतिशील र प्रभावकारी ढंगबाट योजना र दृष्टिकोणका साथ अन्तर्राष्ट्रिय मञ्चहरूमा हामीले उभिनुपर्ने, सबै राष्ट्रहरूलाई हामीले समानताका आधारमा व्यवहार गर्दा त्यही सम्मान हामीले पनि पाउने तरिकाबाट जानुपर्नेमा कतिपय ठाउँहरूमा हाम्रो क्रियाशीलता अलिक नपुगे जस्तो, ध्यान पुर्याउनुपर्ने पाटोहरूमा अलिकति ध्यान नपुगे जस्तो देखिएको छ ।
० दूतावासहरूको अवस्था कस्तो पाउनुभयो ?
– कतिपय दुतावास त दूतावास जस्ता मात्र छन्, त्यहाँ राजदूतहरू नै छैनन् । भएका कर्मचारीहरूबाटै जेनतेन काम चलिरहेको छ ।
० भौतिक स्रोत–साधनका दृष्टिले ?
– मानव शक्तिका हिसाबले पनि दूतावासहरू पूर्ण छैनन् । नेपालीहरूको जनसंख्या वृद्वि भएको छ । उनीहरूको सम्बन्ध बढेर गएको छ । त्यहाँ बस्ने राजदूत र राजदूतावासले गर्नुपर्ने भूमिका बढेको छ । तर, हाम्रो जनशक्ति पुगेको छैन । राजदूतहरूले पनि ती सबै कुरालाई समस्या आउनासाथ बुझिहाल्नुपर्ने, बुझेर समस्या सामधान गर्न खोजिहाल्नुपर्ने जस्तो तदारुकतामा पनि कमी छ ।
० पार्टीको कोटाबाट राजदूत नियुक्त हुने चलन छ । अनि कसरी हुन्छ र ?
– राजदूत पार्टीको सदस्य भएको मान्छे पनि हुन सक्छ, पार्टीको सदस्य नभएको मान्छे पनि हुनसक्छ । राजदूतले मुलुकको प्रतिनिधिका हिसाबले काम गर्नुपर्छ । नेपालको कूटनीतिलाई प्रयोग गरेर नेपालको हितमा काम गर्छ कि गर्दैन भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ । तर, यो पार्टी र त्यो पार्टी भन्ने, त्यो पार्टीमा काम गरेर थाकेकोलाई ‘रिल्याक्स’ गर्न पठाउने जस्तो गरेर हामीले नियुक्त गर्यौं भने काम लाग्दैन ।
० यसपालि त्यस्तो गर्नुहुन्न ?
– त्यस्तो गर्नु हुन्न भन्ने पक्षमै छु । कुनै पनि मान्छेको नाम लिनुअगाडि त्यसका मापदण्ड निर्माण गरांै भन्ने मेरो प्रस्ताव छ । पहिला, आधारभूत क्राइटेरिया स्थापित गरौं । मुलुक अनुसार, क्षेत्र अनुसार हाम्रा दूतावासहरूले गर्नुपर्ने काम पनि भिन्न छन् । युरोप, अमेरिका, चीनमा जाने राजदूतहरूले गर्ने काम र खाडी मुलुकहरूमा जाने राजदूतहरूले गर्ने काममा भिन्नता छ । कतै हाम्रो पर्यटन प्रवद्र्वन गर्ने खालको नीति लिएर जानुपर्छ भने कतै कामदारको रक्षा गर्ने त कतै त्यहाँको स्रोतलाई नेपालको विकासको ऊर्जाशील क्षेत्रमा लगानी गर्न आकर्षण गर्ने, कन्भिन्स गर्ने गर्नुपर्ने हुन्छ । त्यसैले राजदूत बनाउनुअगाडि यो ढंगले विचार गरांै भनेर मैले नेताहरूलाई भनेको छु ।
० कस्तो पाउनु भएको छ प्रतिक्रिया ?
– उहाँहरूले ‘ठिकै हो’ चाहिँ भन्नुभएको छ तर मैले यसबारे प्रतिक्रिया पाऊँ पनि भनेको छु । उहाँहरूको जिब्रो फड्कारिएको छैन, हात चलेको छैन, टाउको हल्लाई चाहिँ भएको छ ।
० राजदूत बनाई पाऊँ भन्नेहरूको तपाईंको घरमा चाहिँ कत्तिको लाइन छ ?
– भन्दाखेरि हुने, दिँदँखेरि पाउने प्रवृत्ति र संस्कार भएका बेला मान्छे नआउने भन्ने कुरा हुँदैन । अहिले पनि बायोडाटा बुझाउनेहरूको ताँती नभएको भने होइन । सबैले म राजदूतका निम्ति सक्षम छु भन्छन् । तपाईं राजदूत हुँदा के गर्नुहुन्छ ? कुन मुलुकमा जानुहुन्छ ? भनेर कसै–कसैलाई सोध्छु म । म जहाँ पठाइदिए पनि जान्छु भन्ने पनि छन् । जहाँ पठाइदिए पनि जाने मान्छेले के काम गर्ला ? भन्ने प्रश्न मेरो मनमा आइरहन्छ । बासिंगटनमा पठाए पनि हुने, म्यान्मार, दिल्ली, बेइजिङ जहाँ पठाइदिए पनि हुने रे †
० राजदूत नियुक्तिमा अब कति समय लाग्ला ?
– सबै ब्रिफिङ सकिएपछि मेरो ध्यान त्यसमा जान्छ । एक महिनाभित्र यो सबै काम सिध्याउन पाए हुन्थ्यो भन्ने लागेको छ । मैले मात्र भनेर पनि हुँदैन । संयुक्त सरकार छ, सहयात्री दल र अरू दलका नेताको पनि समझदारी निर्माण गरेर जानुपर्ने हुन्छ ।
० नेपालको परराष्ट्र नीति अद्यावधिक नभएको धेरै भयो । केही अद्यावधिक गर्दै हुुनुहुन्छ ?
– हामी भाषण मात्र धेरै गर्छौं । यहाँ आर्थिक कूटनीति स्थापित गर्नुपर्छ भन्न थालेको धेरै भयो । तीनवटा कार्यदल बने, तिनले प्रतिवेदन ल्याए तर थन्किएर बसेको अवस्था रहेछ । यी सबै कुराहरुको अध्ययन गर्दैछु र यस क्षेत्रमा केही काम हुन्छ ।
० त्यसका लागि के–के गर्दै हुनुहुन्छ ?
– यसमा हामीले दुई–तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनताको सार्वभौमिकता, लोकतन्त्र आदिको संरक्षण गर्ने कुनै हतियार छ भने त्यो कूटनीति नै हो । त्यसैले अहिले म पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्रका विषयमा कलम चलाउनेहरूसँग उहाँहरूको अनुभव र दृष्टिकोण पनि लिऊँ भनेर लागेको छु । दोस्रो, यस सँगसँगै आर्थिक कूटनीतिका लागि पनि काम गर्दैछु । परराष्ट्र मन्त्रालयले उद्योग खोल्दैन, बाटो बनाउँदैन, विद्यालय खोल्दैन । तर, दौत्य सम्बन्ध भएका विभिन्न मुलुकसँग राम्रो सम्बन्ध बनाएर लगानीमैत्री वातावरण बनाउन हामीले सक्छौं । त्यसो भयो भने आर्थिक दृष्टिले अभाव खड्किँदैन । त्यसका निम्ति अर्थ, उद्योग, शिक्षा, ऊर्जा, स्वास्थ्य, आवास तथा भौतिक योजना, श्रम, विज्ञान प्रविधि जस्ता मन्त्रालयसँग पनि यसको नीति सम्बन्धित हुन्छ । परराष्ट्र मन्त्रालयले बनाएको आचारसहिंता पालना गरेर सबै राजनीति पार्टीका नेता, मन्त्री आदिले विदेशीसँग भेट्दा परराष्ट्र मन्त्रालयलाई दिमागमा राख्ने गर्यो भने हाम्रो नीति सुदृढ गर्नमा सघाउ पुग्छ । यसले हाम्रो मुलुकलाई पनि सुदृढ बनाउँछ र हाम्रो उद्देश्य पनि पूरा गर्छ भन्ने लाग्छ ।
० त्यस्तो सम्भव देख्नुहुन्छ ?
– हामी गफ मात्र गर्छौं कि काम पनि गर्छौं ? मुलुकका लागि काम गर्छौं कि आफ्ना लागि काम गर्छौं ? आफ्नो अहम्लाई मात्र संरक्षण गर्छौं कि मुलुकको विकास निर्माणका प्रक्रियालाई पनि संरक्षण गर्छौं ? आफ्नो अहम् मात्र पालेर बस्छौं भने त्यसले मुलुक निर्माण गर्दैन । होइन भने यो सम्भव छ, सम्भव गराउनुपर्छ ।
० विदेशी नियोगका मान्छेहरूको चलखेल यहाँ अलिक बढी नै देखिन्छ, परराष्ट्र मन्त्रालयलाई धेरै महत्त्व नदिई विभिन्न दलका नेता र अरु मन्त्रालयहरूसँग आफैं व्यवहार गर्छन् नि ?
– म विदेशी नियोगहरूलाई दोष दिन्नँ । एक्लै त चलखेल हुँदैन नि † एउटा नेपाली उखान छ नि– ‘एक हातले ताली बज्दैन ।’ त्यस्तै विदेशी नियोगले मात्र चाहेर हुँदैन । हाम्रा नियोगहरूले पनि विदेशमा चाहन्छन् होला नि त † चाहेर हाम्रा नियोगहरूले खोजेको जस्तो गर्न सक्छन र ? उनीहरूको आफ्नै खालको नीति र अडान छ । हामीले पनि आफ्नो प्रक्रिया र नीतिलाई स्थापित गर्यांै भने नियोगका मान्छेहरूले चलखेल गर्ने भन्ने हुँदैन । कुनै खास मन्त्रालयमा नियोगका मान्छेले भेट्नुपर्यो भने परराष्ट्रलाई पनि जानकारी गरायो भने परराष्ट्र मन्त्रालयको एउटा मान्छे त्यहाँ उपस्थित हुन्छ । त्यहाँ जम्मै गोपनीयता भंग गर्न बस्ने होइन । उसले त्यहाँ परराष्ट्र नीति पनि जोडेर छलफलको सहजीकरण गर्ने हो ।
० धेरै कुरा बताउनुभयो । तपाईंको कामका प्राथमिकता चाहिँ के हुन्छन् ?
– पहिलो, नियोगहरूलाई कसरी सुदृढ गर्ने र नियोगको नेतृत्वलाई अलिक कामयावी, क्रियाशिल, रचनात्मक र दूरदृष्टि बनाउने भन्ने एउटा पाटो छ । मान्छेको छनौट गर्दा सम्वन्धित मुलुकसँग सम्बन्धित काम गर्न सक्ने खालको छान्नुपर्छ । त्यसका लागि मुलुकको नेतृत्व तहसँग छलफल गरेर निक्र्यौल गर्छु ।
दोस्रो, परराष्ट्र सेवा भनेको जागीर खाने ठाउँ मात्र होइन । यो मुलुकको हितमा काम गर्ने, अत्यन्त व्यस्त हुने, भाषा, विचार र नीतिका दृष्टिकोणले संसारभर भएका घटना विश्लेषण गर्न सक्ने क्षमतावान मान्छेहरू रहेको मन्त्रालय हुनुपर्छ । त्यसैले यहाँभित्रको जनशक्तिलाई पनि अलि पुनर्ताजगी गरेर सुदृढ गर्नुपर्छ ।
तेस्रो, अरु मुुलुकसँगको सम्वन्धलाई पनि सुदृढ गरेर जानुपर्छ । संसार घटनात्मक छ । दिनदिनै एउटा न एउटा घटना भइरहन्छ । ती घटनाका बारेमा मित्र राष्ट्रहरूले आफू अनुकुल व्याख्या गर्छन् । हामीले पनि ती घटनाका बारेमा आफ्नो धारणा राख्नुपर्ने हुन्छ । खासगरी अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अडान सत्य, शान्ति, लोकतन्त्र, राष्ट्रिय अखण्डता र जनताको सार्वभौमिकताको पक्षमा छ भन्ने कुरालाई हामीले स्थापित गर्न सक्यौ भने हामी अन्तराष्ट्रिय जगतमा स्थापित हुन्छौं । मुलुक सानो भए पनि यी कुरा स्थापित गर्न सक्यौं भने नेपालको परराष्ट्र नीति सबैभन्दा बढी सफल भएको देखिन्छ ।
० मोटामोटी रूपमा हेर्दा नेपालको परराष्ट्र नीति ‘माग्ने कुटनीति’ देखिन्छ, जुन देशमा गयो यति सहयोग गर्नुपर्यो भनिन्छ । यसले पनि परराष्ट्र नीतिमा स्वतन्त्र धारणा बनाउन असर पार्छ नि होइन र ?
कुनै पनि मुलुकले तपाईलाई सहयोग गर्छ । त्यो सहयोग भनेको अनुदान पनि हुन सक्छ, ऋण पनि हुन सक्छ । परराष्ट्र नीति चलाइराख्दा बुझ्नुपर्ने कुरा के हो भने मागेर पाइने होइन, दाताले दिनसक्छ । दाताले दिँदा त्यो आफ्नो इच्छामा दिन्छ र दिनेले स्वेच्छाले दिन्छ भन्ने कुरा आजको दुनियाँमा हुँदैन । माग्नेहरूको बाध्यता हो, दिनेहरूको इच्छा र स्वार्थ पनि रहन्छ । हामीले मागेर मात्र हिड्ने होइन, दिने वातावरण पनि बनाउनुपर्छ । विकसित देशहरूले आर्जन गरेको निश्चित प्रतिशत अति कम र कम विकसित अनि विकासोन्मुख देशमा लागू गर्ने कुरामा उनीहरुको प्रतिबद्धता छ । र्याल चुहाएर लगानी आउने होइन । हामीले लगानीको वातावरण बनाईदिनुपर्छ ।
उज्जल पहाडि
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास