मैले छोराप्रति ठूलो अन्याय गरेको छु
लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता राप्रपा० तपाईंको व्यस्तता अचानक बढेको देखिन्छ नि ?
– अलिक बढी व्यस्त भएको छु । साथीभाइहरू बढी नै भेट गर्न आउनुहुन्छ । म पनि कहिलेकाहीँ साथीभाइलाई बोलाउँछु ।
० अघिल्लो पटकको सल्लाह अनुसार यही ६ गते तपाईंहरूको पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने होइन ?
– हो ।
० त्यसमा के भइरहेको छ त ?
– आशा छ, ठीकै होला, प्रतिबद्घता जनाइसकेको कुरामा । देशै चलाउँछु भन्ने साथीहरू हामीसँग छन् । उनीहरूबाट दसौं पटक दोहोर्याइएको कुरामा कसरी फरक होला र ?
० तपाईंका परम मित्र सूर्यबहादुर थापाको स्वभाव त त्यस्तो होइन ?
– अब हेरौं । हरेक घटनाले मान्छेलाई जाँच्छ क्यारे † उहाँले म छाड्छु भन्नुभएको छ । भोलि–पर्सिसम्म हेरौं ।
० जाँदाजाँदै केन्द्रीय कमिटीमा गरिएको मनोनयनलाई कसरी हेर्नुहुन्छ ?
– पार्टीका निष्ठावान साथीहरूलाई चित्त बुझेको छैन । व्यक्तिभन्दा पनि प्रक्रियाप्रति असन्तुष्टि छ ।
० तपाईंको चाहिँ ?
– यसबारेका सरसल्लाह भएको छैन । सरसल्लाह नभइकन त्यसको स्वामित्व मैले लिने ठाउँ हुँदैन ।
० तपाईं अध्यक्ष हुनुभयो भने ती निर्णय उल्टिन्छन् ?
– भएपछि हेरांैला । सबैलाई समन्वय गरेर लैजानुपर्छ । जे गर्दा पार्टीलाई बढी फाइदा हुन्छ र साथीहरूले पनि पार्टीले आफूलाई ‘माइनस’ गरेको छैन भन्ने पार्ने मेरो प्रयास हुन्छ ।
० पञ्चायतकालदेखि नै सूर्यबहादुर थापा र तपार्इंको यस्तै लुकामारी, एउटाको विकल्प अर्को भइरहन्छ, नि ?
– अब, भइआयो त, के गरौं ? त्यो कुन्नि के हो, विधिको विधान । बेला–बेलामा यस्तै पर्दै आएको छ ।
० तपार्इंहरूको पार्टी चाहिँ एकल नेतृत्वमा चलेको जस्तो देखिन्छ । जस्तो– मन्त्री बनाउँदा, सभासद् बनाउँदा पनि पार्टीमा संस्थागत निर्णय देखिएन नि ?
– सभासद् बनाउँदा चाहिँ हो । हुन त त्यो बेलामा पनि कार्यसमितिबाट एउटा सैद्घान्तिक सहमति गरेको भए राम्रो हुन्थ्यो । त्यो नगरेर हामी अलि–अलि चुकेका चाहिँ हौं ।
० अधिकारजति अध्यक्षलाई दिनुभयो ?
– होइन, त्यो त मन्त्री बनाउने बेलामा हो । त्यो बैठकमा म जान पाएको थिइनँ । तर, बहुमतले दिएपछि मैले पनि दिएँ भन्नैपर्यो ।
० ७५ वर्षमा पार्टी अध्यक्ष भएर नयाँ के गर्ने योजना छ ?
– यो पार्टीमा एउटा नयाँ ‘इम्प्रेसन’ दिनुपर्ने भएको छ । त्यति गर्नका लागि हो, अरू केही होइन ।
० के ‘इम्प्रेसन’ हो ?
– यो पार्टीमा निर्णयहरू संस्थागत हुन्छन्, जथाभावी हुँदैनन््, कसैलाई भेदभाव गरिँदैन, हामीप्रति अन्याय हुँदैन भनेर केन्द्रदेखि गाउँ तहसम्म विश्वास दिलाउने वातावरण निर्माण गर्नुछ । त्यति मात्र गरियो भने यो पार्टी अगाडि बढ्छ ।
० पञ्चायत कालदेखिको गुटबन्दी छ, तपाईंको पार्टीमा ?
– छ त । त्यो बेलामा पनि एक किसिमले हामीले नयाँ कुरा नै सुरु गरेका थियौं । व्यवस्थाभित्र नै प्रतिपक्षी होस् र त्यसले नेतृत्वलाई छाडा हुन नदेओस् भनेर गरेका थियौं तर पछि गएर गुटबन्दी भयो । पार्टीमा टुटफुट पनि आयो । अहिले पनि सबैमा विवेक पलाउला र यो समस्या अरू नबढ्ला भनेर म अझै विश्वस्त छु ।
० छोराहरूलाई प्रवद्र्घन गर्नुभयो भन्ने आरोप तपाईंहरूमाथि लाग्ने गरेको छ । सूर्यबहादुरले छोरालाई मन्त्री बनाउनुभयो, तपार्इंले सभासद् ?
– मेरो छोराप्रति मैले ठूलो अन्याय गर्दै आएको छु । तीन–तीनचोटी केन्द्रीय कमिटीमा (दुई पटक दोस्रो बढी मत र एक पटक सबैभन्दा बढी मत) सबैभन्दा बढी मत ल्याएको छ । दोस्रो बढी मत आउँदा पनि कुनै–कुनै पद दिने चलन थियो । सबैभन्दा बढी मत ल्याउनेलाई त महामन्त्री बनाउने परिपाटी बसेको थियो । उसले सबैभन्दा बढी मत ल्यायो तर उसले मलाई पनि भनेन, मैले पनि कसैलाई भनिनँ । हामीले चुनावमा जानुअघि एउटा मापदण्ड बनाएका थियौं– मतदाताको संख्याको आधारमा सबैभन्दा बढी मत ल्याउने जिल्लालाई सभासद् दिने । त्यो हिसाबले बैतडी तेस्रोमा पर्दथ्यो । त्यसमा मैले नाइँ भने पनि नबनाउने ठाउँ थिएन । त्यस्तो बेला मैले नाइँभन्दा मलाई घरमा पस्न दिन्थे र ? त्यसो गर्नु ऊमाथिको अन्याय हुन्थ्यो । त्यो अधिकार मलाई थिएन ।
० अबको तपार्इंको एजेन्डा भनेको पार्टीलाई संस्थागत रूपमा चलाउने हो ?
– संस्थागत रूपमा अगाडि बढ्छ भन्ने विश्वास पनि दिनुपर्छ । मुखले भाषण गरेर मात्र हुँदैन । केन्द्रदेखि गाउँ तहसम्मका कार्यकर्तालाई नेताको वरिपरि घुमेर मात्र केही हुँदैन भन्ने विश्वास दिलाउनुपर्छ
० तर, तपाईंलाई धेरै सोझो राजनीतिज्ञका रूपमा लिने गरिन्छ ?
– म खुला किताब जस्तो छु । एक पटक बोलेपछि त्यसमा फरक हुन्न ।
० कमान्ड गर्न कत्तिको सहज होला ?
– कमान्ड भनेको के ? मेरो धारणा अलिक फरक छ । अध्यक्षहरूले कमान्ड गर्ने हो, अरू उसका सिपाही हुन् भन्ने कुरामा म विश्वास गर्दिनँ । सबै साथीभाइहरू हुन् । तपाईंले काम गराउनुछ भने सबैलाई जिम्मा दिएर आफू आरामले बस्नूस् । जस्तो– राष्ट्रपति हुँदा रेगनले गरेका थिए । यसो गर्दा आफंैलाई सजिलो हुन्छ । पञ्चायतको बेलामा पनि म काम बाँडिदिन्थें । त्यो बेला प्रधानमन्त्री १० जना छन् भन्थे । मैले संसद्मा पनि भनें– जब संसद्का सबै सदस्य र सबै जनताले हामी पनि प्रधानमन्त्री हौं भन्ने महसुस गर्छन्, त्यसबेला म सबैभन्दा बढी खुसी हुन्छु ।
० त्यो त सूर्यबहादुरले गर्नुभयो नि, तपाईंलाई चुनावमा पठाउनुभयो, आफू आरामले बस्नुभयो ?
– बिरामी भएँ भन्नुहुन्छ । त्यसो भनेपछि केही भन्ने कुरा नै आएन । यदि बिरामी नभएको भए सबै ठाउँ जाने उहाँको दायित्व थियो । स्वास्थ्य ठीक भएन भनेपछि के लाग्यो र ?
० सायद तपाईंको त्यही स्वभावका कारण ०५४ सालमा वामदेव गौतमसँग ‘केमेस्ट्री’ मिल्यो ?
– उहाँलाई अनेक भनेको सुन्छु तर उहाँसँग काम गर्न मलाई कुनै कठिनाइ भएन । कुनै कुरामा छलफल त हुन्छ नै तर ‘उपप्रधानमन्त्रीजी यसो गरौं है’ भनेपछि उहाँ मान्नुहुन्छ । बाहिर जे जस्तो प्रचार भए पनि त्यो गुण उहाँमा छ । अस्ति सरकार बन्ने बेलामा ‘उहाँसँग किन तर्सेको ?’ भनेर मैले कांग्रेसका केही मान्छेलाई भनें पनि । उहाँ जस्तो सजिलो मान्छे त मैले देख्दै देखिनँ । उहाँ पनि कुरा मनमा राख्नु हुन्न । जे आयो सजिलै भन्नुहुन्छ ।
० एकाएक प्रहरी महानिरीक्षक परिर्वतनले तपाईंलाई अप्ठ्यारो पनि पार्यो ?
– होइन । उहाँले त्यो कुरा छाडिसक्नुभएको थियो ।
० कसरी भयो त त्यस्तो ?
– एकाध घटना भए । त्यो बेलाका आईजीपी अच्युतकृष्ण खरेललाई नै राखेर हामीले सशस्त्र खडा गरेर दुईटा आईजीपी बनाउने कुरा गर्यांै । हामीभन्दा अगाडि पनि त्यो कुरा भएको थियो । त्यससम्बन्धी कागज बनाउन वामदेवजीलाई अनुरोध गरें । सबै प्रक्रिया पूरा भएपछि आईजीपी मकहाँ आउनुभयो । उहाँले ‘दुईटा आईजीपी बनाउनु हँुदैन’ भन्नुभयो । मैले भनें– ‘किन र ? गृहमन्त्रीले तपार्इंलाई राखेर बनाएको कागज होइन र ?’ उहाँले ‘होइन म पनि बसें, त्यहाँ माने पनि अब बनाउनु हुँदैन, बनाउनुभयो भने रगतको खोलो बग्छ’ भन्नुभयो । मुलुकको प्रधानमन्त्रीसँग सुरक्षाको जिम्मा बोकेको एउटा आईजीपीले त्यसो भनेपछि सोच्नै पर्ने भयो ।
० दुईटा आईजीपी कसरी सम्भव हुन्थ्यो र ?
– दुईटा भनेको एउटा सशस्त्रको । दुईटा भएपछि मलाई सशस्त्रमा फ्याँकछन् भन्ने उनलाई शंका भएछ । हुन त धुव्रबहादुरजी अहिले पार्टीमा मसँगै हुनुहुन्छ, उहाँ मसँग रिसाउनुहोला । त्यतिबेला बनाएको भए म यिनलाई सशस्त्रमा राख्थें ।
० मुलुकको चारचोटी प्रधानमन्त्री हुनुभयो, आज फर्केर हेर्दा के चाहिँ उपलब्धि हासिल गरे भन्ने लाग्छ ?
– काम नभएको होइन । पछिल्लो समयलाई नै हेर्ने हो भने पनि माओवादीलाई वार्ताको टेवुलसम्म ल्याइयो । ०५४ मा पनि वामदेवजीका माध्यममार्फत माओवादीले ‘हामीलाई रेडियोमार्फत वार्तामा बोलाउनुहोस्, हामी वार्तामा आउन तयार छांै’ भन्ने खबर आएको तीन दिनपछि मेरो विरुद्घमा अविश्वासको प्रस्ताव दर्ता भयो । अहिले त गर्छन् पनि तर अविश्वासको प्रस्ताव दर्ता भएपछि नीतिगतलगायतका अरू काम गर्न पाइँदैन । त्यो ०५४ सालको कुरा थियो । तर, ०६०/६१ सालमा आएर पूरा भयो । जनताले कति दु:ख भोग्नुपर्यो † अरू विकास निर्माणका काम पनि भएका छन् । आफूले गरेका कामको पुस्तिका किन छपाउनुभएन भनेर मलाई अरूले पनि गुनासो गर्छन् । मलाई याद पनि छैन, त्यतापट्टि समय खेर फाल्न पनि म चाहन्न ।
० सम्झनायोग्य एक दुई कुरा ?
– त्यही त मैले भनिहालें । ०४६ सालको आन्दोलनका बेला मुख्य नभए पनि म एउटा ‘फ्याक्टर’ थिएँ । मैले हुँदैन भनेको भए, सायद मेरो कुरा पो सुनिन्थ्यो कि † त्यो पनि मेरो एउटा सफलता हो जस्तो लाग्छ ।
० खड्केको कुरा चाँहि ?
– अहिले याद भएन । केही होलान् ।
० तपार्इं त साहित्य पनि लेख्ने मान्छे, आफ्नो संस्मरण लेख्ने केही योजना छैन ?
– लेख्ने विषयमा सोचिरहेको छु । अब अलिक फुर्सद होस् ।
० तपार्इंले पञ्चायतकालबाट राजनीति सुरु गर्नुभयो, जीवनमा सफलता पनि त्यही कालमा हासिल गर्नुभयो, तर मुलुकमा गणतन्त्र स्थापना भएपछि तपार्इंको पार्टीले पनि सहजै गणतन्त्र स्वीकार गर्यो, त्यो पार्टीको अब अध्यक्ष हुँदै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
– परिस्थिति अनुसार हामीले गणतन्त्र स्वीकार गरेकै हो । यो कुरा मलाई भन्न कुनै हिचकिचाहट छैन कि हामीले गणतन्त्रका निम्ति आन्दोलन गरेका थिएनौं । मुलुकमा त्यो कुरा आइपर्यो, राजाले त स्वीकार गरेर नारायणहिटी छाडेर गइसकेपछि हामीले स्वीकार गर्दैनांै भन्न मिल्दैन ।
० स्विकार्दैनौं भनेर तपाईंकै पार्टीका कार्यकर्ताले अर्को पार्टी राप्रपा नेपाल बनाएका छन् ?
– अस्तिको उनीहरूको विज्ञप्ति पढ्नुभयो ?
० पुनर्विचार गर्नसक्छौं भन्ने ?
– हो ।
० पूर्वराजाको भूमिकालाई कुन रूपमा लिनुभएको छ ?
– उहाँसँग अहिले सम्पर्क नै छैन ।
० बातचित हुँदैन ?
– हुँदैन ।
० तपार्इं त दरबारको संकटको साथी हो….. ?
– भने पनि हुन्छ । तर, आजभोलि सम्पर्क छैन । राजनीतिज्ञहरूलाई त्यति भेट्ने इच्छा पनि छैन भन्ने सुन्छु । कुनै राजनीतिज्ञको सम्पर्क छ जस्तो मलाई लाग्दैन ।
० छिमेकी मुलुक भारतमा सत्ता परिवर्तन भएको छ । हिन्दुवादी पार्टीले जितेको छ । नेपालमा के प्रभाव पर्ला ?
– उनीहरूले यहाँ आएर केही गर्दैनन् । यही हिन्दू भनेर केही कुरा उठ्यो भने ‘ठीकै’ छ भनेर सहानुभूतिसम्म दिने काम होला तर यहीँ आएर केही गर्छन् भन्ने कुरामा मलाई पत्यार छैन । परराष्ट्र नीति मुख्य विपक्षीलाई नलिई बनाइँदैछ, परम्परा भंग भयो भनेर लालकृष्ण आडवाणीले अलिक गुनासो पनि गरेका थिए । त्यो भयो भने जुन सरकार आए पनि फरक पर्दैन ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास