माधव नेपालप्रति कार्यकर्ताको विश्वास छ
प्रकाश ज्वाला, पोलिट्ब्युरो सदस्य, नेकपा (एमाले)० नवौं महाधिवेशनको तयारी कस्तो छ ?
– व्यापक तयारी भइरहेको छ । कार्यतालिका बनाएर संगठित सदस्यता नविकरण, दस्तावेज लेखन, व्यवस्थापनका काम, प्रतिनिधि चयन लगायतका काम भइरहेका छन् ।
० कार्यतालिका अनुसार काम भइरहेको छ त ?
– संगठित सदस्यता नविकरणको काम करिब–करिब सकिएको छ । त्यसलाई अन्तिम रुप दिनका लागि संगठन विभागसँग समय छ । अरु तयारीका काम पनि अघि बढेका छन् ।
० मुख्य काम भनेको मस्यौदा हो, त्यसैमा ढिलाइ भइरहेको छ नि ?
– मस्यौदाको काममा चाहिँ कार्यतालिका अनुसार हुनसकेको छैन । यसलाई छिट्टै टुंग्याउने प्रयास भइरहेको छ । मस्यौदा कमिटीले छलफल गरिरहेको छ । स्थायी कमिटी पनि बसिरहेको छ । १० गतेबाट केन्द्रीय कमिटी बैठक बस्दैछ । त्यो बैठकले यसलाई टुंग्याउँछ ।
० महाधिवेशन सार्ने नियतबाट यो ढिलाइ भएको त हैन ?
– त्यो मलाई थाहा छैन । महाधिवेशन दस्तावेजमा छलफलका निम्ति पर्याप्त समय प्राप्त भएन । तर, तोकिएकै समयमा महाधिवेशन हुन्छ भन्ने लाग्छ । समयमै महाधिवेशन गर्नुपर्ने, संविधानसभाको निर्वाचन, समानुपातिकको टुंगो, सरकार निर्माणलगायतका कामले महाधिवेशनमा प्रस्तुत हुने वैचारिक डकुमेन्टलाई प्रभावित बनाएको छ । लामो बहस छलफलबाट त्यसलाई एकरुपता दिएर अथवा सबैको सहमति जुटाएर महाधिवेशनमा जानु धेरै राम्रो हुन्थ्यो ।
० जेठ २४ को मितिमा लागू वैशाख ५ को केन्द्रीय कमिटी ‘टाइट’ समयमा राखिएको भनिन्थ्यो तर त्यो बैठक धकेलिंदासमेत कसैको मस्यौदाको खोजी कडा ढंगले गरेको सुनिदैनन् नि ?
– मस्यौदाको खोजी मस्यौदा कमिटीमा हुने हो । मस्यौदा कमिटीले तयार पारेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने हो । अस्तिको बैठकमा अध्यक्षले नै ‘मस्यौदाको काम अन्तिम चरणमा भएकाले मस्यौदा कमिटीलाई केही समय दिनुपर्यो’ भनेर ५ दिन बैठक सारिएको हो । १० गतेको बैठकमा मस्यौदा समिति हाजिर हुन्छौं भनेकाले नै त्यो बैठक स्थगित भएको हो ।
० महाधिवेशन सार्दा अध्यक्षको कार्यकाल लम्बिने, बरिष्ठ नेता माधव नेपालले बहसका लागि समय कम भयो भनेर पहिल्यै भनेको र केपी ओलीले केही समय आराम गर्नुपर्ने डाक्टरी सल्लाहले पनि सबै शीर्ष नेताको चाहना मिलेको छ भन्छन् नि ?
– हाम्रो पार्टीमा तीन नेताको एउटै मत बस्यो भने कुनै पनि कुराको निर्णय हुन्छ । तीन नेताको मन मिल्दा महाधिवेशनको मिति सर्न पनि सक्ला तर तीन नेताले नै महाधिवेशन सार्ने कि नसार्ने भन्ने कुराको निर्णय गर्ने हो भन्ने लाग्दैन । महाधिवेशनका निम्ति समय पुगेन वा दस्तावेजमा अझै गहन बनाउनुपर्ने भयो भन्ने सबैलाई लाग्यो र असार ८ को उपनिर्वाचनको तयारीलाई हेरेर महाधिवेशन तलमाथि गर्ने महसुस केन्द्रीय कमिटीले गर्यो भनेमात्र मिति तलमाथि हुन सक्छ ।
० मस्यौदा कमिटीले लेखनको जिम्मा अध्यक्षलाई दिएको थियो तर उहाँले अरु कसैलाई ठेक्कामा दिनुभएको छ भन्ने सुनिन्छ नि ?
– त्यो मलाई थाहा भएन । दस्तावेज मस्यौदा गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएको हो । उहाँहरूलाई जिम्मा दिएपछि उहाँहरूले नै तयार पार्दै हुनुहोला ।
० दस्तावेजको मस्यौदा नै बनेको छैन तर नेतृत्व चयनका विषयमा धमाधम भेला/बैठक भएका छन् हैनन् ?
– नेताहरू जो अध्यक्षका निम्ति इच्छुक हुनुहुन्छ, उहाँहरूले आफ्नो तयारी गर्नुभएको होला । अर्को कुरा, पार्टीीभत्र यतिबेला अलिक व्यापकरुपमा, कार्यकर्ताको तहमा उठेको कुरा भनेको वैचारिक एकता र संगठनात्मक सुदृढीकरण हो ।
० दस्तावेज नै बनेको छैन, समय घर्किदै छ, वैचारिक एकता सम्भव देख्नुहुन्छ ?
– त्यही भएर समय अपुग भयो कि भनेको हो । तलका कमिटीमा पठाएर त्यहाँको सुझाव लिएर अन्तिम रुप दिनुपर्छ ।
० फरक दस्तावेज आउने भयो भने पनि यो ढिलाइले असर पुर्याउने भयो हैन ?
– कसैले ल्याउन चाहेमा समय हुनसक्छ । तर, हामी त्यतातिर लागेकै छैनौं । यसपटक महाधिवेशनमा यतिबेला मूल मुद्दामा गहिरो ढंगले खुला र हार्दिक छलफल गरेर साझा दस्तावेज लैजाउ भन्ने सबैको चाहना छ । हामीले जनताको बहुदलीय जनवादको समृद्धि भनेका छौं । तर जबजको समृद्धिको गीत गाएर मात्र हुँदैन । त्यसका आधार के हुन् भन्ने कुरा ठोसरुपमा ल्याउनुपर्छ । ०६२/०६३ को जनक्रान्तिलाई के भन्ने कुरामा पनि एमाले जस्तो कम्युनिस्ट पार्टीले ठोस निष्कर्ष दिनुपर्छ । ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ जस्तो भनेर हुँदैन । त्यो क्रान्तिले त्यत्रो परिणाम दिएको छ, सामन्तवादको शीर राजतन्त्र ढालेको त्यस्तो क्रान्तिछलाई पनि के भन्ने कुरामा हामी अल्मलिने ? यहाँ त टाउको काटिइसकेको मान्छे जिउँदै छ भन्ने जसरी समाजलाई चित्रण गर्न खोजिदैछ । यो क्रान्तिले एउटा सामाजिक/राजनीतिक व्यवस्थाको युगको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको सुत्रपात गर्यो । यत्रो युगान्तकारी र क्रान्तिकारी परिवर्तनलाई क्रान्ति भन्न नसक्ने दुविधा कतिपयमा छ । त्यसमा सबै प्रष्ट हुनुपर्छ । यसमा हामी छलफलमै छौं, निष्कर्षमा पुगेका छैनौं ।
० समाजलाई चित्रण गर्ने कुरामा एउटै खेमामा रहेका भनिएका नेताहरू बीच नै मत बाझिएको छ, अनि कसरी साझा दस्तावेजको अपेक्षा गर्न सकिन्छ ?
– त्यो चाहिँ ठीक हो । जो नेतालाई बोक्यो, त्यो नेताको विचार नै बोकेर भिन्न धारमा जाने कुरा चाहिँ बेठीक हो । एउटै समूहका भनिने बीच भिन्न विचार हुँदा नै साझा विन्दू पहिल्याउन सजिलो हुन्छ । किनभने, विचारमा खुला छलफल त भयो नि † आफूले बोकेकै नेताको विचार पछ्याउँदा चाहिँ व्यक्ति कुण्ठित हुन्छ ।
० मस्यौदा आएपछि वैचारिक बहस अरु तीब्र होला, त्यो आफ्नो ठाउँमा छ, तर अहिले बढी अभ्यास चाहिँ कसलाई अध्यक्ष बनाउने भन्नेमा केन्द्रित छ नि, हैन ?
– यस्तै हुन्छ भनेरै हामीले केन्द्रीय कमिटीमा नीति र विधिको महाधिवेशन एउटा, नेतृत्व चयनको महाधिवेशन अलग्गै गरौं भनेकै हौं । एउटै महाधिवेशनबाट सबै कुरा टुंगो लगाउँदा नीति, विचार, विधि, विधानको कुरा ओझेलमा पर्दोरहेछ । नेतृत्व चयनको कुरा प्रमुख हुँदोरहेछ । नवौं महाधिवेशनबाट चाहिँ हामी अलग–अलग महाधिवेशनको ढाँचामा जानुपर्छ ।
० महाधिवेशनमा जाने दस्तावेजमा सहमति भए पनि नेतृत्व सर्वसम्मत हुने सम्भावना चाहिँ छैन ?
– अहिले हाम्रो उद्देश्य भनेकै दुईवटा छन् । एउटा विचारमा एकता/दोस्रो, सर्वसम्मत नेतृत्व चयन ।
० सर्वसम्मत नेतृत्व चयनको अझै सम्भावना देख्नुहुन्छ ?
– प्रयत्न गर्दै जाऔं । हामीले त्यो प्रयत्न सफल बनाउन सक्यौं भने पार्टी जीवनका निम्ति धेरै राम्रो हुन्छ ।
० माधव नेपाल र केपी ओली दुवैले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
– घोषणा गरेरै महाधिवेशनमा जानुस् न । त्यहाँ प्रतिनिधिहरू आउँछन् । हलले सर्वसम्मतिका लागि दबाब दिनसक्छ । अधिकांश कार्यकर्ताको भावना र चाहना भनेको सर्वसम्मत नेतृत्व चयन होस् भन्ने नै छ । संविधानसभा निर्वाचनले एमालेको सुन्दर भविष्य देखाएको छ । कुनैबेला एउटै दापभित्र दुईटा खुकुरी अट्न सक्दैनन् भनिन्थ्यो तर अहिले अवस्था त्यो छैन । नेपालको वामपन्थी धारको मूल नेतृत्वकर्ता एमाले भएको छ । राष्ट्रको पनि प्रमुख शक्ति हुने सम्भावना पनि छ । यो अवसर सजिलै हासिल गर्न विचार र संगठन एकतामा हुनैपर्छ ।
० भएन भने ?
– भएन भने प्रतिस्पर्धा गर्ने कुरा हाम्रो पार्टीका निम्ति असहज पनि छैन । प्रत्यक्ष निर्वाचन प्रणालीको अभ्यास हामीले गर्दै आएका छौं । हामी स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि हिच्किचाउँदैन ।
० सर्वसम्मत नेतृत्वको कुरा पनि गर्नुहुन्छ तर तपाईं आफैं माधव नेपाललाई अध्यक्ष बनाउने अभियन्ता बनेर हिँड्नुभएको छ भन्ने सुनिन्छ नि ?
– कुनै पनि नेताले ‘म कार्यकर्तासँग भेटघाट गर्छु, मलाई कार्यकर्तासँग भेटघाट गराइदिनुस्’ भनिसकेपछि त्यो सहयोग गर्नु स्वभाविक कुरा हो ।
० नेतृत्व हस्तान्तरणका कुरा पनि उठेका छन् नि ?
– यो कुरा पनि आएको छ । यो भनेको हिजोकै पुराना पुस्तामा रहने कुरा गर्ने अनि नेतृत्व हस्तान्तरण/पुस्ता हस्तान्तरण भन्ने ? यसको परिभाषा मैले बुझेको छैन । अहिले भएकै पुराना नेतामध्येबाट मूल नेता चयन हुने हो भने उहाँहरूबीच नै प्रतिस्पर्धा होला । उहाँहरू बीच नै सहमति होला । अहिले इच्छा देखाइरहनुभएका नेताको विगत हेर्ने र एमालेलाई यो ठाउँसम्म ल्याउने कुरामा भूमिका कसले खेल्यो ? पार्टीपंक्तिमा तुलनात्मक रुपमा कसको छवि राम्रो छ ? कुन व्यक्तिलाई अगाडि सार्दा पार्टी ठीक ढंगले गति लिन्छ भन्ने जस्ता कुरामा ख्याल गर्नुपर्छ ।
० को हो त त्यस्तो नेता ?
– तपाईं विगत हेर्नुस् न, ०५१ सालको नौ महिने सरकारको मान्छेले अहिलेसम्म गुनगान गाउँछन् । त्यसको कार्यकारी नेता माधव नेपाल हो । शान्ति प्रक्रियामा एमालेको तर्फबाट भूमिका खेल्ने प्रमुख नेता पनि उहाँ नै हो । माओवादीलाई शान्ति प्रक्रियाको मूल प्रवाहमा ल्याउने कुरा नेपालको राजनीतिमा कम महत्वपूर्ण पक्ष होइन । त्यतिमात्र होइन, विभाजित पार्टीलाई एकताबद्ध बनाउने कामको अगुवाई पनि उहाँले नै गर्नुभएको हो । त्यही कारण उहााप्रति कार्यकर्ताको विश्वास छ ।
० पार्टीलाई ३३ सिटमा खुम्च्याएको पनि माधव नेपालले नै हो पनि त भन्छन् नि ?
– पूर्णरुपमा सफल नेता पाउन गाह्रै हुन्छ । संविधानसभामा परिणाम राम्रो आएन तर त्यसवापत नैतिकरुपमा राजीनामा दिने नेपालको एउटै मात्र नेता पनि उहाँ नै हो । त्यो बेला न गिरिजाप्रसादले राजीनामा दिए, यो बेला न प्रचण्डले दिए ।
० माधव र झलनाथले ३१ वर्ष चलाए, अब नयाँलाई परिक्षणको मौका दिनुपर्छ भन्ने केपी ओली पक्षको भनाइ छ नि ?
– अहिले शीर्षस्थ तहको पुस्ताले धेरै वर्ष यो पार्टी चलायो । पदहरू परिवर्तन भयो होला तर नेतृत्वमा उहाँहरू नै रहनुभयो । त्यसो हो भने त्यो लेयर नै बिदा हुनुपर्छ । उहाँहरू सबै ‘टेस्टेड’ हो । कोही अध्यक्ष हुनुभयो, कोही महासचिव हुनुभयो, कोही दल नेता हुनुभयो । राज्यका प्रमुख जिम्मेवारीमा पनि उहाँहरू सबै गइसक्नुभएको छ । ‘टेस्टेड’ नै गर्ने हो भने नयाँ पुस्तामा जाने आँट गरौं न त ।
० माधव नेपालले त भनिरहनुभएकै छ त ?
– माधव नेपालले ‘त्यसरी जान सकिन्छ भने म तयार छु’ भन्नुभएको छ । तर त्यसो गर्न सकिंदैन भने एकपटक पार्टीलाई ट्रयाक ल्याएर म नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्ने उहाँको भनाइ छ । त्यो कुरा मलाई पनि मन परेको छ ।
० तपाईं त अध्यक्ष झलनाथ खनालको भनेर ‘ट्याग’ लागेको मान्छे, उहाँको अहिले मौनतालाई कसरी लिनुभएको छ ?
– झलनाथ खनाल अहिले अध्यक्ष हुनुहुन्छ । अध्यक्षको मान्छे म होइन कसैले भन्छ भने मेरो भन्नु केही छैन । अध्यक्ष नै उहाँलाई बनाइसकेपछि सबै मान्छे उहाँकै होलान् । दोस्रो कुरा, पार्टी अध्यक्षले यति छिट्टै खुल्न उपयुक्त हुँदैन । उहाँले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको नेतृत्व गर्नुपर्छ । त्यस्तो मान्छे अहिले खुल्नु हुँदैन । कि त आफैंलाई उम्मेद्वारका रुपमा प्रस्तुत गर्नुपर्यो । नत्र अध्यक्ष कसैको पक्ष वा विपक्षमा उभिनु राम्रो होइन ।
० राष्ट्रपतिको कार्ड फ्याँकेर पनि उहाँलाई अप्ठ्यारोमा पारिएको छ भनिन्छ नि ?
– समय आयो भने उहाँलाई राष्ट्रपति बन्न कसैले रोक्ने वा नरोक्ने कुरा अर्थ नराख्ला ।
० नखुले पनि हस्पिटलमा बैठक डाक्ने, दस्तावेज लेख्न ओली समूहका नेतालाई जिम्मा दिने जस्ता कुराले केपी ओलीलाई सहयोग पुग्ने गतिविधि भएको छ भनिन्छ नि ?
– कतिपय प्राविधिक कुरामा के भयो भन्ने कुरालाई त्यति महत्व दिनु हुँदैन । वैचारिक रुपमा, झलनाथ खनालका यतिबेलाका विचार सही छन् । उहाा, मावध नेपाल, वामदेव गौतम र हामी नयाँ पुस्ताका केही नेताका निष्कर्ष मिल्दाजुल्दा छन् । यही विचारमा सिंगो पार्टीपंक्तिलाई ल्याउने प्रयत्न भइरहेको छ ।
० तपाईं पनि अब सचिवको दाबेदार हो ?
– मैले राजनीतिक जीवनमा अहिलेसम्म कुनै पदका निम्ति मरिहत्ते गरेको छैन । म जहाँसम्म आएँ, मेहनत प्रयत्न, अध्ययन, काम, भूमिका र संघर्षबाटै आएको हुँ । म अहिले पनि पदभन्दा कामलाई महत्व दिन्छु । परिस्थिति जे बन्छ, त्यसैका निम्ति म तयार हुन्छु । नयाँ पुस्ताका कुनै न कुनै रुपमा नेतृत्वमा जानुपर्छ भन्ने आम पार्टीपंक्तिको भावनाको हामीले सम्मान गर्नुपर्छ । भोलि महाधिवेशनमा आउने प्रतिनिधिले जे जिम्मा दिन्छन्, त्यही जिम्मेवारी बहन गर्नुपर्छ ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास