राजनीति नसप्रिंदासम्म अर्थतन्त्र सप्रिंदैन
इच्छाराज तामाङ, उद्यमी/सभासद्० उद्यमी/व्यवसायी मान्छे, संविधानसभामा छिर्दा कस्तो अनुभूति भइरहेको छ ?
– पहिलो संविधानसभामा जुन किसिमको जोश, जनलहर र वातावरण थियो, त्यसमा उद्यमी–व्यवसायी पनि अटाउनुपर्छ र उनीहरूले अर्थतन्त्रको विषयमा महत्त्वपूर्ण योगदान दिनुपर्छ भन्ने थियो । प्रत्येक नेपालीको समृद्ध मुलुकको चाहनालाई सम्बोधन गर्नका लागि त्यो संविधानसभामा हरेक क्षेत्रका मानिसको प्रतिनिधित्व भयो । त्यतिखेर म पनि आफ्नै तयारीमा थिएँ । मैले पार्टीमा केही कुरा राखिनँ । दोस्रो संविधानसभा गठन हुनेक्रममा साँच्चै संविधान बनाउन हामीजस्ता उद्यमी/व्यवसायी त्यहाँ गयौं भने पार्टीको नीति विषय भित्रै बसेरै पनि अझै पृथक् ढंगले सबैको भावना समेट्न संविधान निर्माणमा भूमिका खेल्न सकिन्छ भन्ने मलाई लाग्यो । दयनीय र जर्जर बनेको अर्थतन्त्रलाई भोलि बन्ने संविधानमार्फत कसरी माथि उठाउन सकिन्छ भन्ने कुरा दिशाबोध गर्न सकिन्छ भन्ने अभिप्रायबाट मैले एमालेबाट त्यो खालको अपेक्षा गरेको थिएँ । पार्टीले मलाई अवसर दिएको छ ।
० संविधानसभामा अहिलेसम्म भएका कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– संविधानसभाको निर्वाचन भएको तीन महिना पूरा भइसकेको छ । तर, कार्यकालका हिसावले डेढ महिना मात्र भएको छ । यसबीचमा केही व्यवस्थापकीय कामहरु भएका छन्, अध्यक्ष, उपाध्यक्षको चयन भएको छ, नियमावली बनिरहेको छ । अरु, विषयका हिसावले खासै काम भएको छैन । यस हिसावमा मूल्यांकन गर्ने बेला अझै भइसकेको छैन ।
० अहिलेसम्मको अवस्था हेर्दा संविधानसभा फलदायी होला जस्तो लाग्छ ?
– हरेक राजनीतिक परिवर्तनबाट प्राप्त अधिकार र उपलब्धि संस्थागत हुन नसक्दा देश समस्याको दलदलमा फस्दोरहेछ । राजनीतिक मुद्दा मात्र हेर्ने आर्थिक मुद्दा र अधिकार सम्बोधन गर्न नसक्दा जनतामा निराशा छाउँछ । र, हरेकपल्ट विकल्प खोज्दोरहेछ । चारवटा ठूला परिवर्तनबाट पनि जनताका अधिकार र अपेक्षा सम्बोधन हुन सकेनन् । यसबाट पाठ सिकेर यस संविधानसभालाई सफल पार्नैपर्छ । त्यसको विकल्प छैन ।
० तपाईं अहिले पनि निराश हुनुहुन्छ ?
– म राजनीतिकर्मी भन्दा अर्थकर्मी हुँ । आर्थिक क्षेत्रको पनि प्रतिनिधित्व गर्ने सभासद् भएको नाताले आर्थिक क्षेत्रका कुरा उठाउन त धेरै परको कुरा देखिरहेको छु । किनभने, पहिला राजनीतिक अवस्था ठीक ठाउँमा आउनुपर्छ ।
० अहिलेसम्मको अवस्था हेर्दा ?
– विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्दै विवादित विषयमा सहमति खोज्ने प्रतिबद्धता चुनावअघि प्रत्येक ठूला राजनीतिक दलले गरेका थिए । संविधानसभामा विगतका सहमतिको स्वामित्व लिने काम त भयो, तर संविधानका अरू विषयमा छलफल गर्ने, सहमति खोज्ने भन्दा पनि शक्ति बाँडफाँट कसरी गर्ने, सत्तामा कसरी जान सकिन्छ, शक्ति सञ्चय कसरी गर्न सकिन्छ भन्नेतिर बढी ध्यान दिएको देखिन्छ । यो राम्रो संकेत होइन ।
० संविधानसभाको नियमावलीसम्म बन्न सकेको छैन ?
– एक वर्षभित्र संविधान बनाउनुपर्छ भन्ने प्रत्येक राजनीतिक दल र नेताहरूको प्रतिबद्धता शब्दमा राम्रोसँग सुनिरहेको छु । तर, कता–कता प्राविधिक कुरा समायोजन गर्न नसकेका कारण संविधानसभा/संसद् चलाउने आधारभूत कुरा नियमावलीसमेत बन्न सकेको छैन । त्यसमा हामीले वास्तवमा यत्रो समय खर्चन नहुने थियो ।
० नियमावलीकै कारण संविधान निर्माणका अरू काम अघि बढ्न नसकेको हो ?
– त्यसैले ढिलाइ भएको हो । विभिन्न समितिहरू गठन गर्ने, ती समितिमा संविधानमा लेखिने कुरा छलफल भएर संविधान निर्माणको काम अगाडि बढ्ने हो । चौथो महिनामा प्रवेश गर्दा पनि संविधान निर्माणको काम अगाडि नबढ्दा मलाई दु:ख लागेको छ, तर आशा मारिसकेको छैन । नियमावली बनिसकेपछि पनि पार्टी नेतृत्वहरूबाट ढिलासुस्ती भयो भने खबरदारी गर्न तयार हुने भाव मैले सभासद्हरूमा देखेको छु ।
० तपाईंहरू समानुपातिकबाट आउनेलाई भन्दा जनताको मत लिएर आएकालाई पो गाह्रो होला त ?
– हो, हामी त उद्यमी/व्यवसायीको सानो घेराबाट प्रतिनिधित्व गरेका छौं । तर, जनता र कार्यकर्ताका बीचबाट एक वर्षमा संविधान दिन्छौं भनेर चुनिएकाहरूमा त संविधानको आगो बलिरहेको छ । त्यो आगोले पनि संविधान निर्माण भइछाड्छ भन्ने लाग्छ, तर अहिले भइरहेको ढिलाइले समय खेरचाहिँ गइरहेको छ ।
० अर्थतन्त्रका मुद्दा उठाउने कुरा नै ‘दूर’ देखिरहेको छु भन्नुभयो, आर्थिक मुद्दा कम प्राथमिकतामा पर्दोरहेछ ?
– आर्थिक समस्या धेरै छन् । ती सबै समस्या संविधानमा अटाउने कुरा सम्भव हुँदैन । संविधान भनेको मूल कानुन हो । त्यसले कस्तो परिकल्पना गर्छ, त्यसअनुसार अन्य सहायक कानुन बन्दै जान्छन् । दुई हरफको भावले पनि ठूलो प्रभाव पारेको हुन्छ । त्यो भाव कसरी विम्बित गराउन सकिन्छ भनेर हामीले भूमिका खेल्ने हो ।
० त्यही भाव झल्काउने काम पनि गाह्रो देख्नुभयो ?
– ०४८ सालमा ‘आर्थिक उदारीकरण’ भन्ने एउटै शब्दका कारण निजी क्षेत्रको यत्रो बाढी आयो । एउटा सानो कुराले लगानीका धेरै ढोका खोलिदिन्छ । अब बन्ने संविधानमा कस्तो आर्थिक नीति अवलम्बन गर्ने भन्ने कुरा हामीले दुई/चार हरफमा लेख्न सक्यौं, त्यस्तो भाव प्रस्तुत गर्न सक्यौं भने देशलाई आर्थिक समृद्धितिर डोर्याउन सक्छौं । यो कुरा राजनीतिक दलका नेताहरूलाई बुझाउन जरुरी छ । जनताले राजनीतिक अधिकार मात्र होइन, आर्थिक अधिकार पनि खोजेका छन् भन्ने बुझाउन हामीले भूमिका खेल्नुपर्छ ।
० नेताहरूले त्यति कुरा पनि नबुझेका होलान् र ?
– बुझ्नुभएको छ । तर, राजनीतिक ‘स्कुलिङ’ ज्यादै नै ‘टफ’ हुन्छ । त्यहाँ छिरेकाहरूमा एउटा संकुचित दृष्टिकोण हुन्छ ।
० के हो त्यो संकुचित दृष्टिकोण ?
– उसले राजनीतिक फाइदा हेर्छ । राजनीतिमा आफ्नो प्रभुत्व कसरी कायम हरन्छ भन्ने थोरै एकात्मक सोच देखिन्छ । त्यो राजनीतिक सफलता आर्थिक उन्नतिबेगर प्राप्त हुँदैन भन्ने बुझाउनुपर्ने देखिन्छ । कुनै समय लेनिनले ‘मान्छे ब्रेनले होइन ब्रेडले चल्छ’ भन्थे । दुईवटै कुरालाई समानान्तर रूपमा लिएर जानुपर्छ भन्ने कुरा राजनीतिकर्मीहरूलाई हामीले बुझाउन सक्यौं र सन्तुलित संविधान आयो भने देश समृद्धितिर लम्किन्छ ।
० नेतालाई यी कुरा बुझाउने पहलकदमी गर्नुभएको छैन ?
– मैले पार्टीका नेताहरू अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम, विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णु पौडेललगायत सबैसँग म नजिक सम्पर्कमा बसेर आफ्ना कुरा भन्दै आएको छु । मेरा विचार सुनेरै उहाँहरूले एमालेका तर्फबाट सिंगो आर्थिक क्षेत्रका मुद्दा अगाडि सार्न सभासद्को अवसर दिनुभएको हो ।
० संसद्मा बोल्न समय अहिलेसम्म पाउनुभयो त ?
– मैले औपचारिक/अनौपचारिक रूपमा यी कुराहरू राखिरहेको छु । संसद् आफ्नै तौरतरिकाबाट चल्छ । मैले पाएको समयमा आर्थिक कुरा नै उठाएको छु । मैले नेताहरूमा त्यस्तो चेतना जागृत होस् भनेर पहिलो पटक बोल्दा उहाँहरूको आँखा अगाडि रहेको बाग्मती सफाइ अभियानका कुरा उठाएको थिएँ ।
० बाग्मती र आर्थिक विकाससँग के त्यत्रो ठूलो सम्बन्ध छ र ?
– बाग्मतीको सफाइबिना आर्थिक उन्नति सम्भव छैन । बाग्मतीका सफा पानी बग्न सहर सफा र व्यवस्थित हुनुपर्छ । त्यसका लागि व्यवस्थित प्लानिङ, व्यवस्थित निर्माण हुनुपर्छ । त्यससँग धेरै कुरा जोडिएका हुन्छन् । त्यहाँ फालिएका दुई/चारवटा प्लास्टिक झोला टिपेर मात्र बाग्मती सफा हुँदैन ।
० साना–साना कुराले पनि आर्थिक क्षेत्रमा गम्भीर प्रभाव पार्दोरहेछ हैन ?
– सुशील कोइराला प्रधानमन्त्री बन्नेबित्तिकै सेयर कारोबारको नेप्से २० प्रतिशतले बढ्यो । आठ खर्बको सेयर बजारमा २८ अर्ब मूल्य थपियो । जब गृहमन्त्रीमा किचलो आयो ८ प्रतिशत गिरावट देखियो । त्यो भनेको ११ अर्ब रुपियाँ हो । यसबाट के देखिन्छ भने राजनीति र अर्थतन्त्रको ठूलो सम्बन्ध हुन्छ ।
० किन यस्तो हुन्छ ?
– कार्यालय समयमा कार्यालयका काममा लगाउनुपर्ने दिमाग, श्रम १० मिनेट मात्र गृहमन्त्री/प्रधानमन्त्रीको हुने भो भन्ने चासो लिँदा पनि समय नोक्सान हुँदा यो घाटा हुन्छ । देश–विदेशमा बसेर फोनबाट चासो लिँदा फोनमा पैसा खर्च हुन्छ । हरेक मिनेट, हरेक घन्टामा सबै जोड्दा यति सानो कुरामा करोडौं, अर्बौं नोक्सानी भइरहेको हुन्छ । राजनीति भनेको ज्यादै गम्भीर विषय हो । राजनीति खुकुरी हो भने अर्थतन्त्र अचानो हो । खुकुरी जति चल्छ, त्यति धेरै अचानोमा चोट लाग्छ । खुकुरीले काट्नुपर्ने चीज मात्रै काटिदियो भने अचानोलाई चोट लाग्दैन । यति सानो राजनीतिक मुद्दाले त यत्रो ठूलो आर्थिक नोक्सानी हुन्छ भने सिंगो संविधान नबन्दा के हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । निर्वाचन अघि बजारमा पैसा अभाव थियो । निर्वाचन भयो, अब शान्ति आउला, संविधान बन्ला भन्ने हुनासाथ बजारमा पैसा फालाफाल छ ।
० आर्थिक मुद्दाबाहेक जिल्लाका समस्या, गुनासा पनि त उठाउनुहुन्छ होला नि ?
– म ओखलढुंगामा जन्मेको हुा । नागरिकता पनि त्यहीँको भएकाले त्यहाँका साथीहरूले पनि मबाट आशा/अपेक्षा गर्नु स्वाभाविक हो । मेरो कार्यक्षेत्र उदयपुर भएकाले त्यहाँका जनताले मबाट उत्तिकै अपेक्षा गर्नुभएको छ । काठमाडौं–१० कीर्तिपुरमा म बसेको २२ वर्ष भयो । त्यहाँका साथीले पनि मबाट उत्तिकै अपेक्षा गर्नुभएको छ । सिंगो उद्यमी–व्यवसायी साथीहरूले पनि मबाटै अपेक्षा गर्नुभएको छ । नेपाली कांग्रेसबाट कोही पनि उद्यमी नपर्नुभएकाले ठूलो बोझचाहिँ ममाथि नै छ ।
० एमालेबाट त राज्यलक्ष्मी गोल्छा पनि हुनुहुन्छ नि ?
– उहाँ पनि हुनुहुन्छ, तर व्यावसायिक हिसाबले म अलिक बढी परिचित भएकाले भार मलाई नै बढी छ ।
० सभासद् कोषको रकम कहाँ दिने भन्ने समस्या रहेछ नि ?
– जन्मेको जिल्ला, कार्यक्षेत्र भएको जिल्ला, अहिले बसेको क्षेत्र र मैले प्रतिनिधित्व गरेको क्षेत्र सबैलाई सन्तुलित गरेर मैले लैजानुपर्छ । सबैको शुभेच्छाअनुसार म काम गर्छु ।
० एमालेसँग चाहिँ कसरी जोडिनुभयो ?
– पृष्ठभूमि धेरै पुरानो छ । विद्यार्थी कालदेखि नै प्रगतिशील विचारसँग आबद्ध थिएँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दा अनेरास्ववियुको प्राक सचिव थिएँ । त्यसबेला म सक्रिय पनि थिएँ । कोलम्बो प्लानलगायतका अरू छात्रवृत्ति पाउँदा पनि म कम्युनिस्ट विचारसँग नजिक भएकाले कम्युनिस्ट मुलुक सोभियत संघ गएँ । लाहुरेको छोरो, सोझो तामाङ त्यहाँ पढ्न गयो भने कम्युनिस्ट बनेर आउँछ भनेर दरबारले छात्रवृत्तिको पहिलो सूचीबाट मेरो नाम काटेको रहेछ । पुल्चोक क्याम्पस टपर म, तर अरूको नाम निस्कियो, मेरो निस्किएन । पछि तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीलाई ओखलढुंगाका रापस चम्पक सुनुवारसँगै गएर मेरो बुबाले भेटेपछि बल्ल मेरो नाम आयो । त्यसबाट मलाई कम्युनिस्ट नै बन्नैपर्ने भन्ने लाग्यो । त्यहाँ पनि विद्यार्थी युनियमा बसेर काम गरें ।
० रुसमा पनि राजनीति गर्नुभयो ?
– त्यहाा पनि राजनीति हुन्थ्यो । हाम्रो विद्यार्थी संगठन थियो । सोभियत समर्थकलाई र चीन समर्थक खेमा थियो । उपेन्द्र महतो र मेराबीचमा झन्डै चुनाव भएन । तर पछि, मिलेर उहाा अध्यक्ष र म महासचिव भएर काम गर्यौं ।
० तर, त्यसपछि सक्रिय राजनीतिमा किन आउनुभएन ?
– पुँजीवादी प्रणाली आएपछि त्यहाँ व्यापार–व्यवसाय बढ्यो । हामी पनि त्यतैतिर लाग्यौं । १९९५ मा नेपाल फर्कें । बुबाको चाहना शिक्षाको क्षेत्रमा केही गरोस् भन्ने थियो । फर्केपछि १४–१५ वर्ष पुल्चोक इन्जिनियरिङमा पढाएँ । त्यस सँगसँगै व्यापार–व्यवसाय पनि सिभिल गु्रपका रूपमा अगाडि बढाएँ । आधिकारिक रूपमा एमालेको पार्टी सदस्यता ०५२ मा लिएको हुँ ।
० यति पुरानो एमाले कार्यकर्ता हुनुहुँदो रहेछ, तर चन्दा दिएर सभासद् बन्यो भन्ने चर्चा छ नि ?
– म व्यवसायी मान्छे, पुँजी परिचालन गर्छु । पुँजी परिचालन गर्नेसँग पुजी हुने नै भयो । एमालेका सभासद्मध्येमा म पनि पुँजीपति भएकाले चन्दा दिएको चर्चा हुनु अस्वाभाविक होइन । एमाले र एमालेका साथीहरूलाई अप्ठ्यारो परेका बेला मैले दुई–चार पैसा चन्दा दिनैपर्छ । अरू व्यवसायीले पनि दिन्छन् । मैले आफ्नो हैसियतले भ्याएसम्म बढी नै सहयोग गर्नुपर्छ भन्ने सोचाइ अहिले पनि छ । चन्दा दिएर मात्र सभासद् बनाएको होइन । बौद्धिक, जनजाति, व्यवसायी, अनुभवी आदि सबै गुण भएकाले पनि मलाई एमालेका नेताहरूले योग्य ठानेर ल्याउनुभएको हो भन्ने ठानेको छु ।
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास