महिला जाने कुरा आएपछि किन श्रीमानसँग जोडिन्छ ?
सीता खड्का, नेकपा (माले)बाट मन्त्रीमा प्रस्तावित पोलिटब्युरो सदस्य० तपाईं झापा आन्दोलनको अग्रणी महिला योद्धा, पछि त गुमनाम नै हुनुभयो नि ?
– म २०२७ सालबाटै कम्युनिस्ट आन्दोलनमा लागें । त्यसबेला बालकै थिएँ । खासगरी गुरु नेत्र घिमिरेको प्रेरणाले राजनीतिमा आएँ । हजुरबुबाहरू राणाविरोधी आन्दोलनमा लाग्नुभएकाले पारिवारिक पृष्ठभूमि पनि राजनीतिकै थियो । त्यसयता पनि म ओझेलमा छैन । आफ्नै किसिमले राजनीतिक यात्रामा छु ।
० मूलधारको राजनीतिक ‘सिन’मा हुनुहुन्न भनेको !
– ओझेलमा पर्ने कि नपर्ने कुरा अरूको हातमा निर्भर रहँदो रहेछ । पहिला म सम्बद्ध पार्टी नेकपा (एमाले) हो । ०३५ सालमा हामीले तत्कालीन नेकपा (माले) स्थापना गर्दा दुई जना महिलामात्र थियौं– म र शोभा कुँवर । पछिल्ला दिनमा पार्टीमा आएको उतार–चढावले कता–कता पुर्यायो † आफूले जुन विचार वा भंगालो रोजे, त्यो भंगालोको बेवास्ता गरियो । त्यसकारण ओझेलमा परेजस्तो लागेको हुनसक्छ ।
० बेवास्ता गरिएको भंगालो भनेर के भन्न खोज्नुभएको हो ?
– हामीले नौलो जनवादको विचार बोक्यौं । तर, हामीलाई बेवास्ता गरिएपछि पार्टी नै विभाजन भयो । सैद्धान्तिक मतभेद हुनेबित्तिकै फरक विचार बोक्नेलाई पाखा लगाउने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा छ । विचारहरू खेल्न दिनुपर्छ र त्यही भित्रबाट नयाँ बाटो तय गर्नुपर्छ भन्ने छैन ।
० त्यसबेला जसको नेतृत्वको छत्रछायाँमा तपाईंहरू एमालेबाट अलग हुनुभयो, त्यो नेतृत्व नै फेरि एमालेमा फर्कियो नि ?
– पहिला हामी नेकपा (एमाले) नै थियौं । हामीसँग माक्र्सवादीहरू एकीकरण हुन आएपछि ‘ए’ थपिएको हो । महकाली सन्धिको विषयलाई लिएर पार्टीमा विवाद आयो र पार्टी विभाजन भयो । एउटा मुद्दा त्यो भए पनि बहुदलीय जनवाद कि नौलो जनवाद भन्नेमा हामीमा रहेको फरक दृष्टिकोण पनि विभाजनको कारण थियो । वामदेव कमरेडले बहुदलीय जनवाद छाड्नुभएको थिएन, उहाँ फर्किनुभयो । ०५६ को चुनावमा एक सिट पनि नजितेपछि उहाँ एमालेमै फर्कनुभयो । हामी जुन बाटोमा थियौं त्यहीँ रह्यौं ।
० तपाईंले समाएको बाटो झन्पछि झन् साँघुरो बन्दै गएको छ, गल्ती गरिएछ भन्ने लाग्दैन ?
– रबीन्द्रनाथ टैगोरले एउटा कविता लेख्नुभएको छ– ‘तिमीले आवाज देऊ, कोही सुनेर आउँछन् भने ठीकै छ, नत्र एक्लै हिँड ।’ म यो कविता धेरै सम्झन्छु । अहिलेको जनमतले एउटा उभार ल्यायो, एमालेलाई दोस्रो ठूलो पार्टी बनायो । तर, उसको सिद्धान्तलाई सबै नेपाली जनताले बुझेर मत खसालेका होइनन् ।
० त्यसो हो भने त तपाईंहरूको विचारलाई ०५६ मै जनताले अस्वीकृत गरे नि त ?
– त्यो निर्वाचनमा ७ लाखभन्दा बढी मत आएको थियो । त्यतिबेला वामदेव कमरेडको कार्यशैलीको कारणले पनि प्रत्यक्षमा सिट जितिएन ।
० कस्तो कार्यशैली ?
– वैचारिक रूपमा स्पष्ट हुनुहुन्थेन । जनतामा ठोस कुरा लिएर जान नै सकिएन । कुनै पनि सिद्धान्तलाई साँचो अर्थमा बुझेर स्वीकार गर्न समय पनि लाग्छ । अहिले हामी सामाजिक–आर्थिक परिवर्तनको बाटो अँगालेर निरन्तर त्यसलाई बुझाउन लागिपरेका छौं ।
० तर खोइ त जनताले बुझेको ? समानुपातिक हुँदा पनि आठ सिटबाट झन् पाँच सिटमा झर्नुभयो ?
– आठबाट पाँचमा झर्नुको कारण सांगठनिक कमजोरी हो । हामीले आफ्नो मत संरक्षण गर्न पनि सकेनौं ।
० तपाईंका श्रीमान्, सीपी मैनाली, नेकपा (माले)को संस्थापक महासचिव, अहिले एउटा सानो पार्टी चलाएर बस्नुभएको छ, यो देख्दा तपाईंलाई कस्तो लाग्छ ?
– वामदेव कमरेड जब एमालेमा फर्कनुभयो, त्यसबेला सीपी कमरेडलगायत ५–७ जना कमरेडले फेरि नेकपा (माले) बनाउने दृढ संकल्पसहितको अभियान थाल्नुभयो । एमालेको जग हाल्ने पनि हामी नै हौं । तर, विभाजनपछि माले बनाउने हामीले फेरि अर्को भस्मे फाँड्नुपर्यो । २ सय ३२ जना उम्मेदवार गत निर्वाचनमा हामीले प्रत्यक्षतर्फ उठायौं । ७० जिल्लामा हामी संगठित छौं । त्यसकारण हामी सानो भएका छौं वा खुम्चियौं भन्ने कुरामा म सहमत छैन । हाम्रो पार्टीले लिएको नीति र विचार जनतामा पुर्याउन अझै मेहनत गर्नुपर्ने जरुरत चाहिँ छ । संगठन निर्माण गर्न पनि जरुरी छ । अहिले एमालेमा भएका धेरै साथीहरूलाई मैले सदस्यता सिफारिस गरेको हुँ ।
० जस्तै ?
– थुपै्र हुनुहुन्छ । म भ्याली कमिटीमा थिएँ । मैले सदस्यता सिफारिस गरेकाहरू, अहिले एमालेको पोलिटब्युरोमा हुनुहुन्छ । झापा आन्दोलनमा कमरेडहरू पक्राउ परेपछि पार्टी तहसनहस हुनसक्ने अवस्था आयो । त्यस्तो बेला हामीले खोजेर ल्याएका कमरेडहरू अहिले एमालेको माथिल्ला कमिटीमा हुनुहुन्छ ।
० पछिल्ला निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली पनि राखिएकाले त्यसले मात्र मालेको नाक जोगाएको भनिन्छ नि ?
– हिजो जुन घर बनाइयो, त्यो घर अरू कसैले लुटे । अहिले फेरि टुक्राटुक्रा जोडेर हामी नयाँ घर बनाइरहेका छौं । प्रत्यक्षमा केही पनि सिट हासिल गर्न सकेनौं । तर, ०६४ को निर्वाचनमा ११ जना यस्ता नेता छन् जो मालेकै मतका कारण पराजित भए । तर, त्यति जनता त हामीसँग पनि रहेछन् नि †
० को हुन् ती नेता ?
– वामदेव गौतम, केपी ओलीलगायतका नेताहरू हाम्रै पार्टी नेकपा (माले)को मतका कारण अघिल्लो पटक पराजित हुनुभएको हो ।
० तपाईंको पार्टीलाई ‘वान म्यान प्रिजेन्टेसन’ पार्टी पनि भनिन्छ, सीपी मैनालीले जे चाह्यो त्यही हुने ?
– त्यस्तो होइन । हाम्रो पार्टीमा एनपी आचार्य, डम्बर श्रेष्ठजस्ता कमरेडहरू हुनुहुन्छ । एनपी आचार्यलाई माक्र्सवादी गुरुका रूपमा पनि चिनिन्छ । हामीले पार्टीलाई संगठित गर्दै अघि बढाउने प्रक्रियामा कोही पनि सीपी कमरेडको हाइटमा पुग्नसकेका छैनौं । पुग्ने प्रयत्नमा हाम्रा अरू नेताहरू हुनुहुन्छ ।
० कमिटी भनेकै सीपी मैनाली हो भनिन्छ नि ?
– हामी कमिटीगत पद्धतिअनुसार नै चल्छौं । एक व्यक्तिले गरेको निर्णय कुनै पनि कम्युनिस्ट पार्टीमा लागू हुन्छ र ? विषयहरू आउँछन्, पोलिटब्युरोले छलफल गर्छ, केन्द्रीय कमिटीले निर्णय गर्छ । एक व्यक्तिको हालीमुहाली नेकपा (माले)मा छ भन्नु वाहियात प्रचार मात्र हो ।
० समकालीन कम्युनिस्ट नेताहरू जो अहिले एमालेमै छन्, कत्तिको भेटघाट हुन्छ ?
– बाक्लै हुन्छ । अन्तरपार्टी महिला सञ्जालको कार्यक्रममा भर्खरै एमाले पार्टी कार्यालय बल्खु गएका थियौं । वामदेव, केपी, विद्या कमरेडहरूसँग भेट भयो । पानी बाराबारको स्थिति छैन ।
० भेटघाटमा कुराकानी कस्तो हुन्छ ?
– कहिले राजनीतिक कुरा हुन्छ त कहिले पारिवारिक । अस्ति केपी कमरेड बिरामी हुनुभएको थियो । सीपी कमरेड र म उहाँलाई भेट्न गयौं ।
० पार्टी एकताका कुरा हुँदैनन् ? एमालेमै फर्कनुस् भन्नुहुन्न एमालेका नेताहरूले ?
– पार्टी एकताका कुरा हुँदै नहुने होइनन् । तर, एकताका लागि विचार, सिद्धान्त, हामीले तय गरेका रणनीति, कार्यनीतिहरू मिल्नुपर्छ । कुनै मुद्दामा कार्यगत एकता गरेर जान सक्छौं । त्यसरी नै जाँदै गर्दा विचारहरू साँघुरिदै जाँदा एकताको सम्भावना नै हुन्न भन्न सकिन्न । तर, अहिले हाम्रो कार्यनीतिमा धेरै भिन्नता छ । विचारमै ठूलो ग्याप रहेपछि एकता भइहाल्न सक्दैन ।
० विचार नमिलिकन पाँच वर्षचाहिँ कसरी बस्नुभयो ? जबज पारित भएको पाँचौं महाधिवेशनमा, पार्टी फुटेको छैटौंमा ?
– त्यहाँ पनि हामी लड्यौं । सीपी कमरेड लड्नुभयो । पार्टीले नौलो जनवादलाई नै अख्तियार गर्नुपर्छ भन्नुभयो । सीपी कमरेडले पार्टी स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता कुरा गर्दा उहाँलाई अराजनीतिक ढंगले कारबाही पनि गरियो । पछि माधव नेपालले नै ‘त्यसबेला सीपीमाथि अन्याय भएकै हो’ भन्नुभयो । त्यहीँ बसेर लड्दै जाँदा पार्टीलाई सुधार्न सकिन्छ कि भनेर लागियो । तर, सकिएन ।
० तपाईंको नजरमा सीपी मैनाली ?
– उहाँ एउटा दृढ माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट योद्धा हो । विचार र सिद्धान्तमा परिपक्व नेता हो । आफ्नो विचारमा अविचलित भएर लागिरहने योद्धा हो ।
० वामदेव गौतमलाई कसरी चिन्नुहुन्छ ?
– आफूलाई लागेको विचारमा अडिग रहने उहाँको प्रवृत्ति आफैंले छाड्दै जानुभएको छ । तर, उहाँमा सबै क्रान्तिकारी गुण समाप्त भए भन्ने होइन ।
० माधव नेपाल, केपी ओलीलाई कसरी बुझ्नुहुन्छ ?
– उहाँहरू दुवै झापा आन्दोलनसँग जोडिनुभएको कमरेड हो । केपी कमरेड, मोहनचन्द्र अधिकारी झापा आन्दोलनमा राजनीतिक धक्का लागेपछि केही समय ओझेलमा रहनुभयो । जति ठूलो धक्का लागे पनि हामी निरन्तर जनताका बीचमा रह्यौं, त्यहीँ टिकिरह्यौं तर उहाँहरू त्यसरी टिक्नुभएन । पछि भारतबाट नेपाल आउनुभयो । जेल पर्नुभयो । छुटेपछि राजनीतिक माहोल अर्कै भइसकेको थियो ।
माधव नेपाल चाहिँ निरन्तर लागिरहनुभयो । म भाषा छिटो सिक्ने भएकाले मलाई काम गर्न जनकपुर खटाइयो । मैले र माधव नेपालले सँगै काम गर्यौं । उहाँ गिरफ्तार हुने बेला हामी रामऔतार पासवानको घरमा थियौं । जेलमा उहाँ र मेरो बुबासँगै बस्नु पनि भयो । छुटेपछि पनि निरन्तर लागिरहनुभयो । उहाँ पनि नेपालको यथार्थ वस्तुस्थिति बुझ्ने कुरामा अझै स्पष्ट हुनुभएको छैन ।
० एउटै घरका राधाकृष्ण मैनाली र तपाईंहरू पनि सँगै रहन सक्नुभएन नि ?
– तपाईंको आँखाले गाढा रातो देखेको फूल मेरो आँखाले फिका रातो देख्नसक्छ । विचार र सिद्धान्त बुझ्ने दृष्टिकोण पनि यस्तै हुन्छ । विचार र सिद्धान्तलाई उहाँले गहिरोसँग बुझ्ने कोसिस नै गर्नुभएन । समयक्रममा आखिर एमालेबाट उहाँलाई गलहत्याइयो ।
० उहाँ आफैं राजाको मन्त्री खान जानुभएको हो नि ?
– आरकेले पनि बहुदलीय जनवाद मान्नुभएको थियो । एमालेले गलहत्याएकैले राजाको मन्त्रिपरिषद्मा पुग्नुभएको हो । उहाँभन्दा जुनियरहरूलाई माथि ल्याउने तर उहाँलाई तेजोबध हुने व्यवहार गरेपछि उहाँ त्यहाँ पुग्नुभएको हो ।
० अहिले पार्टीले त मन्त्रीमा तपाईंलाई पठाउने निर्णय गरिसक्यो, झन्डा भएको गाडी चढ्ने कहिलेबाट हो ?
– पार्टीले निर्णय गर्यो । कांग्रेस, एमाले सकारात्मक नै छन् । सायद केही कारणले मिलिरहेको छैन ।
० किन ढिलाइ भइरहेको होला ?
– मैले त्यति राम्ररी बुझेको छैन । बरु तपाईंहरूले पो बुझ्नुभएको छ कि †
० अरू दलले नाम दिन नसकेर हो ?
– अरू दलले नाम दिन नसकेर पनि होला, खासगरी मधेसी दलहरूलाई पनि सामेल गर्ने प्रधानमन्त्रीको सोच हो कि † त्यसका लागि प्रयत्न भइरहे र ढिला भएको हो कि †
० श्रीमान् सभासद्, श्रीमती मन्त्री बाहिर त धेरै आलोचना हुन्छ नि ?
– मैले तपाईंबाट अपेक्षा गरेको प्रश्न पनि यही हो । मैली सीपी मैनालीलाई देखेर राजनीति सुरु गरेको होइन । सीपी मैनालीलाई भेटेर पनि राजनीति सुरु गरेको होइन । सुरुमा मैले भेटेको नेत्र घिमिरे, कृष्ण कुइँकेल, तारा गुरुङ, नरेश खरेलहरूलाई हो । त्यो अवस्थाबाट राजनीति सुरु गरेर आउँदा सीपी कमरेडभन्दा म पहिला जेल परें । हाम्रो बिहे त जेलबाट छुटेपछि भएको हो । त्यसपछि पनि म निरन्तर पार्टी जिम्मेवारी पूरा गर्न नेपाल मात्र होइन प्रवासमा पनि पुगें । म कम्युनिस्ट आन्दोलनबाट कहिल्यै विचलित भइनँ । तर, हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण पितृसत्तात्मक नै छ । ०६२/६३ को आन्दोलनमा हामी दुवै जना जेल पर्यौं । उहाँभन्दा एक दिन अगाडि म पक्राउ परें । छिमेकीले हाम्रो घर हेरिदिए । त्यतिबेला यो प्रश्न उठेन । आन्दोलनका हरेक चरणमा हामीसँगै छौं । तर, अवसरका कुरा आउनासाथ किन यस्तो प्रश्न उठ्छ ? राज्य सञ्चालन प्रक्रियामा महिला जाने कुरा आएपछि किन श्रीमान्सँग जोडिन्छ ?
० तपाईंलाई मन्त्रीका लागि सिफारिस गर्नु त ठीकै होला तर सीपीले सभासद्मा आफू नगएर त्याग देखाएको भए पनि त हुन्थ्यो नि ?
– महासचिव संसद्मा नजाने भन्ने कुरा भएकै हो । तर, नयाँ संविधान लेख्ने कुरामा आफ्नो पार्टीको दृष्टिकोण लैजान पार्टीको सशक्त नेतृत्वको उपस्थिति हुनुपर्छ भनेरै पार्टीकै निर्णयअनुसार उहाँलाई पठाइएको हो । उहाँ रहरले सभासद् हुनुभएको होइन । उहाँले त ‘प्रत्यक्षमा म निर्वाचन लड्नुपर्छ भने भन्नूस्, जहाँबाट भन्नुहुन्छ त्यहीँबाट लड्छु’ भनेर कमिटीका बैठकहरूमा भनिरहनुभएको थियो ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास