यही अवस्थामा पार्टीमा बस्न सकिन्न
रिजवान अन्सारीपार्टी नेताहरू सुदृढीकरण अभियान लिएर जिल्ला–जिल्ला पुगेका बेला तपाईं त घरमै हुनुहुन्छ नि ?
– संविधानसभा निर्वाचनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकले ‘विज’ अभियान भन्दै सुदृढीकरण अभियान चलाएको छ । त्यो अभियान चलिरहेकै होला भन्ने लाग्छ ।
तपाईं चाहिँ किन असन्तुष्ट त ? कि जिम्मेवारी नै नदिइएको हो ?
– पार्टीको उपाध्यक्ष नै छु, जिम्मेवारी नहुने त कुरै भएन । तराईका केही जिल्ला तोकेरै यो अभियानलाई अनुगमन गर्ने जिम्मा मलाई छ । तर, एक–दुईवटा कारणले म निष्क्रिय छु ।
के कारणले ?
– पहिलो त मेरो स्वास्थ्य पनि ठीक नभएर हो । दोस्रो– पार्टीभित्र पनि केही समस्या देखापरेका छन् । असन्तुष्टिहरू देखापरेका छन् । केन्द्रमै समस्या देखापरेपछि त्यसको समाधान नगरी पार्टी काममा लाग्ने स्थिति छैन ।
एक वर्ष पनि भएको छैन पार्टी बनाएको, के समस्या आइपर्यो र ?
– ०६२/६३ को परिवर्तनपछि पनि राजनीतिक शक्तिहरूले नेपाली जनतालाई विकल्प दिन सकेनन् । जनजीविका, लोकतन्त्र र वर्गीय मुक्तिका लागि गरिएका आन्दोलनपछि पनि ती मुद्दा सम्बोधन भएनन् । मुलुकमा जरो गाडेर बसेको सम्पूर्ण खालका उत्पीडन र शोषणको समाप्तिको दिशातर्फ नेपालका राजनीतिक दल असक्षम र असफल सावित भए । त्यसको विकल्पमा ती मुद्दा र समस्या सम्बोधन गर्न राष्ट्रिय स्तरको भरपर्दो राजनीतिक शक्ति अपरिहार्य छ भन्ने सोचले हामीले नयाँ पार्टी स्थापना गर्यौं ।
० यो नयाँ पार्टी पनि त्यस दिशातर्फ उन्मुख भएन भन्न खोज्नुभएको हो ?
– हो । समस्या लुकाएर हुँदैन । विभिन्न प्रकारका जातजाति, धर्म, लिंग, क्षेत्रको प्रतिनिधित्व नेपालका कुनै राजनीतिक पार्टीमा देखिएन । त्यसबाट हाम्रो पार्टी पनि विमुख रहन सकेन ।
० नेतृत्वप्रति के तपाईंको असन्तुष्टि हो ?
– सबैलाई समेट्न राष्ट्रिय पार्टी निर्माण गर्ने हाम्रो सोच थियो । आफ्नो स्वतन्त्र र अधिकारको कुरा गर्ने अरूको स्वतन्त्रता र अधिकारलाई वास्ता नगर्ने आम प्रवृत्ति हामीमा पनि देखियो । नेतृत्व तहमा बाहुन/क्षेत्रीलाई पनि ल्याउन हामीले कुनै पहल नै गरेनौं । राष्ट्रिय पार्टीको खाँचोलाई पूर्ति गर्न सकेनौं । त्यो दिशातर्फ पार्टीलाई अघि बढाउन धेरै कठिनाइ देखिएको छ ।
० ती कठिनाइ आन्तरिक हुन् ?
– आन्तरिक नै हुन् । पार्टी बनाउँदा एक खालको सहमति भएको थियो । एमालेमा रहँदा हामीले पार्टीलाई बुझाएको नौबुँदे माग आफैंले बनाएको पार्टीमा त लागू गर्नुपथ्र्यो नि † त्यो पनि गरिएन । एमालेसँग माग्ने, आफैंले बनाएको पार्टीमा चाहिँ लागू नगर्ने ?
० तपाईं आफैं पार्टी उपाध्यक्ष हुनुहुन्छ, त्यो लागू गर्न कसले दिएन त ?
– धेरै कुरा पार्टीको मूल नेतृत्वमा भरपर्छ । म उपाध्यक्ष छु, मैले यो कुरा नउठाउँदा, समय–समय सचेत नगराउँदा मेरो कमजोरी हुन्थ्यो । मैले पार्टी निर्माणदेखि अहिलेसम्म पटक–पटक पार्टीभित्र यी कुरा राखिरहेको छु । अध्यक्षलगायत साथीहरूले ती कुरा लागू गर्छु पनि भन्नुहुन्छ तर व्यवहारमा गरिँदैन ।
० पार्टीभित्र राख्दा–राख्दा वाक्क भएर सामाजिक सञ्जालमार्फत टिप्पणी गर्न थाल्नुभएको हो ?
– राजनीति, पार्टी आफ्नो ठाउँमा छ तर सामाजिक सम्बन्ध भनेको अर्कै कुरा हो । सामाजिक सञ्जालमार्फत मैले साथीहरूलाई कुनै आग्रह–पूर्वाग्रह नराखी सल्लाह र सुझाव मागेको छु ।
० संविधानसभा निर्वाचनको परिणामपछि चाहिँ पार्टीभित्रको विवाद बढी सतहमा आयो नि ?
– पानी तातिरहेको हुन्छ तर सय डिग्रीमा पुगेपछि मात्र त्यसमा गुणात्मक परिवर्तन हुन्छ । यो कुरा उठेको धेरै भयो । तर, अहिले आएर उत्कर्षमा पुगेको हो ।
० सभासद् चयनप्रति असन्तुष्टि होइन र ?
– मेरो राजनीतिक जीवन कम्युनिस्ट पार्टीमा लागेर सुरु भएको हो । मेरो विचार कम्युनिस्टसँग मिल्दोजुल्दो थियो कि कम्युनिस्ट पार्टीको विचार मसँग मिल्दोजुल्दो थियो, त्यो मैले छुट्याउन सकिनँ । कम्युनिस्ट पार्टीहरूका दस्तावेज पढेपछि आफूले चाहेको कुरा त्यहाँ पाएँ । कम्युनिस्ट पार्टीले सिंगो संसारलाई एउटा धागोमा बाँध्ने काम गर्छ । वर्गविहीन समाजको कल्पना गर्छ । शोषणरहित समाजको सिर्जना नै माक्र्सवादको सार हो । मेरो जीवन भनेकै जातिवादको विरुद्धमा उभिएको जीवन हो । मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला मलंगवा जस्तो ठाउँमा पहाडेलाई धोती मधेसीलाई टोपी लगाइदिने मान्छे मै हुँ । क्रमिक रूपमा अगाडि बढ्दै जाँदा जातिवादका केही रूप पनि प्रकट भए । त्यसमा मेरो आपत्ति हो ।
० तर, त्यसको विकल्प एउटा जातीय पार्टी रोज्नुभयो नि ?
– त्यही कुरालाई हामीले चिर्न सकेनौं । संविधानसभा निर्वाचनमा राम्रो परिणाम हात पार्न नसक्नुको मुख्य कारण यो पनि हो । बाहुन/क्षेत्री समुदायको हामीले विश्वास आर्जन गर्न सकेनौं ।
० पार्टीभित्र एउटा समूह अझै बढी जातिवादमा जानुपर्छ भन्ने धारमा सशक्त रूपमा उभिएको छ रे नि ?
– त्यो समस्याको समाधान होइन । एउटा अतिवादको विरुद्धमा त्योभन्दा ठूलो अर्को अतिवादको जन्म दिनु भनेको समस्याको समाधान होइन ।
० युरोपियनहरूको डलरले खोलेको पार्टी पनि भनिन्छ, क्यारे ?
– त्यो चाहिँ बिल्कुलै गलत आरोप हो । पार्टीभित्र आर्थिक कठिनाइ पनि देखापर्यो । हामी चुनाव हार्नुको पछाडि यो पनि एउटा कारण हो ।
० तर, धाँधली भयो भनेर केही समय एनेकपा (माओवादी)सँग होमा हो मिलाउनुभएको थियो ?
– त्यो पनि हो । तर, त्यो मूल कारण होइन । जातिवादलाई चिर्न नसक्नु र आर्थिक कठिनाइ मूल कारण हुन् ।
० जातिवादको आरोप चिरेर राष्ट्रिय पार्टी बन्ने सम्भावना कत्तिको छ ?
– अझै पनि म आशावादी छु । मेरो आत्मविश्वास र आशावादिताले कहिलेकाहीँ धेरै नोक्सान पनि पुर्याउने गरेको छ ।
० तर, बाहिर त तपाईंले आशा मारिसक्नुभयो, फेरि मूलघर फर्कने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?
– त्यस्तो होइन । पार्टीभित्र समस्या देखापरेका छन् । ती समस्या लुकाएर लुक्ने कुरा होइन । लुकाउने प्रयत्न गर्नु पनि हुँदैन । समस्या समाधानकै दिशातर्फ हामी अग्रसर हुन्छौं । पार्टीले तीन जना उपाध्यक्षलाई जिम्मेवारी दिएको छ । उहाँहरूले हामीहरूसँग कुरा गरिरहनुभएको छ । अध्यक्षले पनि दुई–तीन चोटी कुरा गरिसक्नुभयो । सकेसम्म छिटो समस्या समाधान गर्नुपर्छ ।
० समानुपातिक सूचीमा चाहिँ किन असहमति ?
– त्यसमा पनि केही असहमति छ । तर, त्यो मुख्य कुरा होइन ।
० अध्यक्ष आफैं गएकोमा आपत्ति हो ?
– पहिला दुई–तीन किसिमका प्रस्तावमा छलफल भएको थियो । पदाधिकारी नजाने, एक लेयरको एक नेताको नेतृत्वमा अरू साथीलाई पठाउने, पदाधिकारी नै जानुपर्छ भन्ने विभिन्न खालका सुझाव आएका थिए । तिनमा छलफल चले पनि निर्णय भएको थिएन । त्यो सुझावअनुसार पनि काम हुन सकेन ।
० समानुपातिकमा सुरक्षित हुन पनि प्रत्यक्षमा धेरै पदाधिकारीहरू निर्वाचन लड्नुभएको थिएन ?
– यो कुराले धेरै नोक्सान पुर्यायो । नेताहरू चुनाव नलड्दा पार्टीप्रतिको विश्वासमा कमी ल्यायो । अधिकांश नेता चुनाव लड्नैपर्छ भन्ने मेरो पनि मान्यता हो । त्यसैले म चाहिँ चुनाव लडे पनि हारजित त आफ्नै ठाउँमा छ । म त सुशील कोइरालालाई धन्यवाद दिन्छु । त्यति बूढो मान्छे चुनाव लड्नुभयो ।
० गत चुनावमा तिनै जनताले जिताएर अबिर माला गरेर पठाए, तिनै जनताले अहिले हराइदिए, कस्तो अनुभूति भयो ?
– मिश्रित अनुभूति छ । यसपटक मैले काम पनि धेरै गरेको थिएँ । निर्वाचन क्षेत्रमा जनताका बीचमा कामको, इमानदारिताको, मुद्दाको महत्व हुँदैन भन्थे मान्छेहरू । तर, म होइन भन्थें । वास्तवमा हो रहेछ । विकासका पनि थुप्रै काम गरेको थिएँ, चार–पाँच सयलाई जागिर पनि लगाइदिएँ, तर …।
० फुटको संस्कृतिलाई जनताले विश्वास गर्दा रहेनछन् भन्ने सन्देश पनि त हो नि, होइन र ?
– संगठनको अभावमा हामीले हाम्रो मुद्दा आमजनतासम्म पुर्याउन सकेनौं । जिल्ला पार्टी बनाएर मात्र हुँदैन । पार्टी भनेको वडा कमिटी पनि हो । हाम्रो त गाउँ कमिटी पनि बनेको थिएन । अर्को, पार्टी परिवर्तनको कुरालाई जनताले त्यति राम्रो मान्दा रहेनछन् । धेरै पहिला एमाले पनि विभाजन भयो, फेरि मिल्नुभयो । स्वार्थका लागि नेताले पार्टी फोर्छन् भन्ने छाप जनताको मनमा परेको छ ।
० त्यसरी नै तपाईंहरू पनि मिल्ने सम्भावना छ कि छैन ?
– अहिलेसम्म त्यस्तो अवस्था छैन । तर, राजनीतिमा कुनै पनि कुरा असम्भव हुँदैन । यदि भोलि एमालेले हाम्रो माग सम्बोधन गर्छौं भन्यो भने मिल्न पनि सक्छ । हिजो एमालेको नेतृत्वले यो कुरा सम्हालेको भए यो नयाँ पार्टी नै बन्दैनथ्यो होला ।
० कांग्रेस, माओवादीका जनजाति नेताले तपाईंहरूलाई उचालेर आफूहरू चाहिँ पछि हटे भनिन्छ नि ?
– माओवादीको त्यत्ति ठूलो समूह थिएन । कांग्रेसको जुन समूह हामीसँग आएको थियो, खासगरी जातीय मुक्ति आन्दोलन हाँकेका अगुवा चैतन्य सुब्बालगायतका, उनीहरूको कुरा हामीसँग मिल्न सकेन । उहाँहरू जनजातिवाद भनेर एउटा वाद नै बनाउन चाहनुहुन्थ्यो । माक्र्सवादलाई उहाँहरू स्वीकार्नै नसक्ने । वैचारिक सहमति नभएर भिन्न भएका हौं । हामीले माक्र्सवाद छाड्न सकेनौं । उनीहरूले लोकतान्त्रिक समाजवाद छाड्न मानेनन् । तर कांग्रेसकै दुर्गामणि देवानजीहरू माक्र्सवाद बीपीले पनि स्वीकारेको हो भनेर आउनुभयो ।
० अहिले दुर्गामणि देवान पनि असन्तुष्ट हुनुहुन्छ ?
– उहाँका बारेमा मलाई त्यति थाहा भएन । उहाँ, प्रेमकृष्ण पाठक र डा. मंगलसिद्धि मानन्धरलाई हामीसँग कुरा गर्ने जिम्मेवारी दिइएको रहेछ । उहाँहरूले दुई–तीन चरणमा कुराकानी गर्नुभएको छ । सबैले विश्वास गर्ने पार्टी निर्माण गर्नुपर्छ भनेका छौं हामीले । त्यसो भयो भने यही पार्टी निर्माणमा लाग्छौं ।
० त्यतिञ्जेलसम्म चाहिँ निष्क्रिय नै रहने ?
– होइन, हामीले यो समस्या छिट्टै समाधान हुनुपर्छ भनेका छौं । हामी राजनीतिक प्राणी हौं, निष्क्रिय बस्न सक्दैनौं । स्वास्थ्यका कारण पनि निष्क्रिय थिएँ, अब स्वास्थ्य पनि ठीक भएको छ ।
० समस्या सम्बोधन भएन भने चाहिँ विकल्प के त ?
– पार्टी–पार्टीबीचको एकताको सम्भावना चाहिँ अहिलेसम्म देखिएको छैन । भोलिको दिनमा हुन पनि सक्छ नहुन पनि सक्छ । मेरो सवालमा भन्ने हो भने म सकेसम्म यही पार्टी बनाएर लैजान लाग्छु । जति गर्दा पनि हुँदै भएन, यो पार्टीलाई राष्ट्रिय रूप दिनै सकिएन भने अग्रगामी शक्तिहरू संगठित गरेर माक्र्सवादआधारित कुनै कम्युनिस्ट पार्टीको विकल्प रोज्छौं । अहिले भएकै अग्रगामी पार्टीहरूलाई परिवर्तन गराएर जान पनि सकिन्छ ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास